Skip to content

गरौं केही (हाइकुको छाल)


बूढाको मर्म, काममा जोतेको छ, मस्ती छन् सब
फर्केमा घर, भाडाले सातो लिन्छ, रित्तिन्छ गोजी
नफर्क घर, पठाऊ बरु ड्राफ्ट, हुनेछ जोहो

राम्रो छ घर, नभन भए ऋण, मान्दछन् सब
थोत्रो छ घर, नभए पनि ऋण, घृणा गर्दछन्

बुबाको इच्छा, पूरा भएन सधैं, छोरो पिरमा
इच्छा आकांक्षा, बुबाको जीवनमा, पूरा भएन
छोरो भएर, केही पो गर्नलाई, समय छैन
मरी सकेर, बुबा सर्वस्व भनी, पूज्दछ फोटो
सधैं फोटोमा, बुबाको यस्तो भक्ति, सुध्रेन कर्म

भ्रष्टाचारले, नेताको भुँडी भ्याट्ट, देश सुध्रेन
राजा हटेर, दासी गिदी हटेन, थिचोमिचो छ
देश रोएछ, भ्रष्टाचार हाँसेछ, नेता मातेछ
कुर्सी पाएसी, जनता बिर्सिन्छ, यो नेताको मात
पार्टी छोड्दछ, राजावादी बन्दछ, नेताको खेल

प्रतिपक्षीमा, जनता भन्दछ, यो नेताको बात
कुर्सीकै लागि, सदा अर्पण भो यो, नेताको जात

गाडी भाडामा, बोर्डिङ्ग पढेकोले, छुट लिएछ
दुःखी बिचरा, इन्तु न चिन्तु, भयो छुट नपाई

भाषण कडा, बोली अनुसारको, काम हुँदैन
रासन थोरै, काम अनुसारको, दाम हुँदैन

नभन छिःछिः, पसिनाको सुगन्ध, जानौं सबैले
जाडाको लुगा, गरिबले लाउँछ, रक्सी पिएर

आपत परे, बचाउन भनेर, कोही आउन्न
प्रशस्त हुँदा, बचाउँछु भनी, फलाक्छ मात्रै
पैसाको पछि, हरे हरे दुनियाँ, छैन मद्दत

धनीका बच्चा, खाना खान मान्दैन, अन्नको नाश
गरिब बच्चा, खान नपाई रुन्छ, भोक र प्यास

समाज दङ्ग, रोकतोक छैन, लौ घुस खाएमा
बरु नखाए, आदर्श चेपुवामा, देश बिग्रियो
टाङ्ग भित्तामा, जसको शासन छ, उसैको फोटो
मालिस गर, पैसा रासी बटोर, दलेर चिल्लो
ठेक्का पट्टामा, ब्यापारीको चलन, यही छ रोज

कवि रोएर, जीवन समाप्त भो, बोल्नै पाएन
कवि मारेरै, सालिक कविकै भो, अनावरण
आपत पर्यो, साथमा छैनन् कोही, ढुङ्गा छन् सब
ढुङ्गा कै बन्यो, पूकार गर्नलाई, जय भगवान्

महल घर, फुससँगै रहेर, शोभा दिँदैन
गरिबको त, सम्पत्ति भनेको नै,आफ्नो इज्जत

दशैं भनेको,नआए पनि हुने,जनयुद्धमा
जुन बेला नि, बरु बा आए हुने, त्यो नै हो दशैं

हेर्दामा चोर, भीडको आक्रोश, त्यो पाकेटमार
माफिया छ झन्, नेताको संरक्षण, ठूलै नै चोर
जनता हेर, त्यै नेतालाई खोजी, दिँदैछन् भोट

लाइन लाग, पालोमा काम गर, पर्खेर बस
बीचमा ताके, समय बरबाद, झमेला हुन्छ

छामेमा हात, चड्कन दिइदेऊ, दिदीबहिनी
नसही उठ, अधिकार फिराऊ, जिवन जिऊ

चोरी चकारी, कानून संरक्षक, दुई नम्बरी
विल्डिङ्ग जोडी, दुइ नम्बरी सँग, मोज र मस्ती
सहर के हो ? भ्रष्टाचार अखडा, थुक्क के गर्ने ?
बाँझो नराखौं, खेतीपाती गरौं न, गाउँ नबिर्सों
गाउँका लागि, गरे ठूलो हुनेछौ, जननी सम्झ

श्रीमती सित, झर्किएर बोल्दछ, कस्तो जमाना
जो केटी देखे, मस्किएर बोल्दछ, पति चालू छ
बूढाको ऐना, श्रीमतीको भनाइ, सङ्गाली हेर
चेहेरा साफ, गरेर चाँजोपाँजो,चलाऊ घर

बोलेको कुरा, सडक अभिनय, भन्दछ नेता
जनता बरा, मार्मिक भइकन, ठगिए निक्कै
केही समस्या, समाधान भएन, के गर्ने अब
बन्दले मात्र, कति बिरोध गर्ने, देश सिकिस्त

गर्दछन् मान, भन्सारे जागिरमा, जसले पनि
हरे लौ देश, यसरी पो बिग्रियो, गरौं न चेत

नधाउँ अब, दिएर उपहार, गर्नको काम
बचाउँ पैसा, उपहार नदिउँ, गरौं है जोहो
हुँदैन काम, उपहार नदिउँ, नधाउँ अब

नराम्रा काम, गर्नेलाई नदिउँ, कहिल्यै साथ
राम्रामा काम, गर्नेलाई दिएर, सधैं नै साथ
तराई अनि, हिमाली र पहाडी, नलडी बसौं
नेपाली भनी, दिल मिलाई शिर, उँचोमा गरौं

२०७० चैत्र १५
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]

www.bijusubedibijay.blogspot.com

2 thoughts on “गरौं केही (हाइकुको छाल)”

  1. भाइ यसलाइ छन्दको कविता भन्नु
    भाइ यसलाइ छन्दको कविता भन्नु भएन । यो कुनै छन्दको लक्षणले पनि नछुने कविता हो । लयात्मक कविता भनेर यसमा पोस्ट गरेको भए असल हुने थियो । सुवेदी नै भएकोले भाइ भनेको हुँ । अन्यथा नलिनू ।

  2. भाइ कमेन्टमा म सहमत छैन ।
    भाइ यहाँको कमेन्ट प्रति म सहमत छैन ।
    मैले गद्यमा हात बसाइसकेपछि लोक लय असारे तथा झ्याउरेमा लेख्न थालिसकेको थिएँ ।
    अहिले यसै सेरोफेरोमा हाइकु लयमा लेख्ने क्रममा छु
    भविष्यमा पोख्त भइसकेपछि छन्दमा पनि लेख्नेछु ।
    अहिले छन्दमा लेख्न सकेर पनि भाव पक्ष सवल नभएकोले प्रकाशन गरेको छैन
    जहाँ सम्म यहाँले छन्द भएन भनेर भनेकोमा यहाँ मझेरीमा लोक लयलाई पनि छन्द विधाको स्थानमै प्रकाशित गर्ने गरिएकोले यसो हुन गएको हो ।

    २०७० चैत्र १६
    बिजु सुवेदी “विजय”

Leave a Reply

Your email address will not be published. Required fields are marked *