Skip to content

पैसाले अघाएको स्रष्टाको रुपान्तरण (स्रष्टा जगदीश घिमिरेको अन्तिम बिदाइ)


जाँदो १४ कातिक बिहान टिभिको स्कोलिङ न्युजमा स्रष्टा जगदीश घिमिरे बितेको खबरमा मेरो नजर प¥यो । साहित्यमा पूर्णकालीन रुपमा मैले खुर धसेको ७ वर्ष टेक्नु लाग्दा रुचाएको स्रष्टा नबितेकोले स्रष्टाको मलामीमा जुट्ने मेरो धोको अपूरो थियो । उनको ‘अन्तर्मनको यात्रा’ र ‘सिर्जनामर्म र उँट’ लेखले म उनीबाट पट्टिनुको बाबजूद उक्त धोको पूरा गर्ने कुराले म दोधारमा रेटिनु थालेँ । जसको कारणहरु यी थिए— उनी माइलोमाले थलिएर ‘अन्तर्मनको यात्रा’ मा उनले प्रलाप गरेपछि उनलाई अनावश्यक धेर टिठ्याइयो भन्ने मैले तर्क ठड्याउनु, उनको आयु ४ वर्ष मात्र बाँकी रहेको जानकारी चिकित्सकले दिएकोमा त्यो अवधि नाघेकोले उनीप्रतिको मेरो सहानुभूतिको पारो घट्नु, उनले ‘अन्र्तमनको यात्रा’ को पृष्ठसङ्ख्या ३ मा यी पङ्तिहरुमा हरेस गनगनाउँदै सुस्केरा फुक्नु— “ब्यङ्ककको तीनजना प्रतिष्ठित विशेषज्ञहरुले मेरोजस्तै स्वास्थ्यसूचक भएका माइलोमारोगीहरुको औसत आयु ३—४ वर्ष हुन्छ भने । एकजनाले आधाजति त्यसको आधैमा डेढदुई वर्षभित्रै जान्छन् पनि भने । यो कुरा कसैलाई पनि भनिनँ । त्यो यथार्थ अकल्पनीय थियो । त्यसको रनाहामा म एकाएक आफ्नो जीवनाकाशको उच्चतम बिन्दुबाट खसेर न्यूनतम बिन्दुमा पुगेँ ।”

माथि व्यक्त भएको उनको अन्तिम वाक्यमा अति हरेसलाग्दो सुस्केरा फुकिएको मैले अनुभव गरेँ । जसको बावजूद मञ्जुलले यसरी उनलाई फुकर््याएकोमा मैले ओठ लेप्य्राएको थिएँ, “यो किताब पढेपछि कुनै पनि मानिसलाई शिर ठाडो पार्दै ठिङ्ग उभिनु मन लाग्छ । सके शरीरले पनि नसके मनले ।”

हुनु त गिट्टी कुटेर सास अल्झाउने, हसियाँझैँ ढाड कुप्रिएको वृद्घ ज्यामीलाई नै भएपनि एक्कासि त्यसरी आफ्नो मृत्युको अवधि (चाहे वर्षैमा भए पनि) चिकित्सकले तोकिदिँदा उसको मनमा आँधी हुँडुलिई उसलाई विचलित निस्सै पार्छ भने उनीजस्तो प्रतिभा, सम्पत्ति र प्रतिष्ठाले सम्पन्न महत्वाकाङ्क्षी व्यक्तित्वलाई एक दृष्टिमा त्यस्तो नकारात्मक खबरले सुरुमा त्यसो हुनु स्वाभाविक छ । ‘अन्तर्मनको यात्रा’ को पाठकको हूलले उनलाई रातारात लोकप्रियताको चुलीमा उचालेको, जसको लेखकस्व तिपमा माछाको लुँडो खँदारिएझैँ खँदारिएको, पुरस्कारको थैली र सम्मानको बर्को ओडाउने संस्थाहरुले हारालुछ गरेकोे बावजूद मृत्युश्ययामा समेत उनी ‘त्रिसट्ठी सालमा म यसरी ओर्लिएँ कि पातलै पुगेँ’ भन्दै बिलौना गर्दै थिए । त्यसको साटो उनले यसो भन्दै माइलोप्रति कृतज्ञता प्रकट गरिरहेको भए उनीप्रतिको श्रद्धाको मेरो हिमाल अग्लिएर सगरमाथालाई जित्ने थियो, “धन्न ! माइलोमाले मलै थला पारेकोले मेरो जीवनको युवाअवस्थाको र उत्तरार्धको ठूलो धोको पूरा गरेर वा आइन्दा पूर्णकालीन रुपमा साहित्यमा घोटिँदै जीवनयात्रा टुङ्ग्याउने सुन्दर मौका पाएँ ।”

त्यसो भन्नु र गर्नुको लागि हजार वटाभन्दा धेरै र महत्वपूर्ण कुराहरुको अविष्कारक थोमस अल्बा एडिसन (जसले आफ्नो प्रयोगशाला जलेर नष्ट हुँदा यसो भन्दै रमाएका थिए— धन्न ! मेरो यो प्रयोगशाला नष्ट भो किनकि यसमा धेरै त्रुटिहरु थिए र अर्को बनाउँदा तिनीहरुलाई हटाउने मौका पाउँदैछु) जस्तो महापुरुष तयार हुनु पर्छ वा त्यस्तो असंसारिक बकवास खोकी उनले आदर्शवादी वा खुस्केटमा दरिनु चाहेनन् ।

माइलोमाले उनलाई थला नपारेको भए वर्तमान अर्थमन्त्री शङ्कप्रसाद कोइराला र पूर्व सञ्चारमन्त्री प्रदीप नेपालझैँ (पूर्णकालीन स्रष्टा भएर साहित्यमा मात्र धसिने इच्छाको वावजूद) उनी पनि राजनीति वा सामाजिक कार्यमै अल्झिरहेका हुन्थे । हेर त ! बबुरो नेपाली साहित्य कति हेलाको विधा रहेछ त जसलाई पूर्णकालीनरुपमा अप्नाउनु त्यसप्रति लगाव भएको उनीजस्तो क्षमताशील स्रष्टाले पनि अपाङ्गै भएर डल्लिनु परेको ! उनले साहित्यबाट राइटिङ्ग थेरापि र रिडिङ्ग थेरापि पाएकोले केमो थेरापिमा थप गुहार पुगी चिकित्सकले तोकेकोे भन्दा दोब्बर आयु लम्ब्याउन उनी सफल भए । जसले ‘सकस’ जस्तो ऐतिहासिक उपन्यास थप्न सकी उनले आफ्नो राजनैतिक ज्ञान र मनको भडास (बह) कागजमा देखाउने मौका पाए ।

स्टर्लिङ्ग पाउन्डले डकार आई उनी सामाजिक काम मार्फत पावर इक्सरसाइज गर्दै देश विकासको तिर्सनाले उखर्माउलो हुँदा (साहित्यिक प्रतिष्ठान खोली साहित्यिक कार्यमा धसिनुको साटो) ‘तामाकोसीसेवा समिति’ खोल्नु पुगे । उनले साहित्यिक कार्यको लागि भक्कु तलब थाप्नु पाइने नोकरी त्यागेको दाबी बारम्बार पर्छानुको बावजूद त्यसो गर्नुको रहस्य निजी प्रभाव फैल्याई राजनैतिक अभीप्सा पूरा गर्नु भएको कुरा उनीजस्तो हक्कीले पनि नखुस्क्याएका हुन् कि भनी म उनलाई शङ्का गर्छु । त्यस्तै हो । मनको ठेगान हुँदैन । देवकोटाजस्तो साहित्यको लागि बौलाएको मान्छेले त स्वास्नीको करकापमा परेको निहुँमा मन्त्रीको कुर्सीमा चढ्दै पावर इक्सरसाइज गरे । तर जेहोस् उनले अन्ततः राजनीतिमा उत्रिएर पावर इक्सरसाइज गर्नुको लक्ष्य भ्रष्टाचारको मुद्धामा दोषी ठहरिई ससुरालीघरबाट छुट्दा उल्टो १२१ केजिको फूलमालाले स्वागत गरिने खुमबहादुर महाशयकोझैँ हर्कतको लागि थिएन भन्ने कुरामा म धेरै विश्वस्त छु ।

स्वाभिमानी बानीले रोकी राजनीतिमा पुरै होमिनु नसकेका जगदीश घिमिरे अध्यनशील, लहडी, प्रतिभाशाली, कर्मठ, हक्की, बोलक्कड, हठी र अहङ्कारी पक्कै थिए । कुनै पनि मान्छेसँग खुबी, लप्पनछप्पन नगरी कमाएको सम्पत्ति र प्रतिष्ठा भएपछि त्यसो हुनु स्वाभाविक हुन्छ । नरिवलको बोटझैँ फलेको बोट सबै नुहिँदैन । क्यम्ब्रिज विश्वविद्यालयजस्तो संसारमै प्रतिष्ठित शैक्षिक संस्थामा पढेका फिरङ्गीहरुलाई नोकरीको दौरानमा बेलायतमा उनले खटन गर्नु पाउनुको कारणहरु नेपालमा जस्तो नेताको चाकरी, भन्सुन र कोसेली वा ब्रिफकेसमा थुपारिएको हात्तीहरुको चाङको करामत अवश्य थिएन ।

मध्यान्न १२ बजेसम्म अन्तिम दर्शनको लागि उनको शव आर्यघाटमा राखिने कुरा कृष्ण धरावासीले जनाएपछि अनिदोले बोझिलो भएको टाउकोसँग भटभटेमा म त्यता हुर्रिएँ । आर्यघाटमा ३०—३५ जना मलामीहरु थुप्रिएका । ‘अन्तर्मनको यात्रा’ मा हजारौँ पाठकले उनलाई साथ दिएको नतिजास्वरुप उनलाई अन्तिम दर्शन र श्रद्धाको पूmल चढाउने प्रियजनहरुका लामो ताँतमा पालो रुङ्नु पर्ने मेरो अन्नेजोले फिस्सु खायो । सयपत्रीको मालाको पहेँलो र बाक्लो सिरक ओडी ब्यूँझिनु नसक्ने गरी चितामा निदाएका उनीमाथि पूmलको गुच्छा चढाउँदै मैले श्रद्घाले टाउको झुकाएँ ।

मैले जय छाङ्छा राईसँग चासो लिएँ, “मो सारो ढिलो आएछु कि के हो ? स्रष्टामलमी अति थोर देख्छु ।”

“अँ औँदैजाँदै गर्दै छा ।” हाजिरी खातातिर उनले डो¥याउँदै बोले, “याँ जानकरी राख्नोस् ।”

मलामीको नाम र सम्पर्क अङ्क भएको हाजिरी खातामा १५—२० जना मलामीको नामावली तन्किँदै थियो । धरावासीले उनको बारे जोसिलो उद्गार निकाले, “केन्सरले थला पार्दापार्दै पनि सक्रिय जीवन बिताएर जगदीश दाइले ठूलो बादुरी देखाए ।” त्यसपछि उनीप्रतिको मेरो केही नकारात्मक धारणामा मैले पुनर्विचार गर्नु झस्किएँ । आफ्नो पतिलाई सधैँको लागि बिदा गर्नु परेको भावुकताले दुर्गा घिमिरेको आँसुको झरी रोकिएको थिएन ।

उनको मलामीको हूलमा नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईजस्ता कठोर राजावादी स्रष्टादेखि निभा शाह, मात्रिका पोखरेल र अशोक सुवेदीजस्ता लाल प्रगतिवादी स्रष्टा र चन्द्रवीर तुम्बापोजस्तो डेढ कोरी ननाघेको युवा स्रष्टादेखि ५कोरी पुग्नु लागेको सत्यमोहन जोशीजस्ता स्रष्टा र संस्कृतिविद थिए । राजेन्द्र सुवेदी, गोविन्दराज भट्टराई, नरहरि आचार्य, ईश्वर पोखरेल, विश्वम्भर प्याकुरेल ‘चञ्चल’, रामेश्वर राउत ‘मात्रीदास’, मञ्जुल, सुष्मिता नेपाल, रजनी ढकाल, शकुन्तला जोशी, आभास, कालीप्रसाद रिजाल, ज्ञानुवाकर पौडेल, मनोज न्यौपाने, विष्णुविभु घिमिरे, रविन्द्र मिश्र, दिलभुषण पाठक, युवराज घिमिरे, रमण घिमिरे, महेश प्रसाई, रमेश शुभेच्छुक, कपिल श्रेष्ठ, कुमार नगरकोटी, विक्रम तिमिल्सिना, निशा केसी, नगेन्द्रराज शर्मा, वसन्त बस्नेत, श्रवण मुकारुङ, मनिषा गौचन र सुलोचना मानन्धर (मैले चिनेका र ख्याल राखेका), स्रष्टा, राजनेता, पत्रकार, मानवअधिकारवादी व्यक्तित्वहरु उनको अन्तिम बिदाइको लागि धुवाँले ढाकिएको आर्यघाटमा शोकाकुल मुहारसँग उभिरहेका थिए । धरावासीसँग बातचितको दहमा डुब्दा त्यहाँको अन्य गतिविधि र उनका प्रियजनहरुको उपस्थिति ख्याल गर्नु म चुकेँ । जगदीश घिमिरेको मलामीमा भएको यो सहभागिता हेर्दा उनी खगेन्द्र सङ्ग्रौलाजस्तै (समाजसेवी, महाजन, स्वाभिमानी काङ्ग्रेस र यौनसमर्थकबाहेक) माओवादी, प्रगतिशील स्रष्टा, मिहिन संशोधनवादी, स्वाभिमानी, अहङ्कारी, गालीशिरोमणि र प्रशंसाशिरोमणि, समावेशी वा समन्वयवादी वा छेपारे र अराजक भएका मैले ठहर गरेँ ।

मृत्यु अवश्यंभावी मात्र नभएर अनिवार्य पनि छ । किनकि घाम नडुबी उज्यालो फैलिरहने हो भने पृथ्वीको रमाइलो घट्ने थियो । बिछोडले गर्दा मिलनको स्वाद हुने झैँ मृत्युले नै जीवनको स्वाद हुन्छ । मृत्यु भनेको विनाश मात्र नभई रुपन्तरण वा परिवर्तन समेत हो । परिवर्तन नहुँदा हुने दिक्दारीबाट मृत्युले जोगाउने कुरालाई भुल्नु मूर्खता हुनेछ । मृत्युमा निर्धक्कसँगले आँसु बग्नु दिनु पर्छ तर निराशाको कुइरोले सधैँ गुम्सिनु हुँदैन । राइटिङ्ग र रिडिङ्ग थेरापिको थप उपचारले उनले झैँ क्यान्सरजस्तो दीर्घ र घातक रोगको आक्रमणलाई तिरिखिरी पार्दै चिकित्सकले तोकेको भन्दा आयु दोब्बर लम्ब्याउन नसके पनि केही वर्ष लम्ब्याउन सकिने कुराको लागि उनी मेरो प्रेरणाको अजस्र स्रोत हुँदै अर्थपूर्ण तरिकाले रुपान्तरित भए ।

२०७०। ७ । २०

Leave a Reply

Your email address will not be published. Required fields are marked *