Skip to content

“जीवन काँडा कि फूल” लाई नियाल्दा


आज “जीवन काँडा कि फूल” पढी सकाएँ । झमक जस्ता अपाङ्गले हामी जस्ता हात खुट्टा भएकाहरूलाई अपाङ्ग बनाइदिएकी छन्, हुतिहारा सावित गरिदिएकी छन् । किनकि उनले सबलाङ्गलेभन्दा धेरै गरेर देखाइदिएकी छन् । लेखेर धेरै गरेर देखाइ दिएकी छन् । गरेर धेरै देखाइ दिएकी छन् । उत्कट अभिलाषाले सबै इच्छा सफल पारेकी छन् । अनि उनले अपाङ्गलाई दुनियाँले हेर्ने दृष्टिकोणलाई (विश्व परिवेशले पनि) बदलिदिएकी छन् । जस्तो सुकै आपद विपद परिआएता पनि आफ्नो कर्तव्यमा दृढ रहनुपर्छ र अन्ततः सफलता हात पर्छ भन्ने दृष्टान्तको पाठ पनि सबै पाठकलाई उनले यो कृतिबाट दिन सफल भएकी छन् ।

उनले भगवानको अस्तित्त्वलाई स्वीकारेकी छैनन् तर जुन सङ्घर्ष गर्ने उत्प्रेरणा विद्रोही चेत उनले प्राप्त गरे त्यो भगवानकै देन थियो भन्ने मलाई लाग्दछ । एक प्रकारले भगवानमा निर्भर नहुनु भनेको पनि “कर्म गर फलको चिन्ता नगरी कर्मवीर बन्नु ” जस्तै हो । आफ्नो कर्तव्यबाट कुनै पनि हालतमा च्युत नहुने, विचलित नहुने तथा दृढ इच्छाशक्ति भएकी झमक घिमिरेको यो आत्म संस्मरणपरक बहुचर्चित यस कृतिले अहिलेसम्म कै रेकर्ड ब्रेक नेपालमा पुरस्कारहरू प्राप्त गरिसकेको तथ्य पनि यहाँनेर छ । साथै यो कृति “A flower in the midst of thousand thoms”का रुपमा अङ्ग्रेजी पुस्तक विश्वभर फैलिसकेको छ । सम्पूर्ण विश्वचरि छरिएर रहेका नेपालीहरूलाई “झमकको नेपाल र नेपालको झमक” भनेर प्रचार गरिदिनुहुन पनि सादर हनुरोध गर्दछु ।

त्यत्ति मात्र कहाँ हो र उनले यो कृति प्रकाशन पूर्व आठ वटा कृति प्रकाशन गरिसकेकी थिइन् भने अन्य प्रकाशोन्मुख कृतिहरू पनि छन् । त्यत्ति मात्र कहाँ हो र उनले आफ्ना प्रकाशित केही कृतिहरूमा आफैले आवरण तस्वीरको चित्र क्यानभासमा बनाएका थिए र त्यसैलाई आफ्ना पुस्तकहरूमा आवरण तस्वीर पनि बनाउन सफल भइन् । हाल कान्तिपुर राष्ट्रिय दैनिकमा प्रत्येक शुक्रवार “आफ्नै परिवेश” स्तम्भ पनि चलाइरहेकी छन् ।

पढेरभन्दा परेर सिर्जेको सिर्जना एकदम निखारिएको र तिखारिएको हुन्छ । हो यही छनक स्वअध्ययनबाट नाम चम्काएका झमक घिमिरेले सिर्जेको फूल “जीवन काँडा कि फूल”मा भेटिन्छ । साथै उनले यस पुस्तक मार्फत आफ्नो शरीरलाई मरणेपरान्त वैज्ञानिकहरूलाई अनुसन्धानका लागि दान दिने पनि बचनबद्धता व्यक्त गरेकी छन् ।

ती पीडादायी हातहरूलाई पनि सलाम छ जसका कारण झमकले अति नै कष्टकर उत्पीडनहरू झेलेकी थिइन् र त्यसैको प्रतिकार स्वरुप निख्रेको आवाज बुलन्द पार्दापार्दै झमक घिमिरे विश्वको नोवेल साहित्य पुरस्कारका लागि मनोनित पनि भइसकेकी छन् । यो हामी नेपालीहरूका लागि पनि गौरवको विषय हो । यसरी उनी अद्वितीय प्रतिभा बन्न सफल भइसकिन् ।

यस कृतिमाथि आफ्ना टिप्पणी, विचार, मन्तव्य, समालोचना वा जिज्ञासाहरू छन् भने [email protected]मा पठाइदिनु भएमा उनले प्राप्त गर्न सक्छिन् ।

यस्ती अद्वितीय प्रतिभा, नेपाली साहित्य फाँटका सच्चा सपूत झमक घिमिरेको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

२०७१ बैशाख १० गते
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *