Skip to content

मेरो पर्वतको यात्राको संक्षिप्त एक स्मरण


फागुनको महिना लाग्दा पनि, तराईको ठाउँ, हुस्सुले ढपक्कै ढाकेको थियो । टिनको छानोबाट तप तप शीतका थोपा खसेका थिए । एका विहानै उठेर, भैसीलाई पराल दिने कानम गरें र आगो फुकेर पानी तताउने काम गरें । मेरी श्रीमती पनि उठिन् र खाना बनाउन थालिन् । खाना खाइयो । बाह्र बज्यो तर घाम लागेनन् । करिब एक बजेतिर सूर्य भगवानले आफ्नो अनुहार, हुस्सुलाई चिरेर, देखाउनु भयो । गुन्द्रीमा बसेर घामको न्यानोलाई ग्रहण गरिरहेको बेलामा मोवायलले सङ्गित भर्यो । मोवाइल उठाएँ र कुरा गर्न थालें । फोन पर्वतको ज्ञादी कटुवा चौतारीबाट आएको रहेछ । काम स्वस्थानीको साङ्गे र व्रतवन्धको निम्तो रहेछ । यता गाउँमा पनि स्वस्थानीको साङ्गेको निम्त्यो थियो । म ग्यादी जाने या नजाने दोधारे मन थियो । मैले श्रीमतीलाई तिम्रो माइतले बोलायो नि भन्दै हाँसे । श्रीमतीले पनि तरमार्न गए भइगयो नि भन्दै हाँस्न थालिनन् । केही क्षण दुवै मौन रहेपछि उनले भनिन् –‘के काम परेछ ?’ स्वस्थानीको साङ्गे र तिम्रा माहिला बुबाका नाति को व्रतवन्ध अरे । फेरि उनले दोहोर्याइन्् गए भयो, गए भयो । मैले पनि ठट्टागर्दै भने नगएता रिसाउलीनी ? जवाफ थियो– ‘किन नरिसाउने ?’ मेरो मनमा कुरा खेल्न थाले, पर्वत जाने त जाने आज या भोलि मनमनै तर्क उठ्यो अनि बिचार आयो आजै बेलुकाको रात्रीबसमा गयो भने भोलि दिनभरि केही मित्रहरूसँग भेटघाट पनि त गर्न सकिन्छ । मैले श्रीमतीलाई बेलुकाको रात्रीबसमा जाने निर्णय सुनाएँ । उनले बेलुकाको खाना तयार पारिन् । खाना खाएर, कावासोतीको साँढबाट पर्वत जानको लागि झोला भिरेर हिड्न थालें । टयाङ्ग्री, कुश्नहरी हुँदै सालघारीमा प्रवेश गरे, ठूला ठूला सालका रुख, बीचमा बाटो, फाटफुट मानिसको आवत जावत, एउटा मोटरवाइक आएर मेरो अघि रोक्कियो, बसौं भन्दै, कताको साइत हो ? भन्ने प्रश्न ठडियो । मैले पनि जवाफ दिएँ पर्वत जाने । जन्मथलोमा पुग्ने भइयो भन्दै हुनुहुन्थ्यो मोटरवाइका मित्रले । मैले भइयो भन्दै सही थाप्दा नथाप्दै हामी कावासोतीको फलफूलचोक पुग्यौं र फलफूलचोकमा वाइक रोक्कियो र म ओर्लेर, भट्टजीको चिया पसलमा झोला बिसाएँ । म चिया पिउनको लागि अति सौखिन व्यक्ति, एक कप चिया खाएँ र नारयण्घाटतिर लागे । प्रगतिनगर, दलदले, रजहर, सोह्रनम्बर, हर्कपुर, भेडाबारी हुँदै बस दकुरिरहेको थियो । बाटो छेउमा राम्र राम्रा भवनहरू बनिरहेका थिए । बसले वनमा प्रवेश गर्यो र गैडाकोटतिर हानियो । गैडाकोटमा घडेरीको लागिप्लटिङ्ग गरिएको, ठाउँ ठाउँमा पिचले सजिएका सडक निर्माण भएको हेर्दै अघि बढिरहेको थिएँ, बस भृकुटी कागज कारखानाको जीर्णभवनको नजिक पुग्यों । मन कता कता अमिलो भयो । कागज कारखाना बन्दभएको कारखानाका छानाको टिनका पाताहरू खसिरहेका र त्यहाँ काम गर्ने मज्दूरहरूको रोजगारी खोसिएको । कारखाना बन्द हुनुको धेरै कारणहरूमा एउटा कारण मज्दूरहरूको सेवा सुविधाको लागि गरिएको बन्दहड्ताल रहेको आदि कुराहरू मनमा खेल्दा खेल्दै बस गएर पुलचोकमा अडियो र म ओर्लेर मेरी छोरी राधाको घरतिर लागें ।

रातको दश बजे म नाराणगढबाट पर्वत जानको लागि बस चढें । देशमा लोडसेडिङ्ग छ, चारैतिर अन्धकारै अन्धकार छ । अन्धकारलाई गाडीको लाइटले चिर्दै नारयणगढबाट गाडी रामनगरतिर अघिबढ्यो । रामनगरमा खानाखान गाडी रोक्कियो र सबै यात्रीले खाना खाए, खाना पछि गाडी पुन मुग्लिनतिर अघि बढयो । नारायणी नदीको किनारै किनारको साङ्गुरो बाटो, नदीको सुसाहट भने राम्रैसँग सुनिन्थ्यो । कही कहीं धिप धिप बत्ती बलेका दोकानहरूमा ट्रक ड्राइभरहरू र खलासीहरूले विजुली पानी तानेको पनि फाटफुट देखिन्थ्यो । गाडी मुङ्गलि पुग्यो, मुङ्गलिनका होटेलमा भने चहलपहल देखिन्थ्यो । गाडी तनहूँतिर मोडियो । पुलको आवाजले राम्रो संकेत दिएको थिएन । पुल काटियो मस्र्याङ्गीको पावरहाउस पनि काटियो । आबु खैरेनी हुँदै गाडीले रफ्तार लिएको थियो । म कता कता निदाएँछु । डुम्रेको सानो तर राम्रो बजार, छिर्कने भञ्ज्याङ्ग, दमौली, थर्पुबजार, मौरीवडार, खैरेनीटार, कोत्रे, भण्डारढीक, वीजयपुर खोला, काटेर गाडी पोखराको पृथ्वीचोकमा गएर अडिए छ र गाडीबाट मालसमानहरू उतार्न थाल्दा को आवाजले म व्युँझे । आधिघन्टाजति गाडी रोकियो र गाडीले पर्वत जाने बाटो लियो । गाडीले ह्याङ्जाको फाँट हिडिसकेर नाउडाँडा लाग्ने उकाले चढ्न थाल्यो । रातको वेला नभएको भए नाउडाँडाको नजिकबाट फेवातालको दृश्य राम्रो देखिन्थ्यो । नाउडाँडा पनि अन्धकारमै पार गरियो । लुम्लेको कृषि केन्द्रको तल तल बस अघि बढ्यो र एउटा होटेलमा बस रोकियो । सबै जना यात्रीहरू ओर्लेर कोही आगोताप्न थाले भने कोही दिसापिसाबतिर गर्न लागे । लुम्लेलाई नेपालको चेरापुञ्जी (चेरापुञ्जी भारतको आसाम प्रदेशमा पर्छ र संसार भरिमा सबैभन्दा बढ्ता पनानी पर्ने ठाउँ) पनि भनिन्छ । प्राकृतिक सम्पदाले भरिएको सुन्दर ठाउँ । चिया पिएर गाडी नयाँपुलतिर झर्यो । यहाँबाट पैदल मुस्ताङ्गजाने बाटो छुटिन्छ । कास्कीको घान्द्रुक पयटकतिय ठाउँ पनि यहाँबाट अलिक उत्तरतिर पर्दछ । हामी नयाँ पुलबाट पातीचौरतिर बढियो । मोदी खोलाको पाउरहाउसमा विजुली बलिरहेको थियो । गाडी अघि बढ्यो र खराया हुँदै कुश्माको शिवालय चोकमा गएर गाडी अडियो । म गाडीबाट तलझरें । कुश्माको रमणिय स्थल, गुप्तेश्वर महादेवको क्षत्रछायामा रमेको, काली र मोदीको सङ्गीतले गुञ्जयमान भएको, माछापुछ्रे धौलाश्री, अन्नपूर्ण जस्ता हिमाली चुचुराले दर्शाएको सुन्दरतालाई जति हेरे पनि ्नअघाइने दृश्यले सजिएको, माथि दुर्लुङ्गको डाँडो, कुश्माको पारि बाग्लुङ्ग जिल्लाको बलेवा कैयाँ र चुचुरोमा अवस्थित ऐतिहासिक भैरवथान, काली वारि पर्वत जिल्लाका विभिन्न गाउँहरूलाई अवलोकन गर्दै मेरो नजर जन्मस्थल शंकर पोखरीमा पर्न गए । मेरो नजरमा शैशवकालका चित्रहरू एक एक गरेर घुम्न थाले । आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो लाग्छ भन्ने कथन सम्झे । भनिन्छ पर्वत जिल्लामा नै पर्वत राजाकी पुत्रीको रूपमा पार्वतीले जन्म लिएकी थिइन् जुन जिल्लामा कृष्णगण्डकी बग्दछिन् र कृष्णगण्डकीको बगरमा पाइने शालिकग्राम पत्थर (विष्णुको अवतारको रूपमा लिइने) पाइन्छन् । यस्तो धर्मस्थल भएको जिल्लामा जन्मन पाएकोमा मलाई गौरव लाग्नु स्वभाकि थियो । एउटा उखान पनि याद आयो – देउपुरका जस्तो खेती र पाती बाझुङका जस्तो गाउँ । उराठै लाग्ने दुलुङको डाँडो मोहनी लाग्ने पाङ ।

कुश्मामा साहित्यकार मित्रहरूलाई भेट गर्नु थियो । विहानीले आफ्नो स्वरूप देखाउन थालिन् । चराहरूले सङ्गित भरे । मैले सुचीको काम सिध्याएर राजेन्द्र पहाडीलाई फोन गरें । उहाँ जिल्लाविकास कार्यालयमा प्रजातन्त्र दिवस मनाउन जानु भएको रहेछ । मैले पनि सहभागी भए राम्रै हुने ठाने जिल्ला विकासमा पुगें । कार्यक्रम सञ्चालन भैरहेको पाएँ तर जनसहभागिता भने निकै कम थियो । पहाडीलाई देखिन, दुई जना नेताले भाषण गरेको सुने । भाषणमा जनताले चाहेको जस्तो प्रजातन्त्र आउन नसकेको, नेताहरूले संविधान बनाउन नसकेको देशले ऋणको भार बोक्न परेको आदि लगायतका समसामयिक भाषणहरू गरेको सुनियो र म पनि त्यहाँबाट बाहिरिएँ । राजेन्द्रसँग भेट भयो । दुवै जाना साहित्यकार इन्द्र विकल्प कहाँ पुगे म । इन्द्र विकल्पकोमा एक एक कप चिया पियौं । यहाँ ‘कालिको सुसेली’को साथै ‘मनका खुसीहरू’कवितासङ्ग्रह विपल्पजीले मलाई प्रदान गर्नुभयो । कालीको सुसेलीले १६ वर्ष पारगरिसकेको, इन्द्रजी लगायत पर्वतका साथीहरूको लगानीको प्रशंसा गरें र त्यहाँबाट राजेन्द्र पहाडीको घरमा पुगियो । राजेन्द्रजी पर्वतका एक जल्दाबल्दा युवा साहित्यकार हुनुहुन्छ । उहाँको लेखनशैलीसँग म निकै प्रभावित छु । उहाँलाई मेरो गजलसङ्ग्रह ‘अभागीको प्रेम विहारको सष्ठामृत’ समीक्षार्थ दिएँ र उहाँबाट पनि पर्वतका ३जान साहित्यिक हस्तीहरू, राजेन्द्रजीको ‘बियाड’, इन्द्रमान खत्रीको ‘समय’ र इन्द्रकुमार विकल्पको ‘जिगीषा’ तीन थान हाईकुसङ्ग्रहको साथै ‘समुदाय र सृर्जना’ समुदायलाई कसरी उत्थान गर्न सकिन्छ, जनजागृति कसरी ल्याउने भन्ने धारणा बोकेको विकासमुखी पत्रिका, जसको सम्पादन राजेन्द्र पहाडी र उत्पेरक सिड नेपाल रहेको, पनि राजेन्द्रजीले मलाई दिनु भयो । पहिला पहिला यो पत्रिका केवल विकासमूलक प्रविधिले भरिएको हुन्थ्यो भने आजकल यो पत्रिकामा साहित्यिक लेखरचनाहरू पनि समावेस गरिएको पाएँ । सुनमा सुगन्ध भरेजस्तो लाग्यो । किनकि वैज्ञानिक लेखमा साहित्य मिसिए पछि पढ्नमा रसिलो महसूस/रुचिकर हुन्छ । राजेन्द्रजीसँग बिदालिएर म बडगाउँचौरतिर लागें । बाटोमा पर्वतका चिनजानका साथीभाइहरूलाई भेट्दै अघिबढ्दा पत्रिका वितरक भाइले ‘सहारा न्युज पत्रिका हातमा थमाइ दिनु भयो र यसलाई पनि लिएर म एउटी सकृय साहित्यकार तथा ‘नव माधुरी’की सम्पादक सरस्वती शर्मा जिज्ञासुको घरमा पुगें । त्यहाँ माधुरी साहित्य प्रतिष्ठानका संरक्षक विमल प्रसाद शर्मा पौडेलसँग पनि भेट भयो । यहाँ पनि माधुरी पत्रिका हात लाग्यो । सरस्वतीजीका टेबुलमा धेरै पत्रिकाहरू देखें र पर्वतबाट कतिवटा पत्रिका निक्लन्छन् भन्ने जिज्ञासा सरस्वतीजीसँग राखें । मेरो जिज्ञासालाई विमलजीले पर्वतमा थुप्रै पत्रिका निस्कन्छन् भन्दै फलेवास सप्ताहिक, न्यू कालीगण्डकी दैनिक, सहारा न्यूज, धौलागिरी सञ्चार सप्ताहिक, मोदीकाली सप्ताहिक, अभिमत सप्ताहिक, पर्वत सञ्जाल सप्ताहिक, शुभसन्देश सप्ताहिक, कालीको सुसेली त्रैमासिक, सगुन त्रैमासिक, नवमाधुरी त्रैमासिक आदि पत्रिकाको नाम लिंदै विमलजीले, यी पत्रिका प्रकाशनले गर्दा पर्वतमा लेखक र पाठकको संख्या बढ्दोक्रममा छ, भन्नुभयो । पर्वतले साहित्यिक क्षेत्रमा पुर्याएको योगदान सह्रानीय लाग्यो । कुश्माबाट म कटुवा चौपारी जानु थियो । म बडगाउँचौरको त्यो रमझम, ती सरकारी कार्यालय सबैलाई आँखाभरी समेल्दै मोदीमा बनेको सबैभन्दा अग्लो पुलमा पुगें र पुल तरें पनि । ग्यादीको सातल फाँटमा एउटा थुम्को भनौं त्यसको वरिपरि बृक्षारोपाणले गर्दा हरियालीले भरेको चुचुरोमा पाठेश्वरीको मन्दिरले ग्यादीलाई नै पवित्र पारेको भान हुन्थ्यो । त्यही पाठेश्वरीको मन्दिर असिगल्तीर मेरी सहयात्री डिलकुमारीको माइत जहाँ करुणाराज लामिछाने (जेठान) मेरो इन्तजारमा हुनुहुन्थ्यो । जेठानदाज्यूसँग दर्शनभेट भयो । गुन्द्री माथि काम्लो ओछ्रयाएर आसन तयार थियो बसें । म चिया पिउनको लागि धेरै सौखिन छु भन्ने कुरा सबैलाई थाहा थियो स्टिलको गिलास भरी चिया आयो चिया पिउन थालें । मेरो नवलपरासीदेखि पर्वतसम्मको यात्रा त पुरा भयो तर अब बाँकिरह्यो मैले गर्नु पर्ने कामको विवरण ।

स्वस्थानी माताको ब्रत बस्ने र साँझ विहान पूजापाठ गर्ने काम हिन्दूनारीहरूको एउटा ठूलो र लामो ब्रत हो । यो ब्रत पौषशुक्ल पूर्णिमाबाट सुरु हुन्छ र स्वस्थानी माताको नित्य आराधना गरी माघशुक्ल पूर्णिमामा साङ्गे गरिन्छ । तिथिको घटी/बढीले गर्दा यो ब्रतको थालनी अघिपछि सर्न सक्छ र आफ्नो सहोदर दाजु भाइमा मृत्यु तथा सुत्केरापर्न गएमा साङ्गेको काम रोकिन पनि सक्छ । यो ब्रत खासगरी विवाहित महिलाले गर्ने गर्दछन् भने फाटफुट कन्याहरूले पनि गरेको पाइन्छ । ब्रतको खास उदेश्य पतिको चिरायुको लागि तथा सुयोग्य पति पाउनको लागि गरिन्छ, भनिन्छ । आज फागुन सात गते यहाँ भव्यताको साथमा साङ्गेको कामको थालनी भएको थियो । विविध परिकारहरू खानाका लागि तयार गरिदै थिए । पण्डित आएर पूजाको कामको थालनी गरे दिनभरि पूजा गरी सकिएपछि रातभरि भजन किर्तन गरी जाग्रम बस्ने काम भयो ।

फागुन आठ गतेका दिन व्रतवन्धको साथै स्वस्थानी ब्रतको साङ्गे, रुद्रीपाठ, वेदपाठ र नारायणको पूजा समेत संयुक्तरूपमा गरिने कार्यक्रम रहेछ । ४ जना बालक (युवक)को संयुक्तरूपमा व्रतवन्धको काम थालनी भयो । यो यज्ञमा चारजना वेद पढ्ने बालकहरूलाई चालिस अध्याय वेद पाठको जिम्मा दिइयो । म र तुलसीराम तिवारीलाई होमनमा राखियो । यज्ञ बडो धुमधामसँग सञ्चालन भयो । मैले पनि एक जना बालक प्रकाश लामिछानेलाई गायत्रीमन्त्र प्रदान गर्ने मौका पाएँ र म गुरुबा बने । गुरुवा बन्नेमा म मात्र टाढाको व्यक्ति थिएँ तर अरुहरू भने स्थानीय दाजुभाइ थिए । यसमा पनि आमन्त्रितहरूले आँठसाँद जोडिएको व्यक्तिभन्दा टाठाको व्यक्तिलाई गुरुचयन गर्दा गुरुको मर्यादा र आदर सन्मान दिन सकिने टीकाटिप्पणी गरेको सुन्न पाएँ । मलाई यो ठिक पनि लाग्यो । यस कार्यमा मैले मानिस जन्मलिनुभन्दा पहिलाबाट दाहसंस्कार गरिने बेलासम्म गरिने संस्कारको बारेमा विवेचना सहितको नारायणप्रसाद अधिकारीद्वारा लिखित हाम्रा सोह्र संस्कार नामक किताप सर्सर्ती पल्टाउन मात्र पाएँ तर पढ्ने मौका भने पाइन । यो किताप छोटो रूपमा हाम्रसंस्कार सम्बन्धमा धार्मिक उव म वैज्ञानिक रूपमा बर्णन गरेको र सबै जना त्यसमा पनि गुरुजनहरूले त पढ्नै पर्नेजस्तो लाग्यो । यी सोह्र संस्कारमा गर्भधान, पुंसवन (पुरुषसत्व प्रदान गर्ने), सीमन्तोनयन, जातकर्म, पष्ठिका पूजन, नामाकरण, निष्क्रमण, अन्न प्राशन, कर्णभेद, केशान्तक, अक्षराम्भ/विद्यारम्भ, ब्रतवन्ध, चुडाकरण, उपनयन वेदारम्भ, विवाह, अन्त्य कर्म र जन्मोत्सब (१६ संस्कारमा पर्दैन) पर्दछन् र यी १६ संस्कारलाई कसरी कहिले र किन गर्ने भन्ने छोटो तर सारगर्भित बर्णन यसमा प्रष्ट्याइएको छ । ब्रतबन्ध करिब चार बजेतिर सकियो र म नारायणगढतिर फर्के । यस पटकको पर्वत यात्रा निकै छोटो तर अर्थपूर्ण भएको मैले महसूस गरेको छु ।

धन्यवाद
सदानन्द अभागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *