Skip to content


पुस १९,२०७० –
समयको बहुरूप हुन्छ । नेपाल भन्ने राष्ट्रमा अहिले समयका दुई रूप दृश्यमा छन् । पहिलो, चुनावपछिको राजनीतिको उतारचढाव र दोस्रो हो, अनुप बराल निर्देशित नाटक ‘कोर्टमार्सल’ । राजनीति मानिससित सोझै संवाद गर्ने विषय हो भने नाटक, कलाको उपल्लो अभिव्यक्तिद्वारा गरिने संवाद हो । राजनीतिमा जस्तै नाटकमा पनि अनेकौं पात्र वा चरित्रहरू हुन्छन् । तर, तिनले प्रस्तुत गर्ने विषयको केन्द्र हुन्छ । त्यही केन्द्रलाई समय भन्न सकिन्छ ।

अनुप बरालको नाट्यकारिताले झन्डै तीन दशकको दूरी पार गरिसकेको छ । यद्यपि, जब उनी ०५२ सालमा भारतको प्रसिद्ध नाट्य संस्था- नेसनल स्कुल अफ ड्रामा (एनएसडी)बाट अभिनय कला (स्तानिस्लाभास्कियन मेथड अफ एक्टिङ)मा स्नातक गरी फर्के, तब उनले नेपाली नाटकको समयको लगाम आफ्नो हातमा लिए । जसको पछिल्लो प्रमाण हो, ‘कोर्टमार्सल’ ।

भारतीय लेखक दीपक स्वदेश (१९४२, पञ्जाव) कृत ‘कोर्टमार्सल’ एसियामै बहुचर्चित एवं बहुप्रदर्शित नाटक हो । जातीय एवं वर्गीय विभेदविरुद्धको उच्चत म प्रस्तुतिरहेको यस नाटकलाई अनुपले अहिले छाने, तर छाने । यो उनको समय-चेतना वा निर्देशकीय स्वतन्त्रता दुवै हुन सक्छ । र आज, यो नाटकले फेरि उनैले निर्माण गरेको दर्शकको स्पेसलाई अँझ फराकिलो बनाइरहेको छ । प्रत्येक दर्शक नाटक हेरिसकेपछि अब उता नाटक-निर्देशनको अर्को सम्भावना हुन सक्छ र ? भन्ने प्रश्न बोकेर थियटरबाट निस्कन्छ । यही उनको सफलता हो । तर, यहाँ आइपुग्न अनुपले नाटकको दुनियाँमा अनेकौं संघर्ष गरेका छन् । नाटक गर्नु आफैंमा संघर्ष गर्नु नै हो । सबभन्दा पहिलो र चुनौतीपूर्ण संघर्ष लेखकले गर्छ । उसका सामु मानिस, समाज, समय र तिनका असंख्य आवाजहरूलाई सुन्न सक्ने सामर्थ्य आर्जन गर्न आफैंसित संघर्ष गर्नुपर्छ । त्यसपछि निर्देशक संघर्षमा उत्रिन्छ । उसको संघर्ष लेखक र आफ्नै कल्पनाशीलतासित हुन्छ । अन्तमा कलाकारहरू पात्र -चरित्र) र दर्शकसित कठोर संघर्ष गर्छन् । तर, यो संघर्ष कुनै कुरुक्षेत्र वा युद्धमैदानको जस्तो संघर्ष होइन । जहाँ कुनै एक पक्षको हार वा जित होस् । यसरी एउटा सफल नाटक तयार हुन्छ ।

अनुपले आफ्नो तीन दशकको नाट्य-यात्रामा विश्वका त्यस्ता लेखकहरूसित संघर्ष गरिसकेका छन् । जसले आफ्नो युगलाई हाँकेका थिए । सेक्सपियर, स्यामुअल बेकेट, काफ्का, कामु, बनार्ड शा, लुसुन, प्रेमचन्द, अमृता प्रितम, विलियम सारुयन्थ, आसिफ अली, गिरीश कर्नाड, विजय तेन्दुल्कर आदिदेखि अशेष मल्ल, सरुभक्तजस्ता प्रख्यात नेपाली नाटककारहरूसम्म आएर उनले यो भव्यता हासिल गरेका हुन् । जसलाई अब निर्धक्क भएर ‘अनुपको नाट्ययुग’ भन्न सकिन्छ । तर, उनको यो व्यक्तित्व निर्माणको पृष्ठभूमिमा सुनिल पोखरेलजस्ता अग्रज नाट्यकर्मीको भूमिकालाई बिर्सिने हो भने फेरि अनुप आफैं अपूर्ण हुन सक्छन् ।

अनुप बराल आउनुअघि नेपाली नाटक नेपाली राजनीतिजस्तै भयानक संक्रमणकालबाट गुज्रिरहेको थियो । नाट्यशालाहरूमा प्रायः दुई प्रकारका नाटकहरू मञ्चन हुन्थे । एकथरी नाटक साह्रै परम्परावादी शैली अपनाइएका भद्दा वा ग्रिसेली नाट्य परम्पराका पुराना ढर्राका । ती नाटक नाटक नभएर ‘नौटंकी’ जस्ता लाग्थे । बालकृष्ण समदेखि नाटक हेर्दै आएका दर्शकहरूलाई तिनले केवल मोनोटोनस गराउँथ्यो भने अर्कोथरी नाटक सिद्धान्तहीन प्रयोग भएका हुन्थे । तिनका अराजकताले दर्शकहरू हायलकायल थिए । यस्तो कर्म मूलतः स्वप्नशील तर अध्ययन, अवसर र अभ्यासबाट वञ्चित युवा नाट्यकर्मीहरूले गर्थे । यसरी नेपाली नाटकप्रति आमदर्शकको अरुचिले सीमा नै नाघेको बेला अनुपले नेपाली नाटकलाई लिकमा मात्रै ल्याएनन्, नयाँ-नयाँ सम्भावनाहरूको ढोका खोलिदिए । परम्पराका सुन्दरत म पक्षहरूको उचित संयोजन र अर्थपूर्ण प्रयोगहरूका कारण कुनै सुन्दर कविता पढेजस्तो लाग्ने उनको निर्देशकीय शैलीले आधुनिक नेपाली नाटकको नयाँ व्याकरण स्थापना गरिदियो । जसले, नयाँ स्वाद र सपना खोजिरहेका दर्शकहरूमाझ हलचल नै पैदा गरायो । पुराना, भारदारी, तथाकथित वरिष्ठ निर्देशकहरूको भने सातोपुत्लो नै उड्यो ।

भारतबाट फर्किएपछि अनुपले पहिलोपल्ट सरुभक्तको नाटक ‘मलामीहरू’ मञ्चन गरे । मलाई सम्झना छ, यही समय दार्जिलिङबाट प्रख्यात लेखक एवं चिन्तक (तेस्रो आयामका प्रणेता) इन्द्रबहादुर राई समकालीन नाटकमाथि प्रवचन दिन काठमाडौं आएका थिए । उनले नाटकको क्राफ्टमाथि बोल्दा ‘निर्देशकले आफ्नो कमजोरी लुकाउन प्रकाश, ध्वनि र रङको अधिक प्रयोग गर्छ । अब निख्खर नाटकको खोजी गरौं’ जस्ता असामान्य लाग्ने तर गम्भीर तर्क अघि सारेका थिए । संगोष्ठीमा एकप्रकारको तरङ्ग नै फैलिएको थियो । संयोगबस् त्यही साँझ उनले अनुपको निर्देशन रहेको ‘मलामीहरू’ हेरे । त्यसपछि उनले आफ्नो उक्त अवधारणा नै बदलेका थिए । नाटकका ती अपरिहार्य तत्त्वहरू (प्रकाश, ध्वनि, रङ आदि) को ‘सिर्जनशील प्रयोग’ पो मुख्य कुरा रहेछ भन्ने स्वीकार्दै अनुपको आगमनले नेपाली नाटकको नयाँ समय सुरु भएको हामीमाझ उद्घोष गरेका थिए ।

अनुपले नेपाली नाटककारहरूमध्ये सरुभक्तका नाटकहरू धेरै मञ्चन गरेका छन् । विज्ञान, दर्शन, स्वैरकल्पना, शून्यवाद भन्दै आफ्नो लेखकीय शैलीलाई थप जटिल र बौद्धिक विलासको साधन बनाइरहेका भनी सरल नेपाली दर्शकमाझ आलोचित भइरहेका सरुभक्तलाई नेपाली लोकजीवन र सौन्दर्यमाथि लोकशैलीमै नयाँ-नयाँ नाटकहरू लेख्न हौस्याएर अनुपले एउटा प्रतिष्ठित लेखकको लेखकीय जीवन नै परिवर्तन गरिदिए । मलाई लाग्छ, यो सामान्य घटना होइन । त्यस्तै अनुपले रमेश केसीको ‘अपात्र’, सरुभक्तकै ‘सिरुमारानी’, ‘थाङ्ला’ र ‘मलामी’, महेशविक्रम शाहको ‘खुमा-कथा’ लुसुनको ‘टलकजङ्ग भर्सेज टुल्के’, कामुको ‘न्यायप्रेमी’, विजय तेन्दुल्करको ‘जात सोध्नु जोगीको’, गिरीश कर्नाडको ‘बाँकी उज्यालो’, आसिफ अलीको ‘काफ्का एक अध्याय’, विलियम सारुयन्थको ‘हेलो आउट देयर’ आदिजस्ता नाटकहरूको सफल निर्देशन गरे । र, ती सबैले उनको निर्देशकीय शैलीलाई दर्शकमाझ स्थापित गरायो । त्यसैले आज उनको नाटक हेर्न दर्शकको यस्ता घुइँचो लागेको हो ।

अनुपले प्रायः आम मानिसको स्वार्थका लागि नाटक निर्देशन गरेका हुन्छन् । विदेशी नाटक सही, जसलाई उनले नेपाली जीवन, तिनका दुःख, प्रेम, संघर्ष र सपनासित जोडेर मात्रै आफूलाई अभिव्यक्त गर्ने गरेका छन् । त्यसैले उनी जनताको संस्कृतिको पृष्ठपोषण गर्ने निर्देशक भएका छन् ।

अभिनेता: अनुप बराल

केही उपबुज्रुकहरू भन्छन्- अनुप अभिनयकला पढेर निर्देशनमा सफल भए, सुनिल पोखरेल निर्देशन पढेर अभिनयमा जमे । तर, मलाई त्यस्तो लाग्दैन । उनको अभिनय पनि उत्तिकै बेजोड छ । यद्यपि, संसारका विलक्षण प्रतिभाहरूमा यस्ता घटनाहरू घट्छन् । किनभने ज्ञानको कुनै सीमा छैन तर सिर्जना स्वयं ज्ञानको स्रोत हो । अनुपले आजसम्म निर्देशन गरेका अधिकांश नाटकहरूमा आफैं पनि कलाकारका रूपमा प्रस्तुत भएका छन् । कतिपय नाटकमा त उनी प्रमुख भूमिकामै देखिएका छन् । र, ती सबै नाटक सफल भएका छन् । तर, उनको अभिनयले नेपाली चलचित्रमा भने त्यति ठूलो प्रभाव छोड्न सकेको छैन । उनको चलचित्र प्रवेशले उनका नाटकको दर्शकलाई सिनेमाघर पुर्‍यायो भन्ने मलाई लाग्दैन । नाटकका उनका चेला-चपेटाहरू भने सिनेमामा पनि जम्न सफल भए । अँझ, उनको चलचित्र-प्रवेशकै समयमा नेपाली चलचित्रको स्वरूपमा केही परिवर्तन देखापर्‍यो । यसमा उनको (चलचित्र प्रवेशको) कुनै प्रभाव छ, छैन ? अध्ययन हुन बाँकी छ । सबभन्दा महत्त्वपूर्ण कुरा त के हो भने नेपाली चलचित्रका महानायक राजेश हमाललाई उनकै निर्देशकीय शक्तिले आज सिनेमाको भीमकाय बजारबाट थियटरको साँघुरो मञ्चमा प्रवेश गराएको छ । र, अहिले ‘कोर्टमार्सल’का कारण नेपाली नाटकको बजार शास्त्र नै परिवर्तन हुँदै छ । पुराना तर परिपक्व अभिनेता बिएस राणा, राज थापादेखि दीक्षित युवा कलाकारहरू दिया मास्के, दयाहाङ राई, कर्मा शाक्य, सुवास थापा, सुदाम सीके आदिका जीवन्त अभिनयहरूको योगले पनि यस नाटकलाई अविस्मरणीय बनाएको छ ।

देश-विदेशगरी आफ्नो उमेर जत्तिकै (४०-५० को हाराहारीमा) नाटक निर्देशन गरिसकेका अनुपलाई उनको नाट्य यात्रामा खड्किएको अह म विषय के हुन सक्छ ? मलाई लाग्छ, त्यो हो- राम्रा नेपाली नाटक वा नाटककारहरूको कमी । जसले आजको नेपाली जीवन, समाज र समयलाई कुशलतापूर्वक लिपिबद्ध गरिदिऊन् । र, त्यहींबाट नेपाली नाटकको फेरि अर्को सम्भावना पहिल्याउन पाइयोस् । यही मनोदशाका कारण उनले कहिले कथा त कहिले कवितालाई नाटक बनाई मञ्चन गरेका हुन सक्छन् । त्यसो भए के अहिले नेपाली नाटक लेखिएकै छैनन् त ? के अहिले समयलाई हाँक्ने नेपाली नाटककारहरू नै छैनन् त ? अवश्य छन् । तर, तिनले थाहा पाएर, नपाएर एउटा असल निर्देशकको चेतना वा रुचिसित सामीप्यता राखी नरहेका हुन सक्छन् । वा, ती नाटक र नाटककारहरूप्रति अनुप अनभिज्ञ छन् । जसका कारण उनी हजारौंपल्ट (अन्य देशमा) मञ्चन भइसकेको ‘कोर्टमार्सल’ जस्तो प्रख्यात नाटकलाई नेपालीकरण गरी मञ्चन गर्न अभिशप्त छन् ।

कोर्ट मार्सलमा के छ ?

माथि नै भनियो, नाटक ‘कोर्टमार्सल’ प्रसिद्ध, फिरन्ते तर गुमनाम जीवन बाँचिरहेका लेखक दीपक स्वदेशले नक्सलवादी कम्युनिस्ट आन्दोलन र भारतीय सैन्य पृष्ठभूमिलाई आधार बनाएर रचेका हुन् । यस नाटकको विषय जातीय एवं वर्गीय विभेदबाट खोजिएको मानवमुक्ति नै हो । यसलाई अनुपले नेपाली पृष्ठभूमिसित जोडेर मञ्चन गर्नुको मुख्य कारण त नेपाल र भारत (दुई देश) बीच रहेको सामाजिक, सांस्कृतिक एवं राजनीतिक अवस्थाको समानता नै हो । अनेकौं असमानता, विभेद र अन्यायले ग्रस्त जनता दुवै देशभित्र छन् । र, दुवै देशमा गणतन्त्र छ । त्यसैले तिनका दुःख, प्रेम, संघर्ष र सपनामा पनि समानता छ । उनलाई यही कुराको गहिरो बोधले यस नाटकलाई मञ्चन गर्न अभिप्रेरित गरेको हुनुपर्छ । जसको कारण, नाटक ‘कोर्ट मार्सल’ले नेपाली नाटक निर्देशनको इतिहासमा एउटा अर्को अध्याय थप्न सफल भएको हो ।

प्रत्येक असल सिर्जनाले नयाँ सम्भावनाको जन्म दिन्छ । अनुप अनन्त सम्भावनाका संवाहक हुन् भन्न अर्को समय पर्खिरहनु पर्दैन ।

प्रकाशित मिति: २०७० पुस २० ०२:११

1 thought on “अनुपको नाट्यकला र समय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *