Skip to content

डिसीमा साहित्यका विभूतिहरूको जन्म जयन्ती थोक रुपमा सम्पन्न


भर्जिनिया, चैत्र २, २०७०
विजय थापा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी सी शाखाको आयोजनामा माघ र फाल्गुन महिनामा जन्म जयन्ती पर्ने साहित्यका विभूतिहरू, लेखनाथ पौडेल, पारस मणि प्रधान, हृदय चन्द्र सिंह प्रधान, केसव राज पिंडाली, भूपी शेरचन प्रति श्रद्धाञ्जली अर्पण गर्दै जन्म जयन्ती थोक रुपमा सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा नेपालबाट भर्खर पाल्नु भएकी समालोचक लीला लुइटेलको आतिथ्यमा शीतकालीन साहित्यकार सम्मान तथा शिशिर सुसेली कविता गोष्ठी कार्यक्रम गरिएको थियो भने कार्यक्रमको सभापतित्व प्रकाश नेपालले गरेका थिए । सोही अवसरमा अनेसासकेन्द्रको प्रकाशन अनेक डायस्पोराको साहित्य कृतिको विमोचन प्रमुख अतिथि लीला लुइटेलले गरेकी थिइन् । प्रमुख अतिथि लुइँटेलले अनेसासलाई अवसर दिएकोमा धन्यवाद दिइन ।

मातृभूमि छोडी बिदेशमा आएर शुन्यबाट सुरु गरी आफ्नो अस्तित्व कायम गर्दै पहिलो पुस्ताले भाषा र साहित्यमा गरेको विकास प्रति खुशी व्यक्त गरिन । अब पहिलो पुस्ताले दोश्रो पुस्तालाई भाषा र साहित्य प्रति सचेतना गराउनु पर्ने र दोश्रो पुस्ताले भाषा सिक्न सके मात्र मुग्लानमा नेपाली भाषाको अस्तित्व रहने छ भन्दै पहिलो पुस्ताले यो जिम्मेबार लिनु पर्ने बिचार व्यक्त गरिन ।

यसै गरी अनेक डायस्पोराको साहित्य कृतिमा कार्यपत्र प्रस्तुत गर्ने दश साहित्यकारहरूको समिक्षा वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले गरेका थिए । पुस्तकको समिक्षा गर्ने क्रममा नेपालमा १२३ वटा भाषाहरू बोलिन्छन तर साझा भाषाको रुपमा नेपाली भाषा नै प्रयोग गरिने बताए ।

डिसीमा झन्डै २५ वर्ष देखि बसोबास गर्दै आएकी कल्पना सुवेदीको मधु तथा अनामिका कृतिको समीक्षा गरिएको थियो । संचारकर्मी तथा साहित्यकार गुणराज लुइँटेलले मधु पुस्तकबारेमा समिक्षा गर्दै पुस्तक वजनदार, तिख्खर छ भन्दै जीवन र जगतको बुझाईलाई साहित्यको माध्यमबाट छताछुल्ल लेखिकाले पारेकी उल्लेख गरेका थिए । अनामिका कृतिको समीक्षा राम अधिकारीले गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका गुठिका सभापति होमनाथ सुबेदीले आगामी २ वर्ष भित्र अनेसासले २०१५मा रजत जयन्ती मनाउनु पर्ने, २५ वर्ष अनेसास वृतचित्र बनाउनु पर्ने, आफ्नो जमिनमा भानुभक्तको शालिकको स्थापना तथा आफ्नो निजि कार्यालय बनाउनु पर्ने योजनाहरू बताएका थिए । उक्त समारोहमा कविता वाचनको साथ डिसी शाखाको बार्षिक साधारण सभा पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *