Skip to content

लेखन अर्थात् जादु, कला, शिल्प


लेखन आफैंमा एउटा कला हो, शिल्प हो, शैली हो र संवेदना हो। लेखकको प्रतिविम्ब पनि हो। यो फरक कला हो, जो सिकाएर सिकिँदैन र पढाएर जानिँदैन।

कसैले उचालेर माथि आएको लेखक वर्षात्को बादलजस्तै हो, जो जतिखेर पनि पानीको थोपा बनेर भुइँमा बज्रन सक्छ।

त्यसैले आफूवरिपरिको समय लेख्नुपर्छ र आफ्नै धरातलमा रहेर लेख्नुपर्छ। निरन्तरको लेखनले नै लेखक माथि उठ्नेछ र नयाँ उचाइ प्राप्त गर्नेछ।

लेखक पुस्तक वा कुनै रचना लेखुन्जेल एउटा सामान्य मानिस रहन्छ। जब उसका रचना पाठकसमक्ष पुग्छ, तब ऊ एउटा सामाजिक फिगर बन्छ, उसका व्यक्तिगत कुरा समाजका चासोका विषय बन्छन् र उसका व्यक्तिगत विवरण लेख बन्छन्।

राम्रो, नराम्रो, प्रिय, अप्रिय जस्तोसुकै होस्, सत्य लेख्नु लेखकको धर्म हो। आजभोलि आख्यानभन्दा गैरआख्यानको बजार छ, यसको एउटा कारण यो पनि हो। लेखक जादुगर होइन, ऊ सिर्फ एक शिल्पकार हो। उसले ढुंगा बनाउन सक्दैन, बरु ढुंगा कुँद्छ र एउटा आकार वा स्वरूप दिन्छ। मूर्ति र चित्र शिल्पकारको कलाको पुञ्ज हो। यसैले ऊ असामान्य रूपले सामान्य मानिस हो र सामान्य रूपले असामान्य मानिस हो।

मौलिकताको सबाल नयाँ होइन। नेपाली साहित्यमा मौलिकताको विषयमा धेरै विवाद भए र कृतिमाथि प्रश्न उठे। लेखकमाथि चोरीको आरोप लाग्यो। केही लेखक मौलिक भन्ने नै हुँदैन भन्छन्। यो केही हदसम्म सत्य हो। लेखकले आफूले अध्ययन गरेका विषयको समग्रतालाई नयाँ ढंगले व्याख्या गर्छ।

शंकर लामिछानेले भने झैं लेखकलाई लेखक नभनेर फगत एक इन्टरप्रेटर मान्दा पनि गलत नहोला। किनकि लेखकले भइरहेकै कुराको व्याख्या गर्ने हो, लेखिएकै कुराको नयाँ ढंगले पुनर्लेखन गर्ने हो।

कुनै पनि कृति पढ्दा पाठकलाई नयाँपनको आभास हुनुपर्छ, नत्र पाठकप्रति लेखकले न्याय गरेको ठहरिन्न। लेखक धूर्त होइन, इमानदार बन्न सक्नुपर्छ कम्तीमा आफ्नो लेखनप्रति अनि आफ्ना पाठकप्रति।

रचनामा आफ्नो मौलिकता नगुमोस् भन्ने लेखकहरू अरूका पुस्तक, रचना पढ्ने गर्दैनन्, तर यसलाई लेखकको इमानदारीको कडी मान्न सकिँदैन। मौलिकताका नाममा यस्ता लेखकको सिको गर्नु पनि उचित हुँदैन। साहित्यमा अर्को लेखकको हुबहु नक्कल गर्नुचाहिँ चोरी नै हो।

मान्छे रोबोट होइन र रोबोट मान्छे हुँदैन। रोबोट कसैद्वारा उचालिएको मान्छे हो, जसलाई आफ्नो धरातल थाहा हुँदैन। कतिपय मानिस रोबोट जस्तै हुन्छन्, जसमा जडता र अह म हुन्छ। सच्चा लेखकको धर्म त्यही जडता र अहम्‌माथि प्रहार गर्नु हो।

रोबोटलाई मान्छे बनाउन सायद असम्भव छ। तर लेखनले मान्छेलाई रोबोट झैं जड, एकोहोरो र भावनाशून्य बन्नबाट जोगाउँछ। मान्छेलाई मानव बन्न सिकाउँछ। यो नै लेखनको सबभन्दा ठूलो जादु हो।

लेखकले लेख लेख्दाको समयको तस्वीर दिन्छ। लेखनले इतिहास खोतल्छ। जस्तो- रूसमा जार शासन हुँदा र क्रान्तिकाल लेखकहरू पुस्किन तथा गोर्कीले आफ्ना कृतिमा युद्ध तथा क्रान्तिको प्रस्ट तस्वीर उतारेका छन्। कामु र सार्तका कृतिले उन्नाइसौं शताब्दीमा युरोपमा चलेको बौद्धिक उलारको झझल्को दिन्छ।

नाबाकोभको लोलिताले यौनप्रति उदार बन्दै गरेको युरोपेली समाजको तस्वीर दिन्छ। संसारका महान् कृतिहरू कुनै पनि समयको विशिष्ट तस्वीर हो। तसर्थ पनि लेखनलाई कला, शिल्प, जादु भनिएको हुनुपर्छ।

मिति : २०७० माघ २३, बिहीबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *