Skip to content


मेरो छिमेकमा एक जोडी बस्छन्, उमेर त्यस्तै बीस बाइसको हुँदो हो दुवैको। एकछिन छुट्दैनन्, सधैं यसरी नै बसेको देख्छु। सायद अब यसरी नै बस्छन् सधैं। मेरो मनले भन्छ, मनले मान्छ बसून् पनि। त्यसो त यिनीहरूका दिनहरू आरिसलाग्दा नै छन् मेरा लागि। मेरो एक्लोपनले गर्दा होला।

म हातमा कफीको कप लिएर बरन्डामा उभिएको छु। यी दिक्कलाग्दा चिसा दिनहरूमा म मनभित्रको एक्लोपनबाट छुटकारा पाउन चाहिरहेको छु, अल्मलिरहेको छु। मनभित्रको एक्लोपनलाई कफीको वाफसँगै बफ्याउन चाहन्छु म। उड्न चाहन्छु म यो कफीको वाफसँगै वाफजस्तै बनेर।

मूर्त र अमूर्त मनका भावनाहरूमा पोतीन चाहन्छु म मनकै क्यानभासमा र रंगिन चाहन्छु ओठमा रंगीन मुस्कानको चित्र कोरिएर तर मान्दैन समय निष्ठुर छ यो। खेल्छ आफूखुसी र निमोठ्छ मेरो मन मनलाग्दी र जिस्क्याउँछ खुच्चिङ गर्दै पर भागेर।

मनले भन्छ- भाग कति भाग्नु छ, एक दिन त कसो नआउलास् मेरो बसमा, लुटपुटिन मसँगै मैले जानेको छु मेरो पालिमा। मनको तर्कनाले तरंगित म बरन्डाको एउटा कुनामा छु। उता अर्को कुनामा बसेका उनीहरूबीच चिसो हावाको लामो दूरी छ मदेखि। तर, मेरो एकलासे जीवनमा आत्मीयताको न्यानो भर्न त्यति टाढा भने लाग्दैन। म टाढाबाट उनीहरूलाई नियालिरहन्छु।

तिनीहरू कुरा गर्छन्, मस्किन्छन्, चल्छन्। नहेरेजस्तो गर्छु, थाहा छैनजस्तो गरिरहन्छु। मलाई चासो पनि छैन कसैको, चासो लिनु पनि किन मैले? नत्र भने पहिले कहिले सोधिसक्थे होला को हो? के हो र किन हो? किन यहाँ? के छ तिमीहरूबीचको सम्बन्ध। मलाई के मतलब केको चासो। अन्तै मुन्टो बटार्छु।

आज त्यो केटीको हाउभाउ देख्दा लाग्छ- जिद्दी गरिरहेजस्तो, उसको प्रेमी केटोसँग। खोइ केको जिद्दी हो, मैले खासै बुझेको छैन। तर, केटीहरू जब जिद्दी गर्छन्, नखरा पार्छन् अँझ राम्रा लाग्छन्, जिस्क्याऊँ जिस्क्याऊँजस्ता।

माया गर्दै टिप्ने गुलाफ फुलेजस्तो, त्यसमाथि झन् टप्प दुइटा शीतका थोपा त्यस गुलाफको पत्रमाथि राखेजस्तै। आज फेरि त्यो त्यसरी नै राम्री देखिएकी छ, मदहोश बनाउने गरी सबैलाई। सायद मैले पहिलोचोटि देखेजस्तै अथवा त्योभन्दा पनि अँझ बढी, अँझ धेरै।

ठूलाठूला आँखा, कालो लामो कपाल, धपक्क बलेको उज्यालो बाटुलो मुहार, सेतो र सफेद अनुहार, खुलेको मुस्कान र सधैं कन्जुस गरीगरी मुस्कुराउने ओठ। सबै थोकको एकै प्रतिमूर्तिझैं, के छैन र उसमा। सेता हिमालझैं टम्म मिलेका दाँत देखाई त्यो हाँसिरहन्थी। मानौं, त्यसले मात्र खुसी हुन जानेकी छ, अरू सबै मिथ्या? मान्दिनँ म, फेरि कर लाग्छ, आरिस लाग्छ र हाँसो उठ्छ आफैंदेखि। उसको प्रेमीबाट जोगिएका घरिघरिको हेराइ, मसँगको चोरीचोरी आँखा जुधाइ। म यस्तै सब थोक सम्झन्छु।

मलाई लाग्छ, लगभग दुई हप्ताको समय थियो होला, अनिमात्र बोली फुटेको थियो, अनि आँखाको खेल सकिएको थियो। सुरुआत यस्तै केही थियो, किनकि अरूभन्दा, म केटीलाई नै बढी सम्झन्छु। त्यो दिनको प्रश्न अनि विस्तारित ठूला आँखा, त्यसमाथि उसका नरम मुलायम हातको स्पन्दन।

उसको सोधाइ अनि पहिलो चोटि मेरो ओठबाट निस्केर उसको ओठमा पुगेको मेरो नाम, सम्झँदा नि रोमाञ्चित हुन्छु कताकता। आफ्नै नाम मन परेको थियो मलाई, मीठो लागेको थियो। वास्तवमा त्यो दिन मेरो नाम अँझ किशोर भएको थियो। जान्दिनँ उसको ओठको साथ पाएर या उसको ओठको रंग। मचाहिँ पूरै रातो !

उसैको ओठको रङमा खसेजस्तो होलीले रंगिएजस्तै। हत्त न पत्त उसको प्रेमीले थाहा पाउनुअघि नै म सम्हालिएको थिएँ। म उनीहरूलाई नहेरेजस्तो गरेर हेरिरहेको छु, नसुनेजस्तो गरी सुनिरहेको छु, नदेखेजस्तो पढिरहेछु उनीहरूलाई धेरै बेरदेखि।

उनीहरूलाई त्यही बरन्डाको कुनामा छोडेर हिउँले ढाकेका सेताम्मे डाँडाहरूमा पुर्‍याउँछु मन, हिउँको चिसो मुटुसम्म आइपुगेको भान हुन्छ। अघिल्लो हप्तादेखि लगातार हिउँ परिरहेको छ। यो निष्पट्ट र निक्खर उज्यालो सेतो हिउँ। यो चम्किलो सेतो हिउँमा पनि उसैको मुस्कान पोखिन्छ। केही हराएजस्तो लागिरहेको छ मलाई।

म अँझै बढी शून्य, एक्लो महसुस गरिरहेको छु। हो त रहेछ, यो सेतो हिउँको साम्राज्यमा म नर्थ फेसको कालो ज्याकेट लगाएर उभिएजस्तै राम्रो गरी सुहाउने यसको गालामा कालो कोठी छैन। मक्ख पर्छु, कुत्कुतिन्छु म, पागलजस्तै। एक तमासले यी दिनहरू र यसका बदलिएको रङबारे सोचिरहेको छु। मलाई लाग्छ, यहाँ समयको फित्ता नै चुँडिएको छ। म देख्दै छु, मलाई लाग्दैछ, अचेल बिहान नै हराएको छ मेरो, अचम्मसँग।

एकदुई दिन त मैले खासै वास्ता नै गरेको थिइनँ, तर कयौं दिनदेखि, बिहान साँच्चै नै हराएको रहेछ। खालि साँझ र रातको गतिहीनतामा ओहोरदोहोर गरिरहँदो रैछ जीवन। सोच्दै जाँदा झन् मुटु फुलेर आयो, डराएर आयो मन। कदाचित् यो बिहान साँच्चै यसरी नि सदाका लागि हरायो भने, के हुन्छ होला। घाम कहिले झुल्कन्छ होला। बिहान नभएपछि मध्ये दिनमा त होला।

तर, दिनमा उदाए पनि, त्यो दिन त फेरि बिहान नै भएर सुरु हुने होला, किनभने घाम त बिहान झुल्किन्छ। अनि दिन बिहान भएपछि, साँझ कहिले पर्छ त? यो बिहान यहाँमात्र हराएको हो कि अन्त कतै पनि हराएको हो।

यहाँमात्र हराएको भए त अन्तबाट अलिकति बिहान सापटी लिन सकिन्छ होला, आशा लाग्छ। आशकै भरमा न बाँचेको छ मान्छे तर संसारबाट नै हराएको हो भने त हाम्रा छोरानातिको त बिहान नै नहुने भयो, बिहानबेगर के उनीहरूको जीवन सुखी होला?

कस्तो उराठलाग्दो हुने होला। उनीहरूलाई बिहान र डाइनोसरमा केही फरक हुनेछैन होला। हजुरबाले खुट्टा भाँचिएको चस्मा डोरीको त्यान्द्रोले नाकको डाँडीमाथि मिलाउँदै ‘बाबु हो एक देशमा एउटा देश थियो’ भनेजस्तै के अब हामीले कथाभन्दा एकादेशमा बिहान हुन्थ्यो भन्नपर्ने होला कि? दुवै थोक एकादेशमा थियो हुन्छ कि? बिहान पनि एउटा हराएको विम्ब हुन्छ होला।

मभित्र झन् एक्लो र शून्य, कताकता डर बढ्दै गइरहेको छ। मेरो मन अँझै पनि बिहान हराएको म र विश्वस्त हुन सकिरहेको छैन, मन भन्छ, बिहान कतै बाँकी छ, पक्का पनि बाँकी छ, त्यो सुनौलो, दिनभरिको आशा र अनुकम्पाले भरिएको बिहान। एक मनले भन्यो, तुरुन्त गएर फेसबुक, स्काइप खोल र संसारभर कुरा गर।

भाइरल बनेर नेट जाम हुने गरेर सबैलाई सोध्न मन लाग्यो, तिमीहरूको बिहान बाँकी छ कि मेरोजस्तै हरायो भनेर। मनमनै ईश्वरलाई सम्झेँ अनि प्रार्थना गरेँ, हे ईश्वर मेरो बिहान नहराइदेऊ, कहीँ कतै भए पनि यसलाई जोगाइदेऊ, समयको फित्ता चुँडिइसकेको बिहान, मेरो हराएको बिहान फर्काइदेऊ प्रभु।

उफ् ! सोच्न पनि कति गाह्रो। जति सोच्यो झन् गाह्रो सोच्नलाई, यो सोचाइ स्कुलमा हिसाब पढेजस्तो भएको हो कि? आज घोक्यो भोलि बिर्सने। मनमा कुरा खेल्न छोडे पो, किन हो किन लगातार यही कुरा मनमा खेलिरहन्छ। वास्तवमा, म यो सब बहाना गरिरहेको छु, केही क्षणका लागि भए पनि। किनकि म चाहन्छु, उनीहरूले मेरो हेराइ नबुझून्, बुझाइ नदेखून्। म भएको भान नहोस् भन्ठान्छु उनीहरूलाई।

अकस्मात् त्यो केटी जोड्ले कराउँछे। म सेता पहाडहरूबाट सीधै बरन्डामा आइपुग्छु। केटो अँझ गम्भीर भएर केटीलाई सुनिरहेको छ। हेरिरहेछ उसको आँखामा र लाग्छ पढिरहेछ मन। ऊ लड्न खोज्दैछे, ऊ सम्हाल्न चाहन्छ। केटी चिच्याइरहेकी छ, ऊ गम्भीर छ। कम बोलिरहेको छ, मानौं उसको मनमा तराजु छ, ऊ केही तौलिरहेको छ।

ऊ संघर्ष चाहन्छे त्यो सम्झौता, यस्तो लाग्छ, ऊ पनि मनभरि हिसाब गरिरहेको होला, विचरो मायालाग्दो केटो। केही गुना, भाग वा जोड या घटाउ होला अरू त्यस्तै केही केही। कतै हिसाबको ठूलै समस्यामा हो कि। कल्पिन्छु म, उसकी सुन्दर प्रेमिका केही मागिरहेकी छ, उसलाई दिन पनि मन होला तर सक्दैन होला समस्या होला आआफ्नै। ल भन्न नि सक्दैन होला, नाइँ भन्न झन् सक्दैन होला। मनै त हो, सबै कुरा कहाँ व्यक्त गर्न सक्छ र।

वास्तवमा मलाई त्यो केटो असल लाग्छ, गम्भीर खालको मान्छे लाग्छ, भविष्यको बारेमा चिन्तित छ। घरिघरि मसँग पनि सोध्छ भेट हुँदा। तिमी पढिसकेपछि के गर्छौ? तर, उसको त्यो प्रश्नमा म जहिले पनि म के गरूँ भन्ने भाव बढी पाउँछु। मलाई त्यो केटोसँग न केही लिनु नै छ न केही दिनु नै छ। म त त्यसकी त्यो प्रेमिकालाई हेरिरहन्छु। लोभी आँखाले, पापी आँखाले, लुकीचोरी मनभरि।

म फेरि केटीतिर ध्यान दिन्छु। त्यसको त्यो बाक्लो लामो कपाल कति राम्रो थियो, साक्षात् देवीजस्ती देखिन्थी। मलाई किनकिन त्यो कपालमा रातो गुलाब सिउरिदिन मन लागेको थियो, मनको फूलबारीबाट टपक्क टिपेर। अँझै त्यो आँगनीको डिलको बगमवेलीको फूलको लहराले झपक्कै पारिदिन रहर जागेको थियो त्यसको चुल्ठोमा।

मैले त्यसलाई देखेको दिनदेखि नै मन तुल्बुलिएको थियो। मेरो हराएको हाँसो, ममा फेरि दौडिन थालेको थियो। साँच्चै एक्लैएक्लै हाँस्न थालेको थिएँ म। कुतकुतीन थालेको थियो मन। जब त्यो एक दिन मुडुली बनेर आई, त्यही दिनदेखि मेरो उसप्रतिको सम्मोहन एकाएक हराएको थियो, मेरो प्रेम नै गायब भएको थियो त्यही दिनदेखि नै।

के प्रेम रूपमा हुन्छ र? खै कुन्नि। उसले सोधेकी थिइ, ‘हाउ डु आई लुक टुडे?’ मैले गाह्रो मानेर, ‘वाउ प्रिटी’ भनेको थिएँ उसलाई नहेरेरै। मेरो मन दुखेको थियो। रसाउन खोज्दै थिए मेरा आँखा, सम्हालिएको थिएँ म। मलाई त्यो संसारकी सबैभन्दा नराम्री केटी लागेकी थिई।

मलाई केटी भन्न पनि मन लागेको थिएन त्यसलाई। त्यति राम्रो कपाल फाँडेर मुडुल्लो बनाउने सत्यानासीसँग मेरो मन रिसाएको थियो। म टाढिन चाहन्थेँ मेरो मन दुखाउने केटीसँग। मेरो चित्त दुखेको थियो। म उसलाई नहेरेरै उभिइरहेको धेरै बेर भएको थियो। मेरो खुट्टा दुखिसकेको थियो यतिबेला सम्म। ऊ एकतमासले रेडियोजस्तो बोलिरहेकी थिई घन्टौंदेखि।

मलाई घरिघरि रिस उठेको थियो। कति बोल्न सक्छे यो आइमाई (केटी) छी…छी…। एक मनले लग्थ्यो, त्यसका दुवै कान बेस्सरी निमोठूँ। सम्झनामा आउँछ, बाले रेडियोको कान निमोठेर चुप बनाएजस्तै। मन खितखिताउँछ। सायद यो पनि चुप हुन्थी कि।

यसो उता कुनामा हेर्छु, लामो गड्याङगुडुङपछि मेरी मेघ त बर्सन पो थालिसकिछ। म अकस्मात् अप्ठ्यारोमा पर्छु। के गरूँ, के नगरूँ हुन्छु म। अज्यौली गर्दागर्दै फेला पारेको बालकजस्तै म आत्तिन्छु। बिनाबर्सादीको बटुवाजस्तो ओत खोज्छु म। कसोकसो उनीहरूबाट छेलिएर हुत्तिएर कोठामा पस्छु।

मलाई थाहा छ, अब त्यो सोझो असल केटो निथ्रुक्क नहुन्जेल भिज्नेछ। भिजी नै रहनेछ, सुरुमा केही गाह्रो भए पनि अवश्य रोमाञ्चित हुनेछ, जब उसले त्यो मेघ थोपाथोपामा समेट्नेछ र प्रफुल्लित हुनेछ। यी सब म सोच्नमात्र सक्छु, हेर्न थाले भने पक्कै पनि नकच्चरो हुनेछु।

कान त्यतै छोडी आउँछु कि कसो, कि त्यतै भुलेर आएँ। सुक्क सुक्क सुनिरहेपछि म टीभीको भोलुम बढाउँछु। बीबीसी भन्छ, ‘नर्थ कोरियन पुर्ज अफ लिडर्स अंकल स्पाक्र्स स्टाबिलिटी फियर्स।’

अन्नपूर्ण पोष्‍ट
२०७० चैत २९, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *