Skip to content


काम नपाएका झोँकमा हल्लँदा हल्लँदै एक दिन हाम्रा मामाले पनि पत्रिका निकाल्ने कम्मर कस्नुभो । मासिक, द्वैमासिक र त्रैमासिक अनगिन्ती भएकोले र पञ्चायती प्रजातन्त्रमा पाञ्चमासिक चाहिँ एउटा पनि नभएकाले त्यस महत्वपूर्ण अभावको पूर्ति गर्ने निधो भयो र नाम रह्यो– “हुटिट्याउँ” । यसलाई विज्ञापन प्रधान गराउने कुरामा पनि सहमति भै हाल्यो । प्रधान सम्पादकमा मामा स्वय म घोषित हुनुभयो र उहाँले माइजूको प्रकाशकत्वमा ७ जनाको एउटा हुटिट्याउँ परिवारको गठन गर्नुभो, जसको सदस्यमा एकजना म पनि नपरिरहन सकिनँ । परिवारको सदस्य हुनुमा त मजै थियो, एउटा सवभन्दा गाह्रो कामको अभिभारा आफ्नो थाप्लामा परेकोले पो मार्यो त ! सम्पादक मामाले भन्नुभो– “हेर भान्जा, तिमी कुरो धुत्नमा खप्पीस छौ, त्यसैले एउटा यस्तो मान्छेको अन्तर्वार्ता लिएर आऊ जोसँग अहिलेसम्म कसैले अन्तर्वार्ता नलिएको होस् । मामाले यसोभन्दा मलाई लाग्यो कताकता म आफ्नै अन्तर्वार्ता किन नलिउँ, कारण अहिलेसम्म कुनै पत्रिकाले मेरो अन्तर्वार्ता त के, बहिर्वार्तासम्म लिएको छैन । तर आफैबाट श्रीगणेशायनमः गर्न अलि लाज लाग्यो र प्रस्ताव राखो– अहिलेसम्म कसैले नलिएकोले म आफ्नै माइजूको अन्तर्वार्ता लिउँ कि त ? मामाले त हुन्छ हुन्छ भन्न आँटिसक्नुभएको थियो तर माइजूले धोतीको फुर्को टोक्दै भन्नुभयो– “पर्दैन पर्दैन, यस्ता उटुङ्या मान्छेले अन्तर्वार्ता लिंदा भन्न नहुने कुरा सोधे भने के भन्नु नि !” मैले सकेसम्म फकाएँ– किनभने हाम्री माइजू राम्रीमा बत्तीसा र बाठीमा छत्तीसा भएकीले उनको फोटो सहितको अन्तर्वार्ताले पनि पत्रिकाको विकाउमा निकै सघाउ पुर्याउने सम्भावना थियो । तर कुरो बुझिदिए पो !

माइजूले नमानेपछि अन्तर्वार्ता लिने नयाँ व्यक्तित्व खोज्न र उसलाई सोधिने प्रश्नहरू रोज्न म रातभर घोरिएँ । आफ्ना मामा उर्फ प्रधान सम्पादकज्यूको आदेश शिरोपर गरी मैले एउटा रिकर्डतोड् अन्तर्वार्ता कसैसँग नलिई सुखै थिएन । भोलिपल्ट म एकाबिहानै नाकमुख समेत नपुछी अन्तर्वार्ता लिन एउटा सर्ने कलम र नफुल्ने कागत लिएर निस्को । टुँडिखेलका पेटीमा सेठ साधोराम प्रधान भ्रमण गर्दै रहेछन् । भकारी जत्रो जिउ, आरी जस्तो मुख, काँसघारी जस्तो दाह्री भएका सेठ साधोराम आधोरामको बारेमा मान्छे कुरा गर्थे– उनी एउटा लोटा लिएर चन्द्रागिरीबाट झरेका, यहाँ पशुपतिनाथको प्रतापले पाँचै वर्षमा लखपति र दशै वर्षमा करोडपति बनेका छन् । एउटा दरिद्र कवि कलाकारकोभन्दा त यस्तै करोडपतिको अन्तर्वार्ता महत्वपूर्ण हुन्छ भन्ने निर्णय गर्न मलाई कत्ति बेर लागेन । यिनको अन्तर्वार्ता छाप्न पाए एक पेज विज्ञापनका के कुरा पूरै १ अङ्कको खर्च उनले प्रदान गरिदिन्थे– विश्वास पनि जागिहाल्यो । त्यसैले अगाडि पुगेर नमस्ते गर्दै मैले बिन्ती बिसाइहालो– म सेठजीकैँ जान लागेको, दैवसंयोग यहीँ भेट भैहाल्यो । उनले आफ्नो श्वामवर्ण अँझ श्याम पार्दै हपारे– इस सालको इनक म ट्याक्स त हामीले बुझाइसकेको छ । फिर किन ?

मैले भनें– “म इन्कम ट्याक्स अफिसको मान्छे होइन । म त ‘हुटिट्याउँ’ पत्रिकाको अन्तरङ्ग सम्पादक; सेठजीको अन्तर्वार्ता लिन आएको ?” सेठजी अकमकिए । मैले अँझ बुझाएँ– “हाम्रो ‘हुटिट्याउँ’ पाञ्चमासिक नेपालीको प्रख्यात म्यागाजिन हो ।” सेठजीको घट्टमा उल्टो घाम लागेछ । उनले भने– “आजकल इतने म्यागेजिन निस्किरहेछ, दिँदादिँदा हामी तवाह भैसक्यो । सुवे सुवे भन्यो; जाओ दो रूपियाँको छापि दिनोस् । ब्लक लेटरमा, जरा अच्छा स्पेश देना ।” यति भनेर उनी लमलम ४ पाइला हिँडे र फेरि फर्केर सम्झाए– “विल पेश गर्दा डिस्काउन्ट लिन भुल्ला नि ।”

मैले भनेँ– “विज्ञापन पनिदिनु भो बेसै भो, तर म त अन्तर्वार्ता पो लिन आएको त ?” सेठजी फेरि एकछिन अकमकाए र केही सम्झे झैँ गरी कम्पारामा हात राख्दै भने– “ओ, याद आयो अन्तर्वार्ता माने इन्टरभ्यू, हाँ ? देख भाइ यो अन्तर्वार्ता सन्तर्वार्ता म दिन्न । मैले एकबार खरिदार पदको लागि अन्तर्वार्ता दिएथो अठार सालको उम्रमा । उसमा फेल भएँ । पास भएको भए बहुत से बहुत म दश वर्षमा सेक्सन अफिसर हुँदो हुँ, फेल भएको हुँदा व्यापार लाइन लिएँ, करोडपति भएँ । त्यसैले यह अन्तर्वार्ता याने इन्टरभ्यूकी बातमे नलगना ही अच्छा है ।”

मैले भनेँ– “सेठजी, जागिर खाने अन्तर्वार्ता र पत्रिकामा छाप्ने अन्तर्वार्ता धेरै फरक छ । म त यहाँलाई पुस्तकको कुरा सोध्दै सोद्धिन, जे सोध्छु तपार्इंको आफ्नै बारे सोध्छु र सबै लगी छापिदिन्छु । तपार्इं अमर हुनुहुन्छ ।” साहुजी अलि उत्साहित भई अडिए । मैले कलम कापी तयार पार्दै पहिलो प्रश्न सोधेँ– “यहाँ पित्ले लोटा लिएर नेपाल पस्नु भा’ थ्यो, सुनका घ्याम्पा लिएर भारत पस्दै हुनुहुन्छ भन्ने सुनिन्छ, के यो ठिक हो ?”

सेठजी यो बकवास हो भन्दै लम्के । पछिपछि लाग्दै मैले दोस्रो प्रश्न तेस्र्याएँ– “सेठजी इन्क म ट्याक्स छल्ने यहाँका मौलिक उपायहरू केही बताइदिनु हुन्थ्यो कि ?”

सेठजीले आफ्ना व्याघ्रनयन मतिर पुलुक्क फ्याँक्दै भने– “के बकवास गर्दैछौ तपार्इं ?”

मैले तेस्रो प्रश्न ओच्छ्याएँ– “अवैध निकासी पैठारीमा गत सालभन्दा यस साल अलि बाधा पर्यो कि ?”

सेठजी गर्जे– “तुम याने तपार्इं के वार्ता गर्नुहुन्छ ? मै याने म अन्तर्वार्ता सन्तर्वार्ता दिन्न बुझ्नु भो ?”

उनी पाइला लम्काउँदै लस्के मैले पनि पिछा छाडिनँ । पिछा गर्दागर्दै मैले अर्को प्रश्न राखेँ– “सेठजी, गिफ्ट पार्शल बन्द गर्नुमा यहाँको के राय छ ?”

सेठजी एकछिन गनगनाए र मतिर फर्कंदै सोध्नथाले– “के तिमी याने तपाईं अर्थात् तु म सि.आई.डी.देखि डराउनुपर्ने के छ र ?” सेठजी झन् लम्के, मैले पनि पिछा छाड्दै छाडिनँ । महाङ्काल घुमेर एउटा टीको लगाउँदै सेठजी गल्लीभित्र यसरी दौडे कि मलाई भेट्टाउनै गाह्रो पर्यो । तर म पनि ‘हुटिट्याउँ’को प्रतिनीधि पो त अन्तर्वार्ता नलिई के छाड्थेँ; दौडो पछि पछि ।

जतिसुकै दौडन खोजे पनि उनलाई भ्यात्ले भुँडीले कदम कदममा स्याँस्याँ गराउँथ्यो, मलाई सिन्के खुट्टाले बेलाबेला धोका दिन्थ्यो । तैपनि मछीन्द्रबहालमा दुवैको जम्काभेट भैहाल्यो । मैले भनेँ– “सेठजी, मान्छे आफ्नो अन्तर्वार्ता छपाउन कतिकति कोशिस गर्छन्, तर तपाईं अन्तर्वार्ता लिन आउँदा पक्रन आए जस्तो गरी भाग्नुहुन्छ । कमसेकम एउटा प्रश्नको त जवाफ दिनुहोस्– “तपाईंले आफ्नो धन जम्मै इण्डियाको बैंकमा राख्नुपर्ने कारण के ?”

सेठजीले रातो मुख लगाएर मसँग विनम्रतासाथ अनुरोध गरो– “आपको अर्थात् तपाईंको पत्रिकाको एउटा अङ्कलाई कति खर्च लाग्छ म दिन्छु, तर यस्तो अन्तर्वार्ता सन्तर्वार्ताको झन्झट मलाई नदिनोस् बा !”

म दङ्ग पर्दै फर्केर ‘हुटिट्याउँ’का सम्पादक उर्फ मेरा मामालाई आद्योपान्त नालीबेली लगाएँ । मामाले भन्नुभो– “महिनैपिच्छे यस्तै अन्तर्वार्ता गर्न सक्यो भने त पत्रिका चलिहाल्यो नि !” त्यसपछि म गम्दैछु– अब कसको अन्तर्वार्ता लिऊँ ?

मादल, वर्ष १, ताल १
२०२८ असोज

Leave a Reply

Your email address will not be published. Required fields are marked *