Skip to content

उभिएर जमिनमा, म हेरिरहेछु सबैतिर


रिसराग द्वेष घृणा, छ विकार मात्र जताततै
सन्तोक छैन कतै पनि, छ असन्तोक मात्र जताततै
उभिएर जमिनमा, म हेरिरहेछु सबैतिर
न प्रेम छ यहाँ कतै, छ भोग मात्र जताततै

रमाउँछन सबै यहाँ, लुटेर श्रम लोकको
कमाउँछन सबै यहाँ, दिएर नाम भोकको
उभिएर जमिनमा, म हेरिरहेछु सबैतिर
न मनुषत्व छ यहाँ कतै, छ पशुत्व मात्र जताततै

विनम्र भई झुक्छ जो, अर्थ भो त्यो हारको
छल कपट धोकाधडी, विजयको पो सार भो
उभिएर जमिनमा, म हेरिरहेछु सबैतिर
न प्रीत छ यहाँ कतै, छ अन्ध जित जताततै

धर्मको नाममा छ, डकार मात्र यहाँ ठूलो
धर्मी छ को पापी छ, छैन जोख्ने कुनै तुलो
उभिएर जमिनमा, म हेरिरहेछु सबैतिर
न ईश छ यहाँ कतै, छ विष मात्र जताजतै

धुन प्रेमको यहाँ, के कृष्णले बजाउला
के दिदै सन्देश शान्तिको, फेरि बुद्ध आउला
उभिएर जमिनमा, म गरिरहेछु कामना
देख्न पाऊँ सबको हित, गीत मात्र जताततै

Leave a Reply

Your email address will not be published. Required fields are marked *