Skip to content


त्यस दिन उनीहरू सधैंझैं स्कुलबाट बसमा घर फर्कदै थिए । बीच बाटोमा बसभित्र नकाबधारीहरू पसे । गर्दन बटारेर सबैलाई वरिपरि हेर्दै सोधे, ‘मलाला भन्ने को हो ?’ मलालाका साथीले उनीतर्फ हेरे । त्यसपछि मलालालाई लक्षित गर्दै भकाभक गोली ठोके, काँप्दै गरेको हातले । बन्दुकबाट बत्तीँदै उछिटि्टएको तीनवटा गोली कलिला स्कुले नानीहरूको जिउभित्र निर्ममतापूर्वक पस्यो ! मलालाको चाहिँ आँखाको देब्रे कुनो हुँदै निधार र त्यहाँबाट पाखुरासम्म पुग्यो । उनी मूच्छिर्त भइन् । लाग्यो, अब मलालाको जीवन सकियो ! सत्गत् गर्न गाउँलेहरूले तयारी गरिसकेका थिए । उनको बाँच्ने आस बिल्कुल थिएन । तर उनी बाँचिन् ! यसैलाई संसारले चमत्कार भन्दो हो !

त्यसपछि मलाला दोस्रोपटक जन्मिइन् ।

पाकिस्तानको स्वात उपत्यकामा बालिका शिक्षाको पक्षमा ११ वर्षको उमेरबाटै काम गरेकी मलालालाई अघि बढाउन निडर बाबु जियाउद्दिनले कसरी उत्साहित गरे, धार्मिक उग्रवादको सामना उनले कसरी गरिन्, आतंकवादीहरूको निसाना किन बनिन् र रातारात ग्लोबल आइकन कसरी भइन् भन्ने एकएक फेहरिस्त समेटेको छ पुस्तक ‘आई एम मलाला’ले । पत्रकार क्रिस्टिना ल्याम्बले ‘घोस्टराइटिङ’ गर्दै मलालासँग मिलेर यो किताब लेखेकी हुन् ।

बालबालिकालाई शिक्षित बनाउने तीव्र अठोटसाथ मलालाको बाबुले विद्यालय खोल्छन् । सुरुका दिनमा उनी आफैं प्रिन्सिपल, शिक्षक, पियन र एकाउन्टेन्ट हुन्छन् । त्यसै विद्यालयमा मलाला पनि पढ्छिन् । विद्यालयमा अब्बल छात्रा हुन्छिन् । तालिबानले बच्चालाई केही नगर्ने विश्वाससाथ जियाउद्दिनले सानी छोरीलाई शिक्षाको अभियानमा खटाउँछन् । तर आतंकको कठोर भाषाले बालबालिकाको आँखा पढ्न के सकोस् ! बालबालिका पनि मारिन थाल्छन् ।

मलाला १० वर्षकी हुँदा स्वातमा तालिबानरू प्रवेश गर्छन् । साथी मोनिबासँगै ‘ट्विलाइट’ पुस्तकको भ्याम्पायर कथा पढिरहँदा तालिबानहरू स्वातमा प्रवेश गर्छन् र इस्लाम धर्मको अपव्याख्या गर्दै मानिसहरूलाई दुःख दिन थाल्छन् । एफएम रेडियो सञ्चालन गर्दै ध्वंसको कम्पन ल्याउन थालेका तालिबानले सुरुमा सिँढी/डिभीडी पसलहरू बन्द गराउँछन् । ‘इस्लाम धर्मले महिलालाई शिक्षा दिनु हुँदैन भन्छ’ भन्दै तालिबानी नेता फजुल्लाहले कुरानको अपव्याख्या गर्छन् र ‘विद्यालयमा महिलालाई शिक्षा निषेध गर’ भन्दै उर्दी जारी गर्छन् । डराएका स्वातबासीले बिस्तारै आफ्ना सन्तानलाई विद्यालय पठाउन छाड्छन् । तर उता मलाला र उनका बाबुले यसलाई अटेर गर्दै शिक्षामा सबै बालबालिकाको पहुँच बढाउन विभिन्न कार्यक्रमहरू गरिरहन्छन् । छोरीलाई विभिन्न कार्यक्रममा शिक्षाको महत्त्वबारे बोल्न पठाउँछन् । मलाला जहाँ गएर बोल्छिन् मानिसहरू आश्चर्यचकित भएर उनको भाषण सुन्छन्, कलिली बच्चीमा बेनजिर भुट्टोको प्रतिविम्ब देख्छन् । उनले भाषणमा भन्छिन्, ‘आफ्ना लागि महिला शिक्षक र डाक्टरहरू चाहिने बताउने तालिबानले युवतीहरूलाई विद्यालय जानै दिँदैनन्, कस्तो आश्चर्य !’

३ जनवरी २००९बाट ‘गुल मकाई’को छद्म नामबाट बिबिसी उर्दूको लागि शक्तिशाली ब्लग लेख्न थाल्छिन् मलालाले । त्यसमा तालिबान आतंकको बीच एउटी बच्चीले भोगेको दैनन्दिनी हुन्छ । ‘म डराएकी छु’ शीर्षकमा उनले पहिलोपल्ट ब्लग लेख्छिन्, ‘सैनिक हेलिकप्टर र तालिबानहरूलाई आज मैले सपनामा देखें । स्वातमा सैन्य अपरेसन सुरु भएदेखि यस्ता डरलाग्दा सपना मैले देखिरहेकी छु । म विद्यालयबाट घर फर्किँदै गर्दा मेरो पछाडि एउटा मान्छेले ‘तँलाई मार्छु’ भनेको सुनें । त्यसले मलाई पछ्याइरहेको छ कि भन्ने डरले म छिटोछिटो हिंड्न थालें । उसले अरू कोहीसँग फोनमा कुरा गरेको देख्दा बल्ल मैले ठूलो सास फेरें ।’ यसप्रकार, ब्लगलेखन निरन्तर चलिरहन्छ ।

पुस्तकमा तालिबानी अतिवादको उदाहरणसहित ब्याख्या गरिएको छ । ‘पोलियो थोपाले मुसलमान महिलालाई बाँझो बनाउने र स्वातलाई मानवविहीन बस्ती बनाउने अमेरिकी षड्यन्त्र’ भन्दै तालिबानले प्रचार गर्छन्, पार्लरहरू बन्द गराइन्छन् ताकि कसैले पनि कपाल काट्न नपाओस् । यस्ता आतंकका फेहरिस्त भनिसाध्ये छैन ! अहिले हिंसाको पर्यायवाची बनेको स्वात उपत्यकामा प्राचीन समयमा बौद्धहरूले शासन गर्थे भन्ने इतिहास आफैंमा ‘आइरोनिक’ छ । युद्धले आक्रान्त मुलुकमा कन्सपिरेसी थ्योरीको महत्त्व पनि पुस्तकमा उल्लेख छ । यसैगरी, हातमा मेहन्दी लगाउँदा पनि मलाला र उनका साथीहरूले त्यसमा फूल र पुतलीको चित्रको साटो केमेस्ट्रीका अप्ठेरा सूत्र र क्याल्कुलसका हिसाब लेख्छन् भन्ने तथ्य पढ्दा पनि रमाइलो लाग्छ !

लेखिका फतिमा भुट्टोले ‘घोस्टराटिङ’मा कसको आवाज उच्च हुन्छ थाहा पाउनै सकिँदैन भनेझैं यस पुस्तकमा पनि घरी मलालाको बालमनोवैज्ञानिक आवाज हावी हुन्छ भने घरी क्रिस्टिना ल्याम्बको परिपक्व आवाज उँचो हुन्छ । विश्व इतिहास र दार्शनिक अभिव्यक्तिमा ल्याम्बको आवाज उँचो देखिन्छ भने, युद्धबीच हुर्कदै गरेकी एउटी बालिकाको मनोविज्ञानमा मलालाको आवाज उँचो देखिन्छ । पाकिस्तानी बच्चीभित्र थाहा नपाइने गरी हावर्ड र अक्सफोर्ड ग्रयाजुएट पत्रकार ल्याम्बको हंस पसेको छ । युद्धको विभीषिकाबीच बालबालिकाको जीवनशैली र मनोविज्ञानलाई सुन्दर भाषा, लोभलाग्दो वर्णन शैली र आश्चर्यजनक प्रस्तुतिसाथ लेखिएको यस जर्नलिस्टिक राइटिङले पाठकको जीउको रौं ठाडो बनाउँछ !

यो पुस्तक मलालाको मात्र जीवनवृत्तान्त होइन । उनलाई उद्देश्यप्राप्तिको लागि ‘डटेर अघि बढ’ भनेर हौस्याउने बाबुको पनि जीवन्त कथा हो । कट्टर इस्लामिक राष्ट्रमा पनि मलालाले जियाउद्दिन जस्तो प्रेरक बाबु पाउनु अति दुर्लभ घटना होला । अरू बाबुआमा र दाजुभाइले छोरी/बहिनीलाई विद्यालय नपठाएर सानै उमेरमा विवाह गरिदिँदा, पानी पर्दा छमछम नाचेको बहानामा गोली ठोकेर मार्दा र बुर्काभित्र निस्सासिएकी चेलीको मनोभाव नबुझ्दा जिआउद्दिनले चाहिँ त्यही समाजमा आफ्नी छोरीलाई निर्धक्क विद्यालय पठाउँछन् र भन्छन्, ‘छोरी तिमी आकाशमा निर्धक्क उड !’

अंग्रेज र अफगानीबीचको युद्धमा सयौं अफगानी योद्धालाई लडाइँ जित्न सघाउने साधारण किसानकी छोरी, ‘मलालाई’बाट जियाउद्दिनले आफ्नो छोरीको नाम राखे, मलाला । युद्ध जिताउने उत्प्रेरक मलालाईले झैं शिक्षाको लडाइँको नेतृत्व मलालाले गरिरहेकी छन् । मलालाका अनुसार पाकिस्तानी मानिसहरू आफ्नो देशको अस्थिर राजनीतिक अवस्थाबाट वाक्क भएर अर्को बेनजिर भुट्टोको जन्म पर्खिरहेका छन् । बेनजिरझैं असल नेतृ बनेर आफ्नो पाकिस्तानलाई सुन्दर बनाउने उद्देश्य मलालाको पनि छ ।

जुझारु कामका लागि उनलाई विश्वका थुप्रै राष्ट्रले सम्मान गरेका छन् । नोबल शान्ति पुरस्कारको मनोनयनमा पर्ने सबैभन्दा कम उमेरकी बच्ची पनि उनै हुन् । उनले राष्ट्रसंघको बैठकमा भाषण गर्दा बान कि मुनलगायत विश्वका ठूला नेताहरूले परररर ताली बजाएका छन् ।

अहिले मलालालाई चिन्ने विश्वले ‘तालिबानले गोली खाएर बाँचेकी बच्ची’ भनेर चिन्छन् । यद्यपि, ‘तालिबानले गोली हानेको केटी भनेर चिनिनुभन्दा शिक्षाका लागि लडेकी केटी भनेर संसारले मलाई चिनोस्’ बेलायतको अस्पतालमा आराम गरिरहँदा मलालाले पत्रकारमार्फत् विश्वलाई आफ्नो सदीक्षा पठाएकी छन् ।

आफू होची भएकाले अग्लो बनाइदिन भगवान्लाई केही वर्षअघिसम्म प्रार्थना गर्ने यी जुझारु जूनकीरीले अहिलेको आफ्नो उचाइ आफैंले मापन गर्न सक्दिनन् !

आइ एम मलाला
विधा: जीवनकथा
लेखिका: क्रिस्टिना ल्याम्ब र मलाला युसाफ्जाई ।
प्रकाशक: ह्याचेट
मूल्य: रु. ६४०

कान्तिपुर कोसेली
२०७० माघ ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *