Skip to content


परिचय

नेपाली साहित्यमा गजलले अत्याधिक लोकप्रियता हासिल गर्दै अघि बढिरहेको छ । भनिन्छ गजलमा बाढी आएको छ तर म भन्छु गजलमा आज क्रान्ति आएको छ । त्यसो हुँदा मैले आजको गजलमय युगलाई गजल क्रान्तिको युग भन्ने गरेको छु । गजलको चरण विभाजनमा मैले यसरी प्रस्तुत गर्ने गरेको छु –पहिलो चरण प्रारम्भिक काल –वि.सं १९४० देखि २००२ सम्म, दोस्रो चरण विलुप्तकाल वि.सं २००२देखि २०३५ साल, तृतीय चरण, गजलको पुनर्जागरण काल वि.सं २०३६ देखि २०५०सम्म र चतुर्थ चरण गजलको उर्वरक काल २०५१ देखि २०५९सम्म र वि.सं २०६० यता पाँचौं चरण (गजल क्रान्तिको युग) जसमा गजल लेखनमा क्रान्तिनै आएको छ । यस गजल क्रान्तिको कालमा गजलका महाहस्थी गोर्खे साइँलोले गजलमा देखिएको यो बाढीमा धमिलो पना हटाएर सङ्लोपना आवोस् र गजलका संरचनामा शुद्धता छावोस् भन्ने धारणा राख्दै गजल दर्शनको यो कृति प्रकाशनमा ल्याएका छन् । आज गजलमा बहरयुक्त र बहरमुक्त गजलको बहस त चलिरहेकै छ । यो बहस चलिनै रहन्छ र गजलकारहरूले गजलको प्रकाश छरिनै रहन्छन् तर गजल लेखनमा शुद्धता भने अवश्य चाहिन्छ, शुद्धता चाहिंदैन भनेर नकार्न भने कसैले सक्दैन । त्यो शुद्धताको सुधापान कसैले गर्न चाहान्छ भने गजल दर्शनमा अवश्य पाइन्छ । त्यसो हुँदा गजल दर्शनका रचयिता गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने) को यो अमिट कार्यको प्रशंसा गर्दै उहाँको जीवनीमा केही प्रकाश पार्न चाहान्छु – गोर्खे साइँलोको जन्म २००९ साल भाद्र १० गते सोमबार तदानुसार २६ अगस्त, १९५१मा पश्चिम १ नं. नुवाकोट, साविक चतुराले गाविस –४मा पिता बोधनाथ लामिछाने र माता हिमकुमारी लामीछानेका एकल पुत्रको रूपमा भएको थियो तर २०२६ साल कार्तिक २८ गतेदेखि भरतपुर–४, विशालमार्ग, नाराणगढ चितवनमा स्थायीरूपमा बसोबास गर्दै आउनु भएको छ । गोर्खे साइँलोको साहित्यिक यात्रा २०२२ सालमा शान्ति शिक्षा मन्दिर साउनेपाटी, काठमाडौंमा ‘विधार्थीको दु:ख’ भन्ने कवितामा प्रथम पुरस्कार प्राप्त गरेपछि अग्रसरता लिएको हो । गोर्खेको कलम, कविता, कथा, गजल तथा गजलका शास्त्रीय संरचना सम्बन्धित खोज अनुसन्धान मुलक लेख, लघुकथा, निवन्ध, हाइकु, मुक्तक, र समीक्षा आदिमा, चल्दछ ।

प्रकाशित कृतिहरू

गजल पथका यात्रीहरू (गजलसङ्ग्रह–२०६१, संले ) गजलविम्ब (गजलसङ्ग्रह–२०६२, सं.ले २०६२) गजल यात्रा, (गजलसङ्ग्रह–२०६३, सं.ले ), समयका स्वरहरू (कवितासङ्ग्रह–२०६५सं.ले.), सम्मोहन (गजलसङ्ग्रह–२०६२), मुस्कान (सूत्र सहित शास्त्रीय, बहरमा आधारित गजलसङ्ग्रह–२०६२), कादम्बरी (सूत्रसहित शास्त्रीय छन्दमा आधारित कवितासङ्ग्रह–२०६३), सूत्रमाला (सूत्रसहित शाश्त्रीय बहरमा आधारित गजलसङ्ग्रह), गजल दर्शन –गजल सम्बन्धित दर्शन ग्रन्थशास्त्रीय सूत्र सहितको बहरबद्ध गजल परम्परा, सिधान्त र तत्त सम्बन्धित प्रयोग ग्रन्थ –२०६९, एब म बिभिन्न साहित्यिक पत्रिकाहरूमा कविता, कथा, गजल, निबन्ध, संस्मरण, समीक्षा, एव म विभिन्न इन्टरनेटहरू (वेवसाइटहरू)मा विभिन्न खोज–अनुसन्धानमूलक लेख रचनाहरू प्रकाशित भएका छन् ।

आवद्धता रहेका संस्थाहरू

गोर्खे साइँलो धेरै संस्थाहरूमा आवद्ध हुनुहुन्छ । केन्द्रीय पार्सद (विश्व साहित्य महासंघ (२०६७/६९), प्रमुख सञ्चालक– पल्लव साहित्य ईपत्रिका, संस्थापक अध्यक्ष– पल्लव साहित्य प्रतिष्ठान नारायण गढ चितवन, अध्यक्ष– गजलमञ्च चितवन २०६५/६८, पूर्वाध्यक्ष– गजलमञ्च चितवन (२०६८ पछि),, नि.ब. द्वितीय उपाध्यक्ष–उद्योग वाणिज्य संघ चितवन २०६८ /७०, संस्थापक उपादक्ष– छन्दबचाऊ अभियान चितवन–नवलपरासी, शाखा, कार्यसमिति सदस्य–अभिव्यञ्जना साहित्य प्रतिष्ठान, चितवन २०६५/६८, कार्यसमिति सदस्य–चितवन साहित्य परिषद, भरतपुर चितवन, २०६६/६८, कार्यसमिति सदस्य– साहित्य पत्रकार महासंघ चितवन २०६६/६८, सञ्चालक समिति सदस्य –विजया सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. (विजय एफ् एम गैडाकोट नवलपरासी २०६४/६७–२०६७/७०, सञ्चालक समिति सदस्य–चमेलीदेवी स्कुल भ.न.पा. –४ चितवन, नि.व. सचिव– नेपाल अर्बुद्धरोग निवारण संस्था, चितवन जिल्ला शाखा २०६६/६८,

सल्लाहकार

नुवाकोट साहित्य परिषद बट्टार, नुवाकोट, कोसिस साहित्य मासिक, चितवन, धरा मासिक साहित्यिक पत्रिका नवलपरासी, गाउँले अर्ध बार्षिक साहित्य विविध चितवन, नारी साहित्य मञ्च नवलपरासी, रत्ननगर महोत्सब स्मारिका प्र समिति (२०६६) चितवन महोत्सब स्मारिका प्र. समिति (२०६७), नवमाध’री साहित्य प्रतिष्ठान कुश्मा पर्वत, कैलास साहित्यिक द्वैमासिक, चितवन आदि संस्थाहरूमा सल्लाहकारको रूपमा सेवा पुर्याउँदै आउनु भएको छ ।

सम्मान

गोर्खे साइँलोलाई करिव एक दर्जन संधसंस्थाहरूले सम्मान, अभिनन्दन पुरस्कृत गरिसकेका छन् जस्तै मितज्यू साहित्य प्रतिष्ठान चितवनद्वारा मितज्यू स्रष्टा सम्मान २०६३, धारा साहित्यिक पत्रिकाद्वारा धारा साहित्यिक अभिनन्दन–पत्र २०६४ पिठौली, पिठौली नवलपरासी, मध्यक्षितिज वाङ्मय प्रतिष्ठानद्वारा मध्यक्षितिज साहित्य सम्मान– २०६३, हाम्रो मझेरी साहित्य प्रतिष्ठानद्वारा हाम्रो मझेरी साहित्य सम्मान–२०६५, चितवन, नुवाकोट साहित्य प्रतिष्ठानद्वारा महामण्डल साहित्य सम्मान २०६६ विदुर नुवाकोट, लक्ष्मीस्मृति साहित्य समाजबाट लक्ष्मीस्मृति साहित्य अभिनन्दन पत्र २०६४, युगान्तर साहित्य पत्रिकाद्वारा युगान्तर वर्ष पुरस्कार–२०६९ तथा साहित्यिक सम्मान–२०६९, नुवाकोट, नरेन्द्रनाथ वाङ्मयनिधि सम्मान २०७०, ललितपुर, सम्मानस्थल नुवाकोट, सुदूर पश्चिमाञ्चल साहित्य सम्मान २०७०, सुदूर पश्चिमाञ्चल साहित्य समाजको कार्यालय परिसर धनगढी कैलाली, वैदनाथ अभिनन्दन २०७०, वैद्यनाथ क्षेत्रविकास संस्था परिसर आछाम साहित्य सम्मान ।

आजीवन सदस्य

गोर्खे साइँलोको साहित्यिक तथा विविध संस्थाहरूमा आजीवन सदस्यमा आवद्धता पनि डेढदर्जनभन्दा बढीमा देखिन्छ । उहाँको आजीवन आवद्धता–वाणी प्रकाशन सहकारी संस्था लि.बिराटनगर, चितवन साहित्य परिषद, भरतपुर, चितवन, रामेश्वर पुस्तकालय तथा वाचनालय, क्षेत्रपुर चितवन, पर्वत साहित्य सङ्गम, कुश्मा पर्वत, नवमाधुरी साहित्य प्रतिष्ठान, कुश्मा पर्वत, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, अभिव्यञ्जना साहित्य प्रतिष्ठान, चितवन, नुवाकोट साहित्य प्रतिष्ठान विदुर –३, बाराहीमार्ग नुवाकोट, जनमत साहित्य मासिक, काभ्रे, नेपाल स्रष्टा समाज– काठमाण्डौ, स्याङ्जा साहित्य प्रतिष्ठान स्याङ्जा, मातृभूमि साहित्य प्रतिष्ठान, मकवानपुर, शहीद दशरथचन्द्र स्मृति प्रतिष्ठान, सुन्दर खाली (बस्कोट) बैतडी, नेपाल रेडक्रस सोसाइटी चितवन, नेपाल क्षयरोग निवारण संस्था चितवन, नेपाल अर्बुद्धरोग निवारण संस्था चितवन, नेपाल हृदयरोग निवारण संस्था भरतपुर चितवन, नेपाल परिवार नियोजन सङ्घ भरतपुर चितवन आदि ।

सम्पादन तथा आबद्धता

गोर्खे साइँलो एक कुशल सम्पादक पनि हुनुहुन्छ । उहाँले पत्रिकाहरू, खण्डकाव्यहरू, कवितासङ्ग्रहहरू गजलसङ्ग्रहहरू र स्मारिकाहरू गरी करिव ३ दर्जनभन्दा बढी कृतिहरूको सम्पादन गरी सक्नुभएको छ । उहाँ प्रवन्धक सम्पादक तथा व्यवस्थापकमा रहेर ‘पल्लव’ साहित्य पत्रिकाको १८औं अङ्कसम्म उहाँको सम्पादनमा प्रकाशित भैसकेको छ । यसै गरी उहाँका सम्पादनमा चितवन महोत्सव–२०६३ र २०६५ को चितवन महोत्सव स्मारिका, लामीछाने बन्धुसमाज स्मारिकाहरू, ने ईं एका स्मारिकाहरू र चाँदनी कवितासङ्ग्रह संस्करण १ र २, पलपलका परिमलहरू (गजलसङ्ग्रह), ‘गौरीपुत्र गजानन’ खण्डकाव्य, मरूद्यान कवितासङ्ग्रह, पाल्पालीको गजलसङ्ग्रह, ‘हिमस्पर्स’ कवितासङ्ग्रह, प्रश्नोत्तर र धर्मसंवाद, प्राण्यामय रहस्य, ‘कसैकसैलाई’ गजलसङ्ग्रह, ‘मनको व्यथा’ गजलसङ्ग्रह, चाँदनीको व्यथा गजलसङ्ग्रह, ‘धुमिल धुमिल सपना’ गजलसङ्ग्रह, ‘पूर्वाञ्चलमा धनकुटा’ धनकुटा दर्पण, तिमीलाई गजलसङ्ग्रह, आमाको स्मृतिमा, रोशनी गजल सङ्ग्रह, एक बहर एक गजल, गजलसङ्ग्रह, बहर सागर गजलसङ्ग्रह, बहर वाटिका गजलसङ्ग्रह, शान्ति वाटिका गजलसङ्ग्रह, मरूभूकिो पूmल गजलसङ्ग्रह, पुष्पोद्यान कवितासङ्ग्रह, बालसुसेली बालकविता सङ्ग्रह, टिपन टापन लेखसङ्ग्रह आदि कृतिहरू प्रकाशित भैसकेका छन् ।

विकास कर्ममा सम्लग्नता

साहित्यिक लेखनमात्र नभएर गोर्खे साइँलोले विभिन्न विकास कार्यमा आवद्ध रहेर तिनका समितिमा अध्यक्ष सहित विभिन्न ओहोदाका पदमा आसिन भई सेवा पुर्याउँदै आउनु भएको छ । उहाँका विकास कार्यक्रममा सहभागी र आवद्धताका बारेमा केही उदाहरणलाई प्रस्तुत गर्न चाहान्छु –अध्यक्ष पदमा (नेपाल इलेक्ट्रिकल एसोसिएसन जिल्ला.शाखा चितवन २०५२/५८, विद्युत व्यवसाई संघ, चितवन, नारायणगढ, नेपाल २०६८/७१, लामिछाने बन्धु समाज २०५९देखि लगातार २०६९सम्म), उपाध्यक्ष (यातायात व्यवसायिक समिति, चितवन २०६० / ६३, ), केन्द्रीय उपाध्यक्ष नेपाल यातायात व्यवसायिक महासंघ, २०५८ /६०, राष्ट्रिय, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखा २०६१/६४), संस्थापक उपाध्यक्ष गजल मञ्च चितवन, भरतपुर चितवन २०६४/६६, प्रथम उपाध्यक्ष विद्युत व्यवसाई संघ, चितवन, नारायणगढ, नेपाल २०६६/६८, सचिव (नेपाल अर्बुद्धरोग निवारण संस्था चितवन शाखा २०६६/६८ र लामिछाने बन्धु समाज देवघाट धाम चितवन २०६९/७१), संस्थापक कोषाध्यक्ष यातायात व्यवसायिक समिति, चितवन २०५७/६०, वडा समिति सदस्य भरतपुर नगर पालिका वडा नम्बर ४, २०४९/५४, कार्य समिति सदस्य नेपाल इलेक्ट्रिकल एसोसिएसन केन्द्रीय कार्यसमिति ०५२/५८, कार्य समिति सदस्य उद्योग बाणिज्य संघ नारायणगढ चितवन २०६०/६२, २०६२/६४, २०६४/६६, केन्द्रीय सदस्य लामिछाने बन्धु समाज केन्द्रीय कार्यसमिति २०६५/६७, कार्यकारिणी सदस्य राष्ट्रिय, लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखा २०५९/६१), र आदिमा उहाँको सकृयता देखिन्छ ।

गजल दर्शनमा कृतिकार र कृतिका बारेमा पोखिएका विभिन्न साहित्य कारका अभिव्यक्तिहरू:–

संस्थापक सदस्य पल्लब साहित्य प्रतिष्ठानका दीपेन्द्रकुमार जोशी, ‘निक’ले यस कृतिको प्रकाशकीय शुभकामना दिंदै लेख्नुहुन्छ :–आशा छ, यो पुस्तक गजललाई बुझ्न चाहाने स्रष्टा, गजललाई बुझिसकेका स्रष्टा, गजलका बारेमा शोध–खोज गर्न चाहाने समस्त महानु भावहरूका लागि गुरु–पुस्तक सावित हुने छ । बरिष्ठ गजलकार हुसैन खाँले शुभ–सम्मति एव म आशीर्वाद शीर्षकमा लेख्नुहुन्छ –

