Skip to content


मान्छे भित्र सँधै रहोस् सरलता सौहाद्रता शिष्टता
बोलीमा पनि होस् सुवास दिलको माया सँगै नम्रता ।
हेर्दा सुन्दर होस् मुहार हँसिलो मुस्कानका साथमा
आत्मा शुद्ध सँधै उदार पनको दृष्टान्त होस् बातमा ।।१।।

दोषी नेत्र भए समस्त जगतै देखिन्छ दोषी अरे
माटोमा पनि मिल्छ है सुन यहाँ खोजी मजाले गरे ।
सानो हुन्न कुनै बिशाल न कुनै पेशा तथा काम त्यो
आफ्नो जीवनको अभाव पहिलो खाँचो छ जो माम हो ।।२।।

के हो सुन्दर फूल यो जगतमा? माया दया भावना
तृष्णा तुच्छ धुलो अमुल्य धनहो यो हातको सिर्जना ।
अर्काको भरमा रहन्न जन जो संसारमा त्यै धनी
आशामा रहँदा भनिन्छ विचरा धिक्कार त्यो जिन्दगी ।।३।।

एकै वाग विषे अनेकन थरी गोदावरी केशरी
फुल्छन् रम्य थुँगा झुलेर जसरी शोभा दिदै बेसरी ।
त्यस्तै वाग थियो अचेल किनहो नेपाल नौलो भयो
हाम्रो सुन्दरता उजाड बनको रित्तो तलाऊ भयो ।।४।।

माटो हुन्न विभक्त यो मुलुकको आवाज एकै भए
सिङ्गो देश सँधै रहन्छ सबको विश्वास पक्का भए ।
भोको पेट हुँदा हुँदैन जव त्यो मानो मुठी साथमा
नाना संङ्घ तथा अनेक टुकुरा के मिल्छ त्यो प्रान्तमा ? ।।५।।

सानो देश छ यो भनूँ म कसरी? आँखो कहाँ सुक्ष्म हो ?
छाती भित्र हुने सशक्त मुटुको माया छ के सुक्ष्म त्यो ? ।
सानो हुन्छ सँधै अमुल्य जगमा मोती यही जान है
त्यस्तै सुन्दर यो महान सबको नेपाल हो मान है ।।६।।

छायाँ दिन्छ सँधै विशाल रुखले हावा छ त्यो पातमा
कर्मैमा छ सदा भविष्य सबको खै के छ त्यो जातमा ? ।
मान्छे हुन्छ बडो नठान धनले विद्या भए सम्पति
आफैँ हुन्छ बुझ्यौ बताउ अव लौ कुन् हो ठुलो सम्पति?।।७।।

झुल्के घाम सँगै हिमाल चुचुरो लाली चढी हाँस्छ रे
रोजै नाँच्छ चरी उडेर वनमा डाँफे प्रिती गाँस्छ रे ।
कालो हुन्छ चरो रमेर बनमा छर्दै कला कोइली
को हो?भन्छ सँधै बसेर मनमा भर्दै गला मोहनी ।।८।।

टिप्दै लाल थुँगा गुराँस मनका ईच्छा पुर्याऊँ भयो
टिप्दै काफल त्यो कपक्क मुखमा आजै म खाऊँ भयो ।
गोठाला हरुझैँ थपक्क वनमा भाका भरी गीतमा
नाँच्दै रम्न सके प्रसस्त मनमा मिल्थ्यो खुशी जीतमा ।।९।।

हाम्रो भाग्य भनौँ विशाल भवमा नेपाल हाम्रो छ यो
जस्तो मन्दिरको गजूर शिर हो त्यस्तै धराको छ यो ।
जन्मेको धरती नछाड यसरी माटो त हो जिन्दगी
देऊ प्राण सके हुँदैन यसरी भाग्दा सुखी जिन्दगी ।।१०।।

मिल्ला दौलतको विटो तर छिटै नासिन्छ मासिन्छ त्यो
दीगो हुन्छ सँधै विचार जगमा युगान्त मानिन्छ जो ।
आमाको ममता नविर्स सवले मिल्दैन त्यो नोटमा
मेरो प्राण भनी रुँदै मलहमै लाउन्न क्वै चोटमा ।।११।।

आफैँ भोक खपी सहेर मनमा लाखौँ व्यथा यातना
खाऊ भोजन लौ भनेर विचरा सन्तानको भोकमा ।
मेरो लाल कठै दुख्यो कि त कतै के भो ?भनी सोधनी
गर्ने ख्याल सँधै अगाध ममता आमा उज्यालो मणी ।।१२।।

ऐय्या मात्र भने दुखेर उनको छाती चिरा पर्छ रे
कस्तो त्यो ममता तरक्क गहमा पानी बनी झर्छ रे ।
जाडो घाम तथा बतास सबमा छानो बनेकी उनी
देवी तुल्य ठुली समस्त जगमा आमा धराकै गुणी ।।१३।।

छन्द :शार्दूलविक्रीडित
म स ज स त त गु
SSS IIS ISI IIS SSI SSI S

Leave a Reply

Your email address will not be published. Required fields are marked *