Skip to content

चलचित्रमा महिलाले मारेको फड्को


नेपाली चलचित्रको अधबैंसे परम्परामा महिलाको चौतर्फी सहभागिताको स्थिति भने बल्ल युवान्मुख हुँदै छ। परम्परादेखि नै दृश्य विधामा महिला सहभागिता असहज र बर्जित बन्यो। यसैले पनि महिला चरित्रको चयन अत्यन्त कम गरिन्थ्यो। अँझ तिनलाई संकेतमा मात्र राख्ने अवस्था थियो। समका आरम्भकालीन नाटकमा महिलाका भूमिकामा पुरुषले अभिनय गरेको इतिहास छ भने विजय मल्लका राणाकालीन सेरोफेरोका नाटकमा महिला पात्र नाटकभरि नै संकेतमात्र गरिएका पनि छन्।

प्रजातन्त्र स्थापनाको एक दशकपछि पनि ध्रुवचन्द्र गौतमलाई आफ्ना नाटकमा खेल्ने महिला कलाकार खोज्न निकै चुनौती खेप्नु परेको अनुभव छ। तर, आज चलचित्रमा महिला सहभागिताको कुरा उठ्दा सबैभन्दा बढी महिला सहभागिताचाहिँ अभिनयमा नै छ, चाहे त्यो आवश्यक होस् वा नहोस्। नायकत्व लिने भूमिकामा भने आज पनि महिला चरित्रको छनोट निकै कम भएको पाइन्छ।

बरु नेपाली चलचित्रको पूवाद्र्धमा आमा, माइतीघरजस्ता नारी प्रमुख चरित्र प्रधान चलचित्र बनेका थिए। ‘कन्यादान’, ‘वसन्ती’, ‘साइनो’, ‘सम्झना’ र ‘प्रेमपिण्ड’जस्ता नारी चरित्रको प्रमुख भूमिका भएका थुप्रै चलचित्र बने। हलिउडमा मार्गरेट थ्याचरको चरित्रमा ‘आइरन लेडी’ बन्यो भने भारतमा कमलेश्वरले इन्दिरा गान्धीको चरित्रलाई फिल्मांकन गर्ने सोच राखे, तर भ्याएनन्।

निर्देशन
खासगरी नेपाली चलचित्र निर्देशनमा आउने दुईवटा माध्यम छन् : पहिलो अध्ययन गरेर र दोस्रो चलचित्रमा सहायक निर्देशक भएर। नेपाली महिला निर्देशक बन्ने सपना बोकेर विदेशमा अध्ययनका लागि गएका केही प्रतिभाको इतिहास भए पनि अध्ययनपछि तिनले फरक कर्मबाट आफूलाई स्थापित गरेको देखिन्छ। भारतमा चलचित्रसम्बन्धी अध्ययन गरेर फर्केकी रीताराज गुरुङ टेलिभिजनमा समाचारवाचकका रूपमा स्थापित भइन्।

मस्कोमा यही विषय पढेर आएकी चैत्यदेवी चलचित्र आमामा सहायक भूमिकामा र कुमारीमा मुख्य भूमिकामा रहेर अभिनयतिर परिचय बनाइन्। यिनले नेपाली चलचित्रमा महिला निर्देशनको सम्भावना खोलिदिएपछि सुचित्रा श्रेष्ठ चलचित्र पत्रकारिताका क्षेत्रबाट प्रवेश गरी पहिलो नेपाली महिला चलचित्र निर्देशक बनिन्। उनी निर्देशित चलचित्र ‘प्रेमयुद्ध’ हो।

यसरी नै अध्ययनबाट चलचित्र निर्देशक बनेकी रक्षा सिंहले ‘द गेम’ नामक चलचित्र निर्देशन गरिन्। सम्झना उप्रेती नेपालमै सुरु भएको चलचित्र अध्यापन केन्द्र ‘कलेज अफ फिल्म स्टडिज’बाट अध्ययन पूरा गरी चलचित्र ‘मेघा’को निर्देशक बनिन्। अन्य केही महिला निर्देशकहरू गणतन्त्रको स्थापनापछि सक्रियता देखाइरहेका छन्। तिनमा चलचित्र ‘अन्तराल’को निर्देशक दीपा बस्नेतलगायत यस विधामा भविष्य खोजिरहेका छन्।

सहायक निर्देशकको भूमिकाबाट चलचित्र निर्देशनमा धेरै पुरुष निर्देशकहरू आए पनि महिलाहरूका लागि यो त्यति फलदायी भएको देखिएन। चलचित्रमा पहिलो सहायक निर्देशकका रूपमा निर्देशक चेतन कार्कीले महिलालाई स्थान दिएका थिए। उनले चलचित्र ‘विश्वास’का लागि मीना श्रेष्ठलाई यो भूमिका दिएका हुन्।

यसरी नै निर्देशक प्रकाश थापाले चलचित्र ‘जीवनरेखा’मा चैत्यदेवी सिंहलाई सहायक निर्देशक लिएका थिए। निर्देशक तुलसी घिमिरेले चलचित्र ‘लाहुरे’मा भारती घिमिरेलाई यो भूमिका दिएका थिए। यसरी नै शम्भु प्रधानले नूतन प्रधानलाई चलचित्र ‘को सक्कली को नक्कली’का लागि सहायक निर्देशक चुनेका थिए। तर, उल्लेखित नामहरू अन्तत: कोही पनि चलचित्र निर्देशनमा स्थापित भएनन्।

भारतमा सन् १९८० को दशकमै सई परान्जपे, अपर्णा सेन, हेमा मालिनी, कल्पना लाजमी, अरुणा राजे, मीरा नायर, गुर्विन्दर चड्डा हुँदै फराहा खानसम्म राम्रा निर्देशक भएको इतिहास छ। यसरी नै पाकिस्तानजस्तो महिलालाई धेरै धार्मिक र सामाजिक बन्देज रहेको मुलुकमा समिम आराले असीकै दशकमा निर्देशन सुरु गरेकी थिइन्। तर, नेपालमा ढिलै भए पनि महिलाको निर्देशनतर्फको योगदानलाई सकारात्मक मान्नुपर्छ।

निर्माता
शाही नेपाल चलचित्र संघ र सूचना विभागको जिम्मेवारीबाट चलचित्र निर्माणको भूमिका निजी क्षेत्रमा विस्तारित भएयता २०३९ सालतिरै मञ्जु राणाले सुजाता प्रोडक्सनको नामबाट ब्यानर खोलेर चलचित्र ‘जुनी’ निर्माण गरिन्। प्रेमपिण्डमा पनि उनैको आधा लगानिरह्यो। यसरी नै मनकामना फिल्मस्का लागि सोफी उपाध्यायले चलचित्र ‘वासुदेव’ निर्माण गरिन्।

शिवशक्ति फिल्मस्‌का लागि सुधा श्रेष्ठले पृथ्वी र फिल्म फेमिलीका लागि पुष्पा गुरुङले जमिन निर्माण गरिन्। यसरी नै पछिल्लो समयमा रेखा फिल्मस्का लागि रेखा थापाले ‘काली’ निर्माण गरिन्। केही निर्देशक पतिका पत्नीद्वारा पनि निर्माताको भूमिका निर्वाह भएको छ। यसमा सयपत्री फिल्मस्बाट सुमित्रा पौडेल, पद्मा पिक्चर्सबाट एनआरएन पूर्वअध्यक्ष भीम उदासकी पत्नी रञ्जना उदासजस्ता केही नाम छन् भने अभिनेता अशोक शर्माकी पत्नी किरण शर्माले ‘ट्रक ड्राइभर’ र ‘अल्लारे’ दुई चलचित्र निर्माण गरेकी छन्।

चलचित्र लेखन
नेपाली चलचित्रमा महिलाले चलचित्र लेखन र पटकथा लेखनमा केही सहभागिता जनाएको पाइन्छ। यसमा पनि धेरैजसो पटकथा लेखनमा निर्देशकका पत्नीहरूले काम गरेका छन्। नूतन प्रधान, सुस्मिता केसी आदि यी नाम हुन्। नायिका अरुणिमा लम्सालले चलचित्र ‘दीपशिखा’का लागि पटकथा लेखन गरेकी हुन्। तर, संवाद लेखनमा महिला सहभागिता नगन्य छ। नेपाल र भारतको संयुक्त लगानीमा बनेको चलचित्र ‘पञ्चवटी’मा लेखनको भूमिकामा कुसुम अंशल रहेकी छन्।

केही महिला साहित्यकारका आख्यानमा आधारित चलचित्र निर्माण भने भएका छन्। चलचित्र ‘भाग्यरेखा’ भागिरथी श्रेष्ठको कथामा आधारित छ। यसरी नै पारिजातको ‘शिरीषको फूल’माथि चलचित्र बनेको छ। लेखनकै कुरा गर्दा चलचित्रमा प्रयोग हुने अधिकांश गीतका रचनाकार पुरुष नै छन्।

नेपाली चलचित्रमा गीत लेख्ने अघिल्लो महिला गीतकार कुसुम गजमेर हुन्। चलचित्र ‘विजयपथ’का लागि सुशीला पौडेलले गीत लेखेकी छन्। यस्तै चलचित्र ‘काली’को चर्चित गीत ‘स्लोली स्लोली’की रचनाकार अमृता नेपाल हुन्। रेखा ओझा, सञ्जीवनी मिनु आदि केही गीतकार गीत लेखन गरिरहेका छन्।

गीतको संगीत
शान्ति ठटालले ‘परालको आगो’जस्तो नेपाली चलचित्रको आरम्भकालीन चलचित्रमै संगीत सिर्जना गरेर प्रथम चलचित्र महिला संगीतकारका लागि स्थान बनाइन्। यसरी नै उनले चलचित्र ‘बाँच्न चाहनेहरू’, ‘कहीँ अँध्यारो कहीँ उज्यालो’का लागि पनि संगीत तयार पारेर क्षमतावान् संगीत स्रष्टाका रूपमा एउटा बेग्लै इतिहास बनाएकी छन्। चलचित्र ‘अनर्थ’का लागि गायिका मीरा राणाले संगीत रचना गरिन्। जमुना शर्मा चलचित्रका लागि संगीत सिर्जना गर्नेपछिल्लो समयकी संगीतकार हुन्।

छायांकन/फोटोग्राफी
चलचित्र छायांकनमा महिला सहभागिताका हिसाबले यो छायामै रहेको पाटो हो। यसमा शारीरिक र प्राविधिक दुवै कर्मको संयोजन हुन्छ। नेपाली समाजमा यी दुवै विषयमा महिलालाई प्रेरित गरिँदैन। नेपालकै पहिलो क्यामरा पर्सन महिलाका रूपमा शवनम मुखियाले स्थान बनाएकी छन्। उनले चलचित्र ‘झेली’का लागि क्यामरा चलाइन्। यसअघि उनले डकुमेन्ट्रीबाट यस क्षेत्रमा अनुभव बनाएकी थिइन्।

नृत्य निर्देशन
नाटक वा दृश्य विधामा संगीत र नृत्यको चर्चा भरतमुनिको नाट्यशास्त्रमै उल्लेख गरिएको तात्त्विक पक्ष हो। नेपाली चलचित्रमा मृगेन्द्रमान सिंह प्रधान र वसन्तजंग रायमाझीले नृत्य निर्देशन आरम्भ गरेका हुन्। यस विधामा महिला उपस्थिति भने चलचित्र ‘सम्झना’ (२०४२)बाट देखियो। ‘सम्झना’ र ‘साइनो’मा शान्ता नेपालीले नृत्य निर्देशन गरी पहिलो नेपाली नृत्यनिर्देशकको स्थान बनाइन्। यस विधामा अहिले महिलाको रुचि र योगदान आशाप्रद छ।

सम्पादन
रक्षा सिंहले सम्पादनमा संलग्नता देखाएकी छन्। प्राविधिक सीप, प्रतिभा र बौद्धिक खुबी सबै कुरा जुट्नु नेपाली चलचित्र अध्ययनका लागि एउटा राम्रो कलेजसम्म नभएको हाम्रोजस्तो मुलुकमा चाहेर पनि यसमा महिला अगाडि आउन सकेका छैनन्। छिमेकी मुलुक भारतमा सन् १९८० कै दशकमा महिला सम्पादकले चलचित्र सम्पादन गरिसकेका थिए। भारतमा अरुणा राजे र राधा सलुजाले यस कामको आरम्भ गरेका थिए।

शृंगार
शृंगारशिल्पमा महिलाको अलि बढी रुचि र विश्वाससमेत प्राप्त भएकाले लगभग पचास प्रतिशत नै सहभागिता पाइन्छ। यसको पनि आरम्भ भने पुरुषबाटै भएको हो।

कृष्णरत्न कंसाकारबाट सुरु गरिएको चलचित्रमा शृंगारको पाटो साम्वा पाटिल, सन्तु तामाङ हुँदै अघि बढेको हो। महिलाले पहिला यसमा शृंगार सहायकका रूपमा अनुभव बटुल्दै पछि पूर्ण रूपमा आएको देखिन्छ। शृंगारअन्तर्गत केश विन्यासमा रित राणा, वीना राणा, रोशनी केसीको नाम आउँछ। ड्रेस डिजाइनरमा ज्ञानीशोभा तुलाधर र नानीशोभाको नाम आउँछ। यसका विभिन्न विभागमा महिलाहरू अहिले सक्रिय छन्।

विशेषगरी भेषभूषा र केश विन्यासमा महिला सहभागिता धेरै छ। पोसाकमा अधिकांश डिजाइनरचाहिँ पुरुष नै हुन्छन् भने महिलालाई सिलाउने र मिलाउने भूमिका ज्यादा दिइएको हुन्छ।

द्वन्द्व निर्देशन
नेपाली चलचित्रमा द्वन्द्वको आरम्भ धेरैपछि अर्थात् चलचित्र ‘जीवनरेखा’ (२०४२)बाट भएको हो। यसमा महिलाको योगदान शून्य नै छ। यसमा महिलाको सामान्य रुचिसमेत देखिएको छैन। चरित्र निर्वाहका क्रममा आन्तरिक द्वन्द्वमा चाहिँ महिला सहभागिता सुरुदेखि नै थियो तर बाह्य द्वन्द्वमा पनि महिलाहरू केही एक्सन चलचित्रमा प्रयोग गरिएका छन्।

यीबाहेक चलचित्र निर्माणमा प्रदर्शक र वितरक, कास्टिङ डाइरेक्टर र निर्माण नियन्त्रण पनि महत्त्वपूर्ण क्षेत्र हुन्। तर, पितृसत्तात्मक सामाजिक परिपाटी हाविरहेसम्म र महिला आफैंले पनि रुचि नदेखाएसम्म स्थिति सुध्रने छाँट छैन।

अन्नपूर्ण पोष्‍ट
२०७० चैत १, शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *