Skip to content

दाइजो प्रथा नहटेसम्म छोरा–छोरीबीचको विभेद अन्त्य हुँदैन


माघ महिनाको सुरूवातसँगै लगनको साइतको पनि सुरूवात हुन्छ । माघ महिनाबाट लिएर असार मसान्तसम्म विवाहको शुभ साइत मानिन्छ । हिन्दू धर्म अनुसार ६ महिनाभरिमा शुभ साइत हेरी लगन गरिन्छ । माघ महिनाको सुरूवातसँगै विवाहको चहलपहल नेपाली समाजमा देखिन थालिन्छ । हुनत् मंसिर महिनामा पनि विवाह गरिने चलन छ । मंसिर महिनामा पनि लगनको शुभ साइत मानिन्छ र नेपाली समाजमा बिहे हुँदै आइरहेको छ । तर कतिपय ठाउँमा मंसिर महिना मधेशमा विवाहको साइतलाई अशुभ मानिन्छ । प्रायः नेपाल र भारतमा मिथिला क्षेत्रको धेरै जसो ठाउँमा मंसिर महिनाको साइतलाई मानिसले आफ्नो छोराछोरीलाई बिहे गर्न हिचकिचाउ छन् । कारण अरू केही नभएर मिथिलाकी गौरव, मिथिलाकी आर्दश नारी, मिथिलाकी वीर पुत्री राजा जनककी छोरी जानकीको विवाह मंसिर महिना मै अयोध्या नरेशका ज्येष्ठ सपुत्र श्रीरामसँग सु–सम्पन्न भएको थियो । आफ्नी प्राणभन्दा प्यारी आँखाकी नानी छोरी जानकीलाई विवाह बन्धनमा बाँधिनु भएपछि अनेकौ दुःख र कष्टको सामना गर्नु परेको थियो । एक्काइसौं शतावदीको नजरबाट हेरिदा राम र सीताको वैवाहिक जीवन सफलता पूर्वक गएन । राम र सीता अरू–अरू भूमिका र नाता निभाउनमा एकदमै सफल भएता पनि वैवाहिक जीवन उनीहरूको असफल देखिन गएको छ । मिथिलावासीले आफ्नी हृदयकी टुक्राले बिहेपछि भोगेको यातनामा कहीं न कहीं मंसिर महिनालाई पनि जिम्मेवार मान्छन् र त्यसैले होला मिथिला क्षेत्रको प्रायः जसो धेरै ठाउँमा मिथिलावासीहरू आफ्नी छोरीलाई मंसिर महिना लगन गाँठो गर्नुलाई अशुभ ठान्छन् ।

माघ महिनाको सुरूवातसँगै सबैले आ–आफ्ना छोरा र छोरीलाई विवाहको बन्धनमा गाँस्न आतुर भएका देखिन्छन् । उमेर पुगेका र सेल्फ डिपेन्डेन्ट भैसकेका छोराछोरीलाई विवाह बन्धनमा गाँसिदिनु रीतिरिवाज मात्रै नभएर नैचुरली चाहिने कुरा पनि हो । विवाह एउटा त्यो शुभ कार्य हो जसले यो सृष्टि चलाई राख्नमा निरन्तरता दिन्छन् । विवाह बन्धन गाँसिनु भनेको पति र पत्नीले दुवैको सुख र दुःखमा साथ दिनु हो, दुवैको सहयोगी बन्नु हो र दुवैले आपसी सहयोगमा आइपरेको जस्तो सुकै समस्यामा पनि एक र अर्काको हात समातीसँगै समाधानको लागि अघि बढ्नु हो । वैवाहिक जीवनलाई सफल र समुधुर एक र अर्का दुवैले दुवैलाई समान रूपमा आदर र इज्जत गर्नु पर्ने हुन्छ । दुवैले अर्कालाई तभन्दा म ठूलो सोचमा नगई एउटा साथीको यानी जीवन साथीको नजरले एक अर्कालाई हेरिनु पर्ने हुन्छ । पुरूष होस् कि महिला यदि दुवैले एक–अर्कालाई जीवन साथीको नजरले हेर्यो भने पक्कै पनि वैवाहिक जीवन सफल र सुमधुर हुन जान्छ । दिन प्रतिदिन वैवाहिक जीवनमा आइपरेको समस्याहरूबाट टाढा हुन सकिन्छ र पक्कै पनि समाचार कुरा बन्नै छैन होला ।

मधेशमा छोरा जन्मिदा बल्यांक चेक आइयो भन्ने गरिन्छ र छोराको बिहे गर्दा छोराको बुवाले आफू मर्जी बल्यांक चेकमा पैसा भर्ने गरिन्छ । यानी छोराको बिहे गर्नु भनेको आफ्नो खल्तीलाई मनपरी ढंगले पैसा भर्नु हो । मधेशमा दुर्भाग्य नै भन्नु पर्ने होला कि छोराछोरीलाई विवाह बन्धनमा गाँस्दा रातारात छोराको बुवा लाखपति हुन जान्छन् भने छोरीको बुवा रातारात खाकपति हुन जान्छन् । मधेशमा छोरा र छोरीमा गरिने विभेदको मुख्य कारणहरू मध्ये यो पनि एउटा कारण हो । छोराको बिहे गर्दा छोरा पक्षहरू मालामाल हुनु र छोरी पक्षहरू कंगाल हुनु हो । जबसम्म मधेशमा यस्तो कुरीतिरिवाज रहिरहन्छ तबसम्म सायद छोरा र छोरीबीचको विभेद समाप्त हुन सक्दैन । लाखपति र खाक पति हुनु भनेको नै दहेज वा दाइजो दिनु हो । दाइजो भनेको छोरीको बावुले आफ्नो छोरीलाई अर्काको छोरासँग बिहे गर्दा छोराका बावुलाई दिने नगद, भहिकल्स, फर्निचर, गरगहना, किचेन सामानहरू….. आदि इत्यादि हुन् । दाइजोको रूपमा एउटा परिवारलाई चाहिने हरेक कुरा नून देखि सुनसम्म वा भनु सियो देखि जहाजसम्म दिनु पर्ने हुन्छ ।

भनिन्छ मानिस दिक्षित भएपछि नराम्रो रीतिरिवाजलाई पछि छार्दै नयाँ रीतिरिवाजमा प्रवेश गरिन्छ । तर मधेशमा विवाहको बुझाइ उल्टो भइरहेको छ । यस्तो नराम्रो रीति दाइजोको अन्त्य हुनुको साटो झन्–झन् विस्तार हुँदै गइरहेको छ, झन् व्यवसायीककरण भैरहेको छ । शिक्षित परिवारमा यसको जग झन् मजवुत देखिएको छ । लाज लाग्दो कुरा हो । जसरी बजार प्रयोग गरिने सामग्रीहरू र चौपाय पशुहरूको मूल्य तोकिएको हुन्छ ठिक त्यस्तै मधेशमा मधेशी मातापिताले आफ्नो छोराको विवाहको मूल्य तोकेका हुन्छ । दुनियाँमा एकातिर बेचबिखनको यस्तो विवाह भैइरहको छ । त्यसको अन्त्यको लागि कतिपय ठूल्ठूला आन्दोलन भयो तर मधेशमा यो अँझै जीवित छ । जीवित मात्रै होइन यसको व्यवसाय अँझै फस्टाइरहेको छ । यदि आफ्नो छोरा डाक्टर छ भने दाइजो बीस लाख, इंजिनियर हन् भने १५ लाख र लेक्चर छन् भने १० लाख रूपैयाँ लिने गरिन्छ । यसरी मूल्य लगाएर आफ्नो छोरालाई वैवाहिक बन्धनको लागि बेच्ने गरेका छन् । तर दुःख पूर्ण कुरा यहाँ के हो भने उल्टै छोराका पिताले दाइजो पनि लिन्छन् र रवाफ पनि उनीहरूकै हुन्छन् । जब मानिसले सामान किनेर घर ल्याउँदा त्यसलाई के–कसरी प्रयोग गर्ने किन्नेवालाको इच्छामा निर्भर गरिन्छ तर यहाँ ठिक उल्टो छ यत्रो ठूलो मात्राको रकम दिइसक्दा पनि छोरीका पिताहरू छोराका पिता सामू हात जोडेर बसेका हुन्छन् । विचारहीन र विवेकहीन पनि कतिसम्म हुन पुगेका होलान् केटाका पिताहरू ?

दाइजो दिनु र दाइजो लिन दुवै अपराध हो । हुनत् यसको लागि कानून नभएको होइन कानून पनि बनिसकेको छ तर कार्यान्वयन भनेको निकै नै फितलो देखिन्छ । वास्तवमाभन्दा खेरी कार्यान्वयन भएकै छैन् । यो सरकारी कार्यालय दस्तावेज र चार–दिवाल भित्वर नै सीमित रहेको देखिन्छ । यो विकाल समस्याको अन्त्य हुनु अति आवश्यक भएको छ । यसको लागि सम्बन्धित निकाय र जनता आफैमा जागरूक हुनु अति आवश्यक छ । दाइजो प्रथा जसको व्यवसाय दिन दुई गुण र रात चौगुण फस्टाइरहेको छ, त्यसलाई जसरी भएपनि अन्त्य गर्नु पर्छ । यदि यसलाई अन्त्य गर्न सकियो भने मधेशमा छोरा र छोरीबीच गरिने विभेद अन्त्य हुन जान्छ । हुन त अहिले आएर कतिपय बाआमाले छोरा र छोरीलाई समान रूपमा हेर्न थालेका छन् तर पनि दाइजो प्रथाले उनीहरूलाई कतै न कतै गएर विवश बनाइरहेका छन् । छोरा र छोरीलाई आफ्नो आँखाको दुई नानी बनाउनु अति जरूरी छ र त्यसको लागि अति नै खराब र घिनलाग्लो दाइजो प्रथाको अन्त्य हुनु अति आवश्यक छ ।

सुधा मिश्र
(मधेश दर्पण फिचर सेवा)
वि सं २०७० माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *