Skip to content


कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । उनका लागि ओखलढुंगा प्राकृतिक सौन्दर्यले सिँगारिएको स्वर्गसमान थियो र त्यसको प्रतिलोमरूपी काठमाडौँ थियो उजाड मरुभूमितुल्य मानव-बस्ती । कविता स्मृतिपटमा ओखलढुंगाकै भावुक सम्झना साँचेर जिउने उनको आत्म-सान्त्वनाकारी सम्झौताको कथा कहेर टुंगिएको थियो । ऊबेला म कविलाई दुर्लभ धातुले बनेको बिछट्टको प्राणी ठान्थेँ । काठमाडौँ आएपछि सिद्धिचरणलाई जब भेटेँ, उनको रूपाकृति र बोलीको शैली मलाई एकदमै निष्प्राण र प्रभावहीन लाग्यो । मेरो मनचिन्ते कल्पनाको भव्य सिद्धिचरण अर्कै थियो, कठोर यथार्थको धरातलमा अर्कै सिद्धिचरण प्रकट भयो । अपेक्षा र प्राप्तिबीचको द्वन्द्वले डसेर मेरो चित्त त्यसैत्यसै विरक्तियो अरे बाबा ! त्यस्तो कविता रच्ने कवि सिद्धिचरण यस्तो कसरी हुनसक्छ ? अनुहारमा चिताएजस्तो आभा छैन । आँखामा कल्पिएजस्तो चमक छैन । मुद्रामा आश गरेजस्तो ओज र स्पन्दन केही छैन । उसो त हाउभाउमा भनेजस्तो फुर्ती र उमंग पनि छैन । झलक्क हेर्दा अपरिचित चरोजस्ता प्रतीत हुने । ठूलो कालो फ्रेम भएको खुबै पावरदार चस्माभित्र उदास चिम्सा आँखा । ज्यान फुकीढल लाग्ने, बोल्दा अकमकिने । उनको शुष्क स्वर भित्रभित्रै कामिरहेजस्तो लाग्ने र बाहिर ओठै कामेको देखिने । कहाँको मेरो कल्पनाको आदर्श सिद्धिचरण, कहाँको उनको त्यो विकर्षक यथार्थ रूप !
२०२५ साउन महिनाको एक बिहान । अविराम गतिमा झम्झम् पानी पररिहेको थियो । मित्र रामबाबु सुवेदी र म उनलाई भेट्न झोँछेको उनको घरमा पुग्यौँ । क्यासेटमा सानो स्वरमा सुमधुर धुन बजिरहेको थियो । सिद्धिचरण मग्न मुद्रामा हुक्का गुडगुड-गुडगुड तानिरहेका थिए । तमाखुको मनै लोभ्याउने खालको सुगन्ध कोठाभरि व्याप्त थियो । उनको को, कहाँबाट र किनको उत्तर हामीले विनयशील वचनमा दियौँ । हामी विद्यार्थी । हाम्रो घर काठमाडौँबाहिर पूर्व र पश्चिम । हामी त्रिचन्द्र कलेजमा अध्ययनरत साहित्यका विद्यार्थी । हामी कविजीका फ्यान । हामी साहित्यबारे केही सुन्न र सिक्न कविजीछेउ आएका ।
चियापानपछि सिद्धिचरणले उत्कृष्ट साहित्यको अध्ययन, लेखन अभ्यास र रचनाको कलात्मक परिपाकबारे केही भने । सुदूरपूर्वी भेगको गाउँबाट आएको झर्रो नेपालीभाषी म । नेपालभाषी सिद्धिचरणको ‘त’ र ‘ट’ साटफेर हुने वर्णशंकर नेपाली उच्चारण मलाई एक उदेकको लाग्यो । उनले भनेको आधाजसो मैले बुझेँ, आधाजसो बुझिनँ । एकथोक चिताएर आएको थिएँ, भयो अर्कैथोक । सिद्धिचरणसँगको पहिलो साक्षात्कारले ममा उनीप्रति आकर्षणभन्दा कसोकसो विकर्षण नै पैदा गरिदियो । खिसि्रक्क परेको मनको तारमा एउटा असन्तुष्ट आवाज गुन्ज्यो आ… यस्ता नाथे सिद्धिचरण !
बिरानो कान्तिपुरी नगरीमा ज्ञानी र प्रेरक मनुवा खोजी हिँड्दा गोविन्द भट्ट र टीआर विश्वकर्मासँग मेरो भेट भएथ्यो । सधैँ गुरु-गम्भीर देखिने र चिन्तनको चापले निधार मुजा पार्दै गहन दर्शन बोल्ने गोविन्द भट्ट नेपाल-चीन मैत्री संघमा जागिर खान्थे, प्रायः पटर-पटर बोलिरहने टीआर विश्वकर्मा मातृभूमि साप्ताहिकमा कलम घोटेर सुखम्-दुःखम् गुजारा चलाउँथे । ती दुवै मानवले माक्र्सवादको क्रान्तिकारी झन्डा बोकेका थिए । र पनि, ती मुक्त कण्ठले सिद्धिचरणको तारिफ गर्थे । ती सिद्धिचरणको नाउँका अगाडि उच्च आदरभावसाथ ‘युगकवि’को टुप्पी जडान गरिदिन्थे । ‘युगकवि’को अर्थ युगीन चेतनाको संवाहक होला भनी मैले लख काटेँ । कुरा सुन्दै र अर्थ बुझ्दै जाँदा गोविन्द भट्ट, टीआर विश्वकर्मा र दुर्गालाल श्रेष्ठबाट मैले राणा शासनविरोधी जोदाहा सिद्धिचरणको परचिय पाएँ । म तीन छक् परेँ शुष्क र सुस्त प्रतीत हुने यी कृषकाय मनुवालाई ज्यान बाजी थापेर निरंकुश सत्तासँग जुध्ने त्यत्रो आँट कहाँबाट आयो होला  ? अनि, क्रूर राणाशासकहरूका कठोर चित्तमा ज्यानमारा क्रोध जगाउने गरी ‘क्रान्तिबिना थन वईमखु स्वच्छ शान्ति’ अर्थात् ‘क्रान्तिबिना यहाँ स्वच्छ शान्ति आउँदैन’ भनी गर्जन गर्ने त्यत्रो साहस यिनमा कसरी पलायो होला ?
यसरी सिद्धिचरण मेरालागि नांगा आँखाले देखिने व्यक्ति र त्यसमा अन्तरनिहित सिर्जनशीलता तथा सौर्यबीचको विरोधाभासको एक रहस्यमय बिम्व बने ।
मेरो साहित्यिक सत्संग, संवाद र लेखन अभ्यास चालू रह्यो । सिद्धिचरणसँग कहिले बाटामा त कहिले साहित्यिक कार्यक्रममा भेट हुने क्रम पनि चलिरह्यो । गोरखापत्र, रूपरेखा र भानुमा मेरा केही कविता र कथा छापिए । भेट हुँदा सिद्धिचिरण अभिभावकीय स्नेहका साथ मेरो हात समात्थे, ममतामय चालले मेरो हात मुसार्थे र मेरो जिज्ञासु मानसमा हौसलाका तरंगहरू सञ्चार गरिदिन्थे । ‘तपाईं हृदयको आवाज बोल्नुहुन्छ’ भनेर ती मलाई फुक्र्याउँथे । तर, हाम्रो लामो बातचित भने खासै हुँदैनथ्यो ।
एक दिन अचम्म भयो । पेप्टिक अल्सरले थला परेर म वीर अस्पतालको शय्यामा लमतन्न सुतेको थिएँ । बिहान त्यस्तै ९ बजेको हुँदो हो । मेरो अगाडि बर्दीधारी एउटा सिपाही झ्वास्स आइपुग्यो । कम्मरमा पिस्तोल भिरेको हेर्दैमा आङ सिरिंग हुने पहलमानी जवान ! म झस्केँ । निरंकुश राजाको सिपाही अस्पतालमा मेरो अगाडि किन ? उत्निखेरै देखेँ सिद्धिचरणको घोप्टो परेको हत्केलो आशीर्वादको भावमा मेरो माथतिर लम्किरहेछ । तिनले मेरो निधार छामे । मेरो टाउको मुसारे । तिनको अनपेक्षित आगमनबाट म एकसाथ चकित र हषिर्त भएँ ।
“कस्तो छ, बाबु ?” अनुरागयुक्त चिन्ता घोलिएको स्वरमा तिनले सोधे ।
“ठीकै छ, कविगुरु ।” तिनको हाडे हात स्पर्श गर्दै मैले भनेँ ।
डाक्टरहरू राउन्डमा आए । उसै त नाउँ चलेका कवि सिद्धिचरण, अझ त्यसमाथि राजाको सिपाही पछि लाएर आएका । डाक्टरहरूले तँछाड-मछाड गर्दै अत्ताल्लिएको मनोदशामा निहुरिएर तिनलाई नमस्कार गरे ।
“यी बाबु लेखक हुन् ।” तिनले डाक्टरहरूलाई सम्झाए “राम्रोसँग यिनको उपचार गरिदिनू ।”
डाक्टरहरूले बडो आज्ञाकारीसाथ मुन्टा हल्लाए हस्, हजुर ।
सिद्धिचरण राजसभा स्थायी समितिका सदस्य थिए । त्यसैले त सत्ताको निशानी त्यो सिपाही उनको छायाँसरी उनको पछिपछि हिँड्थ्यो । सिद्धिचरणको प्रभावले हो कि पिस्तोलधारी त्यो सिपाहीको प्रभावले हो मलाई थाहा छैन, त्यसपछि डाक्टरहरूको मलाई हेर्ने दृष्टि नै फेरियो । तिनका बचन नरम भए । ती सोधेका कुराको झर्को नमानीकन जवाफ दिन थाले ।
त्यसबेला म कोही थिइनँ । म त केवल सुदूरपूर्वी पहाडको विकट पाखोबाट ज्ञानको खोजीमा काठमाडौँ आएको एक अबोध ठिटो थिएँ । बल्लतल्ल मेरो लेखकीय विम्बको भू्रण बन्दै थियो । म न सिद्धिचरणको कुनै नातेदार थिएँ, न त उनको समकालीन लगौँटिया यार नै । तैपनि, सिपाहीलाई पछि लाएर ती मलाई भेट्न अस्पताल आए । तिनको सरलता, तिनको विनम्रता र तिनको मानवीय भावनाले मेरो हृदय स्पर्श गर्‍यो । र, मेरा नजरमा तिनको छविको रूप अर्कै भयो । संवेदनशील, ज्ञानी र करुणामयी कविवर सिद्धिचरण !
त्यो सत्ताको उन्मादले पञ्चायती राज कालसरह विकराल हुँदै गएको कुकाल थियो । नागरकिलाई मनका लागेका कुरा न खुलेर बोल्ने हक थियो न त देशमा फुक्काफाल डुलपिर गर्ने हक नै थियो । हामी वाम झुकावका विद्यार्थीहरू सत्ताका आँखा छल्न साहित्यको आवरणभित्र राजनीति गथ्र्यौं । सिद्धिचरण श्रेष्ठ हाम्रा रक्षा-कवच भइदिन्थे । साहित्य मन्थन वा साहित्य वाचन कार्यक्रममा हामी उनलाई प्रमुख अतिथि बनिदिन बिन्ती गथ्र्यौं । उनी एकरत्ति भाउ नखोजीकन सुरुक्क आइदिन्थे । उनको उपस्थिति हाम्रा लागि फलामे तारको बारजस्तो हुन्थ्यो । राजाको पुलिस त्यो बारभित्र पस्न आँट गर्दैनथ्यो । लाग्थ्यो, पुलिस पसिहालेछ भने पनि सिद्धिचरणका सामु त्यसले हामीलाई कुट्ने छैन । कदाचित पुलिसले पकडिई हालेछ भने पनि हामीले राजा र व्यवस्थाविरोधी कुरा गर्‍या छैनौं, हाम्रा कुरा सुन्ने साक्षी सिद्धिचरण छन् भनेर फुत्किन पाइएला भन्ने लाग्थ्यो । यसरी हामी वामयुवाहरूका लागि सिद्धिचरण साहस र ढाडस, प्रेरणा र ढाल धेरैथोक थिए ।
“गुरु, एउटा कविता वाचन गरिपाऊँ ।” हरेक कार्यक्रममा सिद्धिचरणसँग हामी आग्रह गथ्र्यौं । हामीलाई मन पर्ने र बाँची सुनाउन उनलाई जाँगर लाग्ने कविता उही थियो । उनको काम्दो स्वरमा कविताको लय यसरी तरंगित हुन्थ्यो –
नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी नै होस् तर पनि म छु दीनमाथि दयालु
तातो रातो रगत रिपुको प्युन हर्दम् तयार
मेरो, मेरो प्रिय खुकुरी हो हेर भै होसियार ।
पछिल्ला दुई हरफमा कविको नेपालभाषी जिब्रोमा ‘त’ र ‘ट’ सट्टापट्टा हुन्थे र कविताको ध्वनिले टाटो राटो रगट रपिुको प्युन हर्डम टयारजस्तो विचित्रको रूप धारण गथ्र्यो । कविको यो उच्चारण वामयुवा जगत्मा कण्ठस्थ र पि्रय थियो । वाम युवा-वृत्तमा कविको फुल नाउँ नै टाटो-राटो कवि रहन गएको थियो ।
म कलेजको विद्यार्थी छँदा काठमाडौँमा अञ्चलको नाउँमा खोलिएका अनेक युवा संगठन थिए । तिनमा गण्डकी विद्यार्थी परिषद् विशेष क्रियाशील थियो । त्यसले लालुपाते नामक सामयिक संकलन छाप्थ्यो । र, घरघिर विचार गोष्ठी र साहित्य गोष्ठीको चाँजोपाँजो मिलाउँथ्यो । ०२७ साल माघमा त्यसले पोखरामा यस्तै कार्यक्रमको आयोजन गर्ने भयो । अब रक्षा-कवच त चाहियो नै । सदाझैँ रक्षा कवचरूपी सिद्धिचरण प्रमुख अतिथि बने । युवा र साहित्यबारे बोल्दा मेरो जिब्रोबाट दुई-तीनपटक क्रान्ति शब्द फुत्किन पुगेछ । कुरो गडबड भइहाल्यो । अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ सुराकीको भेषमा कान थापेर मञ्चमा बसेका थिए । तिनले सिद्धिचरणलाई खुसुक्क भनेछन्, “कविगुरु ! यो क्रान्ति शब्दले मेरो जागिर खाने भो । कि त मैले यो केटालाई पक्राउ गर्नुपर्‍यो कि कविजीले कुरामा रफ्फु भरिदिनु पर्‍यो ।” नभन्दै सिद्धिचरणले कुरामा ट्याक्क रफ्फु भरिहाले । तिनले भने, “यहाँ चर्चामा आएको क्रान्ति राजनीतिक क्रान्ति होइन । यो त केवल सामाजिक क्रान्ति हो ।” बस्, पक्राउ र यातनाबाट म जोगिएँ, जागिर चट् भएर जोगी हुनबाट अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ जोगिए ।
कार्यक्रमपछि रक्षाकवचलाई अघि लगाएर हामी गाँस र बासको व्यवस्था मिलाइएको होटलमा गयौँ । पोखरेली जाडो कडा थियो । उत्पात उत्तेजित र हषिर्त हुँदै सिद्धिचरणले भने, “आज कार्यक्रम अति राम्रो भो । ल खुसीयालीमा म त उत्सव मनाउँछु ।”
टीआर विश्वकर्मालाई सिद्धिचरणका मुखबाट आफ्नै तिर्सना पोखिएझैँ लागेछ क्यार । तिनले हौँसिदै भने, “हो, हो । आज विजय-उत्सव मनाउने हो ।”
अनि, ती दुई जनाले बडो उत्सवी मुद्रामा मदिरा पान गरे । पछि शुद्ध विचार, शुद्ध व्यवहार र शुद्ध आचरणमा अडिग युवा आयोजकहरूले टीआरको टिप्पा काडे । माक्र्सवादी क्रान्तिकारी भएर पनि रक्सी पिउने ? दुनियाँले चाल पाउने गरी गति छाड्ने ? आफ्नो बचाउ पक्षमा टीआरले कुनै तर्क गरे कि वाम कर्मकाण्डमा प्रचलित सूत्र जप्दै ‘म आत्म-आलोचित भएँ’ भने मलाई सम्झना छैन ।
म सम्झन्छु, वाम युवा वृत्तमा ‘सिद्धिचरण’ र उनको ‘तिम्रो बासित पैसा छैन’ भन्ने कविता एकअर्काका पर्यायझैँ मानिन्थे । यही कवितालाई दसी बनाएर सिद्धिचरणलाई गरबिका असल साथी र संवेदनशील सहयोगीका रूपमा आदर गरिन्थ्यो । तर, सिद्धिचरणको व्यक्तित्वको अर्को पाटो पनि थियो । उनको व्यक्तित्वको यो पाटो देखाएर उनलाई मधेसी मौजाको मालिक भन्नेहरू पनि थिए । वास्तवमा सिद्धिचरणको व्यक्तित्व तीन विपरीत तत्त्वको योग थियोझैँ लाग्छ । मधेसी मौजाका मालिक, राजाको राजसभाका सदस्य र गरबिका साथी र सहयोगी वागी कवि । मलाई लाग्छ, यो तेस्रो तत्त्वको जाज्वल्यमान प्रकाशका मुखेन्जी अघिल्ला दुई तत्त्व उनको व्यक्तित्वको पाद टिप्पणीमा पर्छन् ।
०२८ सालमा म लमजुङको खुदीमा केही समय हाइस्कुलको हेड मास्टर भएको थिएँ । मस्र्याङ् दी र खुदी नदीको त्यस संगम थलोमा अहोरात्र नदी सुसाएको सुनिन्थ्यो । त्यस दुर्गम स्थलमा जगत्को सूचना-प्रवाहदेखि टाढा एकान्तमा एकलासे जीवन बिताउन म विवश थिएँ । एक दिन खुनी शाही सत्ताले झापाको सुखानी वनमा पाँच वागी सपुतको बध गरेको खबर मैले सुनेँ । त्यो समाचारको झट्काले मेरो मन त्यसैत्यसै उदास भयो । म विद्यालयनजिकैको धर्मशालामा बस्थेँ । उदासीको त्यो क्षणमा उदात्त आदर्शको निम्ति वीरतासाथ जीवन आहुति दिने ती पाँच सहिदप्रति श्रद्धाञ्जलि प्रकट गर्न मैले सिद्धिचरण श्रेष्ठकृत कविताका चार हरफ लेखेर भित्तामा टाँसे –
सागरको बीच आइसकेपछि
भयले अब हट्न हुँदैन
आँधी आई कुर्ले कुर्लोस्
अब हिम्मत हार्न हुँदैन
डुब्ला, मर्ला अरू के होला
यत्ति न हो त्रास तँलाई
लाखौँ डुब्छन्, लाखौँ मर्छन्
जगको रीत चलाउनलाई ।
अनेक सन्दर्भमा उपयोगी थिए हामी वामयुवाका रक्षाकवच ‘युगकवि’ सिद्धिचरण श्रेष्ठ ।

नेपाल साप्ताहिक ३३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *