Skip to content


पैसाको नै डसना बनाई,
पैसाको नै सिरक ओढी,
हातमा हत्कडी झैँ सुनको ब्रासलेट,
गलामा फासी झैँ पहेलपुर सिक्री,
रक्सी र मासुका कवाफ खादै,
सुन्दर ताज महलको ख्वाबमा,
एक छिन भए पनि राम्रो होटेलमा,
कसैका श्रीमती अनि श्रीमानलाई,
मिठा मिठा कुरामा अल्झाउदै,
अंगालो हाली सुत्द्छ्न र भुसुक्क निदाउछन्,
के सपना तिनीहरूले मात्र देख्दछन ?

सपना त तिनीहरूले पनि देख्द्छ्न..,!
जो दिनभरि भारी बोकेर,
ठेला गाडी ठेलेर,
बन्जर माटोसँग,
कोदालोले खेलेर,
चर्को घाम अनि,
कालो डर लाग्दो वर्षा बादलसंग,
हिलो र माटोमा भासिदै,
शरीरबाट रगतका धारा झैँ,
पसिना बगाउदै निथुर्क्क भिजेर,
लामा लामा सुस्केरा हाली,
काधमा हलो र कोदालो,
टाउकोमा घासको भारी बोकी,
थकित हुदै पाटी र पौवा,
रुखको भेद अनि शितल छाहारीमा
टाउको भारी बिसाउदै,
लामा लामा खुई खुई गर्दै सुस्केरा फेर्दै,
आफ्ना हातको शिरानी बनाई,
सुत्दछन र भुसुक्क निदाउछ्न
सपना तिनीहरूले पनि देख्दछन /

हो सपना तिनीहरूले पनि देख्दछन …..
हिन्न नसक्ने लौरोको सहरमा,
अरुका घरमा दिनभरि मागी
दुनियाको भनाइ र वचनले गर्सित भै
जो दिन्छन जति दिन्छन सोही लिएर,
चट्चटि फुटेका खुट्टाबाट
रगतका भल बगाउदै,
शरीरबाट पसिनाको धारा बगाई,
थकित भएका शरीर,
मागी ल्याएको पैसा अनि चामल,
बाटोमा खोजी अनि बिछी ल्याएको,
दाउराको टुक्रा टुक्रीले
ढुंगाका अनि इट्टाका चुलो बनाई,
रुखको फेदमा आगो बाली
खुई खुई गर्दै काचो वा पाकेका खाना,
दिनभरि भएको भोको पेटसँग,
लाचार माग्न नसक्नेलाई,
हसिलो अनुहार लगाउदै,
सबै जनाले जे जस्तो छ,
बाडी चुडी खाई,
दिनभरि भएको तिता मिठा कुरा गर्दै,
घासलाई आफ्नो बिच्छ्यौना सम्झदै,
आफ्नो हातको शिरानी बनाई,
एकले अर्कोलाई अंगालो हाल्दै,
तातो सिरक आड सम्झेर,
बिहान उदाउने सप्तरंगी किरणसँग,
नयाँ आशाका उमंग बोकी,
कल्पना गर्दै सुत्दछन र भुसुक्क निदाउछ्न,
सपना तिनीहरूले पनि देख्दछन !

निशा खनाल अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *