Skip to content

मलाई चाहिएको दाइजो


अनुहारमा लाली घसेर नआऊ
कोखिमा गन्ध छरेर नआऊ
मलाई लोभ्याउँछ
त्यो बालो योवन बोकेर नआऊ
बरु सक्छौं भने
मसँग जुध्ने छाइलो लिएर आऊ
अबको जिन्दगी केही रमाइलो लिएर आऊ
म चाहन्न,
मेरी श्रीमती चार दिवालमा कोट्टिएको
त्यसैले–
घर बाहिर हिँड्ने पाइलो लिएर आऊ ।

म रहेसम्म सिन्दुर बोक्ने सिउँदो लिएर नआऊ
मेरो मृत्यूपश्चात बिधवा हुने खबर लिएर नआऊ
म भगवान होइन
जिन्दगीभर मलाई पुज्ने प्रसाद लिएर नआऊ
बरु सक्छौं भने
कसैगरी नझुक्ने शीर लिएर आऊ
मलाई दिन सक्ने थोरै पीर लिएर आऊ
म चाहन्न,
मेरी श्रीमती लाचार माखोझैँ
त्यसैले–
छाती भित्र एउटा वीर लिएर आऊ ।

आपतमा अनायश झर्ने आँसु लिएर नआऊ
जति हेला खप्न सक्ने त्यस्तो सहनसिलता लिएर नआऊ
म मर्न पनि अराउँलो
मेरो इसारामा चल्ने कुनै चाल लिएर नआऊ
बरु सक्छौं भने
मलाई हिर्काउन सक्ने लात लिएर आऊ
मलाई रुवाउन सक्ने रात लिएर आऊ
म चाहन्न,
मेरी श्रीमती मभन्दा तल्लो स्थरको
त्यसैले–
यो पुरुषभन्दा ठूलो जात लिएर आऊ ।

मलाई आफ्नो जिन्दगी भिक्षा लिएर नआऊ
पति पर्मेश्वर त्यस्तो शिक्षा लिएर नआऊ
म धोका पनि गर्न सक्ला
म प्रति जम्मै विश्वास लिएर नआऊ
बरु सक्छौं भने
कहिल्यै नहार्ने मन लिएर आऊ
अलिकति ह्याउ जुन धन लिएर आऊ
म चाहन्न,
पुरुष भनेर मलाई धमन्ड आओस्
त्यसैले–
त्यो फोड्ने कुनै घन लिएर आऊ ।

सुशील शाह
(कुपण्डोल, ललितपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *