Skip to content

पछुतो कथासङ्ग्रहले प्रष्ट्याउन खोजेका शैक्षिक मार्ग एक अवलोकन


परिचय

‘पछुतो’ कथासङ्ग्रहका लेखक चिन्तु गिरी हुनुहुन्छ ।, चिज्तु गिरीको जन्म पुतली बजार न.पा. –९, लामागे, स्याङ्जामा, माता खगीसरा र पिता नरभूपालका पुत्ररत्नको रूपमा भएको थियो । चिन्तु गिरीलाई हामीले कथाकारको रूपमाभन्दा पनि शास्त्रीय छन्दमा राष्ट्रियभावनाले भरिएका कविता लेख्ने कविको रूपमा चिन्दछौं । आज म भने उहाँको कथासङ्ग्रह ‘पछुतो’मा तनमन दिएर पढ्दै छु अनि मलाई लागेका भावना पनि पोख्दै छु । उहाँको रुची साहित्यमा बालककालमै थियो भन्न सकिन्छ उहाँको पहिलो रचना २०२८ सालमा मातृभूमिको गोरेटोमा प्रकाशित भएको थियो । यसबाट पनि के प्रमाणितथ हुन्छ भने उहाँको साहित्य लेखन १७ वर्षको उमेर पुग्नुभन्दा पहिला नै (विद्यार्थी जीवनबाटै), थालनी भएको थियो ।

प्रकाशित कृतिहरू

यस कथासङ्ग्रहमा उल्लेख भएका कृतिहरू मात्र यहाँ उल्लेख गरिएको छ । उहाँका हालसम्म ६ वटा कृतिहरू प्रकाशनमा आएका छन् । ती कृतिहरू यस प्रकार छन् –मेरो धर्ती (कवितासङ्ग्रह–२०५०),विरामी वर्तमान (कवितासङ्ग्रह–२३०५९), गोलैचीका फूलहरू (गीति कवितासङ्ग्रह–२०६१), वंशको खोजी (दशनामीको खोजकिो सानो अंश), छन्दका पत्करहरू (२०६६) र पछुतो कथासङ्ग्रह (२०६९) ।

पुरस्कार, सम्मान तथा अभिनन्दन

चिन्तु गिरी एक दर्जनभन्दा साहित्यिक कार्यक्रममा सहभागी भएर कविता प्रतयिोगितामा प्रथम पुरस्कार हाँसिल गर्न सफल हुनुहुन्छ । साहित्यिक सम्मान र अभिनन्दनबाट पनि सम्मानित ह’न’ भएको छ । हेरौं केही उहाँले प्राप्त गरेका मान सम्मानका उदाहरणहरू– आदर्श संगम स्याङ्जाले आयोजना गरेको कविता प्रतियोगिता (२०४७ लक्ष्मी जयन्तीमा प्रथम पुरस्कार,), २०४९––२४मा स्याङ्जामा भएको कविता प्रतियोगितामा प्रथम पुरस्कार, गण्डकी साहित्य संगम पोखराद्वारा आयोजित कविता प्रतियोगिता २०५२ जेष्ठ ९मा प्रथममा पुरस्कार प्राप्त, सूर्यचन्द युवाक्ल्वद्वारा आयोजित बृहत कविता प्रतियोगिता पोखरा (२०५२ सहिद विवशमा प्रथम पुरस्कार), माछापुच्छ्रे एफ.एम.पोखराको दोस्रो बार्षिकोत्सवको अवसरमा कविता प्रतियोगितामा प्रथम, लीला कुमारी साहित्य पु‘रस्कार, २०५८ स्याङ्जा, शंख नारायण साहित्य पुरस्कार, स्याङ्जा, काली गण्डकी कला साहित्य पुरस्कार–२०६०, स्याङ्जा, श्रीज्याति अंग्रेजी आवाशीय उच्च मा.वि स्याङ्जा, २०६२, सिर्जना विसौनी साहित्यिक सन्ध्या सइाङ्जा, २०६६ कार्तिक २८, श्रीज्योति अंग्रेजी आवाशीय उच्च मा.वि स्याङ्जाबाट अभिनन्दन पत्र २०६८/११/६, श्रीमानवहादुर कृष्णकुमारी.ट्रष्ट पौवेगौड शीतला उ.मा.विे २०६९/१/२१ आदि ।

आवद्धता

चिन्तु गिरी स्याङ्जा साहित्य प्रतिष्ठानको स्याङ्जाको उपाध्यक्ष हुनुहुन्छ भने उहाँ वेदना, भाववृष्टि, दीपज्योति आदि पत्रिकाको सल्लाहकार, लक्ष्मीस्मृति सामुदायिक पुस्तकालयको कार्यसमितिको सदस्य, (२०६४–२०६६), स्याङ्जा साहित्य प्रतिष्ठान, आँधीखोला साहित्य सदन वालिङ्ग, छन्दवादी समाज नेपाल र प्रगतिशील लेखक तथा अखिल नेपाल लेखक संघ आदिमा आवद्ध भएर सकृयरूपमा सेवा दिंदै आउनु भएको छ ।

कृतिको संरचना

‘पछुतो’ कथासङ्ग्रहको प्रकाशन स्याङ्जा साहित्य प्रतिष्ठानले गरेको छ । यसको मूल्य रु. १०५/– छ र कूल पृष्ठ ७२+१२ =८४ छन् । साना ठूला गरेर यसमा ३२ओटा कथाहरूसमावेश गरिएका छन् । यस कृतिमा कृतिकारले भूमिका लेखाउनु भएको छैन । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्षले प्रकाशकीय लेख्नुभएको छ । प्रकाशकीय सानो भए पनि सारगर्भित भावनाले भरिएको छ । विश्वप्रेम अधिकारी लेख्नुहुन्छ –‘…..म भने यो कथासङ्ग्रह १२–२० उमेर समूहको युवाहरूको खुराक भन्न मन पराउँछु । समावेश भएका दुई लामा कथालाई निकालिदिए यो कथासङ्ग्रह “बाल कथा सङ्ग्रह” हो’ । आफ्नै गन्थनमा चिन्तुजीले लेख्नुहुन्छ – ‘कथाहरू प्राय जीवन र जगतसँग सम्बन्धित छन् । साहित्य भनेको जीवनलाई परिस्कृत बनाउँदै कर्तव्यनिष्ठ, आत्म संतुष्टि र निडर नागरिक भएर ज्यूने साधन हो भन्ने लाग्छ ।’ निश्चय नै चिन्तुजी तपाईंका कथाहरू जीवन र जगतसँगै हिडेका छन् । साहित्य समाजको दर्पण हो । साहित्य समाजमा गतिशील परिवर्तन ल्याउने सम्बाहक पनि हो ।

कृतिभित्र पस्दा

‘रगतको नातो’ कथाले बोकेको धारणामा जातभातभन्दा रगतको प्रेम ठुलो हुन्छ । निश्चय नै जातभातको अहम्तामा अडिएको हाम्रो समाजमा जातीय विभेदलाई तोडदै समनताको समाजको सन्देश बोकेको छ कथाले ब्राह्मण कुलको केटाले बिरामी पर्दा अस्पतालमा एक महिनासम्म आफ्नै रगत दानदिएर छोरा बचाएकी दमैकी छोरी भन्ने कुरालाई बिर्सेर बुहारी स्वीकारे ब्राह्मण परिवारले ।

‘बाटुलीका गहना’ अर्काका गहना लगाउनु नाक कान दुखाउनु भन्ने उखानलाई यस कथाले चरितार्थ गरेको छ । आफ्ना सम्पत्ति तथा गहना नभए पनि इज्जत जोगाउन मागेर लगाउने प्रबृतिलाई हटाउन पर्छ र मागेको चिजले इज्जत धान्दैन भन्ने सन्देश बोकेकाने छ कथाले । बाटुलीको गहना रतौलीमा लुठो बन्नेहरूले लुटेर मुर्छा पर्नुपर्यो ।

‘कुरौटे बाँदर’ यहाँ कथाकारले मानवीय प्रबृतिलाई खैरे र लौइरे बाँदरको उपमा दिएर मैमात्र खाउँ मैमात्र लाउँ, कमजोडलाई दवाउनु पर्छ र आफूले सबै चिजमा हक जमाउनु पर्छ भन्ने धारणाबाट मुक्त हुनु पर्दछ, त्यसो हुन नसके अर्काको कुभलो चाहनेलाई आफ्नो पनि भलो हुँदैन भन्ने सन्देश बोकेको छ । खैरेले गरेको बलमिच्याइँ र लोइरेले सिकारीसँग गरेको सम्झौतामा खैरे चनाखो भई वन छोडेर भाग्यो तर लोइरे नै शिकारीको शिकार बन्नु पर्यो ।

‘बोत्तलको जल’ कथामा आजको परिवर्तित समयमा युवाहरूले प्रयोग गर्ने नशालु पदार्थ राखिएको बोत्तलमा अनपढ हजुरवाले पखालेर भेड्काको बोत्तलमा गंगाजल भरेर पूजाको लागि ल्याएको र नातिले देखेको व्यहोरा प्रष्ट्याइएको छ । युवाहरूको लत रक्सीमा बसेको उदाहरण भएको छ कथा ।

‘पछुतो’ सोच नपुर्याएकोमा बिक्रेता ठूलोमारमा परेर पछुताऊदै रोएको र एउटा व्यपारीले उपभोक्तालाई ठगेको साथै अर्को क्रेताले एकबट्टा चुरोटमा पाइने हीरालाई पाँच हजार तिरेकोमा पछुताएको । आजका व्यपारीको ठगाइबाट बच्नको लागि क्रेता विक्रेता दुवै सजग र सक्षम हुनुपर्ने शिक्षा यस कथाले दिएको छ । यसै कथाबाट यस कृतिको नामाकरण पनि गरिएको छ ।
‘प्रेम विवाह’ दाइजोको लोभमा उमेर ढल्किसकेको नरेले आफूभन्दा निकै कान्छि केटीसँग प्रेम विवाह गर्यो । टीका लाउन जाँदा त, सासू १९ वर्ष पहिला प्रेम गरेकी प्रेमिका र श्रीमती त आफ्नै छोरीपो रहिछे र्। प्रेम गर्दा जानेर बुझेर गर्नु पर्ने, दाइजोको लोभमा पर्न नहुने शिक्षा प्रदान गरको छ कथाले ।

‘अर्ती’– बाबुले छोरालाई सर्बप्रथम रक्सी र कुखुराको मासु नखाने अर्ती दिन्छ । छोराले कुखुराको मासु खाएको थाहा पाए पछि, कुखुराको मासु सबैले खाएकोले सबैसँग मिल्दोजुल्दो हुन पनि कुखुराको मासु खान हुने तर रक्सी भने खान नहुने अर्ती दिन्छ । जब छोराले रक्सी पनि खानथालेपछि जमाना अनुसार रक्सी खान हुने तर मातेर बाटोमै सुत्ने गरेर खान नहने अर्ती दिन्छ तर जब छोराले रक्सीले मातेर लड्दै पड्दै घरमा आएर कराउन थालेपछि सुरक्षित बस्नको लागि अर्ती दिन छाडेर कोठा थुनेर बस्न थाल्छ । आजका युवा युवतीहरू कुलतमा लागेर बाबु आमाको अर्तीलाई मान्न छाडेको र बाबुआमाले ज्यान बचाउन आफै सतर्क हुनुपर्ने यथार्थता कथाले प्रष्ट्याएको छ ।

‘ईज्जत बचाउन खोज्दा’–यस कथाले हिजोको समयमा बेसाहा खान नहुने, बेसाहा खानपरे राती कसैले नदेख्ने गरेस् किनेर ल्याउनु पर्ने अवस्थालाई कोटयाउँदै त्यस समयमा ज्यानभन्दा इज्जत ठूलो भन्ने कुरा दर्शाइएको छ । बाघको देख्दा पनि गुहार नमागेको र गोठमा कोदो राख्दा कसैले लगेर कोदो पनि चोरी भएकोले पेट खाली राख्न पर्ने देखिन्छ ।

‘गुहार गुहार’– आर्थिक अभावले गर्दा घरमा निम्त्याउँछ भजगडा । यस कथामा पढेलेखेका युवकले आर्थिक अभावका कारणले गर्दा बाबुआमालाई पिड्छ र बूढाबूढीले आँफू बाच्न गुहार माग्दछन् र गाउँलेले छोरालाई कुट्न थालेपछि आफ्नो पीर छाडेर छोरालाई बचाउन पुनः गुहार माग्दछन् । छोरा छारी प्रतिको माया बाबुआमामा अमिट हुँदोरहेछ भन्ने कथाले शिक्षा प्रदान गरेको छ ।

‘फटाहा र युवाहरू’ ûयस कथाले जस्तालाई त्यस्तै व्यवहार गरेर सताउन सकिन्छ भन्ने शिक्षा दिएको छ भने अर्कालाई नराम्रो गरिन्छ भने अर्कोले पनि आफूमा नराम्रो गर्न सक्दछ भन्ने उदाहरण सहितको प्रस्तुति गरिएको छ । बूढाले रक्सी खान्छ नपत्याए राती मुख सुध्नु भनेर बूढीलाई भनिएको छ भने बूढी बौसी भएकोले राती तपाईंको मुख सुघ्ने गर्दछिन् बूढाललाई भनिएको छ । यसबाट घरमा झगडा बनाउने काम भएको छ । घर लथालिङ्ग भताभुङ्ग पारिएको छ । यस्तो कर्म नगराउन पर्ने हो गराइउको छ । सुधारका पक्ष अरुपनि अपनाउन सकिने थिया ।

‘दुःख’ यस कथामा मानिसलाई दुख पर्ने बेलामा चारैतिरबाट दुखले घेरको हुन्छ । बाबु मर्नु, गोठमा आगो लागेर सबै बस्तु जलेर मर्नु र त्यतिले नपुगेर, श्रीमती विमारी परेर धामी झाक्रीबाट सञ्चो नलागि तीनदिन डोकमा बोकाएर पोखरा अस्पतालमा लगेर उपचार गर्दा पैसा सकिनु र आफ्ना नातेदारकहाँ गएर सहयोग गर्दा पैसा नपाउनु असहाय अवस्थामा परेर रुन थाल्दा विरामी कुरुवाले सहयोग पुर्याएर विरामी सञ्चो बनाएर फर्कनु । मर्का नबुझ्ने आफन्तभन्दा मर्का बुझ्ने पराय नै आफ्ना हुन्छन् भन्ने शिक्षा कथाले दिएको छ ।

‘बोक्सी’ यस कथामा अन्ध विश्वासले जकडेको समाजमा मानिस के कारणले विमारी परेको हो जानकारी नलिइ धामीले बोक्सी लागेको भनी मरणासनन अवस्थामा पुर्याएपछि के भएको हो भनी जानकारी लिएर विष भएको आशंका गरी घरेलु उपचारको साथै अस्पताल लगिएको छ जडीबुटीको उपचार गर्दा पनि कहीं विषत खाइएको छैन भन्ने ख्यालगर्नु पर्ने शिक्षा यस कथाबाट पाउन सकिन्छ । ‘बाबुको उपचार’ यस कथामा अन्ध विश्वास र सचेत बीचको झगडालाई देख्न सकिन्छ । बाबुको उपचार धामीबाट गराउनृ दाजु र अस्पताल लानु पर्छ भन्ने भाइको बीचको युद्धले बाबुको खुट्टा तातो पानीमा परेर जल्यो र अन्त्यमा अस्पताल लगियो ।

‘सुकुम्बासी’ यस कथामा दोस्रो विवाह गरेपछि दोस्री श्रीमती र लोग्ने मिलेर पहिला विवाह गरेकी पत्नीलाई घरबाट निकालीन्छ । उनी गर्भवती भएको र माइतमा छोरो जन्मेपछि लोग्ने न्वारन् गर्न जाँदैन । पछि पहिली श्रीमतीले विवाह गरेपछि छोरो अलपत्र पर्दछ । छोरो तराईको वनफाँडेर बस्दा सरकारले पुलिस लगाएर हटाउँछ र घर अंश खोज्न जाँदा घर सबै मरिसकेका र घर अर्कैले कव्जा भए पछि छोरा सुकुम्वासी बन्न पुग्दछ । मानवीय संवेदना नभएको मानवको व्यवहारले यस्तै घटना घट्छ भन्ने शिक्ष कथाले प्रदान गरेको छ ।
‘भुँडी’– द्वन्द्वको बेलामा अन्तरे हराएको डेडवर्ष हुनलागेता पनि राती राती आएर श्रीमतीसँग भेटहुने क्रम जारी थियो गाउँलेलाई यो कुरा थाहा थिएन । अन्तरेकी श्रीमतीले भुँडी बोकेपछि कचहरी बस्यो तर अन्तरेकी स्वास्नीले मेरो भुँडी मेरै हो, मेरा हात, खुट्टा, टाउको मेरै हो, मेरा भुँडी प्रति शंका गर्ने तिमी को हौ भनेर भलाद्मी भनाउँदाको टाउको र फिर्पातामा सुम्ल्याउन थालेपछि भलाद्मीहरू जुता र चप्पल छाडेर टाउको र फिर्पता छाम्दै दकुरे । यो कथाले द्वन्द्वका बेलामा नारीहरूमा परेको गर्भधारणको असरलाई कोट्याएको छ । कतिले आफ्नो यथार्थता पोखेर बाँचे कतिको मृतुवरण भयो ।

‘तक्मा’– यस कथामा खम्पाहरूले आतङ्क मच्चाएको बेला समर बहादुरले खम्पाहरूलाई भेटेर वन्य जन्तु मारेर कस्तुरी आदि उसलाई दिनेर उसले खम्पाहरूलाई खानाको व्यवस्था गर्ने गोप्य सम्झौता भएकोले यो कुरा गाउँलेले थाहा पाएर प्रमुख जिल्ला अधिकारी कहाँ उजरी दिने भन्ने सरसल्लाहा हुँदाहुँदै समर शहादुरले थाहा पायो र उसले खम्पाहरू ४ जनालाई कोठामा बन्दगरी प्रमुख जिल्ला अधिकारीलाई खबर गरेर खम्पाहरूलाई थुनामा राख्न लगायो यसको पुरस्का समर बहादुरले राजाबाट पायो । गाउँलेले यो देखेर तक्मा दिने राजा र सिफारिस गर्ने सि.डि.ओलाई वदमासको संरक्षक ठान्दै घरतिर फर्के । यो कथाले चाकडी र वदमासहरू नै पुरस्कारका भागिदारी हुने सही सत्यकर्म गर्नेले हेरी बस्नुपर्ने आजको यथार्थता दर्शाएको छ कथाले ।

‘पारपाचुके र मिलन’ यस कथामा सावित्रीको विवाह शंकरेसँग भयो तर उसले यो श्रमितिलाई साथ दिएन र काठमाण्डौमा अर्को विवाह गरेर सुख सयलसँग बस्यो तर शंकरे्की कान्छी श्रीमतीले थाहा पाए पछि केही रकम दिएर जेठीलाई पारपाचुके गर्ने सल्लाह बमोजिम २०हजार सहित जेठी श्रीमतीलाई पारपाचुके गर्यो र वर्षदिन नबित्तै कान्छीको मृत्यु भयो र पुन जेठीलाई भित्र्याउने सोच आएर आफन्तलाई लगाएर तेस्री श्रीमतीको रूपमा शंकरेले पहिलेकी श्रीमतीलाई भित्र्याए । ‘लभमेरिज’ यो कथाहा पढ्दा एउटा उखान याद आयो–‘तेल पानी मिल्यो पिना बाहिर’ भने जस्तै लभमेरिज त भयो दुवै दलितका छोरा छोरी भए पनि जातभात भने मिल्दैनथ्यो । केटातिरकाले स्वीकार्न कठिन मानेक थिए । दुवै दिल्ली गए । दिल्लीमा जीवन गुजरा गर्न कठिन भयो र बम्बैतिर लागे बम्बैमा पनि साथीकोमा निकै कठिनसँग बस्ने प्रबन्ध मिलाए । केही महिनामा लोग्ने –भुण्टे) भाग्यो भुण्टेको साथीले सुनौलीसम्म आउने भाडा सरितालाई दियो । सरिताका बाबुआमाले भुण्टेका बाबुआमा समेतलाई केटी बेचेको आरोप लगाएर मुद्दा दिए । भुण्टेकातिरकाले पनि ज्यान मार्ने मुद्दा दिए । मुद्दा चल्दा चल्दै भुण्टे अदालतमा देखा परेपछि सरिताले उहाँले मलाई बेच्न लानु भएको होइन भनी र भुण्टेले पनि ससुरालीले ज्यानमार्ने प्रयास गर्नुभएको होइन भनेपछि गाउँले चुप हुनु पर्यो कथा समाप्त भयो । सामजिक परिवेशमा जातभातले निम्त्याएको बाधा अड्चनले थर्दा सबैलाई दुख भोग्न परेको छ । बास्तवमा मानवले मानवप्रति समान व्उयवहार गर्नु आजको आवश्यक्ता हो ।

‘साधुबा’ यस कथामा एउटा चोरले गाउँघरमा चोरेर सताएकोमा युवाहरूले चोरलाई चोर नभनी साधुबा भन्न थालेपछि ऊ साँच्चिकै साधु बनेको छ । मानव गल्तीलाई मानवीय व्यवहारबाटै सुधार्न सकिन्छ भन्ने शिक्षा दिएको छ कथाले ।

‘धर्मछाडा’ यस कथामा एउटा साह्रै गरिब मान्छेलाई एउटा साहुले एउटा दाँत नभएको बूढो गोरु बेचेर सयकडा ५का दरले व्याज असुली गर्नेले ऋण असुली गर्न जाँदा गरिबले सकेको त दिएकै छुभन्दा धर्मछाडा भनेर साहुले भनेको गाउँले सुनेपछि गाउँलेले धर्मछाडा को ? बूढो गोरु उधारो बेचेर चर्को व्याज लिने वाला कि किन्ने वाला गरिब जस्ले पैसा बुझाउदै गएको छ भन्दै सबै प्रश्नवाची भए ।

‘जनताको ताली’ दुईवटा नेताहरू एउटै मञ्चमा भाषण गर्ने वेला एउटा जो खानदानीया धनिवालाले सभाध्यक्ष गरेको र अर्कौ नेता जो राजनीतिमा लागेपछि धनी भएकोले सभाध्यक्षलाई ठग र भ्रष्टचारी भएकोले कालो मोसो दलेर बजार घुमाउनु पर्छभन्दा जनताले ताली बजाए को र पुन सभाध्यक्षले आफू खानदानीय धनी भए पनि राजनीति गर्न थालेपछि गरिब हुदै गएको र जो राजनीित गर्न थालेपछि गरिबबाट धनी हुन थालेकोले को ठग र भ्रक्ष्टचारीभन्दा पनि जनताले ताली बजाए ।

‘नेता’– यस कथामा जनताले नेतासँग खाने पानीको लागि पाइप र सिमेन्टको सहयोग खोज्दा तपाईंहरू कुन पार्टीको मान्छे हो मेरो पार्टीको मान्छे भए बुझेपछि पाउनुहुन्छ भन्ने जवाफ दियो । आजको राजनीतिले जनतालाई सेवा नभए र पार्टीको धाक लगाउने प्रबृति बढेको छ ।

‘धोका’ आठ कक्षा पढदा पढ्दै संगीताले सुमनसँग प्रेम विवाह गरिन् । सुमनले पढ्न सकेन र व्यवसायमा लाग्यो र संगीतालाई एम.ए.सम्म पढायो । एम.ए. पासगरेपछि संगीताले घरलाई त्यागिन् । यस कथामा योग्यताले चढेको मातमा आफ्नो कुन धरातलबाट थालनी गरेको प्रेम विवाह सो भूली घरपरिवार त्यागिएको छ ।

‘लोकाचार’ यो कथा पढ्दा ज्यूँदो ज्यानले माड पाएन मरेकालाई खीर भन्ने उखान चरितार्थ भएको पाइन्छ । ज्यूदो छँदा आमालाई अति कष्ट दिएर मरेपछिधेरै धेरै दान गरेर एक वर्षसम्म बरखीबारेर आमाको नाममा दूध समेत नखाएकोमा नबुझ्नेले ठूलो दान पूण्य गरेको ठहर्याए तर बुझ्नेले भने यसलाई लोकचार भन्ने ठहर्याए ।

‘पटमूर्ख र सज्जन’ एउटा पटमूर्खले हाटमा जाँदा एउटा सज्जनका मुखमा थुक्यो । सज्जनले सज्जनता पूर्ण रूपले ‘मलाई मुखमा थुक्ने तपाईं पहिलो व्यक्ति हुनुभयो लिनुहोस् इनाम भनी रु ५० /– दण्ड स्वरूप दिए । उसले मुखमा थुके त पैसा पाइँदो रहेछ भन्दै थुक्दै हिड्न थाल्यो । कोही तर्के कोहीले गाली गरे, एउटा बलियोले समातेर चुट्यो । हाटमा भएका सबैले रमिता हेरे । त्यो भीडमा त्यो पैसादिने सज्जन पनि पुग्यो र भन्यो ‘यसले मलाई पनि मुखमा थुक्यो र मैले डण्डस्वरूप रु ५० /– दिएँ । यसले त्यो पुरस्कार समझी थुक्दै हिड्यो र यो गति भयो’ । उसले यो वदमास हो भन्यो अरुहरूले त्यो सज्जनलाई ठूलो मान्छेमा गने । त्यो कुरा त्यो मूर्खले पनि सुनेको थियो । केही दिन पछि मूर्खले सज्जनकहाँ गएर माफी माग्यो र सज्जनको सल्लाहमा चल्न थाल्यो । यस कथाले मानिसलाई सभ्य व्वहारबाट पनि सुधार गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

‘छोराको रहर’ यसकथामा दुईटी छोरी जन्मेपछि श्रीमानले श्रीमतीलाई थाहै नदिई परिवारनियोजन गर्छ तर श्रीमतीलाई छोराको रहरले सताइरहेको हुन्छ । १२वर्ष पछि कागजपत्र र योग्यताका प्रमाण पत्र खोज्दै मिलाउँदै गर्दा श्रीमतीको हातमा श्रीमानले परिवार नियोजन गरेको कागज फेला पर्दा श्रीमतीले असन्तुष्ठि र लोग्ने चाहिंँले आफूलाई अपराधी जस्तो ठानेर भय र त्रासले एक अर्काप्रति हेराहेर गरे । यसमा बाबुलाईभन्दा पनि आमालाई छोराको चाहना अधिक हुन्छ भन्ने सन्देशको साथै परिवार नियोजदन गर्दा दुवैको सहमतिबाट गर्दा दाम्पत्वजीवन सुखमय हुन्छ भन्ने सन्देश पाइन्छ ।

‘वैदेशिक रोजगार’ यस कथामा घरव्यवहार गर्ने मानिस आम्दानी गर्ने दाजुभाइबाट अलगिए पछि समस्या पर्ने र देशमा रोज गारी नपाए पछि वैदेशिक राजगारमा जानु पर्ने, वैदेशिक रोजगारमा गए पछि छोराछोरी पढाउन सहरमा बस्नु पर्ने, आम्दानी बढेपछि श्रीमतीको भौतिक आवश्यक्तालाई पुरा गर्नलाई छोराछारी र श्रीमान छाडेर भाग्नुपर्ने आजकलको समस्यालाई कथाले प्रस्तुत गरेको छ ।

‘आफ्नै स्वाद’ यस कथामा साहित्यकारले आफ्नै सम्पादनको साहित्यिक पत्रिका लिएर चिया दोकानतिर पस्यो । त्यहाँ जागिरेहरू बसेर केही पेय पदार्थ पिउँदै थिए । एउटाले पत्रिका सित्तैमा माग्यो साहित्यकारले संस्थाको किताप भएकाले किनेर पढौं न भन्ने सुझाव दियो । सित्तैमा पत्रिका पढ्न चाहानेले गोजीमा एकट्वाक खाने पैसा छैन किन्छ तेरो किताब भन्ने जवाफ दिन्छ । कुलतमा फस्नेहरूले किताबभन्दा ट्वाकलाई नै ठूलो ठान्दछन् ।

‘विधुवाको सिंदूर’– प्रतिमाको बिहेको तीनवर्ष नपुग्दै हातका चुरा फोरिनु र शिरको सिंदूर पुछिनुले साह्रै चिन्तित थिइन् । उनलाई घरमा बस्न खान नपाए पछि उनी माइत गइन् त्यहाँ पनि आमा मरिसकेकी र सौतेनी आमाले देख्न नसहेकीले गर्दा साह्रै दुखी जीवन बिताउनु परेको थियो । उनले पुनर्विवाह गरिन् । यस कथाले एकल महिला माथि गरिने दुव्र्यवहार, सौतेनी आमबाट प्राप्त दुखको साथै विधवा विवाह समेतलाई समेटेको छ ।

‘मसिनेकी स्वस्नी’– यस कथामा मसिनेकी स्वास्नी पवित्राका दुई बालबच्च थिए र उसको श्रीमान पल्टनमा भर्ति भएको थियो । पवित्राले आफ्ना छोराछोरी राम्ररी स्याहार सुसार गरिरहेको अवधिमा गाउँको हल्दारले उसलाई जर्वजस्ती अस्तित्व लुटिदिए पछि उनी गर्भवती भइन् । हवल्दारलाई आफ्नो कुकर्मको फल बुझ्नु भन्दा, प्रधान पञ्चकहाँ गएर कुरा गर्दा एकलाख रुपियाँबाट प्रधान पञ्चले चोख्याइ दिने र घते माइलालाई भिराइ दिने कुरा मिलाएर भलाद्मीहरू बसेर पवित्राले नस्वीकार्दा नस्वीकार्दै पनि दोषीलाई निर्दोष सावित गरेपछि पवित्राले आत्महत्या गरिन् । यहाँ पैसाको भरमा अपराधी पनि चोखिन सक्छ भन्ने सन्देश कथाले दिएको छ । यस्ता संदेशले समाजमा नकरात्मक पक्षलाई टेवा दिन्छ ।

‘नशाभित्रका पाँच पात्र’–यस कथामा नशामा लिब्ध पाँच पात्रको आफ्ना आफ्नै रूपरङ्गको बर्णन गरिएको छ । पात्र नम्बर एकले रक्सी खाएर लोट्दै लछाारिंदै जाँदा मुखभरी घाउ भएकोले भलाद्यमी डाकेर राती मलाई कस्ले कुट्यो न्याय पाउँ भन्दै न्यायको खोजी गर्छ । पात्र नं २ले दुई जना बसेर होटेलमा रक्सी खाएर उत्तर जानु पर्नेमा दक्षिणतिर लागे । बुटवल जाने बसलाई रोकेर पोखरा ससुराली जानेभन्दा कन्डक्टरले जड्यहा भन्दै छाड्छ र उनीहरू रक्सी खादै हिड्दै पोखरा जानको साटो वालिङ् पुग्दछन् । पात्र तीनले कोदो पिस्न मिलमा जान्छ र कोदो पिसिसकेर रक्सी खाने भनी कोदो पिसायो र रक्सी खान थाल्यो । करिब एक डेढ घण्टा जति पिए पछि अबेर भयो भन्दै पिठोको थैलो बोकर मिलतिर लाग्यो र कोदो पिस्न भन्यो मिलवालाले कोदो पिनिसकिएकोभन्दा मेरो काम नगर्ने भनेर निहु खोज्न थाल्यो । मिलमालिकले पहिला पिठो हेरभन्दा पिठो हेरी मत बौलाएछु भन्न थाल्यो । पात्र नं चार यसमा जड्याहाले पहरो घचेट्दै गुहार मागिरहेको थियो । गाउले जोडिएर के गरेको घरजाउँभन्दा कताबाट जाने सबै मिलेर यसलाई घचेटौं भनी घचेट्न थाल्यो तर गाउँले घर फर्के । पात्र नं पाँचमा चारजानले जुवाडेहरूले दिनभर तासखेलेर बेलुका दुई जना जित्ने घर फर्के दुइजना हार्ने पुन रक्सी खान होटलभित्र पसे र रक्सी खान थाले रात घर्केपछि घर जादाँ बाटोमा नदी तर्ने पर्ने रहेछ नदी तर्दा कपडा सबै खोलेर टाउकोमा बेरेर नदीमा प्रवेश गरे र हिड्दा कपडा लाउनै विर्सियो । दुवै छुट्टिए । एउटाले तासखेल्दा दुईवटा पप्लु परेका भएता तास जितिन्थ्यो भन्दै जित्ने साथीहरूलाई पप्लु चोरहो भनेर गालिगर्न थाल्यो र अर्को नाङ्गेवालाले सबै कपडा लुटे भनेर कराउन थाल्यो । सबैले हेर्दा कपडा टाउकोमा छन् आफू नाङ्गै छ भन्दै छिमेकी घरतिर लागे । घरपरिवारले जड्याहालाई समातेर घरतिर लगे । जड्याहाका रूप र क्रियाकलाप थरिथरिका हुन्छन् भन्ने जानकारी यस कथाबाट प्रष्टिन्छ ।

‘सार्थक जीवन’ एकजना गँज्याहालाई छिमेकीले गाँजा नखाएर घर पविारलाई सघाएर जीवन सार्थक बनाऊभन्दा उसले छिमेकीलाई तपाईंको टेन्सनयुक्त जीवन निरर्थक सम्झेको छु कहिल्यै आनन्दमा बस्ने फुर्सत पाउनु भएन । आउन’होस् मसँग बसेर जीवन सार्थक बनाउँ । यस कथामा मानिसले सोच्ने प्रबृति अनुसार जीवन सार्थकको आफ्नै परिभाषा हुन्छ भन्ने धारणा देखिएको छ । यस कथासङ्ग्रहको यो अन्त्मि कथा हो ।

यस कथासङ्ग्रहमा कथाकारले अन्तरजातीय प्रेम विवाहमा धेरै जोड दिनु भएको देखिन्छ । कथा सरल छन् । जस्तापाठकले पनि सजिलेरी कथालाई बुझ्न सक्छन् । साहित्यकार विश्वप्रेम अधिकारीले यी कथाका पाठक १२–२० वर्ष भित्रका समूहको लागि राम्रो खुराक हुने प्रष्ट्याउनु भएको छ । कथा सबै ग्रामिण परिवेश लगायत काठमाण्डौ पोखरा दिल्ली बम्बै सहरलाई लिएर लेखिएका छन् । बीच बीचमा उखानटुक्काहरू पनि जोडिएका छन् । शिर्षक पछुतो राख्नु पनि सान्दर्भिक देखिन्छ । मसिनेकी स्वास्नी सबभन्दा लामो कथा हो । समाजमा भए गरेका घटनाक्रमलाई चिन्तुजीले रहर लाग्दो तरिकाले कथालाई प्रष्ट्याउने कोशिस गर्नुभएको छ । अत कथाहरू उपदेश मूलक छन् । चिन्तुजीलाई धन्यवाद दिंदै अर्को कथासङ्ग्रह पढ्नको लागि प्रतिक्षारत छु ।

धन्यवाद
सदानन्द अभागी
कावासोती शान्तिचोक, नवलपरासी,
२०७० साल चैत्र १ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *