Skip to content


कविता लेख्दा लेख्दा
हजारौ अनिँदा रातहरू गुज्रिएर
निन्याउरिएका होइनन,
मेरा यी तन्नेरी आँखाहरू…….

मेरो परिवेश
त्यसै त्यसै अनौठो छ,
बातावरण
त्यसै त्यसै अनौठो छ,
म उस्तो कि यी गल्लीहरू ..?
यो गल्ली उस्तो कि
गल्लीमा हिंड्नेहरू
म उस्तो कि तिम्रो जवानी
तिम्रो जवानी उस्तो कि
मेरा यी तन्नेरी आँखाहरू ….

यी तन्नेरी आँखाहरू
कसैको जवानीमा
प्रतिविम्बित हुन लालयित छन
सरल्ल्क सिङ्गो शरीर र
सालीम्माको केश लहलहाउँदा
अली परबाट घुटुक्क एक सर्को नशा पिउदै
आफूलाई अभागी ठान्छ,
आँखासँगै म साचै अभागी हुँ
भाग्यमानी त त्यो लाली हो
जस्ले ओठमा स्पर्श गर्न पायो
भाग्यमानी त त्यो क्रिम पाउडर हो
जस्ले गालाभरी पोतीन पायो
भाग्यमानी त त्यो साबुन हो
जस्ले बैशालु शरीरका अंङ्ग अंङ्ग
लुटपुटिन पायो
भाग्यमानी ती गाजल हुन
जस्ले परेलीमा सझिने ठाउँ पायो
धेरै भाग्यमानीहरूको बीचमा
आफू अभागी भएरै पनि
किन किन तिमीप्रति
ललाहित छन
मेरा यी तन्नेरी आँखाहरू ……….

चुथ्रोघारीमा भ्याकुर खोज्ने
तन्नेरी आँखाहरू
आज किन असरल्ल
तिमीमा पोखियो ??
हुन त तिमी एक थुँगा चमेली हौ
फुल्दा जस्ले पनि हेर्छ
होचै भए पनि बुकीलाई रङ्ग छर्दा
चुम्छन,हेर्छन,देख्छन
ओइलिएर सुकेपछि
डडेलो लागेको कालो गोलका
ती पाखाभित्तामा कस्ले अस्तित्व खोज्छ ?
मैले त
बेमौषम र बेअर्थमा फुलेको
आफ्नै जवानी बन्धकी राखेर
कहिल्यै,कसैको जवानी
नहेर्ने वाचा गरी
पूर्वको च्याङथापु र
पश्चिमको चाँदनीका छाप्राहरूमा
छाक टर्ने चुल्हो बल्यो कि बलेन
शित छल्ने छानो टालियो कि टालेन भनेर
एकोहोरो मनको सुक्ष्मदर्शक ओलाङ्चुङतिर
मोडेको थिएँ
एकत्रित मष्तिस्कको दुरदर्शक कर्णालीतर्फ फर्काएर
केन्द्रित र विम्बित गरेको थिएँ
अब भन
मेरा हेराइको समान्तर पथमा
गरिबीको चुल्हो छेक्न
अवरोधक पहाड हुँदै तिमी उभियौ कि
तिम्रो जवानी हेर्दैछन,
मेरा तन्नेरी आँखाहरू ….

ए (महासय) !!
यती नै बेला,मैले
तिम्रो जवानी हेरिन र देखिन भनेँ भने
हुन सक्छ
म कायर, काँतर वा भीरु हौला
जीवनबाट कायरहरू मात्र भाग्छन
यो मर्दको जीवन हो
जीवनबाट भाग्न सक्दिन र चाहन्न
लक्षबाट दुर्लब मात्र बिमुख हुन्छन
यो सुलबको जीवन हो
अजय र अनन्त शक्ति लिएर
घुम्ती र मोडहरूमा उपस्तिथ
मौषमी कुहिरो चिर्दै
जीवनको गाडी हाँक्नु छ
युगको गाडी हाँक्नु छ
बाँच्न नसकेर मर्नेहहरू

मर्न नसकेर बाँच्नेहरूको
जीजीविषा माथि
करोडौ अन्भेषण गरी,
कोलम्बसलाई पछि पार्नु छ
आशाका भ्रुणहत्या गर्न नदेऊ
निरसजिन्दगीका तुवाँलोभित्र
फस्न नदेऊ
मेरा यी तन्नेरी आँखाहरू….
..

Leave a Reply

Your email address will not be published. Required fields are marked *