‘कैयौं गजलका प्रखर विद्वानहरूसँगको सरसल्लाहर उठबसबाट निक्लेको निचोडलाई, यिनले पल्लव साहित्यिक पत्रिकाको गजलविशेष अङ्क १३, १४ र १७मा समावेश गरी प्रकाशित गरे । यसले गजल साहित्यको क्षेत्रमा एउटा क्रान्ति नै ल्यायो भन्ने मेरो बुझाई छ ।’ यसकृतिको बारेमा उहाँले इतिहास रच्न सफल कृतिको रूपमा लिनु भएको छ ।
डा. कृष्णहरि बराल शुभकामना दिंदै लेख्नुभएको छ– ‘.. गजलका लागि अत्यावश्यक तत्त्व मानिने लय तथा छन्दका बारेमा विशेष अध्ययन गर्न लागि पर्नुहुने गोर्खे साइँलोको नाम पनि अति महत्त्व पूर्ण देखिन्छ र उहाँको प्रस्तुत गजल दर्शन नै यसको महत्त्वपूण प्रमाण हो ।

डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ धारणामा गजल दर्शन:–‘…. यो ग्रन्थ गजलका जिज्ञासु–स्रष्टा, पाठक, तथा अन्वेषक र विश्लेषकहरूका निमित्त निकै नै उपयुक्त देखिन्छ ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसिचव शनतकुमार वस्तीको धारणामा गजल दर्शन:–

नेपाली गजलमा शुद्धता, शालीनता, स्पष्टता, एव म लेखकीय सहजताका निमित्त यो ग्रन्थ निकौ उपयागी लाग्यो । उनको यो अमूल्य मेहनतबाटतयार भएको ग्रन्थले गजल पाठक, अन्वेषक तथा विश्लेषक सबैलाई निकै फाइदा पुग्ने मैले देखेको छु ।

प्रा.डा. डाक्टर नारायणप्रसाद खनालले ‘अविश्रान्त यात्रीलाई शुभकामना’ शीर्षकमा लेख्नुहुन्छ:–बृहत् परिश्रम र लगानीका साथ तयार पारिएको यो कृति आफ्ना क्षेत्रमा प्रथम बृहत् ग्रन्थका रूपमा रहेको मान्न सकिन्छ ।’

यस गजल दर्शनप्रति ‘गजल दर्शन बारे मेरो दृष्टिकोण’ शीर्षकमा गोर्खै साइँलोको धारणाहरू पनि स्मरणयोग्य देखिएका छन् – अग्रज स्रष्टाहरूको यदाकदा सुनिने कथन –‘साहित्य विनाको मानिस अपाङ्ग हुन्छ, भने मानिस विनाको साहित्य सम्भव छैन’ । यथार्थमा मैले साहित्यलाई समाजको दर्पण भनेर परिभाषित गर्ने गरेको छु र यो युक्ति यथार्थ परक छ । गोर्खेले पनि यो भनाइमा सत्यता रहेछ भनेर महसुस गरेको देखिन्छ । पुन गोर्खेको भनाइ जस्ताको त्यस्तै– ‘कुनै पनि अक्षरको आरम्भ विनागुरु सम्भव छैन, त्यसमाथि पनि गजल विधा आफैमा गुरुचेला परमपरामा आधिारित विषयबस्तु हो ।’ यस विषयमा उनले ‘ हुसेन खाँ को डायरी’लाई प्रमुख गुरुको रुपमा लिएको, प्रमुख स्रोत सामाग्रीको रूपमा राखेको, त्यै डायरीको आधारमा लगातार सात वर्षदेखि खोज–अनुसन्धानमा लागिरहेको र उहाँले प्राप्त गरेको नतिजा नै यो गजल दर्शन हो भन्नुभएको छ । गजल क्षेत्रमा आवद्ध सकैलाई काठे साँगुको काम गर्ने छ भन्ने धारणा राखिएको छ ।

माथिका गोर्खे साइँलो र अन्य विद्वानहरूका अभिव्यक्त धारणाहरूलाई केलाउँदा/मनन गर्दा गोर्खे साइँलाको यो खोज–अनुसन्धान एउटा महत्त्वपूर्ण उपलब्धी हो । यसबाट नेपाली गजलमा शुद्धता, शालीनता, स्पष्टता, एव म लेखकीय सहजताका निमित्त, यस क्षेत्रमा सबैको सम्लग्न व्यसक्तहरूको लागि यो गजल दर्शन अनुकरणीय छ, ग्रहणीय छ, संग्रहणीय छ ।

कृतिको संरचना

आवणर सहित ३४ र गजलकृति ३२० गरी ३५४ पृष्ठको छ कृतिको आकार । विधाको रूमा हेर्दा यो शास्त्रीय सूत्र सहितको बहरबद्ध गजल परम्परा, सिद्धान्त र तत् सम्बन्धी प्रयोको रूपमा आउने अमूल्य कृति हो । गजल दर्शनको प्रकाशन पल्लव साहित्य प्रतिष्ठानका लागि मीनमाया लामिछाने गर्नुभएको हो । मूल्य ने.रु. ५०१/– र १५ डलर विदेशमा राखिएको छ । यस सङ्ग्रहमा कृतिकारले ५५० जना स्रष्टाहरूका करिव ७७७ ओटा जति गजलका शेरहरूका नमुना प्रस्तुत गरिएका छन् ।

कृतिभित्र नियाल्दा (कृतिको सङक्षेपी करण)

यस कृतिमा सर्बप्रथम विषय प्रवेश भनी यस गजल दर्शनले आउने दिनहरूमा, गजल लेखनमा ‘गजलका संरचनामा शुद्धता, स्पष्टता, शालीनताका निमित्त’, स्पष्ट मार्ग अपनाउन सकियोस् भन्ने अवधारणा बोकेको देखिन्छ । गोर्खे साहिलोको अभिव्यक्ति पनि यही छ । यस कृतिकारले गवल लेखनको इतिहास कोट्याउँर्दै इरान, टर्की र इराकका केही भूभाग समेत रहेको पर्सियाको सानो अंशमध्येको कोनिका भन्ने स्थानमा १२७३मा तत्कालीन गजलकार जलालअलदिनरुमिले कृति प्रकाशन गरेर प्रचार प्रसार भए पछि अन्यत्र फैलिएको धारणा राखेका छन् तर गजल लेखन, गजल शब्दको व्युत्पत्तिको बारेमा धेरै चर्चा गरेको पाइन्छ तापनि पुन: कृतिकारले ‘दशौं शताब्दीमा नै स्रष्टाका रूपमा परिचित रुदकीले प्रकाशनमा ल्याएका गजलमा संरचना, शील्प–शैलीमा पूर्ण सचेतताका साथ आवश्यक गजलयन्त्रलाई प्रयोगमा ल्याएको देखिनुले गजलको परिपूर्णताको जन्म इस्वीको दशौं शताब्दी नै भन्न सकिन्छ’ भन्ने ठहर गरेका छन् । नेपालमा यसको प्रवेश युवाकवि मोतीराम भट्ट (१९२३ – १९५३)बाट १९४४को सेरोफेरोमा प्रवेश गराएको धारणा, मोती मण्डली र त्यसमा सहभागिहरूको विवरण, र त्यस पछिका केही गजलकार र तिनका गजलकृतिहरूको विवरण, सालहरूसमेत प्रष्टयाउने प्रयास भएको छ । गजल कृतिहरूमा पहिलो कृति सङ्गित चन्द्रोदय (वि.सं. १९६९) प्रकाशित भएको भन्ने पाइनु, भीमनिधि तिवारीदेखि हालको यो गजल दर्शन २०६९सम्म आई पुग्दा थुप्रै गजलकारहरूका थुप्रै कृतिहरू, पत्रपत्रिकाहरू प्रकाशनमा आएका छन् । ती प्रकाशन मध्येका मूलग्रन्थको कृतिकार सहितको विविरण सहित सूत्रमा लिखित गजलका शेरहरू पनि यस कृतिमा उदाहरणस्वरूप प्रस्तुत गरिएका छन् । यस गजल दर्शमा के छ त स्वय म कृतिकारको पस्तुतिमा प्रवेश गर्यौं –

अत: यस कृतिमा कृतिकारले ‘आक्षरिक बहरका १२ ओटा, मात्रिक बहरका ५ओटा, सूत्रसहित शास्त्रीय बहरमध्ये मुफरद बहरका ७ ओटा, मुरक्कव बहरका २०ओटा, मुजाहिफ बहरतर्फ मुफरद बहरबाट बनेका १२८ओटा, मुरक्कव बहरबाट बनेका ६९ ओटा र अन्य ५ओटा गरी २४६ ओटा बहरमा गजल लेखिने सूत्र सहितको छोटो चिनारी र नमुना एव म प्रचलित पिङगल छन्द र उर्दू फारसी समानान्तर सूत्र बहरहरू ८० ओटाको विस्तृत विवरण यहाँ प्रस्तुत गरिएको छ ’ भनिएको छ । जे भनिएको छ, त्यो व्यवहारमा उतारेको देखिन्छ ।

यो गजल कृतिले गजल लेखनमा सरलिकृत गर्नको लागि–गजलको किसिम, गजलको संरचनाको बारेमा सङक्षिप्त प्रस्तुति पनि गरेको पाइन्छ । ती प्रस्तुतिलाई गजल लेखनमा सबैलाई सजिलो होस् भन्नको लागि मैले पनि करिब जस्ताको त्यस्तै यहाँ उतार गरेको छु भन्दा पनि हुन्छ–

गजलको किसिम

गजललाई दुईकिसिममा बर्गीकरण गरिएको छ एक त विषयबस्तुको आधारमा र दोस्रो रदीफको आधारमा । विषय बस्तुको आधारमा पनि गजललाई मुसलसल र गैरमुसलसल गरी दुई भागमा विभाजन गर्रिको छ । मुसलसल गजलभन्दा जुन गजलका सबै शेरहरू एउटै विषय बस्तुमा लेखिएका हुन्छन् । गैरमुसलसल गजल ती गजलहरूहुन् जसमा गजलका शेरहरू फरक–फरक विषय बस्तुमा लेखिएका हुन्छन् ।

गजललाई रदीफको आधारमा पनि बर्गीकरण गर्न सकिन्छ । रदीफको आधारमा पनि गजललाई दुई भागमा गर्न सकिन्छ । मुरद्दफ गजल र गैरमुरद्दफ । मुरद्दफ गजलमा काफिया र रदीफ दुवैको प्रयोग गरिएको हुन्छ भने गैरमुरद्दफ गजलमा रदीफको प्रयोग भएको हुँदैन ।

गजलको संरचनामा शेर, मतला, मक्ता, काफिया (पूर्ण काफिया, आंशिक काफिया, एक अक्षरे काफिया र मिसित काफिया) रदीफ, र बहर पर्दछन् । गजल दर्शनमा यी तत्त्वहरूको संङ्क्षेपमा बर्णन गरिएको छ ।

शेर

शेरको निर्माण दुई मिसराहरू मिलेर बन्दछ । शेरको माथिल्लो मिसरालाई मिसरा–ए–उल्ला र तल्लो मिसरालाई मिसरा–ए–सानी भनिन्छ । यी मिसराहरूको महत्वपूर्ण काम भनेको मिसरा–ए–उल्लाले भावलाई उठाउँछ भने मिसरा–ए–सानीले उठान गरिएको भावलाई पुष्टि गर्दछ ।

मतला

गजलको पहिलो शेरलाई मतला भनिन्छ जसको अर्थ हुन्छ गजलको आरम्भ या उदयहुनु । मतलाको दुवै हरफमा (मिसरामा) समान काफिया र रदीफ या रदिफविहीन गजल हो भने काफियाको मात्र प्रयोग हुन्छ । यदि कुनै गजलमा दुई मतला देखिएको छ भने तल्लो मतलालाई हुस्नेमतला या मतला– ए–सानी भनिन्छ ।

मक्ता

गजलको अन्तिम शेरलाई मक्ता भनिन्छ । यो गजलको बीचको शेर जस्तै प्रस्तुत हु‘न्छ । गजलकारले यसमा आफ्नो नाम या उपनाम पनि जोडेका हुन्छन् । यसरी जोडिने उपनामलाई तखल्लुस भनिन्छ तर गजलमा तखल्लुसको प्रयोग अनिवार्य छैन ।

काफिया

यदि गजल लेखिन्छ भने काफिया अनिवार्य रूपमा प्रयोग गर्नु पर्दछ । यो अपरिहार्य तत्त्व हो । काफियाको प्रयोग गजलका मतलामा र त्यस पछिका हरेक शेरका दोस्रो पंक्तिमा गरिन्छ । काफियाको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुरा के भने अक्षरत परिवर्तन गरिन्छ तर स्वरको परिवर्तन भने हुँदैन । गोर्खेले यसलाई यसरी परिभाषित गरेका छन् –‘स्वर समता र तुकबन्दीयुक्त अनुप्राशिक शब्दलाई नै काफिया भनिन्छ ’। यसलाई चार भागमा (पूर्ण काफिया, आंशिक या शब्दांश काफिया, एक अक्षरे काफिया र मिलित काफिया) बर्गीकरण गरिएको छ ।

पूर्ण काफिया पूर्ण शब्द जस्तै मर्न गर्न तर्न आदिलाई प्रयोग गरिएको हुन्छ । आँशिक वा शब्दांश काफियामा शब्दको अन्तिममा केही शब्दहरू काफियाको रूपमा प्रयोगमा आएका हुन्छन् जस्तै सिरानी, निशानी, आदि । शब्दको अन्तिम अक्षरलाई मात्र काफियाको रूपमा प्रयोग गरिन्छ भने यस्ता काफियालाई एक अक्षरे काफिया भनिन्छ जस्तै त्यस्तै हो, त्यो आदि । मिलित काफिया अति न्यून प्रयोग हुने काफिया हुन् ।

रदीफ

यो काफिया पछि आउने अपरिवर्तनीय शब्द हो । मत्लाको सबै मिसिरा र बाँकी शेरहरूको तल्लो मिसिराको अन्तिममा यसको प्रयोग हुन्छ । एक शब्ददेखि बढी शब्द रदीफको रूपमा प्रयोगमा ल्याइन्छ तर यो प्रयोग गर्नै पर्छ भन्ने छैन, प्रयोग गर्दा गजलमा मिठास भर्न सकिन्छ ।

बहर (छन्द)

यसमा गोर्खेको परिभाषामा ‘कुनै नियममा बाँधिएका शेरहरूको वजनलाई बह्र वा बहर भनिन्छ’ । बहरलाई तीन भागमा बिभाजन गरिएको पाइन्छ जस्तै आक्षरिक (नेपाली) बहर, अक्षर गनेर लेख्ने, मात्रिक बहर वा बर्ण मात्रिक बहरलाई शास्त्रीय बहरको रूपमा लिइएको छ र शास्त्रीय छन्द/बहर ।

आक्षरिक बहर:–आजको गजल लेखनको परम्परालाई केलाउँदा स्वतन्त्ररूपमा, आक्षरिकरूपमा र बहर (शास्त्रीय)मा गजल लेखिदै आएका छन् तर यहाँ स्वतन्त्ररूपमा लेखिने गजललाई नभै आक्षरिक (नेपाली) बहर देखि शास्त्रीय बहरको रुपमा लेखिएका गजलकार र तिनका गजल शेरहरूलाई गोर्खेले केलाउने काम गर्नुभएको छ ।

६ अक्षेरमा लेखिएका मिसरा

आक्षेरिक बहरमा ६ अक्षेरमा लेखिएका २१ वटा शेरलाई उदाहरणको रूपमा प्रस्तुत गरिएको छ । ती २१ वटा शेरका निर्माण गर्ने गजलकारको नामहरू यस प्रकार छन् – हुसैन खाँ, अथाहसागर तिर्थमान, गोर्खे साइँलो (२उदाहरण), लोकेन्द्र बन्जरा, छबिराज ढकाल, कुसुम कृष्ण, बूँद राना, सदानन्द अभागी, छन्दिका, अशोक बोहोरा, सिर्जना सुवेदी, विजय ज्ञावली, डा.सुधाशाही, गायत्री ‘परिरोशनी’, जीवी राना मगर, डा. दुबसु क्षेत्री, शरण आँसु, इन्दिरा खतेउडा प्रयास, वसन्त सायर र चित्र भट्टराई,

७ अक्षेरमा लेखिएका मिसरा

७ अक्षरमा लेखिएका मिसराको १८वटा उदाहरण दिइएको छ । ती अठारवटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् –हुसैन खाँ, गोर्खे साइँलो, गणेश नेपाली, प्रकाश गिरी ‘निश्चल’ सीता अन्जान बुढा थोकी, गोपी दवाडी, गीता घिमिरे, राममायाँ अधिकारी, गणेश शर्हा पौडेल, सदानन्द अभागी, डा. टीकाराम भण्डारी, शिव बराल, डा.सुधासाही, ईशाहक हुसैन, राज सरगम, लक्ष्मी राई, अजित अधिकारी र समीर ‘लेखू’ गुरुङ ।

८ अक्षेरमा लेखिएका मिसरा

८ अक्षरमा लेखिएका मिसराको ३४वटा उदाहरण दिइएको छ । ती ३४ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, डा.घनश्याम न्यौपाने परिश्रमी, सुमित्रा वाङ्देल,‘चेली’ ईश्वरी कार्की, गोर्खे साइँलो, रबि प्राञ्जल, गोरखसागर खत्री, राममाया अधिकारी, लेकेन्द्र बञ्जरा, खड्गसेन ओली, अमार त्यागी, कृष्णराज धमला, वीरबहादुर चन्द, ‘बिश्राम’, कृष्णा देवी शर्मा श्रेष्ठ, लक्कीचौधरी, अर्जन पौडेल ‘निर्जन’, आर के एलान मुखिया, कपिल ज्ञावली ‘जिज्ञासु’, अनुराग अधिकारी, ‘पिताम्बर’ युगज्योति क्रियाशील, सदानन्द अभागी, दामोदर सापकोटा, ज्योति जङ्गल, प्रेम प्रभात, इन्द्रसुर बेल्टारे, सुवास ‘यात्री’, सुनिल पुरी, डा.सुधासाही, रामविक्रम थापा (२), लेखनाथ काफले, डा. दुबसु क्षेत्री, रविन केसी, र मनी राई ।

९ अक्षेरमा लेखिएका मिसरा

९ अक्षरमा लेखिएका मिसराको २४ ओटा उदाहरण दिइएको छ । ती २४ ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, गोमा बैरागी, रमेश हरिलठ्ठक, किसान प्रेमी, गोर्खे साइँलो (२), रवि प्राञ्ज्वल, कृष्ण उदासी, चन्द्र अधिकारी, पिताम्बर चापागाईँ, बालकृष्ण थपलिया, राजेन्द्र थापा, विमलप्रकाश, देवकोटा, आर.के. एलान मुखिया, वियोगी बुढाथोकी, कृष्णा घिमिरे, डा. टीकाराम भण्डारी, निरज भट्टराई, दीपा ऐर ‘उदासी’, लक्ष्मी काफ्ले, उज्ज्वल जि.सी., पुरु लम्साल, एम के सलेनी र मनोज काफ्ले ।

१० अक्षेरमा लेखिएका मिसरा

१० अक्षरमा लेखिएका मिसराको २७ ओटा उदाहरण दिइएको छ । ती २७ ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, गोपाल अश्क, जनकराज पौड्याल, सुमित्रा वाङदेल,‘चेली’, ईश्वरी कार्की ‘वर्षा’ गोर्खे साइँलो, सुमित्रा ‘शिशु’ राममाया अधिकारी, कृष्ण उदासी, प्रेमदीप थाम्सुहाङ्ग, डा. दुबसु क्षेत्री (२), ईशाहक हुसेन, किसान प्रेमी, अथाह सागर, कविता शर्मा, रावत, इद्रिस सायल, डा. टीकाराम भण्डारी, बुद्धि सम्बाहाम्फे, विमला कार्की ‘सुस’, ऋषि शर्मा ‘सुदामा’, ज्ञानुवाकर पौडेल, राजन विफल पौडेल, देवी बराल, प्रकाश चन्द्र प्यासी र मनोज काफ्ले ।

११ अक्षेरमा लेखिएका मिसरा

११ अक्षरमा लेखिएका मिसराको ३३ ओटा उदाहरण दिइएको छ । ती ३३ ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, विमल पका्रश देवकोटा (२), धनकुटे कान्छो, देवकोटा विमलप्रकाश, साह रामप्रसाद, शाह रामप्रसाद, ईश्वरी कार्की ‘वर्षा’, गोर्खे साइँलो, गोवद्र्धज पूजा, जीतन भाइ, मधु पवोख्रेल, पुष्प अधिकारी अञ्जली, राम थापा,नेत्र एटम्, डा. ध्रुवचन्द्र गौतम, किसान प्रेमी, सुविसुधा आचार्य, शिला तिवारी, रावत, भ’वन निस्तेज, सूर्य प’जा ‘जहर’, ज्ञानुवाकर पौडेल, सुजन अधिकारी, ढाकाराम लामिछाने, मोहन शाही ‘मिलन सम्राट, ’क्षितिज शमर्पण, युद्ध विक्रम शाही, मनोज काफ्ले, हेमा आले, प्रकाश चन्द प्यासी’, सुमित्रा खनियाँ, र राधिका कुँइकेल ।

१२ अक्षेरमा लेखिएका मिसरा

१२ अक्षरमा लेखिएका मिसराको २७ ओटा उदाहरण दिइएको छ । ती २७ ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, ज्ञानुवाकर पौडेल, धर्म प्रधान ‘अकिञ्चन’, विमलप्रकाश देवकोटा, होमशङ्कर बास्तोला (२), गोर्खे साइँलो, जीवलाल खरेल, बालकृष्ण थपलिया, गोपाल पौडेल, टीकाराम उदासी, सरला जोशी, गोविन्द शृङ्खला, शंङ्कर सुवेदी, पुष्प अधिकारी अञ्जली, रामप्रसाद डोटेल ‘बालक’, डा. कृष्णहरि बराल, दिनमान गुर्भछान ‘दिगु, गङ्गानाथ कोइराला, ज्योति जङ्गल, ललिजन रावल, इन्द्रकुमार जेशी ‘विकल्प’ गङ्गा अभिलाषी, वीरबहादुर चन्द ‘विश्राम’, विजय पाण्डे, शारदा पाठक केवल र सरिताकुमारी जोशी ‘सोनु’ ।

१३ अक्षेरमा लेखिएका मिसरा

१३ अक्षरमा लेखिएका मिसराको ४२ ओटा उदाहरण दिइएको छ । ती ४२ ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, दिव्य गिरी, भूपी शेरचन, गोपाल पौडेल, शेखर अस्तित्व, दुर्गा कँडेल, लेखाराम सापकोटा, गोर्खे साइँलो, कृष्ण उदासी, विष्णुबहादुर सिंह, अनुराग अधिकारी, कृष्ण पहारी, घनश्याम अग्रहरी बुढाथोकी, इद्रिस खाँ, वियोगी बुढाथोकी, इन्द्रलाल श्रेष्ठ, किसान प्रेमी, कृष्णादेवी शर्मा श्रेष्ठ, सपना सुन्दर, श्याम सङ्कल्प, कृष्ण बस्याल ‘मुस्कान’, रवि विकल्प, धनु पोख्रेल, प्रकाश आङदेम्बे, ऋषि शर्मा ‘सुदामा’, मनु मञ्जिल, बूँद राना, ज्ञानुवाकर पौडेल, श्रेष्ठ ‘परिक्रमा’, विमला कार्की ‘सुस’, सनतकुमार बस्ती, मीना रिमाल, कपिल अज्ञात, डा. सुधा शाही, अन्जु स्मारिका, डा. निरज भट्टराई, विष्णु तिवारी ‘उषा’, शशी शर्मा मजगैया, अमला अधिकारी, लीलाधर पाण्डे ‘स्पन्दन’, ईश्वर न्यौपाने ‘युवराज’ र निरज भट्ट ।

१४ अक्षेरमा लेखिएका मिसरा

१४ अक्षरमा लेखिएका मिसराको ६२ ओटा उदाहरण दिइएको छ । ती ६२ ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, अनमोल मणि, वसन्त खनाल, मनुब्राजाकी, किसान प्रेमी, शेखर ‘अस्तित्व’ (२), भूपिन व्याकुल, जुनु क्षेत्री, ईशाहक हुसेन, केदार कुशल, बालकृष्ण थपलिया (२), धनकुटे कान्छो, बद्री वेदना, गोर्खे साइँलो, केदार नाथ खनाल, अनुपम रोशी, शिव प्रणत, होमशङ्कर बास्तोला, इन्द कुमार विकल्प, बलिभद्र कोइराला ‘विवश’, प्रकाश गिरी ‘निश्चल’, रेनुका भट्ट, धनराज गिरी, सरला जोशी, नवराज दाहाल, गाविन्द राज विनोदी, हरिप्रशाद लम्पूm, गोविन्द शृङ्खला, ह्यग्रीव आचार्य, प्रकट पंगेनी शिव, रमेश शुभेच्छुक, भुषाल, दुर्गा सुरज घिमिरे ‘दीपशिखा’, लीलानाथ ‘असन्तोषी, प्रेम प्रभात, मनुब्राजाकी, सामना पहाड, पुष्प आचार्य, डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, बिष्णु तिवारी ‘उषा’, शीतल गुरुङ ‘कादम्विनी’, देवी त्रिपाठी, सनत कुमार बस्ती, हरिदेवी कोइराला, श्रेष्ठ प्रिया ‘पत्थर’, लक्ष्मी पाण्डे ‘आशा’, रावत, जनक सुवेदी ‘ढुकढुकी’, एकु घिमिरे, रामहरि शर्मा ‘शराह’, चूडामणि नेपाल ‘अकिञ्चन’, वीरबहादुर चन्द ‘विश्राम’, कैलाशकुमार पाण्डेय, तिलकराज शर्मा, युवराज, सुवेदी, श्रीजन श्री, रमेश हरिलठ्ठक, अर्जुन उजाड, सरस्वती शर्मा ‘जिज्ञासु’ र दिपक समीप ।

१५ अक्षेरमा लेखिएका मिसरा

१५ अक्षरमा लेखिएका मिसराको ४६ओटा उदाहरण दिइएको छ । ती ४६ ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, खुसीराम पाख्रिन, धर्म प्रधान, अमर त्यागी, सीता आस्था ढुङ्गेल, रेशमलाल राजभण्डारी, गोर्खे साइँलो, ईश्वर बा, प्रकाश राजपुरी, उज्ज्वल जि.सी (२)., बिर्खे अन्जान, जोतारे धाइबा, डा. कृष्णहरि बराल (२), लीला अनमोल, प्रेम विनोद नन्दन (२), सुबिसुधा आचार्य, पुस्करराज भट्ट, कृष्ण कुमारी महत, वियोगी बुढाथोकी, प्रकाश सायमी, क्षेत्रप्रताप अधिकारी, विक्रमविवश, पुष्प अधिकारी अञ्जली, ललिजन रावल, ह्यग्रीव आचार्य, प्रेम विनोद नन्दन,अञ्जु भुषाल, राजन समीप साम्पाङ्ग, देवी त्रिपाठी, सुनिल सङ्गम, दामोदर बस्नेत, एकादेशको गगनराज, लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’, डा. दुबसु क्षेत्री, विमला चन्द ‘सानु’, नारायण प्रसाद काफ्ले, गीता पुडासैनी, शारदा पाठक केवल, बालिका अभिलाषी ‘विनित’, रामबहादुर पहाडी, कल्पना पौडेल ‘जिज्ञासु’ र पुष्प अधिकारी ।

१६ अक्षेरमा लेखिएका मिसरा

१६ अक्षरमा लेखिएका मिसराको ५०ओटा उदाहरण दिइएको छ । ती ५० ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, अमर त्यागी,अशोक बहरा ‘असिम पीडा’, विष्णुबहादुर सिंह, इन्दकुमार विकल्प, सुमित्रा वाङ्देल ‘चेली’, शान्ति नारायण श्रेष्ठ, केशवराज आमोदी, गोर्खे साइँलो, रवि प्राञ्जल, कृष्णा पहारी (३), राजेश खतेउडा, राममाया अधिकारी ‘पानीअमला’,जीशाह, सरला जोशी, विजय सुब्बा, रेणुका केसी, इन्दिरा इन्दु, जोतारे धाइवा, सुमित्रा पौडेल, एस्पी ‘शिव’, चित्र भट्टराई, अथाहसागर तिर्थमान, ध्रुव मधिकर्मी, नवराज दाहाल, सम्झना खड्का, उदास, वेहोसी, मनु ब्राजाकी, छवि चालिसे, नवराज लम्साल, दामोदर पुडासैनी ‘किशोर’, ग्रङ्गा अभिलासी, धर्मराज पोखरेल, श्रेष्ठ प्रिया पत्थर, मिलन समीर, जनक रसिक, लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’ सङ्गीता भट्ट, किसोर सङ्गम, शारदा पाठक, विमला चन्द ‘सानु’ जगतराम, बर्देवा ‘घायल’, जीवन शैली, सिर्जना शर्मा, अमला अधिकारी,
कल्पना गुरुङ र कपिल अञ्जान ।

१७ अक्षेरमा लेखिएका मिसरा

१७ अक्षरमा लेखिएका मिसराको ४५ओटा उदाहरण दिइएको छ । ती ४५ओटा मिसराका रचनाकारका नामावली यस प्रकार छन् – हुसैन खाँ, धर्म प्रधान, श्रेष्ठ प्रिया ‘पत्थर’, ऋचा लुइटेल (३), विजय सुब्बा, राजेन्द्र पहाडी, केशवराज, आमोदी, वीरबहादुर चन्द्र ‘विश्राम’, शुम्भु गिरी ‘निर्दोष जीवन’, प्रकाश गिरी ‘निश्चल’, गोर्खे साँइलो, भूपेन्द्र सुवेदी, ओमप्रकाश पुन ‘ज्वाला’, डा. कृष्णहरी बराल, सुनिता खनाल, ज्ञानुवाकर पौडेल, गणेश शर्मा पौडेल, रीता चापागार्इँ, सरस्वती शर्मा ‘जिज्ञासु’, मनु ब्राजाकी, विकास विनित, दामोदर सापकोटा, मोहराज शर्मा, एकादेशको गगनराज, सदानन्द अभागी, हेमा आले ‘बोगी’, सरू कँडेल, चाम्पा ढुङ्गाना, देवी पन्थी, दीपिका मिश्र, डिकेश लामा, प्रकाश पौडेल माइला, सायद भावना ‘शायरी’, लक्ष्मीदत्त भट्ट ‘सत्य प्रेमी (२), तीर्थ श्रेष्ठ, चर्चित ढुङ्गेल, डा. निरज भट्टराई, रूपिन्द्र प्रभावी कटु, खीमानन्द जोशी, विमला चन्द ‘सानु’, दीपक त्रिपाठी र द्रौपदी ओझा ‘ऋतु’ ।

मातृका बहर

कृतिकारले अक्षरलाई एकरूपता मानी लेखिएका आफ्नै शैलीलाई आक्षेरिक बहर मान्नुभएको र उपरोक्त ६ अक्षरदेखि १७ अक्षरसम्मका मिसराको उदाहरण प्रस्तुत गर्नुभएको छ र त्यस पछि मात्रिक बहरतिर लाग्नुभएको छ । मात्रिक बहरमा सबै मिसरामा बरबर मात्रा हुन्छन् । यसमा पनि १६मात्राका मिसराबाट उदाहरण प्रस्तुत गर्नुभएको छ ।

१६.मात्राका मिसरा

१६.मात्राका मिसरा भएका २९वटा उदाहरण दिइएको छ यी २९बटा मिसराका गजलकारका नामावली यसप्रकार छन् – हुसेन खाँ, गोर्खे साइँलो, ईश्वर बा, शान्तिराम पोख्रेल, ‘मधु’, दीपक आचार्य ‘रोदन’, अनुपम रोशी, त्रिलोचन गौतम, अमर न्यौपाने, तारा ज्ञावली, मोहित स्वच्छन्द परिहसित ‘रोशनी’, रामेश्वर श्रेष्ठ ‘जलन’, विमलप्रसाद देवकोटा, डा. कृष्णहरि बराल, पुष्करराज भट्ट, बूँद राना, जय गौडेल, सपना सुन्दर, निर्मल ढुङ्गाना, कपिल ज्ञावली, दामोदर सापकोटा, निरज भट्टराई, छवि चालिसे, युसुफदिन मिया पाल्पाली, गोपाल अश्क, लेखनाथ काफ्ले, सुदिप देवकोटा, विष्णु शर्मा ‘अथकमनु’, मनोज काफ्ले र राधिका कुइँकेल ।

१८ मात्राका मिसरा

१८.मात्राका मिसरा भएका १९वटा उदाहरण दिइएको छ । यी १९बटा मिसराका गजलकारका नामावली यसप्रकार छन् – हुसेन खाँ, गोपाल पौडेल, ईश्वरी कार्की ‘वर्षा’, गोर्खे साइँलो, नमुना शर्मा, नरेशविक्रम नेवाङ्ग, जनार्दन विकल, लीला अनमोल, ज्ञानुवाकर पौडेल, प्रेम ओझा, गोविन्दराज विनोदी, ऋषिराम पाण्डे, ईश्वर बस्याल ‘सम्भव’, किरण कालीकोटे, डा. घनश्यषम न्यौपाने ‘परिश्रमी’, शंकर पन्थी ‘ज्योतिविन्दु’, सोम सुवेदी, मनोज न्यौपाने र भावना पाठक ।

२४मात्राका मिसरा

२४.मात्राका मिसरा भएका ३५वटा उदाहरण दिइएको छ । यी ३५बटा मिसराका गजलकारका नामावली यसप्रकार छ – हुसेन खाँ, लक्ष्मीप्रसाद देवकोटा, दामोदर रिजाल घताने, शेखर अस्तित्व, जनकराज पौडयाल, गोवद्र्धन पूजा, चंकी श्रेष्ठ, राम प्रसाद शाह, गोर्खे साइँलो, कुसु क्षेत्री, रमेश हरिलठ्ठक, सीता आस्था (ढुङ्गेल), क्षेत्रप्रताप, अधिकारी, धर्मोगत शर्मा ‘तुफान’, लक्की चोधरी, प्रकाश राजपुरी, अनिल कुमार ‘निर्दोष’, प्रकट पंगेनी ‘शिव’, हेमन्ती जोशी, दामोदर सापकोटा ‘निमेष’, इन्द्र कुमार श्रेष्ठ सरित, धिरज त्रिवेणी, एकादेशको गगनराज, कल्पना काफले, सन्ध्या ढकाल, आर के अदिप्त गिरी, कृष्ण पहारी, कुमारी थापा ‘शिरिष’, गोविन्द लामी छाने, उर्मिला कार्की ‘निराशी’ डि. आर. पोख्रेल, कैलाशकुमार पाण्डेय, विमला चन्द ‘सानु’, शारदा पाठक ‘केवल’ र ईश्वर न्यौपाने ‘युवराज’ ।

२७ मात्राका मिसरा

२७ मात्राका मिसरा भएका ३०वटा उदाहरण दिइएको छ । यी ३०बटा मिसराका गजलकारका नामावली यसप्रकार छ – हुसेन खाँ, अशोक बोहोरा, गोर्खे साइँलो, पदम गौतम, राम गोपाल ‘आँशुतोष’, वीरबहादुचन्द विश्राम (२), पुष्प अधिकारी अञ्जली, नवराज दाहाल उत्साही, कपिल अज्ञात, ललिजन रावल, भैरवी ढुङ्गाना, ‘सुलप्का’, निरञ्जन ज्ञावली ‘कमर्श’, दामोदर पुडासैनी, ‘किशोर’, सरस्वती शर्मा जिज्ञासु’, सरोज घिमिरे ‘कर्कट कश्यप’, मनु ब्राजाकी, शान्तिनारायण श्रेष्ठ, श्रीजन श्री, सुशील घायल, भीम न्यौपाने, अञ्जली अधिकारी (बागला–४), देव नेपाल, विष्णु अभियोग, कुमार बाबु सिङ्खडा, सरला जोशी, सङ्गीता भट्ट, डा. दुवसु क्षेत्री, सदानन्द अभागी र शान्ति अधिकारी ।

शास्त्रीय बहर

अक्षेरी र मात्रिका मिसरा पछि कृतिकारले शास्त्रीय बहरमा प्रवेश गरेका छन् र उर्दू–फारसीका बहरहरूको जानकारीका लागि सजिलो पार्न सङक्षिप्तरूपमा बहरका केही तत्त्वहरूको जानकारी दिने काम पनि भएको छ । रुक्न (गण,यी एकदेखि सात अक्षरसम्म हुन्छन् यीनको प्रयोग पनि लघु (।) र लीर्घ (ऽ)रूपमा गरिन्छ ।) अर्कान (यसले गणजस्तै बहर निर्माणमा भूमिका खेल्छ यी दुई भागमा विभाजित छन् जस्तै सबाई अर्कान र खमासी अर्कान), मुसम्मन, मुसद्दस, मुरब्बा, सालिम, मुदाइफको बारेमा पनि सङ्क्षिप्त विवरण दिइएको छ ।

शास्त्रीय बहरका किसिम

शास्त्रीय बहरका किसिमहरूलाई तीन भागमा विभाजन गरिएको जानकारी दिइएको छ जस्तै, मुफरद बहर (मूल छन्द), मुरक्कब बहर (मिश्रित छन्द) र मुजाहिफ बहर (परिबर्तित छन्द)का उदाहरण सहित यी बहरहरूको वर्णन गरिएको देखिन्छ । यिनको बर्णनमा हरेकमा सूत्र अनि गजलकारका शेरहरूको उदाहरण प्रस्तुत गरिएको छ । मैले बहरमा गजल लेख्दिन र यस सम्बन्धमा त्यति जानकारी नभएकोले यसमा अगि बढ्न चाहान्न । शास्त्रीय बहरका नामहरू पनि उल्लेख नगरी केवल गजलकारहरूको नाम नदोहोरीने गरी प्रस्तुत गर्ने अनुमति माग्दछु ।

गजलकारहरूका उदाहरणमा दिएका केही नामहरू

हरेक बहरमा हुसैन खाँ अग्रपङ्तिमा नै उभिनु भएको छ भने गोर्खे साइँलो, डा. घनश्याम ‘परिश्रमी’ केशवराज आमोदीका युसुफदिन मिया पाल्पालीका मिसराहरू प्राय हरेक शास्त्रीय बहरमा उदाहरणस्वरूप अध्ययन गर्न पाइन्छ । त्यसपछि शास्त्रीय बहरमा गजल लेख्नेहरूको नामावली पनि कम छैन हेर्यौं केही उदाहरणहरू– मोतीराम भट्ट, शम्भुप्रसाद ढुङ्ग्याल, ढुङ्गाना निर्मल, लोकेन्द्र वन्जरा, रवि प्राञ्ज्वाल, शीतल कादम्बिनी, कृष्णप्रसाद कोइराला, गंगानाथ कोइराला, राम कुमार आशुतोष, जय गौडेल, रामविक्रम थापा, सनतकुमार बस्ती, सरोज काफ्ले, देवी नेपाल, प्रभाती किरण, मेघनाथ खनाल बन्धु, जनक रसिक, आवाज शर्मा, जयानन्द परमहंस, गोपाल पौडेल, दिव्य सागर साउद, प्रभाकर पण्डित, गोविन्द भट्ट, केशु विरही, छन्द मणि, माधव खतेउडा, धनेन्द्र ओझा, रमेश अधिकारी, ढुङ्गाना, निर्मल, लोकेन्द्र बन्जरा, उपेन्द्र बहादुर जिगर, कुसुम कृष्ण, बूँद राना, भीमनिधि तिवारी, शान्ति नारायण श्रेष्ठ, खोलाघरे साहिँलो, सुरेश सुवेदी, प्रज्ञा तिमल्सिना, अनमोलमणि, जय पौडेल,जय गौडेल, आवाज शर्मा, रश्मि असफल, अनिल क्षेत्री, रामहरी शर्मा ‘सराह’, जित कार्की, राधा कणेल, रमेश अधिकारी, डम्मर शर्मा बडु ‘ऐना’, दुष्यन्त कुमार, असफल संघर्ष ताविश, लक्ष्मीदत्त भट्ट, धनेन्द्र ओझा, गोरखसागर खत्री, डा. टीकाराम भण्डारी, आदि गजलकारहरूका नाम गजलशेरका उदाहरणहरू दिइएको छ । सबै गजलकारकानाम समावेश गर्न छुट भएकोमा क्षमा प्राथी छु ।

कृतिमा समेटिएका विविध पक्षहरू

यस कृतिमा उर्दू–फारसीबहर र संस्कृत पिङ्गल छन्दको तुलना, उर्दू भाषाको लेखाई र पढाइमा लचिलो पना, एक अक्षरे लचिला शब्दहरूको उदाहरण, बहुअक्षरे लचिला शब्दहरूको उदाहरणसमेत दिइएको छ । गजल दर्शनमा दिएका शेरहरूलाई नियालो भने पनि यहाँ विविधता छ । गजलको इतिहाँसदेखि लिएर नेपालमा गजलको शुरुवात, गजलहस्तिहरूका गजलका शेरहरूका उदाहरण, सूत्र सहितको उदाहरणले गर्दा गजल लेखनमा शुद्धता, सहजता, शालिनता, गजलकारीताको विशिष्टतालाई पहिल्याएर गजल लेखनको लागि सरलीकृतलाई प्रष्ट्याउने प्रयास गरिएको छ । यो एउटा महत्त्वपूर्ण खोज हो । यसमा गोर्खेको तन, मन, धन मात्र नभै वौद्धिकताको लगानी भएको छ । गजलकारिताको क्षेत्रमा यो कृति एउटा अमूल्य निधि हुन पुगेको छ । प्रा. डा. नारायण प्रसाद खनालले यसलाई आफ्ना क्षेत्रमा प्रथम बृहत् ग्रँथको रूपमा स्वीकार्नुभएको छ । यसमा केही हिन्दीका शेरका उदाहरण, केही उर्दूका शेरका उदाहरण, केही थारू भषाका शेरहरू, केही डोटेली भाषाको शेरहरूको उदाहरण दिएर स्थानीय मातृभाषालाई पनि महत्व दिइएको पाइन्छ । यसमा ३७७ ओटा स्वदेशी पत्रपत्रिका र पुस्तकहरूबाट लिइएका शेरका उदाहरणहरू को साथै ५५०जना स्रष्टाहरूका करिब ७७७ ओटा जति गजलका शेरका नमुनाहरू यसमा समावेश गरिएको देखिन्छ । गहिरिएर हेर्दा आजकल गजलका अनगिन्ती कृतिहरू प्रकाशमा आएका छन्, गजलको एकल कृतिलाई केलायो भने ‘अभागीको प्रेमविहारको षष्ठामृत’ सदानन्द अभागीद्वारा लिखित कृति, जसमा ५५२गजलका शेरहरू समावेस गरिएको छ, सायद आजसम्म लेखिएका गजलकारहरूको गजलको एकल कृतिमा यो सबैभन्दा ठूलो कृति हुन सक्छ तर ‘गजल दर्शन’को छुट्टै महत्त्व र अस्तित्व छ भन्नै पर्छ । गोर्खेले नेपालीमा लेखिएका गजलहरू, जसमा अक्षरलाई एकरूपता दिइएको छ,लाई नेपाली बहरका रूपमा लिएर गजलकार र गजल शेरको उदाहरण दिनु भएको छ । यो पनि एउटा बहरयुक्त र बहरमुक्त गजल लेखाईको बहसलाई न्यून पार्न र बहरमा नेपाली बहरले पनि एउटा उच्चस्थान लिन सफल देखिन्छ । गजलद र्शनमा समावेश गरेका शेरहरूको भावगत अध्ययन गर्दा पनि, यहाँ हरेक क्षेत्रमा गजलकारहरू पुगेको देखिन्छ । यहाँ राष्ट्र, राष्ट्रियता, सामाजिकता, सांस्कृतिक विविधता, राजनीतिक अस्थिरता, देशले खेप्न परेको द्वन्द्व, आर्थिक अभाव तथा गरिबी, बेरोजगारी, सामजिक विकृति विसङ्गति, परिवर्तनको चाहना, आदिलाई केलाउँदै मोतीराम भट्ट (१९२३–१९५३)ले थालनी गरेको गजलको विविधतालाई आजसम्मका काल खण्डमा रचिएका गजल कृति र शेरहरूले एउटा इतिहासको गतिलाई समात्दै, त्यस समयका समाजिक, राजनैतिक अर्थिक, विविध घटनाक्रमलाई नियाल्दै, प्राकृतिक सौन्दर्यता पोख्दै, प्रणय भावलाई अङ्गाल्दै,, अग्रगामी सोचलाई प्रष्ट्याउने गरी नवगजलकार देखि प्रौढहरूको (पुराना स्रष्टाहरू समेतको) गजलका शेरहरूको प्रस्तुति यसमा गरिएको छ । यस प्रकारको प्रस्तुतिले पुरना स्रष्टाहरूमा आदर भाव र नयाँ स्रष्टाहरूलाई हौसला प्रदान गरेको छ । गजल लेखनमा गुरुको आवश्यक्ता पर्दछ भन्ने गोर्खेको अवधारणालाई हरेक स्थानमा हुसेन खाँका शेरहरूलाई प्राथमिकताको साथमा राखिएको छ । प्रा.डा. नारायणप्रसाद खनालले यस कृतिलाई आफ्नो क्षेत्रमा प्रथम बृहत ग्रन्थकारूपमा लिनु भएको छ । यस कृतिमा ३७७ ओटा स्वदेशी पत्रपत्रिका र पुस्तकहरू साथै हिन्दी, उर्दू र फारसी पुस्तकहरूबाट ५५० जना स्रष्टाहरूका ७७७ गजलका शेर समावेश गरेर अध्ययन अनुसन्धान गरेको पाइन्छ । यसमा नेपाली, हिन्दी, उर्दूका बहरमा लेखिएका शेरहरूमात्र नभै नेपालभित्रका थारु डोटेल आदि मातृभाषालाई पनि उच्च मूल्याङ्कन गरेको पाइन्छ । आजको यो गजलत्रान्तिको युगमा गजलका कृतिहरूको प्रकाशन पनि अति तीब्र गतिमा भएका छन् । सदानन्द अभागीका गजलहरूको ‘अभागीको प्रेम विहारको षष्ठामृत’ सायद आजसम्म लेखिएका गजलकारहरूको एकल गजल कृतिमा ५५२गजल भएको सबैभन्दा ठूलो कृति हो जस्तो लाग्छ तर ‘गजल दर्शन’को छुट्टै अस्तित्व छ । यो गजलका शेर तथा गजलकारका नाम मात्र नभै गजलको क्षेत्रमा लेखिएको गुरुग्रन्थ हो ।

अन्त्यमा यो एउटा अनमोलमणि अनुकरणीय, सङ्ग्रहणीय कृति हो । यस कृतिका कृतिकारलाई कहिल्यै आलश्य नलागोस् भन्दै मुरी मुरी धन्यवाद दिंदै बिदा चाहान्छु ।
धन्यवाद ।

सन्दर्भ सामाग्री
गोर्खे साइँलो (ऋषिप्रसाद लामिछाने)को सङ्क्षिप्त जीवनी, लेखक गोर्खे साइँलो

सदानन्द अभागी
वि.सं. २०७० साल, फागुन १गते,
शान्तिचोक, कावासोती १, नवलपरासी

3 thoughts on “गजल दर्शन नियाल्दा”

  1. बडो मेहनतका साथ लेख्नु भएछ ।
    बडो मेहनतका साथ लेख्नु भएछ । धन्यवाद भने हे । तर लेखाइको सुरुमै तपाइँले लेखेको शब्द देख्दा मेरा दाँतमा ढुङ्गा लागे । प्रथमग्रासे मक्षिका पात ।

    दुनियाँमा कतै अत्याधिक पनि लेख्नुहुन्छ हामी जस्ता पठितहरुले । सच्याउनुहोला ।

  2. भो अब ।
    तर तपाई पनि उही अरुलाइ मात्र पढाउने मनस्थिति भएको हुनुहुँदो रहेछ । आफूमाथि भएको प्रतिक्रिया हेर्नसम्म पनि हेर्नुहुँदो रहेनछ ।

  3. सदानन्दजी
    सदानन्दजीसँग इन्टरनेट चलाउने वातावरण त्यति छैन, होमजी । यद्यपि, म तपाईंको कुरा वहाँसम्म पुर्याउने कोसिस गर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *