Skip to content

खलाती चलाउ साथी (अब परालका खुट्टाले टेक्नु हुन्न साथी)


काम्नु हुदैन हातहरू
अब परालको खुट्टाले थेग्दैन
धमिलोमा मात्र माछा मार्ने
अब गर्नु हुन्न
आरनमा बसेपछि
मजबूत हातहरूले
खलाती नचलाए
फलाम पानी बन्दैन साथी
फलाम नपगाली
टुक्रा टाक्रीमा रसायन जोडेर
राम्रो हतियार बन्दैन साथी
पत्थर कोइलाहरू जोडेर
दरिला हातहरूले
सल्केको आगोमा
शिप लगाउ
फलाम गालेर पानी बनाई
हतियार बनाउ साथी
सान लगाई चम्किलो बनाई
धारिलोभन्दा धारिलो
अब हतियार बनाउ साथी
कोइलाहरू पड्किदै गर्छन
झिल्काहरू उठ्दै गर्छन
सारै राम्रो जोगिएर
खलाती चलाउ साथी
चकमक चकमक
टिलिक्क टल्कने
हतियार बनाउ साथी
अब साँच्चैको फलाम को
हतियार बनाउ साथी
अब परालका खुट्टाले
टेक्नु हुन्न साथी
फलाम गालेर अब
पानी बनाउनु छ साथी
पानी धमिलो मात्र
अब गर्नु हुन्न साथी
मजबूत हातहरूले
खलाती नचालाए
फलाम नपगाले
हतियार बन्दैन साथी
दरिला ती पाखुरिहरूले
हेम्बर चलाएर
पग्लेको फलामलाई
पिट्नु पर्छ साथी
ठोक्नु पर्छ
सारै शिप लाएर
साँध लाउनु पर्छ साथी
अब दरिलो हतियार
बनाउनु पर्छ साथी
हत्केलाका ठेलाहरूलाई
चिसो पानीमा चोपल्दै
मारतोल छिनी चलाउनु पर्छ साथी
अब साँच्चै राम्रो
हतियार बनाउनु पर्छ साथी
फलाम नपगाली पानी बन्दैन साथी
हिम्मत नगरी खुट्टा टेकिन्न साथी ।

=============
(सत्य निरुपण )

Leave a Reply

Your email address will not be published. Required fields are marked *