Skip to content

मेरो साथी र कम्बोडियन फुच्ची

AnishchitYatriKamal


ड्युटी सकेर रूममा पुगेपछि हामी थ्याच्च सोफामा बस्यौं । अरु दिनभन्दा आज मेरो साथी अलि हसिलो मुद्रामा देखिन्थ्यो, केही हतारिए जस्तो उनको मुहारमा थोरै चमक थियो, ओठबाट मुस्कान फुस्कन धाराब अवस्थामा देखिन्थ्यो ।

“आज त अचम्मै भा’छ सोल्टी ” -मेरो साथीको भनाइ ।

म आफू पूर्वको अनि मेरो साथी पश्चिम भनौ मेरो घर धनकुटा जिल्ला अनि वहाको सूर्खेत, तैपनि हामीमा केही भिन्नता थिएन । हामी दुवैमा बैचारिक अनि भावनात्मक कुराहरू मिल्दोजुल्दो थियो । वहा एक ‘क्षेत्री’ परिवारको छोरो अनि म लिम्बुको तैपनि हाम्रो लवाई-खवाई देखि लिएर रहनसहन प्राय सबै मिल्थ्यो । सायद मगर र क्षेत्रीको ठिम्मर छोरो भएर पनि होला झट्ट हेर्दा वहालाई मंगोलियन नै भन्न सकिन्थ्यो । करिब साढे ५ फिट अग्लो गहुगोरो अन्नुहार पाँच वर्ष नेपाली सेनामा जागिर खेर छाडेको बताउने मेरो साथी ज्यान हेर्दा पत्यारिलो नै देखिन्थ्यो । वहाको सहनशील बानी, सहयोगी भावना, समझदार अनि जन्मभूमिप्रति गर्व गर्ने बानीले मलाई वाहाप्रति तानेको थियो । नेपाली पुरुषहरूको प्रायजसो परदेशमा प्रयोग हुने साइनो ‘सोल्टी’ जो कोहीलाई थाहा छ ।

“होइन के भयो त त्यस्तो आज बिहान-बिहानै सोल्टी ?”- मैले उत्सुकतापूर्वक प्रश्न गरे ।

“के हुनु र सोल्टी ‘काली’ले क्या,” उसको उत्तर ।

“ए त्यो कुकुर गोठाल्नी काली ?” मेरो प्रश्न ।

“अँ त्यही क्या गार्ड पोस्ट अगाडिको एक नम्बेर रूमको ।”

“ए होर ! अनि के गरी त त्यसले ?”

“यी हेर्नुस न यहाँ आज राति त्यसले दिएको ! के होला यस्तो ?”

ऊ हाँस्दै ब्यागबाट एउटा रातो पोको निकालेर मलाई देखाउदै थियो । ओहो के हो यो म पनि राम्ररी चिहाएर हेर्न थाले । त्यस पोकोभित्र एउटा सानो हरियो रुमाल अनि कागजको टुक्रा थियो । हामी दुवै जना त्यसहरू नियालेर हेर्न थाल्यौ ।

“यो रुमाल त गिफ्ट मायाको चिनो होला अनि यो कागज चाहिं !”

त्यस कागज हेर्नासाथ हामी दुवै जना छाती मिची-मिची हाँस्न थाल्यौं । बिचरी ! उक्त कागजमा दुइवटा फूलको अनि दुई जना महिला र पुरुषको चित्र कोरिएको थियो । हामी एकार्कामा हेराहेर गरेर खुब हाँस्यौ । त्यो चित्र हेर्दा कक्षा १ का साना बिध्यर्थिको सिकारु कला जस्तो लाग्थ्यो । पेन्सिलले कोरिएको चित्रमा विभिन्न रंगहरू भरिएका थिए । कागजको तलतिर “आइ लाभ यु” लेखिएको थियो । त्यहाबाट बुझ्न सकिन्थ्यो कि उनले मेरो साथीलाई मायाको चिनो दिएको हुन् । हामी हाँसिरह्यौ आँखाबाट आँसु छुट्ने गरी । न त भाषा मिल्थ्यो त्यहाँ न त कुनै बातचित थियो । तर त्यहाँ दुई वटा मानव हृदय अवश्य थियो, मुटुहरू उस्तै थिए, अनि त्यहाँ माया, ममता, चाहना थियो ।

“फुच्ची” कम्बोडियाबाट मलेशिया आएकी । एउटा चाइनिजको घरमा कम गर्थिन । उनी करिब १७-१८ वर्षकी भन्न सकिने अलि होची गहुगोरी काली, शरीरका मांशपेशीहरू प्राय टम्म भरिएको देखिन्थ्यो । यी उमेरका जो सुकै महिलाहरूमा यौवनको छटा स्वभावैले देखिन्छ । हाफ पाइन्ट त भेस्ट म आफ्नो बढ्दो अंगहरूलाई कसेकी थिइन फुच्चीले । काली भए पनि मिलेको जिउडालमाथि पुष्ट छाती सुहाउदो नै थियो । भनौं उनी कुनै एक युवकलाई झुक्याउन सक्षम नै थिइन । फुच्चीले काम गर्ने घर अनि हाम्रो सेकुरिटी गार्ड पोस्ट ६-७ मीटरको फरक मात्र थियो । भनौ एउटा रोडले छुट्याएको थियो । तर हाम्रो सेकुरिटीको नियम अनि फुच्चीको चाइनिज बोसको कडा शासन । त्यो दुरी फुच्चीको विवशतमा कोसौं टाढाको थियो । घरको सरसफाई, चाइनिजको परिवारको लुगाकपडा धुनु, जुथाभाडा पखाल्नु, बिहान बेलुका चौरमा कुकुर डुलाउनु फुच्चीको नित्यकर्म उसको ड्युटी थियो । मुस्किलले टुटेफुटे अंग्रेजी बोल्थिन फुच्ची । भर्खरै-भर्खरै मलेशिया आएकीले मलायु भाषा जान्थिनन फुच्ची । फुच्चीलाई चाइनिजले फुच्चीलाई नराम्ररी गाली दिएको प्रत्यक्ष देखिन्थ्यो अनि सुनिन्थ्यो ।

एउटी अवला नारी परदेशमा, जीवनको वास्तविकताको हदभन्दा पर, घर-परिवार, आमा बाबाको छहारीभन्दा धेरै पर । कसैको नोकर्नी । आफ्नो निर्णय गर्नसम्म नसक्ने दिमाग समग्रमा भन्नुपर्दा कलिलो मनाशिकता, कोमल मन ठोस कोमलता भएको महिला मौलिक हक अधिकारहरू एउटा चाइनिजको शोषण दमनमा सीमित थियो । जन्मेको ठाउँभन्दा पर, आमाको न्यानो काखबाट टाढा, साथीसंगी अनि दौंतरीहरूबाट टाढा, आफन्तको सहाराबाट टाढा, निर्वासित मन, निर्वासित आत्मा जम्मामा निरर्थक जीवन, दुखद दिनचर्या फुच्चीको भविष्य के होला? त्यो त यो स्वार्थी अनि निर्दयी समयलाई मात्र थाहा थियो ।

“के गरेकी होली त्यसले ? किन यस्तो दिन चाहेको होली ?” मेरो साथीले बोल्यो ।

“तपाईंलाई मन पराउँछे होली नि ! अनि माया गर्छे मनमुटुबाट, निर्दोष हृदयबाट.. हा..हा.. अनि यो गुलाबी रंगको रुमाल मायाको चिनो… अन्तत: संझना स्वरूप । निश्चय नै उर्बौले केटी, चंचल मन..अवश्य पनि एउटा पुरुष हृदयमा बास बस्न चाहन्छे, आफ्नो फक्रँदो बैशको ढुकढुकी कुनै पुरुषको बलिष्ठ पाखुरामा कस्न चाहन्छे । आजीवन नाता गासेर उसैको बलिष्ठ पाखुरामा लुक्न चाहन्छे । अंगालोमा बाधिएर औलाको स्पर्शले काउकुती लगाउदै अंग-अंग, मायाप्रीतिका मिठा-मिठा कुरा गर्दै एकान्तमा घन्टौ हराउन चाहन्छे । दुख सुखका कुराहरू गर्दै हृदय पगालेर आँखाको डिलमा टलपल हर्षित आसुहरू एउटा भरपर्दो पुरुषको हातले पुछ्न चाहन्छे । जीवनको नियमवद्धतामा आफूलाई पृथक तुल्याउन प्रकृतिको नियमलाई पछ्यौन चाहन्छे । जीवनको अन्त्यसम्म पनि त्यही पुरुषको विश्वास र भरोसामा आफूलाई समाहित गरुन चाहन्छे ।”

“अब मैले चाहि के दिने उसलाई ? दिन जे दिए पनि उसले जस्तो यो कागजमा कोरेर चाहि दिनुहुन्न । फेरि उसको बोसले कम्प्लेन गर्यो भने त सेकुरिटीको बद्नाम हुन्छ,” ऊ बोल्दै थियो ।

“आ अब भैगो तपाईंले पनि केही चिज दिनोस न भैहाल्यो नि । उसले यति माया गरेकी छे भने मायाको प्रतिउत्तर त दिने पर्यो नि । फेरि माया गर्नेको मन दुखाउनु महापाप हुन्छ । बिचरी! कति के के भनुँ भन्दी हो भाषा मिल्दैन । कस्तो दयनीय प्रेम गरेकी छे तपाईंलाई उसले । २/४ शब्द अंग्रेजी अन्तरात्माको कुराहरू कहाँ प्रष्ट हुन्छ र ? हो कहाँ प्रष्ट हुन्छ र ?” मैले सोधें ।

“हा …हा ..हा ..यो सृष्टिमा माया भन्ने चिज पनि यस्तो अनौठो हुदो रैछ, चिनजान छैन, बोलचाल छैन, खै के मन पराएकी मेरो उनले! रुप, स्वभाव, बानी व्यहोरा ? बिहान बेलुका यसो नजर त जुध्छ,” मेरो साथी हाँसोमा उदाउँछ । चाहे मन, चाहे तन, चाहे स्वभाव आखिर ठोस सत्य त्यही हो सिंगो रुपमा, सम्पूर्ण रुपमा चाहना भनौ या आकर्षण खास त्यही हो प्रेम आफैमा निस्सार ।

“गेस गर्दा चाहि सोल्टीको रुप मै लोभिइन जस्ती छे फुच्ची । फेरि यस्तो हेन्डसम मान्छे देखेपछि जो कोही केटीको मन त लोभिहाल्छ नि,” मैले हावा भरिदिएँ ।

“कहाको हेन्डसम र? नेपालबाट लिएर आएको जिउको मासु पनि सेकुरिटीको ड्युटीले खाइसक्यो । मरंच्यासे पो भइया छ आजभोलि,” मेरो साथी बोल्यो ।

“अब जे होस् बिरुवा उम्रेको छ राम्ररी गोडमेल गर्नुस कतै फल लाग्छ कि!” गलल हस्यौ हामी दुवै ।

प्रेम आफैमा सीमाहीन नियन्त्रण गर्ने गाह्रो । साच्चै चोखो आत्माले नै प्रेम गर्ने हो भने त्यहाँ कसको सतर्कता आउला र! जतिनै घमण्डीको पनि औषधी बन्छ प्रेम । पागलेरै छाड्छ । जीवनको सार्थकता खोज्ने हो भने त्यही हो प्रेम जसबाट मान्छे मिठो अनुभूतिको चरम सीमाबाट मृत्युको उपत्यकासम्म पुग्छन । यो एउटा नियमबद्ध सृष्टिको उपज हो । एउटा फुल कोपिलाबाट फक्रन्छ, ढकमक, बास्ना भरेर, शोभा भरेर वास्तबमा त्यो फुल फुल्नुको सार्थकता खोजे त्यही हो जहाँ भमरालाई लोभ्याउनु आकर्षण गर्नु, भमराले रस चुस्छ, पेट भर्छ यति मात्र अवश्य होइन त्यही हो प्रकृतिको नियमबद्धता फुल फुल्नुको सार्थकता । फुल फुल्नुको अर्थ । कहाँ लुत्छ भमराले? न त लुटिन्छ फुल । मानौ फुल लुटिन्छ, लुटिनै परेर लुटिन्छ । यो एउटा नियम हो निस्सार नियम । प्रेम अनि फुलको नियम उस्तै-उस्तै । यो त भयो फुलको कुरा, अनि प्रेम यो त भागवानको बरदान । चाहेर होस् या नचाहेर प्रेम हुन्छ । आफै हुन्छ । प्रेमको अगाडि मानवीय मनमुटुहरू खाली अन्जन अनि निर्दोस भने फरेक नपर्ला ।

हाम्रो रातको ड्युटी । ड्युटी सकेर कोठामा प्रवेश गरेपछि खान पकाउने खाने अनि कठिनले दिनको गर्मीमा निदाउने हाम्रो दिनचर्या । दिनैजसो बिहान हाम्रो कोठामा भेट भएपछि मेरो साथी राति फुच्चीसँगको मायाप्रेमको भलाकुसारी सुनाउँथ्यो । कसैको कुरालाई ध्यान दिएर सुन्ने अनि जाने जति विश्लेषण दिने मेरो बानी ऊ मलाई खुब सुनाउथ्यो । रातको करिब ११:०० बजेपश्चात फुच्चीको बोस घरबाट बाहिर जाने गर्थ्यो । त्यसपछि यताउता चियाउदै बिरालोको चालमा फुच्ची बाहिर आउँथिन् । गार्ड पोस्टको सामुन्ने चाइनिजले एउटा गाडी पार्किंग गरेर राख्थ्यो सधै नै । त्यही गाडीले उज्यालो बिजुलीको प्रकाशलाई छेकेर थोरै अँध्यारो मेरो साथी र फुच्चीको निम्ति प्रेमकक्ष छुट्याएको थियो । जुन थोरै अँध्यारो ठाउँले स्वार्थी दुनियाको अर्काप्रति खैरो खन्ने पापी नजरलाई छेकिदिन्थ्यो । अनि मेरो साथी चनाखो भएर फुच्चीलाई प्रेम गर्थ्यो, खै कुन्नि कुन आशक्तिमा, कुन प्रलोभनमा । फुच्चीको केशरासी खेलाइदिन्थ्यो, गालामा चुम्बन दिन्थ्यो, शरीरका कोमल अंगहरूमा स्पर्श गरिदिन्थ्यो । मोरो जे-जति गर्थ्यो फुच्चीको मर्म बुझेर नै गर्थ्यो । जन्जिरले बाधिएकी फुच्चीको जीवन, कुरकुरे बैंश, जबर्जस्त दबाएर राखेकी यौवन, भित्रभित्रै रापमा तड्पिएकी । त्यहाँ मेरो साथीको अंगालो, स्पर्श, अनि चुम्बन पाउदा पक्कै पनि फुच्चीले स्वर्गीय आनन्द अनुभूति गरेकी हुनुपर्छ । त्यसैले त एउटा पराई पुरुष, बिदेशी पुरुषले आफूलाई सम्पूर्ण रुपमा खेलाउदा पनि कुनै प्रतिक्रिया नजनाएकी । अँझ उनी मेरो साथीलाई कम्बोडिया जाउँ न प्रिय भन्थिन । दिनदिनै उनी मेरो साथीलाई हाम्रो योजना कहिले पुरा हुन्छ भनी सोधिरहन्थिन । तर बिचरी अन्जन फुच्चीलाई के थाहा अब चाडैनै आफ्नो मायालु आफूलाई छाडेर जादैछ भन्ने । मेरो साथीले खै कसरी बुझ्थ्यो फुच्चीको भाषा, अंग्रेजी बोल्न त मेरो साथीलाई पनि फुच्ची सरह नै मान्नु पर्थ्यो । खै के गफ गर्छन उनीहरू तैपनि हर बिहान कोठामा भेट भएपछि मेरो साथी राती फुच्चीसँगको गफगाफ सुनाउथ्यो । म अड्कल गर्थे जहाँ माया हुन्छ ती दुई आत्मा बीच कुनै बातचितको नै जरुरी पर्दैन । त्यहाँ इशारा नै काफी हुन्छ, मुस्कान नै काफी । आँखा, मुस्कान, शारीरिक चाल यसरीनै मनका कुरा व्यक्त हुनसक्छ । लाग्थ्यो मेरो साथी र फुच्चीमा पनि यस्तै होला ।

मलेशिया सरकारले गैरकानूनी रुपमा कार्यरत बिदेशी कामदारहरूको लागि कानूनी मान्यता प्रदान गर्ने नीति अन्तर्गत यहिरहेर कम गर्ने या घर फर्कने भनी सोही अनुरूप नामावली दर्ता गराउने कार्यक्रम अगाडि बढाउदै थियो । यही क्रममा मेरो साथीले घर फर्कने नीति अनुसार नामावली दर्ता गराएको थियो । पछिल्लो समय मलेशियाको स्थिति त्यति सहज नहुने स्थिति निश्चित थियो । अर्को कुरा घरकी श्रीमती र एक सन्तानले वहाको बाटो हेर्दै दिन्गनिरहेका थिए । जुन अन्तिम म्याद २०११ अक्टोबर ३१सम्म मात्र थियो । त्यो दिन आउन करिब अब १५ दिन बाकी थियो । मेरो साथी र फुच्चीको प्रेमकथा एक महिनाभन्दा बढी नरहने निश्चित थियो । बिहानै फुच्ची गार्डपोस्ट अगाडि चौरमा कुकुर डुलाउन निस्किन्थिन । उनी मेरो साथीसँग आँखा जुधाएर थोरै मुस्कुराउथिन् ।

फुच्चीलाई हेरेर मेरो साथी भन्ने गर्थ्यो, “के गर्ने सोल्टी एक डेढ वर्ष बस्न पाएको भए त । तर कालीलाई अब छाडेर गइनेभो ।”

उसको भनेको लख काटेर पनि म हाँसीमात्र बसें । साच्चै ऊ जाँदैथ्यो अब फुच्चीको जीवनबाट टाढा । फुच्चीको स्मृतिमा एउटा छाप छोडेर, प्रेमजस्तो धारिलो छुराले मुटुमै रोपेर । जीवनभर बल्झिरहने आलो घाउ दिएर जादैथ्यो । फेरि कहिल्यै नभेट्ने गरी, क्षितिजपारि आफ्नै संसारमा रमाउन, नचाहदा नचाहदै पनि फरक देश अनि जीवन परिवेशहरू बाधक बनेर आज यसरी फुच्चीलाई छाड्नु परेको थियो मेरो साथीले । अति दूर दुई देशको नारी पुरुष भावीको लिलामा आफूलाई समाहित गराउदै दुई दिनको माया गासेर जीवनभरिलाई छुट्टीदैथ्यो । कति निर्दयी समय आउदैथ्यो फुच्चीको जीवनमा । पिजडाको चरी झैँ जन्जिरमा पिल्सिएकी फुच्चीमाथि दयामाया केही नराखी छुटाउदैथ्यो समयले । बिचरी फुच्ची एउटा नेपाली केटाको नाटकीय माया पाउदा कति मिठो कल्पनामा हराएकी थिई होलिन । तर उसको कल्पना आज खाली रित्तो भएर खरानीमा परिणत हुँदैथ्यो । तर त्यहाँ मेरो साथीको पनि के दोष र ? मान्छे कहाँ कतिखेर विवश बन्नपुग्छ । आखिर यो प्रेम नै विवशता मात्र स्वाभाविक समयसँग प्रतिविम्बित हुनुपर्ने विवशता । आखिर फुच्चीको मायालाई त कदर गरेकै थियो नि उसले । फुच्चीको चाहनाप्रति हार्दिकता अवश्य देखाउथ्यो उसले । फुच्चीको मायाको प्रतिउत्तर अवश्य थियो मेरो साथीमा । एउटा नेपाली युवक अनि कम्बोडियन युवतीबिचको यो प्रेमलाई केलाएर हेर्दा आजको आधुनिक भनिने प्रेमलाई चुनौती दिन सक्थ्यो । जुन प्रेममा धनसम्पत्ती, ऐशआरामको, सुखसयल प्रसङ्ग उठ्दैन । जुन प्रेममा शिक्षित-अशिक्षित, धनी-गरिब, काला-गोरा यी विषय जोडिन्न । आखिर त्यही हो प्रेम जहाँ प्रेमरुपी मानवीय मुटुहरू सित्तैमा, निर्विवाद, ठोस चाहनाले, सम्पूर्णरुपमा एक-अर्कामा समर्पण हुन्छन । अनि जीवन प्रसंगहरू सुन्दर आर सुरक्षित हुन्छन ।

बोसको डरले लुकिछिपी गर्ने कालीको प्रेमलाई मैले आफ्नो स्वदेशको बस्ती-बस्तीसम्म पुर्याएर हेरे । सम्झे गाउँघरका युवतीहरू पनि यसरी नै प्रेम गर्छन लुकिछिपी । बाबुआमा र माइतीको डरले, समाजको डरले, अनि इज्वतको डरले । हाट-बजार म २/४ वटा चकलेट बाँडेर आलीको डिलहरूमा हिलो खेल्दै होस् या देउरालीमा दोहोरी गएर होस् । वास्तवमा फुच्चीको जस्तो बाध्यता त पक्कै छैन हाम्रा युवतीहरूको । प्रेम आफै हुन्छ चाहेर होस् या नचाहेर । जस्तोसुकै घमण्डीको लागि पनि औषधी बन्न जान्छ प्रेम, नतमस्तक बन्न पुग्छ त्यो घमण्ड प्रेमको अगाडि । फुच्चीको जीवन नै स्वतन्त्र थिएन । त्यसैले फुच्चीको लागि प्रेम काँडाबिचको गुलाब टिप्न जस्तै थियो । तर प्रेम प्रेम नै हो आफैमा गोप्याप्राय रहन्छ अनि हुनु पर्छ । अनि लुकिछिपी लाएको माया साच्चै मिठो अनि साथक हुन्छ ।

आजभोलि भन्दै मेरो साथीको घर फर्कने दिन आइपुग्यो । हवाई टिकट तयारी गरेर बसिसकेकोथ्यो ऊ । तर ऊ यो कुरा फुच्चीलाई भन्न चाहदैन किनकि यो कुरा थाहा पाएर फुच्ची रुन्छे, कराउँछे, चिच्याउँछे, सके आत्महत्या पनि गर्दी हुन । अवश्य पनि फुच्चीको हृदय छिया-छिया हुनेछ, मनमनै बोल्नेछ, सराप्नेछ विश्वास्घाती पुरुष भनेर । ओठहरू अनायासै चलामलाउनेछ बेहोसीमै । के गर्ने भाषा मिल्दैन खाली अव्यक्त भएर आसु झर्नेछन बर्रर । मेरो साथी फर्केपछि उसले त्यो हबिगत देख्नु पर्दैन, फुच्चीको आसु देख्नु पर्दैन, बिलौना सुन्नु पर्दैन, यो चाहदैन ऊ तर विवश छ । फुच्चीको आँखामा आसु हेर्न सक्दैन ऊ किनकि आइमाइको आँसुले जस्तोसुकै कठोर पुरुष हृदय पनि पग्लन्छ । यो घडीमा मेरो साथी लोग्ने मान्छे हो भन्ने भन हुन्छ, एउटा निर्दयी लोग्ने मान्छ । ऊ फर्किन्छ घर, अँझ भनौ जान्छ ।

फुच्चीलाई जान्छु नभनीकन फुच्चीको कलिलो मस्तिष्कमा प्रेम जस्तो घातकतिर रोपेर । अस्तायो पश्चिम हुँदै फेरि कहिल्यै कालिको जीवनमा नउदाउने गरी ।

(२०११ नोभेम्बर)
अनिश्चित यात्री कमल
धनकुटा-नेपाल
हाल: मलेशिया

2 thoughts on “मेरो साथी र कम्बोडियन फुच्ची”

  1. लेखनमा केही सुधार गर्न सक्ने
    लेखनमा केही सुधार गर्न सक्ने ठाउँ भए पनि कथा सुन्दर छ । कथाक्रम त आफ्नै ठाउँमा छ, मलेशियामा रहेका नेपालीहरूको जीवनशैलीको केही छनक यस कथाले दिन्छ ।

    1. प्रतिक्रियाको लागि
      प्रतिक्रियाको लागि यहाप्रती आभार ब्यक्त गर्दछु| यहाको टिप्पणीलाई मैले आत्मसाथ गरेको छु, धन्यवाद |

Leave a Reply

Your email address will not be published. Required fields are marked *