Skip to content


कुनै अमूर्त चित्रकारको
गम्भीर चित्रकला
हातमा राखेर,
र त्यस्तै मनहरू
आफ्ना सन्ततिका !
छातीमा राखेर
साह्रै जटील लाग्न थालेका छन
आमालाई !
बुझनै नसकिने रहस्यहरू
अचेल !

एउटा प्रश्नको उत्तर भेटिएको छैन अँझै
बृद्धाश्रममा बुझाउने छोराको
गुणी मनको,
मीठो निवन्ध लेखेर
उत्तरपुस्तिका भर्नलाई ।

आँखा बन्द गरेर
मेटाउन सकिने रहेछ
कसैको अमूर्त चित्रलाई
तर
यति भीषण आँधी चलाएर
आँखाबाट पूरै साउन भदौ बगिसक्दा पनि
छातीको वीचमा टापु बनाएर बसेको
आफनै “प्रेम” किन बग्दैन ?
र, प्रश्न गर्छिन आफैसँग
बृद्धाश्रम पुग्ने बाटाहरू
किन पुग्दैनन होला ?
म भित्रिएको दैलोसम्म ?
के त्यति साँघुरो छ त्यो घर ?

बरु आयरग्लास लगाएरै भएपनि
अर्थ निकाल्न सकिन्छ होला
अमूर्त चित्रको
तर मान्छेको मन ……………..?
कस्तो अमूर्त रँगमा कुँदिएको हुन्छ कुन्नि ?

दीपेन्द्र अपजसी
बागलुङ,
हाल ओस्टण्डे बेल्जियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *