Skip to content

होइन म

  • by

ढुङ्गोले बजाउनेलाई फूलले मुसार्ने मान्छे होइन म,
अकारण माफीको भारले किचिएर
लचक्क निहुरिने अनि
थप्पडको बदलामा थपडी पैँचो लगाएर
‘मौका’ को चोर् दैलो पर्खिने
एउटाको नजरको आसंका
र अर्कोको नजरको ‘कृपालु’ मान्छे हुँदै होइन म ।

फूलको अपेक्षा गर्नेले ढुङ्गो ताक्नु हुँदैन
आफूलाई जोगाउने हर कोहीले अर्कोलाई निमोठ्नु हुँदैन,
नीतिका उपदेशहरू व्यबहारमा लागु गरिनु पर्छ
नत्र ओठका प्रार्थना चुपचाप सुनिदिएर
खल्तीमा लुकाइएका धारिला हतियारको पूजा गर्ने
र नूनको मूल्यमा हरबार खुन बेच्ने मान्छे होइन म ।

देख्छु बिनाकारण सजायको भागिदार बनाइन्छ
या सामर्थ्यभन्दा ठुलो प्रतिष्ठाको पट्टीले
आँखा छोपीइन्छ, मुख टालिइन्छ
र बन्द ओठभित्र ‘स्वीकारोक्ति’ को मन्त्र पढाइन्छ
अनि ‘सेतो झुट’ बधशालामा बेफिक्री ‘उत्साह्’हरूको बलि चढाइन्छ,
तर ‘वशिकरण’ को ‘लत’मा
बोकिनसक्नुको अभिनन्दन-दाम्लोमा बाँधिएर
चुपचाप कपटी मियोको पहरार्थ घुम्ने मान्छे होइन म ।

दीप्स शाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *