Skip to content

हराउँदै आफैसँग


विहान उठ्दा छोरोले
मोटर मागेपछि
श्रीमती विरामी हुँदा
रकम र समय दिन नसकेपछि
लाग्छ मलाई हिजो आज
म आफैंदेखि
हराउँदै छु कता कता….
त्यसै पो मैले किन
निर्णय गरेथे र विदेशीने
आफ्नै आगनसँग टाढा हुने
संगीहरूसँग
कविहरूसँग
विछोडिने ….
र यस्तै यस्तै फूलसँगको
जूनसँगको नाता फोडेर
जब म अन्त कतै लम्किरहेथे
अनि मलाई लाग्यो
म आफैदेखि टाढा हुदैछु
आफ्नै भूगौलबाट….

यहाँ उस्ले टाउकोमा
समाएर गालामा म्वाई खादैन
सिर्फ कहिलेकाही फोनमा
माया गर्छ ऊ
त्यतिखेर
म फेरि हराउँछु आफैसँग कता कता
जब उस्ले पहिलो पटक मलाई
देखेथ्यो
ठिक त्यसैबेला प्रेम बसेथ्यो हामी बीच
सायद ऊ चिन्दथ्यो मलाई
मेरो छाया महशुस गरेर
उस्ले आँखा झिम्याएथ्यो
र भनेथ्यो म तिमीलाई
जिन्दगीभरि माया गर्छु
फेरि जब त्यो पल बल्झेर आउँछ
अनि फेरि मलाई लाग्छ
हो म हराउँदै छु आफैसँग
कता कता….

समयले डोर्यापछि
मान्छे कहाँ कहाँ पुग्छ
नियतिले पछ्याएपछि
मान्छे के के गर्छ
सायद म पनि यस्तै
फन्दामा छु मेरो साथी
त्यसैले म हराइरहेछु आफैसँग
कता कता….

लाहान, बैशाख १३, २०७१
www.makaronline.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *