Skip to content

कविता शृंखला (दुख : ११)


छन् अनुभूतिका
थुप्रै थुप्रै रङ्गहरू मसित
तिनै रङ्ग मध्यको
एउटा रङ्ग दुःख
यो विगका छणसित टाँसिएर रहेको छ ।
स्मृतिपटमा
साङ्ली जस्तो
एकमा अर्को गाँसिएर रहेको छ ।
सुनसान एकान्तमा म
आवाहन गर्छु त्यो क्षणलाई
जौहरीले हिराको टुक्रा
ओल्टाईपल्टाई गरी हेरे झैँ
हेर्ने गर्छु त्यो क्षणलाई
लाग्छ सबैभन्दा चहकिलो
दुःखको रङ्ग
जसबाट पोतिएका छन्
मनस्तलका सम्पूर्ण भित्ताभित्ति
दुःख सम्झिँदा पनि सुखद अनुभूति
सप्तरङ्गी इन्द्रेणिमा
दुःखको रङ्ग
कति टड्कारो /कति गाढा
जुन किरणको धागो टेकेर म
टाढा टाढा सुदूर अतितसम्म
यात्रा गर्न सक्छु ।
सुदूर अतित मात्र होइन
सुदूर आदतको परिकल्पित चित्र पनि
कोर्न सक्छु
अतित र अगतका थँगालाई
एउटै जीवन धागोमा
अनुस्यूत गर्न सक्छु ।
अनुभूतिका असीम रङ्गहरू मध्ये
सबैभन्दा चहकिलो र गाढा रङ्ग
दुःखको रङ्ग
यो रङ्ग मेरो लागि त्यसै त्यसै प्यारो छ ।
दुःखको रङ्ग मेरोलागि
त्यसै त्यसै प्यारो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *