Skip to content

पन्नाको थारु कथा सङ्ग्रह विमोचित


सुर्खेत
माघ २०, २०७०

थारु लखागिन महिला समुह सुर्खेतको आयोजनामा भएको वीरेन्द्रनगरमा एक समारोह बीच मानवहादुर चौधरी पन्नाद्धारा लेखिएको थारु भाषाको कथा सङ्ग्रह “ककन्डरान छोट्की” कृतिको लोकार्पण भएको छ । कृतिको लोकार्पण मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व उपकुलपति प्रा. डा. पदमलाल देवकोटाले गरेका हुन् । यसभन्दा अगाडि साहित्यकार पन्नाका थारु कविता संग्रह ढुकढुकी थारु भाषाकै पहिलो खण्डकाव्य किसानके जिन्दगी, अनुसन्धानमुलक कृति थारु लोकगाथा थारु सखिया नाच गीत, थारु गीति सङ्ग्रह भ्यावक घर, एवं विभिन्न पत्रपत्रिकामा लेखरचना प्रकाशित छन् ।

प्रमुख अतिथि देवकोटाले थारु भाषा साहित्य, संस्कृतिको संरक्षण सम्वर्द्धनका लागि थारु स्रस्टाहरूले कलम चलाउनु पर्ने कुरामा जोड दिनु भयो । वर्तमान अवस्थामा थुप्रै थारुहरू शिक्षित भए पनि थारु भाषाप्रति त्यति चासो नदिएको बेला यो रचनात्मक कार्यले अन्य थारु साहित्यकारहरूलाई पनि कलम चलाउनु पर्ने आग्रह गर्नुभयो । यस मध्यपश्चिम क्षेत्रकै तराई एवं सुर्खेतमा बसोवास गर्ने आदिवासी थारुहरूको भाषा साहित्य कला संस्कृतिको प्रवद्र्धनका लागि मध्पश्चिमाञ्चल विश्व विद्यालयले छुट्टै प्याकेजको कार्यक्रम लागु गराउनका लागि थारु भाषा साहित्य संस्कृति पहिचान गर्नका लागि थारु समुदायमा दाङ र बर्दियाका चारवटा थारु गाउँमा थारु ग्राउण्ड प्रस्ताव क्याविनेटबाट पारित भएको बताउनु भयो । विश्वविद्यालयको ध्यान थारु भाषा संस्कृति संस्कारलाई गति प्रदान गर्ने नीति भएको बताउनु भयो । साहित्य सम्वन्धी चर्चा गर्दै आफूले देवकोटाको मुनामदन र इन्द्र बहादुरको आज रमिता छ पढेको बताउनु भयो । साहित्यले पाठकलाई नजिक ल्याउन सक्नु पर्छ,साहित्यले रुवाउन र हसाउन जान्नुपर्छ त्यस्तो साहित्य सफल हुने बताउनु भयो ।

शिक्षा क्याप्पस सुर्खेतका क्याप्पस प्रमुख डा. महेन्द्र कुमार मल्लले साहित्य चेतनाको सर्वोत्तम शक्ति भएको बताउदै थारु साहित्य संगसँगै थारु शब्दकोश, व्याकरण, पत्रपत्रिकाको विकासमा समेत जोड दिनुपर्नेमा आग्रह गर्नुभये। भाषा साहित्यको विकास हुन नसकिरहेको अवस्थामा यो कार्यले अरु थारु युवाहरू पनि जागरुक हुनु पर्ने बताउनु भयो । सुर्खेतमा एक मात्र थारु साहित्यकार पन्नाले थारु वाङ्मयमा ठूलो योगदान पुर्याएका चर्चा गर्नुभयो ।।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक सभाका सदस्य डा.दिपक गौतमले भाषा साहित्य समाजकै ऐना भएको चर्चा गर्दै यसको माध्यमबाट थारु समाजमा जागरण ल्याउनु पर्नेमा जोड दिनु भयो ।थारु समाजको उत्थानमा युवाहरू सक्रिय भई लाग्न आग्रह समेत गर्नुभयो । टिप्पणीकर्ता जङ्रार साहित्यिक बखेरीका बाँके जिल्लाका संयोजक तथा थारु साहित्यकार सोमप्रसाद डेमनडौराले थारु भाषा साहित्यको एक महत्वपूर्ण कृतिको रुपमा चित्रण गर्दै यस कथा संग्रहमा संकलित कथाहरू थारु समाजका यथार्थ ओकल्दै आजको थारु समाजका अगुवा नै गलत बाटोमा लागिरहेको, युवा पुस्ता कसरी दलदलमा फसिरहेका छन्, विदेश गएका थारु परिवारको लथालिङ्ग भताभुङ्ग भइरहेको संकेत, कथामा थारु समाजको पारिवाकि मनोदशा,यौन चाहाना, शिक्षाको कमिले पाएको दुःख, बाल विवाह, वहु विवाहको विरोध, इमानमा रहनु पर्छ, अँझै पनि दास मनोवृतिका मानिसका कारण थिचोमिचो भोग्नु परेको विषयवस्तु समेतिएको बताए । टिप्पणीकारले यो कथा संग्रहले पाठकमा छुट्टै छाप छोड्ने जिकिर गर्नुभयो ।

विमोचित कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका अध्यक्ष मोहन गुरुङ्गले थारु थारु भाषा साहित्यमा कलम नचलाए भोलिका दिनमा भाषा संस्कृति नै लोप हुने चिन्ता प्रकट गर्नुभयो । शिक्षित युवा वर्गले चासो नदिए थारु साहित्यले फड्को मार्न नसक्ने बताउनु भयो ।कार्यक्रममा थारु लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्णबहादुर थारु, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष दुर्गा थापा, थारु वुद्धिजीवि एवं अगुवाहरू भागिराम थारु, लाल बहादुर चौधरी, टेकबहादुर चौधरी, दुर्गा थारु लगायतका वक्ताहरूले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा पहुरा सांस्कृतिक मञ्च नयागाउ र लखारगिन युवा क्लव कुन्तीका थारु कलाकारले थारु नाचहरू प्रस्तुत गरेका थिए । कथा संग्रहको प्रकाशन थारु लखागिन महिला, सुर्खेतले गरेको हो । १२ वटा कथा संकलित रहेको कथा संग्रहको मूल्य रु १०० रहेको छ । विमोचन कार्यक्रम थारु लखागिन महिला समुहकी अध्यक्ष सीता चौधरीको सभापतित्वमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *