Skip to content


काठमाडौंमा मान्छे हराउन पनि सक्छ, पाउन पनि सक्छ- दुवै विविधता छन् यो सहरमा।

तर, म त काठमाडौंमा होइन। काठमाडौंको सानो गल्लीभित्र गएर थन्किएको ठूलो चोक टेबहालमा गएर हराएको छु, तीस दशकको अन्त्यपूर्व त्यससँगै सुरु भएको उदीप्त समय। मध्यान्तरपछि थाकेको फुटबल टिमको खेलजस्तो समय थियो त्यो बेला, यो देशको।

आधा मान्छे चुनावमा हारेर लखतरान थिए, आधा जितेर उन्मादमा थिए तर थकाइ दुवैमा थियो।

वर्ष २०३८। म काठमाडौं बस्नेगरी आइपुगेँ, स्कुले अध्ययन सकेर। अनि पत्रकारिताको जीवनको उत्साह बोकेर नेपालमा भर्खर सुरु भएको पत्रकारिताको विद्यार्थी बन्न गएँ, रत्नराज्यलक्ष्मी क्याम्पसमा। पढाउने शिक्षकहरू तिनै थिए, जो प्राय: अखबारमा समाचार लेख्थे, फोटो खिच्थे।

पत्रकारिताबाहेक अर्को रुचिको विषय थियो, नाटक खेल्ने र कविता भन्ने। दुवै कार्यका लागि काठमाडौंको पीपलबोट एक आकर्षणको थलो थियो। म पुगेँ, त्यहाँ उभिन।

उभिँदा जो जो देखिन्थे, ती सबलाई म नामले र अनुहारले प्राय: चिन्थेँ। फरक यतिमात्र पर्थ्यो, फोटो देख्दा अग्लो लागेको मान्छे त्यहाँ भेट्दा पुड्को वा अपेक्षित उँचाइको लाग्दैन थियो।

कोही संगत गर्दै गएपछि आवश्यकताभन्दा बढी पुड्को वा होचो लाग्थ्यो। त्यही भीडमा मैले एक दिन जीवन आचार्यलाई भेटेँ, उनीसित परिचयजस्तो केही भयो। परिचय भएकै दिन उनले मेरो कविता सुने काठमाडौं नगर पञ्चायतको सभा भवनमा। कविता पढिसकेर बालकृष्ण सम र सिद्धिचरण श्रेष्ठले उठेर बधाई दिए, समजीले त धाप नै मारे।

कविता पढिसकेर फेरि भर्‍याङको ओरालोमा जीवन भेटिए, उनी केही भन्न खोज्दै थिए। म साथीहरूसित पारि पुगिसकेको थिएँ।

भोलिपल्ट जीवन आचार्य त्यहीँ पीपलबोटको अव्यवस्थित रंगमञ्चमा भेटिए, गलामा गलबन्दी र जिनको ज्याकेटमा कडरायज्को प्यान्टमा। उनले मेरो नजिक आएर हात समात्दै भने, ‘बूढाहरूले तारिफ गरे पनि कविता चैँ तपाईंको ठीकै थियो।’

मैले उनको कविताबारे केही भन्नै नपाई उनले आफ्नो कविताको बारेमा पनि भनिहाले, ‘मेरो पनि खास थिएन। त्यहाँ डिस्टर्बमात्र गर्न गएको हो म।’

‘डिस्टर्ब’ उनको यो भद्र अवज्ञा मन पर्‍यो मलाई। अनि मेरो कवितामाथिको ठाडो टिप्पणी पनि कम थिएन। ‘हामी केही डिस्टर्ब गर्ने हो त?’, उनले फेरि मलाई सोधे, ‘उमेरले मेरो दाजुसरहका जीवन आचार्यमा दाजुको सिन्ड्रोम कमै थियो। उनलाई मन नपरेका वा नरुचेका मान्छे आए कि उनी भन्थे, ऊ आयो बुंगो।’

उनको मन पर्ने सूचीमा कमै मान्छे पर्थे। विशेषत: ईश्वरवल्लभ, हरिभक्त कटुवाल, तोया गुरुङ, अनीता तुलाधर, वानिरा गिरी, विमल कोइराला, फणिन्द्र नेपाल, दिनेश सत्याल, अवि राई, शिव रिन्छिन्बुँग, शिव अधिकारी, भवानी घिमिरे आदि।

उनले मलाई दोस्रो भेटमा उपन्यासकार ‘पारिजातको घर जाने’ भनेर सोधे। सायद त्यो कुनै अन्तर्वार्ताको निम्ति थियो क्यार? म गइनँ, उनी गएर आए। अनि सुनाए, त्यो भेटको लम्बाचौडा बखान। र त्यो छापियो पनि त्यति बेलाको चेतना साप्ताहिक नामक पत्रिकामा।

चेतना साप्ताहिक टेबहालबाट निस्किने एउटा साप्ताहिक पत्रिका थियो। त्यसका प्रधान सम्पादक बद्रीप्रसाद मण्डल र सम्पादक थिए सोमनाथ घिमिरे।

चेतना साप्ताहिकसित यसरी सुरु भएको मेरो परिचय कालान्तरमा एक परिच्छेद नै बन्न पुग्ला भन्ने सोचेकोसम्म पनि थिइनँ, भयो त्यस्तै नै। साप्ताहिक पत्रिकासित हुने भेट पछि दिनदिनै पनि हुन थाल्यो।

चेतना साप्ताहिक, समीक्षा साप्ताहिक, नेपाल टाइम्स, जनजागृति, नयाँ सन्देश, मातृभूमि त्यति बेलाका चलेका अखबार थिए।

म एक दिन संयोगले जीवन आचार्यको डेराबाट निस्किँदै गर्दा चेतना साप्ताहिकको कार्यालयमा ठोक्किन पुगेँ, जीवन टेबहालभित्रै डेरा गरेर बस्थे। चेतना उनको डेराको पारिपट्टि नै पर्दो रहेछ, त्यो उनकै डेरा पुगेपछि थाहा भो।

एक दिन चेतना साप्ताहिकको कार्यालय पुगियो, कार्यालय समयमै। पत्रिकाको कार्यालय समय २ बजेपछि हुँदो रहेछ। त्यहीँ भेट भए सम्पादक सोमनाथ घिमिरे। साधारण शैलीको बोली र भद्र सोमनाथ घिमिरेलाई मैले पहिलो भेटमा एउटा रंगमञ्चसम्बन्धी लेख दिएँ, उहाँले तत्काल छापिदिनुभयो।

भोलिपल्ट आफैंले पीपलबोटमा उभिएर पढ्न थालेँ, यसरी सुरु भयो पत्रकारिताको जीवन। फेरि अर्को हप्ता आफ्नै सहपाठी रवीन्द्र मिश्रले जीवनमा पहिलोपटक लेखेको रेडियो नेपालका कार्यक्रमसम्बन्धी समीक्षात्मक टिप्पणी भएको लेख पनि मैले चेतनामा ल्याएर छापिदिएँ, उनको पनि पहिलो लेख छापिएको खुसीमा उनले धेरै वर्ष पछिसम्म पनि गुण राखिरहे।

चेतना साप्ताहिकमा जीवन आचार्य र दिनेश सत्याल आआफ्नो नाममा स्तम्भ चलाउँथे। दुवैको सम्बन्ध र स्तम्भ लोकप्रिय थियो। सम्भवत: पहिलोपटक दिनेश सत्यालकै कलमबाट मैले पहिलोपटक पोखराका लेखक भक्त श्रेष्ठको नाम पढ्न पाएँ। उनले लेखेका थिए, या भक्तलाई काठमाडौं ल्याऊ या त काठमाडौंलाई पोखरा लग।

यो त्यति बेला चर्चाको विषय नै बन्यो।

भक्त श्रेष्ठ पछि सरुभक्त भए, दिनेश सत्याल सौरभ।

कुनै दिन साँच्चै भक्त श्रेष्ठ नै काठमाडौं आएको खबर पाएँ। भेट्न गएँ, टाढा पनि होइन टेबहालभित्रै संकटा लजको १०३ नम्बर कोठामा। संकटा लज टेबहालभित्र नै पर्दो रहेछ, भोलिपल्ट थाहा भो, चेतना पत्रिकाको कार्यालयसँगै जोडिएको अर्को घर।

भक्त श्रेष्ठलाई भेटेपछि मैले नेपाली रंगमञ्चबारे एउटा समीक्षात्मक लेख लेखेँ, सम्पादक सोमनाथ घिमिरेले ह्रस्वदीर्घ पनि नसच्याईकन छापिदिनु भो। भोलिपल्ट सोमनाथ दाइलाई धन्यवाद भन्न पुगेको, उहाँले उल्टै मलाई भन्नु भो, ‘यतै काम गर्नुस् प्रकाशजी। हामी हेरौंला।’

त्यसपछि सुरु भयो जागिरे जीवन। अनि आफ्ना सहायक पनि खोज्नपर्ने भो। मैले मेरा स्कुलका सहपाठी रामशंकर ज्यापूलाई बोलाएँ। उनलाई पनि नियुक्त गरियो एउटा साइकलसहित।

रामशंकर पत्रिका पुर्‍याउने, पैसा उठाउने, हुलाकमा गएर पोस्ट गर्ने विभिन्न काममा खट्थे। म सोमनाथ दाइसित बसेर पाठक प्रतिक्रिया र जिल्ला समाचार सम्पादन गर्थें। त्यति बेला धेरै पाठक प्रतिक्रिया दुईजनाको हुन्थ्यो- नकुल सिलवाल र ललिजन रावल। दुवैजना सायद काठमाडौं आइसकेका थिएनन् त्यो बेलासम्म। अनि अरू पाठक प्रतिक्रिया रामचन्द्र शर्मा, शरद पोखरेल, बिएल तण्डुकार, समा शाही, समिता खड्गी आदिका हुन्थे। पत्र छान्दै सम्पादन गर्ने काम म गर्थें।

कहिलेकाहीँ अनुवाद गर्ने काम पनि गर्थें। थोरै पारिश्रमिकमा सुरु भएको यो धन्दाबाट म साहित्य, सिनेमा, रंगमञ्च र कलाको अद्भुत दुनियाँमा तानिँदै गएँ। ‘सारिका, ‘धर्मयुग, दिनमान, टाइम्स अफ इन्डिया, टाइम, न्युज विक, रूपरेखा, रचना, अभिव्यक्ति नियमित पढ्ने हुन थालेँ। कहिलेकाहीँ फिल्मफेअर पनि।

टेबहालको त्यो फराकिलो चोकभित्र नै मैले आधा काठमाडौं देखेँ। त्यहाँ एउटा फुटबल क्लब थियो संकटा क्लब नामको जसको प्रतिस्पर्धा दार्जिलिङ-११सित बाहेक काठमाडौंकै एनआरटी, महेन्द्र पुलिस क्लब, आरसीटी आदिसित हुने गर्थ्यो। संकटा क्लबका कारण चर्चित टेबहालभित्रै संकटाको मन्दिर पनि थियो। टेबहालबाट न्युरोडको पीपलबोट नजिक पर्थ्यो भने गोश्वारा हुलाको अफिस अनि टुँडिखेल झन् नजिक। बस चढ्न सहिद गेट नजिक पर्थ्यो भने फुटबल हेर्न जान रंगशाला पनि नजिक।

टेबहालमा बिताएका चेतनाका दिन एक दिन अचानक रोकियो, के कति कारणले र किन रोकियो बुझ्न नपाईकन हामी टेबहालबाट टाढा भयौं। जीवन कता, दिनेश कता भए। तर, सम्पादक सोमनाथ दाइ चैं टेबहालभित्रै कुनै नेवार परिवारको घरमै डेरामा बस्थे। भेट्न गइयो र उनले भने, ‘पख्नुस् न। अरू केही गरौंला।’

टेबहालसित सुरु भएको त्यो साप्ताहिक दिन वर्ष दिनमा निकै घनिष्ठ भइसकेको थियो। घरबाट टेबहाल, टेबहालबाट बेलुकाको न्युरोड। अनि न्युरोडबाट खेल सकेर घर फर्केका दर्शकझैं कोही बस पक्रन रत्नपार्क दौडिन्थे, कोही खिचापोखरी भएर सहिद गेट जान्थे, कोही वसन्तपुर भएर स्वयम्भू र ताहचाल जान्थे। बाँकी कोही फेरि टेबहाल पसेर आरएनएसीको भवनपछाडिबाट छुट्टिन्थे तर कोहीकोही फेरि साँझसम्म न्युरोडसित जोडिइरहन बैंगलोर कफी हाउसको भर्‍याङ चढ्थे।

काठमाडौंमा कफी कल्चर भित्र्याउन अह म भूमिका निर्वाह गर्ने बैंगलोर कफी हाउस साहित्य, राजनीति, पत्रकारिता, व्यापार जगत्का निम्ति लोकप्रिय ठाउँ थियो। तर, यहाँको चियाले पनि साहित्यकारलाई धानेको थियो भन्न सकिन्छ, अनि फिंगर चिप्स। बैंगलोर कफी हाउस आउँदा रश्मि रेस्त्राँ, मोतीमहल, इन्दिरा रेस्त्राँ, शिवाज् स्काई अलि सुस्ताइसकेका थिए।

बैंगलोर कफी हाउसको छेउबाटै टेबहाल पस्ने मोटरसाइकले गल्ली थियो, त्यही गल्लीको पारिपट्टि संकटा मन्दिर। संकटा मन्दिरको ठिक पछाडि एक दिन नयाँ पत्रिका ‘युगसंवाद’को कार्यालय खुल्यो। सोमनाथ घिमिरेकै सम्पादन र भूषण घिमिरेको व्यवस्थापनमा सुरु भएको युगसंवादमा नयाँनयाँ साथी भेट भए- रमण घिमिरे, गुणराज लुइँटेल, जयदेव, मञ्जु थापा आदि।

युगसंवाद बजारमा आइसक्दा काठमाडौंको बजारमा धेरै साप्ताहिक पत्रिका देखा पर्दै थिए भने धेरै साप्ताहिक पत्रिका बन्द पनि हुँदै थिए। प्रेस पनि बिस्तारै ग्याली कम्पोजबाट कम्प्युटर टाइपिङतिर गइसकेको थियो।

युगसंवाद साप्ताहिक पत्रिका प्रकाशनको समय अरूखाले साहित्यिक पत्रिका मन्दमन्दजस्तै भइसकेका थिए। वासु शशीको सञ्चयन, जीवन आचार्यको आकुञ्चन, भवानी घिमिरेको भानु।

अनि बजारमा केही सिनेपत्रिका भर्खरै देखा परेका थिए- विजय उदय पाल्पालीको ममता, विश्व बस्नेतको मधुरम, पुष्करलाल श्रेष्ठको कामना। तर पनि साप्ताहिक पत्रिकामा स्तम्भ लेख्नुको आनन्द अर्कै हुने भएर युगसंवादमा मैले सिनेमा र रंगमञ्चमा केन्द्रित भएर ‘नेपथ्य’ नामबाट स्तम्भ सुरु गरेँ। तर, यहाँबाट मेरो यात्रा नेपथ्यबाट केन्द्रतिर सुरु हुन थाल्यो।

नेपथ्यमार्फत मैले धेरै पुराना विराना कलाकार, चिनेजानेका स्रष्टासाधकसित भेट्ने र विचार साट्ने मौका पाएँ।

नेपथ्यसितको यो सहकार्यमै मैले अत्यन्त सहृदयी मित्र गुणराज लुइँटेलजीसित परिचित हुने मौका पाएँ। हुन त हामी त्यति बेलादेखि अहिलेसम्म पनि आफ्नो परिचयलाई नेपथ्यमा राखेर नै कुरा गर्दैछौं। परिचयका कारण हामी जति निकट भयौं, त्यो निकटता सदैव सीमित गतिमा अघि बढ्यो, चाहे हिजो चाहे आज।

युगसंवादका निकटका दिनपछि गुणराजजीसित धेरै वर्ष भेट भएन। यसबीच धेरै अरू गुणराज नाम भएका साथी भेटिए, छुटिए तर गुणराजजी मनमस्तिष्कमा यथावत् नै रहनुभयो- सिनेमा स्ट्याब्लिस सट् भनेजस्तै।

पछि धेरैपछि गुणराजजी फेरि अर्को समूहमा बाग्मतीको किनारमा एउटा दैनिकीको प्रकाशनको बेला भेटिनुभयो। उहाँसित धरानका साथी रमेश केसी, अनुप पनि थिए वा रहे। सारा भेटलाई गुणराजजीले पोखराको एउटा भेटमा गुण गुणांश तिरिदिनुभयो, जुन पोखराको एफएमजगत् र पोखरावासीका निम्ति एउटा पत्रकारले दिएको त्यो स्नेह सदैव यादगार रहनेछ।

सन्दर्भत: पचासको दशकको अन्त्यतिर म संलग्न पोखराको रेडियो अन्नपूर्णमा कार्यरत सञ्चारकर्मी सरला परियारका बारेमा उहाँले लेखेको समाचारले जुन तरंग ल्यायो, त्यो सायद अवर्णनीय छ। आज सरलाले सफल जीवन बिताएकी छन् वा रेडियो अन्नपूर्णले जुन पहिचान बनाएको छ, त्यसको केही श्रेय पत्रकार वा समाजचिन्तकका दृष्टिले गुणराजजीलाई नै जान्छ।

त्यसैले मलाई लाग्छ, सम्बन्ध कहिलेकाहीँ ऋण तिर्न नसकिने गरी भारी हुन्छ।

अन्नपूर्ण पोष्ट
२०७० फागुन १०, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *