Skip to content

टोरोन्टोमा मोदनाथ प्रश्रित तथा कविता पौडेल अभिनन्दित


टोरोन्टो साहित्य समाज र एनआरएन क्यानाडाको संयुक्त आयोजनामा गत आईतबार १६ फरवरीका दिन टोरोन्टोमा एउटा भव्य समारोहका बीच नेपाली साहित्यका महारथी मदन पुरस्कारबाट सुशोभित भूतपूर्व शिक्षा मन्त्री, वरिष्ठ राजनीतिज्ञ, पौराणिक इतिहासका प्रगतिशील व्याख्याता तथा नेपाली संस्कृतिका गहन अनुसन्धानकर्ता डा. मोदनाथ प्रश्रित तथा नेपालमा महिला सशक्तिकरणका एक प्रेरक, साहित्यकार तथा संगीतकर्मी कल्पना पौडेललाई टोरोन्टोवासीका तर्फबाट सम्मान गरिएको थियो ।

डा. प्रश्रितले नेपाली साहित्यका विविध विधाका दर्जनौं पुस्तकहरूको र्सिजना गरेर नेपाली साहित्यको ढुकुटी भर्ने काममा पुर्याउनु भएको उल्लेखनीय भूमिकाको कदर गर्दै सम्मानसहित अभिनन्दन गरिएको थियो ।

त्यस्तै कल्पना पौडेलले नेपाली महिलाहरूका लागि प्रेरकका रुपमा रहेर नेपालमा पुरुषले मात्र गर्दै आएको र गर्नु पर्ने थोत्रो मान्यताका विरुद्ध उभिएर खेतमा हलो जोत्ने, घरको छानो छाउने, घरघरमा गएर औषधी बेच्नेबाट लिएर पुरुषको अधिनमा मात्र रहेको काममा महिला सहभागिता गराएर समाजमा महिलाको पहिचान स्थापित गराउनमा उनले खेलेको भूमिका तथा नेपाली साहित्यमा महिला उत्थानका दर्जनौं पुस्तक र गीति क्यासेटहरूका माध्यमबाट महिला सशक्तिकरणको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएकोले वहाँको अतुलनीय योगदानको सम्मान गर्दै अभिनन्दन गरिएको थियो ।

डा. मोदनाथ प्रश्रित प्रमुख अतिथि र कविता पौडेल विशेष अतिथिरहेको कार्यक्रमको सभापतित्व टोरोन्टो साहित्य समाजका अध्यक्ष मुक्ति गौतमले गर्नुभएको थियो ।

उक्त कार्यक्रमको थालनी एनआरएन क्यानाडाका सचिव विरेन्द्र लम्सालले स्वागत मन्तव्यबाट भएको थियो भने अन्त्य टोरोन्टो साहित्य समाज तथा एनआरएन क्यानाडाका सदस्य डा. तुलसी धरेलको धन्यवाद ज्ञापनबाट भएको थियो ।

रमेश थापाको कवितामय शैलीमा संचालित कार्यक्रममा एनआरएन क्यानाडाका उपाध्यक्ष रामहरि खड्काले एनआरएन क्यानाडामा रहेका नेपालीहरूको जनगणना गर्ने अभियानमा रहेको जानकारी गराउँदै एनआरएन क्यानाडा सबै स्थानीय संस्थाहरूसँग मिलेर काम गर्दै जाने भन्नुभयो ।

कार्यक्रममा टोरोन्टो साहित्य समाजका सल्लाहकार गोपीकृष्ण काफ्लेले अभिनन्दित द्वय व्यक्तित्वको जीवनीमाथि प्रकाश पार्नुभएको थियो भने अर्का सल्लाहकार डा. गोबिन्दसिंह रावतले टोरोन्टो साहित्य समाज २००४ देखि निरन्तर साहित्य कर्म गरिरहेको र नेपाली साहित्यका महारथीहरूलाई सम्मानसहित अभिनन्दन गर्दै आएको जानकारी गराउदै अभिनन्दित व्यक्तित्वलाई प्रदान गरिने अभिनन्दन पत्र पढेर सुनाउनु भएको थियो । वहाँले ४० वर्षअघि मोदनाथ प्रश्रितसँगको सम्पर्क र नेपाली नाटकमा अभिनयको थालनी प्रश्रितको पचास रुपियाको तम्सुकबाट भएको स्मरण सुनाउनु भयो ।

उक्त सम्मान कार्यक्रममा विशाल टोरोन्टोका विभिन्न संस्थाका प्रतिनीधिहरू नेवा गुठीका सन्त राजभण्डारी, एनसिसिएसका गोपाल घिमिरे, एनसिएचसिका डा. हरी गुरुङ्ग, एनसिएनसिका डि.आर. रेग्मी, कन्सर्न नेपालका अञ्जनी भट्टराई आदिले अभिनन्दित व्यक्तित्वलाई शुभकामना दिनु भएका थिए ।

कार्यक्रममा एनआरएन क्यानाडा, भाषा साहित्य समितिका संयोजक कुसुम ज्ञवालीको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

कार्यक्रममा अभिनन्दित कविता पौडेलले नेपालको अवस्था नराम्रो भएको र गतिला नेताहरू नभएकोले नेपालीहरू पलायन हुँदै गएको वास्तविकतामाथि प्रकाश पार्दै यहाँको सीपलाई नेपालमा प्रयोग गर्न सके नेपाल पनि स्वर्ग बनाउन सकिने अभिव्यक्ति दिनु भएको थियो वहाँले आफ्नो साहित्यको सिर्जना दुःख र अभावसँग संघर्ष गर्दाका कारण भएको बताउदै आफूले ९ वर्षको उमेरमा मोदनाथ प्रश्रितसँग बिहे गर्नु परे तापनि धेरै समय एक्लै बसेर महिला अधिकारका लागि संघर्ष गरेको वास्तविकता सुनाउदै नेपालको वर्तमान यथार्थतामाथि प्रकाश पार्ने विषयवस्तुमा आधारित आफ्नो गीत पनि सुनाउनु भएको थियो ।

नेपाली संस्कृति, समाजशास्त्रक, धर्मशास्त्र, इतिहासका मर्मज्ञ तथा परम्परागत संस्कृतिका वैज्ञानिक व्याख्याता र नाटककार डा. प्रश्रितले आफ्नो साहित्य सिर्जनाका बारेमा प्रकाश पार्दै साहित्यको सिर्जना मनोरञ्जनका लागि नभएर सामाजिक विसङ्गतिमाथि प्रकाश पार्नका लागि गरिएको जानकारी दिनु भएको थियो । मनतब्यको क्रममा वहाँले आफ्ना प्रकाशित कृतिहरूको सिर्जनाको वास्तविकतामाथि प्रकाश पार्नुभएको थियो । नेपाल वास्तविक बहुमूल्य खानी हो तर नेपालीहरूको असक्षमताले गर्दा नै नेपाल पछाडि पर्दै गएको भन्दै समय अनुसारको परिवर्तन नेपालमा पनि हुनेका आफू आशावादिरहेका बताउनु भयो । वहाँले धर्मको नाममा समाज बाडिएकोमा विरोध गर्दै देशमा कहिले उत्थान र कहिले पतनको वातावरण भइनै रहन्छ तसर्थ पर्यावरणले भरीपूर्ण नेपालको उत्थान अवश्य हुने कुरा बताउनु भयो । वहाँले समाजमा देखा परेको कुरालाई साहित्यमा समेटेको भन्दै जातपातको विरोधमा मानव महाकाव्य जन्मेको र त्यसरीनै अरु कृतिहरू पनि लेखिदै गएको भन्नुभयो । साहित्यलाई आफूले मनोरञ्जनको लागि नभएर समाज परिवर्तनका लागि प्रयोग गरेको भन्दै साहित्य आफ्नो भावना प्रधान र विचार प्रधान नभएर विज्ञान प्रधान हुनु पर्ने र साहित्यको उद्देश्य भनेको मानिसलाई सही बाटो देखाउनु हुनु पर्छ भन्नुभयो । वहाँले आफ्ना साहित्यिक सिर्जनाका बारेमा घण्टौंसम्म बोलिरहदा पनि सभाकक्ष नअटाएर उभिएर पनि उपस्थित दर्शक वहाँ जस्ता विद्वानबाट अँझ बढी सुनिरहने मनस्थितिमा थिए तर समयाभावले गर्दा वहाँले बुद्धलाई विश्वको एकमात्र विद्वान भन्दै आफ्नो ओजपूर्ण र आकर्षित बक्तव्य टुङ्ग्याउनु भएको थियो ।

उक्त कार्यक्रममा विगत १९ वर्षदेखि प्रकाशित हुँदै आएको दियालो पत्रिकाको नयाँ अंकको विमोचन संयुक्त रुपमा अभिनन्दित व्यक्तित्वहरूबाट भएको थियो ।

गोपीकृष्ण काफ्लेको संपादनमा प्रकाशित एवम एनसिएनसीको प्रकाशनमा प्रकाशित दियालोको प्रकाशनका बारे एनसिएनसीका अध्यक्ष बालचन्द्र श्रेष्ठले जानकारी गराउदै यसको निरन्तरताका लागि सबै संस्थाहरू अगाडि आउनु पर्ने अनुरोध गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाका सभापति मुक्ति गौतम टोरोन्टो साहित्य समाजले एनआरएन क्यानाडासँग मिलेर साहित्य कार्यक्रमहरू गर्दै आएको र भविष्यमा पनि दुई संस्थाको संयुक्त आयोजनामा साहित्यिक कार्यक्रमलाई व्यापकता दिने जानकारी गराउनु भयो ।

डा. गोबिन्दसिंह रावत

Leave a Reply

Your email address will not be published. Required fields are marked *