Skip to content

प्रदिप भट्टराईको ‘शौचालयमा ईश्वर’लाई नियाल्दा


‘शौचालयमा ईश्वर’ शीर्षकमा तार्किकता

नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखामा म प्रवेश गर्न लाग्दानलाग्दा त्यो संस्थाका अध्यक्ष योगप्रसाद रिजालले दुईवटा कृतिहरू मेरो हातमा थमाइ दिनु भयो । मैले ‘शौचालयमा ईश्वर’ हेर्न थाले अर्को मित्रले अर्को कृतिको शीर्षक हेर्न नपाउँदै लगि दिनु भयो । ‘शौचालयमा ईश्वर’ शीर्षकले नै मलाई सोचमा डुवायो । म कितावको आवरणमै सीमित रहेर मेरो मनमा तरङ्ग उठ्न थाले । आस्तिक र नास्तिक शब्दले मनमा अड्डा जमायो । यो शीर्षकलाई पढ्दैमा नास्तिक भन्न मिल्दैन भन्ने तरङ्ग मनमा उठयो । द्वैत र अद्वैत वादतिर पनि मेरो मन डुल्यो बास्तवमा जीवात्मा र परमात्ममा भेदभाव किन भन्ने प्रश्न मैले स्वयंमा राखे जहाँ जीवात्मा छ त्यहाँ परमात्मा पनि हुनुहुन्छ भन्ने मान्यतालाई पनि केलाएँ र जीवधारी शौचालयमा जान्छ भने त्यही जीवधारीमा विराजमान ईश्वर किन शौचालय नजानु, फेरी मनले यो पनि सोच्यो जीव र ईश्वर दुई अलग तत्वहुन्, मनमा तर्कना खेल्दा खेल्दै भक्त प्रह्लादका धारणाहरू केलाउन थाले । मनले भन्यो कितावका पाना पल्टाउनु छैन, लेखकको धारणा केलाउनु छैन, त्यसै रगमगीयर के सार हुन्छ । अनि कृतिको भित्र मेरा नजर गए । ‘भन्नै पर्ने …’ शीर्षकमा गजलकारले लेखेका छन–…‘मलाई घरकाले घरमा खोजेछन्, भेटेनछन्, म शौचालयमा थिए, शौचालय ईश्वरको घर भए पछि, मैले ईश्वरलाई त्यो घरमा खोजें भेटिन, सोचे म जस्तै ईश्वर पनि ईश्वरको खोजीमा शौचालय गए होलान् ।’

बास्तवमा ईश्वर भन्नु नै एउटा अनुभूति हो । श्रीमद्भागवतमा प्रह्लादले असुर बालकहरुलाई सम्झाउने क्रममा भनेका छन् –‘ साँचो कुरा त के हो भने उहाँ (ईश्व्र)मा एउटा पनि विकल्प छैन । उहाँ केवल अनुभवस्वरूप, आनन्दस्वरुप एक मात्रै परमेश्वर हुनुहुन्छ । गुणमयी सृष्टि गर्ने मायाद्वारा उहाँको ऐश्वर्य लुकेको छ । यसबाट निवृत्त हुनेवित्तिकै, उहाँको दर्शन पाइन्छ ।’ (श्रीमद्भागवत छैटौं अध्याय पृष्ठ४०२) यस सत्यलाई मनन् गर्ने हो भने सजिलेरी भन्न सकिन्छ कि ईश्वरको दर्शनको खोजीमा न त शौचालय जानु पर्छ न त मठ मन्दिर नै । हामीले ईश्वर प्राप्तिको लागि उपरोक्त भक्त प्रह्लादका भावनालाई केलाउँदै हामीभित्रैबाट गुणमयी सृष्टि गर्ने मायाद्वारा उहाँको ऐश्वर्य लुकेको स्वरूपलाई आलोकनीय गराउन सकियो भने अवश्य पनि ईश्वरीय तत्त्वलाई सहजै बुझ्न सकिन्छ र ईश्वरीय अनुभूति हुन जान्छ ।

गजलकारले यस शिर्षकले सुरुमा आफ्नो निद उडाएको र धार्मिक संस्कारको विरुद्धको शीर्षकले आफुलाई नै आफू विरुद्ध उभ्याएको कुरा पनि उठाउनु भएको छ । आत्मीय मित्र अच्युत घिमिरेले फेसबुकमा पेष्ट गरेको र शीर्षकको पक्ष विपक्षमा वहस पनि चलेको साथै वैकल्पिक शीर्षको खोजी पनि गरिएको ‘तर विषयको स्पष्ट केन्द्रीकरणले शौचालयमा ईश्वर सिवाय अरु शीर्षकहरूलाई केन्द्रीकृत हुन दिएन’ भन्ने धारणा पनि गजलकारले उठाउनु भएको छ ।

शौचालयमा ईश्वर नामाकरणको उद्देश्य– गजलकारले गजलसङ्ग्रहको शीर्षक ‘शौचालयमा ईश्वर’ राख्नुको उद्देश्य उहाँकै शब्दमा अध्ययन गरौं – ‘शौचालयमा ईश्वर ईश्वरका विरुद्ध नभएर ईश्वरलाई मन्दिरमा मात्र राख्ने बिरुद्धमा हो । यो धर्म सुधारतिरको एक झिल्का सङ्केत पनि हो र शौचालयलाई धार्मिक स्थलभन्दा, दुर्गन्धित ठान्ने मगज विरुद्ध पनि हो । यसका साथसाथै हाम्रा धार्मिक स्थलहरू शौचालय भन्दा पनि दुर्गन्धित रहने यथार्थ माथि एक चोटिलो प्रहार पनि हो् शौचालयमा ईश्वर । समग्रमा शौचालयमा ईश्वर सोचमा ईश्वर हो र यो मेरो नितान्त व्यक्तिगत सोचाइ पनि हो’ ।

मानिस जन्मने वित्तिकै बन्धनमा पर्छ (नाभीमा जोडिएको भाग काटेर बाधिन्छ) । हामीले मान्दै आएका सोह्र संस्कारमा (जो गर्भधारण गर्ने समयदेखि लिएर अन्तिम संस्कार गर्ने वेलासम्म) मानिस धेरै पटक बाधिन्छ तर पनि यसलाई समाजले, धर्मले र परम्पराले स्वीकारेको छ । यसलाई बन्धन नमानी मनिसले आफूले आफ्नो धार्मिक परम्परालाई स्वीकारेको ठान्दछ र आफू स्वतन्त्र भएको अनुभव गर्छ । प्रदिपजीका यी माथी राखिएका धारणामा समाजिक परम्पराले मान्दै आएको र ्धार्मिक मान्यताको आधारमा सकरात्मक र नकरात्मक पक्षमा लामो वहस गर्न सकिन्छ । एउटा शिक्षित व्यक्तिको शौचालय भान्सा कोठा भन्दा पनि सफा हुन्छ । थाल र कोपरा दुबै भाँडा हुन् । घर मन्दिर र शौचालय एउटै घरभित्र पनि सजिएको हुन्छ तर समाज र धर्मले तिनीहरूको प्रयोगको आधारमा मान्यता दिएको हुन्छ । यस्ता चिजको यथा स्थानमा प्रयोग गर्दा नै स्वभनीय हुन्छ ।

ईश्वर शौचालयमा हुँदैनन् भन्न पनि सकिदैनन् किनकी प्रदिपजीले भक्त प्रह्लादको उदाहरण दिदै भन्नु भएको छ – ‘भक्त प्रह्लादका ईश्वर जताततै छन् । आज शौचालयमा मैले देखि रहेको ईश्वरभित्र मलाई प्रह्लाद जत्ति नै भक्ति छ । संसारले मान्नै पर्छ भनेर मैले जिद्दी लिन्न तर मैले देखेको सत्यबाट पनि म पछि हट्दिन । अन्त्यमा , मन्दिरमा ईश्वर पुज्दा मलाई आपत्ति नभएझैं, मैले शौचालयमा ईश्वर पुज्दा कसैलाई आपत्ति होला भन्ने मैले ठानेको छैन ’। यी माथिका बाक्याम्सलाई अध्ययन गर्दा पुनः म श्रीमद्भागवतमा प्रह्लादको भनाइमा लाग्छु । प्रह्लादले भनेका छन् –‘भगवान समस्त प्राणीहरूका आत्मा र सर्बत्र सबैको सत्ताको रूपमा स्वयंसिद्ध बस्तु हुनुुहुन्छ । ब्रह्मादेखि लिएर भुसुनासम्म ठूल साना सबै प्राणीहरूमा, पञ्चभूतबाट बनेका बस्तुहरुमा पञ्चभूतहरूमा सूक्ष्म तन्मात्राहरूमा महत्तत्वमा, तीन गुणहरूमा, गुणहरूको साम्यावस्था प्रकृतिमा एउटै अविनाशी परमात्मा विराजमान हुनुहुन्छ । उहाँ नै सौन्दर्य, माधुर्य र ऐश्वर्यको खानी हुनुहुन्छ’ (श्रीमद्भागवत, पृष्ठ ४०२) । प्रदिपजी ईश्वरको उपस्थिति यत्रतत्र सर्बत्र भन्नेमा कुनै शङ्का भएन । तपाइँले आज शौचालयमा मैले देखि रहेको ईश्वरभित्र मलाई प्रह्लाद जत्ति नै भक्ति छ पनि भन्नु भएकोमा भागवतमा भनिएको छ भक्तिको स्वरूप हो सदासर्वदा सर्बत्र सब बस्तुमा भगवानको दर्शन गर्नु । तपाइँको धारणामा म यहाँ भन्दा अघि बढ्न चाहान्छ । अब तपाईका अरु धारणमा पनि मलाई के लाग्छ भने मानिस स्वयम् विवेकशील प्राणी हो । विवेकशीलताको प्रयोग गर्दा मानिसले अर्काको विवेकलाई ठेस् नलाग्ने गरेर प्रयोग गर्ने अठोट गर्नै पर्छ जो तपाइँले गर्नु भएको छ । यो तपाइँको माहन्ता हो ।

ईश्वरको नाम राखेर रचेका शेरहरू

यो गजलसङ्ग्रहका हरेक शेरहरूले मानव मन मस्तिष्कलाई छुन्छ । प्रश्नबाची बनाउँछ । कतिपय शेरहरूले धार्मिक, सामाजिक मान्यतालाई हाँक दिएर प्रमाणीकरण पेश नगरे मान्य नहुने धारणा पनि पोखेको छ । समय गतिशील छ । के तेत्रा युगको परिवेश, समाजको संरचना, सभ्यता, संस्कृति, विकास कर्म, सबै आजको कलियुगसँग मेल खान्छ ? हिजो विश्वकर्माले निर्माण गरिएका विविध तिर वाँणहरुमा जुन करामत थियो आजको यो विध्वंसकारी अस्त्रशस्त्रसँग तुलना गर्न मिल्छ ? के रामलाई मान्न सीतालाई फर्काएर नै ल्याउनु पर्छ ? हनुमानलाई मान्न लङ्का नै भत्काउनु पर्छ ? आज विश्वमा हेर्नु होस् त एउटा लङ्का हैन विश्वमा कति हो कति स्थलहरू ध्वङ्स भएका छन् । घरघरमा महायत्र लगाएर बचाएको हिन्दुत्व हिन्दुधर्मको महानता होइन र ? हिन्दुहरूले गीता पढे र ईसाइले बाइबल पढे झै शिख र बुद्धिष्ठहरुले आफ्नो धार्मिक दर्शन छाडेर कुरान किन पढने ? हाम्रा धर्म ग्रन्थमा ‘ विज्ञान सहितको ज्ञान विशुद्ध भागवत धर्म हो’ भनिएको छ । प्रदिपजी तपाइँको पहिलो गजलमा एतिहासिक यथार्थतालाई आजको यथार्थतासँग तुलना गर्दै परिवर्तित सँदर्भलाई उठान गर।ेको मैले ठाने । यो तपाइँको भावनाको पोखाइ र मेरो बुझाई मेल नखान पनि सक्छ तर पनि तपाइँले रचेका यी गजलका शेरले आफ्नो धारणाको अठोटता प्रष्टयाउन खोजेको छ । अव म तपाईले ईश्वरको नाम लिएर रचेका सबै गजलका शेरहरूलाई यहाँ प्रस्तुत गर्ने अनुमति चाहान्छु –

अब त मन्दिरमा हैन शौचालयमा ईश्वर राख्नुपर्छ सबैले
मन्दिरमा निमुखा राख, शौचालयमा भगवान अनि म मान्छु
(गजल १, पृष्ठ १)

यसकारण आविर, फूल र ध्वजा चढाएँ
यो पत्थरलाई मैले भगवान बनाउनु छ
(गजल ३पृष्ठ ३)

शौचालयमा ईश्वर, स्वचमा इश्वर हो
यो सोचले मैले शौचालय सजाउनु छ
(गजल ३पृष्ठ ३)

यसकारण शौचालयमा ईश्वर खोजी रहेछु ।
सबैलाई ईश्वर मन्दिरमा हुने भ्रम हुन्छ
(गजल ५पृष्ठ ५)

मान्छे ढोगी, ढुङ्गा ढोगी फरक मात्र छुट्यायौ भने
भन्ने छौ तिम्रो स्वयं ईश्वर साँच्चै छैन धरोधर्म
(गजल ५पृष्ठ ५)

फूल जस्तो बने मान्छे बरु देउता बन्न सक्छ
फूल चढाएर ढुङ्गा कहिल्यै देऊता हुँदैन, धरोधर्म
(गजल ५पृष्ठ ५)

अचम्म मान्छे र ईश्वरमा एउटा फरक अचम्मको छ
ईश्वर सोच्दैन मान्छेको बारे, मात्र ईश्वर सोच्छ मान्छे
(गजल २० पृष्ठ २०)

मन्दिरलाई आखिर घर बनाएपछि
शौचालयलाई मैले मन्दिर बनाएपछि
(गजल ३५ पृष्ठ ३५)

यो भगवानलाई बनाउने र बचाउने यही मान्छ हो
यही मान्छेलाई बनाउन बरु कहिल्यै भगवान आउँदैन
(गजल ३६ पृष्ठ ३६)

ढुङ्गा कैले देउता हुन्न विश्वास छैन मलाई भन्थी
बसैसँग एउटा देउता साक्षी बनाइ पठाइछ रे
(गजल ३७ पृष्ठ ३७)

भगवानलाई र विज्ञानलाई समेत सधैं चुनौती दिंदै
आकाशका तारा झार्छु भनेर तिमी कहिलेसम्म हिड्छौ
(गजल ३८ पृष्ठ ३८)

मान्छेको पनि प्रकानर हुन्छ भन्यो
ईश्वरको पनि आकार हुन्छ भन्यो
(गजल ४६ पृष्ठ ४६)

मलाई एउटा अनौठो चलचित्र बनाउने मन छ
मन्दिर र शौचालय घरभित्र बनाउने मन छ
(गजल ४८ पृष्ठ ४८)

त्यो युगमा रामकी सिता पवित्र थिई पवित्र भई
यो युगमा कृष्णलाई पवित्र बनाउने मन छ
(गजल ४८ पृष्ठ ४८)

आफूलाई बेच्न सक्दैन, आस्था बेच्छ
ऊ सधैं ईश्वरलाई बेच्छ र पण्डित बन्छ
(गजल ४९ पृष्ठ ४९)

मैले सौचालयमा ईश्वर भेटें वा राखें
यो मेरो विश्वास पनि र अधिकार पनि
(गजल ५० पृष्ठ ५०)

विश्वासको पनि कुनै मूर्ति र आकार हुन्छ र
अचम्म छ ! यहाँ ईश्वरको पनि स्वरूप हुन्छ
(गजल ५१ पृष्ठ ५१)

माथीका शेरहरूलाई केलाउँदा कतै हामीले ईश्वर सोचमा हो र यसै बमोजीम शौचालय सजाउनु पर्दछ भनिएको पाउँछौं । ईश्वर मन्दिरमा मात्र सीमित छ भन्ने भ्रम फाल्नु पर्छ भन्ने धारणा, एकातिर ढुङ्गालाई भगवान बनाउने सोच देखिन्छ भने अर्कोतिर, ढुङ्गा कहिल्यै भगवान हुँदैन भनिएको छ , ईश्वर साच्चि छैन पनि भनिएको छ, मन्दिरलाई घर बनाउने र शौचालयलाई मन्दिर बनाउने धारणा, भगवानलाई भगवान बनाउने र बचाउने यही मान्छे हो तर मान्छे बचाउन भगवान कहिल्यै आउँदैन पनि भनिएको छ । कतै ईश्वरको पनि आकार हुन्छ भनिएको छ । कहीं ईश्वरको पनि स्वरूप हुन्छ र भनि प्रश्न राखिएको छ । यी माथीका शेरहरूलाई सकरात्म र नकरात्मका दुबै पक्षबाट विश्लेषण गर्न सकिन्छ । यी धारणाहरू आजमात्र राखिएका पनि हैनन् । सन्त कविरदासले पनि मान्छेले ढुङ्गा पुजेर के पाउन्छ जाँतो पूजेमा जाँतोले पिसेको त खान पाइन्छ भन्नु भएको छ । यस विषयमा म धेरै अघि बढ्न चाहन्न र पाठक बर्गबाटै यसको मूल्याङ्कन गरिने छ भन्ने ठान्दछु ।

गजलसङ्ग्रह र प्रणय राग

गजललाई सिङ्गारसँग गाँसिएको हुन्छ । यहाँ पनि हामीले प्रेमका सिवषयमा विविधता पाउँछौंं । गजलकारले सुन्दर शैलीमा, भावनात्मक धारणालाई पस्कदै, प्रेम एउटा नशा हो, यो नशामा मानिस डुबेपछि ऊ मान्छेको मानवीय अवस्थामा नरहन पनि सक्छ भन्नुहुन्छ –

हो तिम्रा लागि मात्र जिउनु अघि
ऊ पनि मान्छे थियो पिउनु अघि
(गजल २ पृष्ठ २)

प्रेममा रङ्गीएका एकसे एक गजल हामीले रोमाञ्चका साथ मर्यादित भावमा पस्तुत भएको पाउँछौ । प्रेममा पनि व्यपार हुन्छ । व्यपारीसँग मुटु माग्नु अघि केही लिनु अघि केही सोच्नु पर्ने हन्छ । व्यपारीले नसोची व्यपार गर्दैन गरेको भए उनी उसकी भैसक्ने थिइन् तर व्यपारीले निकै सोचेर मात्र मेटु दिएका कुरा हामी यहाँ पढ्न पाउँछौ । गजल पढ्दै जाँदा कहीं प्रेम सुरु हुन्छ, कतै प्रेम खतम, कतै मुटुसँग जोडिन्छ, कतै, तोडिन्छ, कतै मुटुमा घाउ हुन्छ, कतै घाउ निको पार्ने मलम हुन्छ , प्रेममा कसैका धारणा सिउँदोमा सिन्दुर नराखी आफ्नी बनाउने र प्रेम अजम्बरी राख्ने, प्रेममा परिवर्तनको चाहना हुँदा हुँदै पनि परिवर्तन गराउन नसक्नु , सम्झना भै रहने, विर्सने काम पनि भै रहने, प्रेमको प्रतिक्षामा सिउँदो खाली रहेसम्म जहर पिएर पनि जिउने प्रण, विदा हुनु अघि एक पटक सर्वाङ्ग हेर्ने इच्छ्या, उदेश्य विहीन प्रेम या त संयोग हो या प्रयोग हो, घृणासँग प्रेम, प्रेममा उपहार, र प्रेममा सधैं हतार जस्ता अवधारणा गजलकारले मिठोरूपमा पस्केका छन् । प्रेममा यथार्थता, सच्चाइ, वफादारिता, जुग जाने प्रेमको अवधारणा र मर्यादित प्रेम खोजीएको छ, कतै कतै व्यङ्ग कसिएको छ, समय सान्दर्भिकताले छोएको छ ।

द्वन्द्व र गजलसङ्ग्रह

देशले भोगेका द्वन्द्व, द्वन्दले पारेका असरको बारेमा पनि गजलकारले आफ्नो गजलका शेरहरुमा यथार्थ परक प्रस्तुति गर्न छोडेका छैनन् । जनताले शान्तिको निद निदाउन पाएका थिएनन् र अझै पनि छैनन् । सरकारको दायित्व जनतालाई शान्ति सुरक्षा दिनु हो तर त्यो हुन सकेको छैन । एउटा मार्मिक यथार्थता गजलकारले यहाँ प्रष्ट पार्नु भएको छ –

भित्र आमा तस्बिर हेर्दै रुन्छे
छोराको लास बाहिर द्वारमा छ
(गजल १४पृष्ठ १४)

सडकमा जाऊ जङ्गल जाऊ, मान्छे मार
तिम्रो गन्त्व्य पनि सिंहदरबार भएपछि
(गजल ३२ पृष्ठ ३२)

अभियोग लगाऊ ऊ फरार भए पछि
तिम्रो हत्यारा नै यो सरकार भए पछि
(गजल ३२ पृष्ठ ३२)

यी माथिमा शेरहरू आजको कटुसत्य हो । द्वन्द्वमा जनता दोहोरो मारमा थिए । आज पनि सहिदको सपना साकार हुन सकेको छैन । जनआन्दोलनका घाइतेको घाउमा खाटाबस्न सकेको छैन । गजलकारले यस सम्बन्धमा पनि आफूलाई राम्ररी उभ्याएका छन् । राजनीतिक अपराधिकरणलाई गजलकारले चोटिलो व्यङ्ग कस्दै परिवर्तनको लागि धेरै अभिव्यक्ति पस्केका छन् ।

राष्ट्र र राष्ट्रियता र गजलकार

पर्खालको भूमिकामा रुद्र ज्ञावलीले लैखनु भएको छ –‘राष्ट्रप्रति हृदयबाटै उत्पन्न हुनेृ हार्दिक उदगार हो , राष्ट्रियता’ । आज देशका हरेक नेपालीको हृदयबाटै राष्ट्रियताको भावना जागृत हुनु आवश्यक छ । गजलकारले राष्ट्रियताका बारेमा सर्बप्रथम देशको बारेमा आफुले सम्झिएर सबैलाई सम्झिाउनु भन्नु हुन्छ । झण्डाको सूर्य र चन्द्रमा, राष्ट्रिय धुन, राष्ट्रिय गीत, कुन प्यारो छ भनेर सोध्नु भन्दा राष्ट्र र राष्ट्रियता प्रतिका सबै चिज त्यत्तिकै प्यारा छन् भन्नुहुन्छ गजलकार । देश निमार्णमा सबै आतुरताका साथ सहभागिताको आवश्यक्ता छ । देशप्रेममा छटपटिएका गजलकारले आजको राष्ट्रिय सवालमा आफ्नो समर्पण यसरी पस्केका छन्–

‘म देशका लागि आफै बेचिन तयार छु
तिमीले आफ्ना लागि देश बेचेका छौ
(गजल ३९ पृष्ठ ३९)

गजलकारले राष्ट्र, राष्ट्रियताका बारेमा सचेत र सगज हुन र समर्पित भएर लाग्न आग्रह गरेका छन् ।

जीवनजगत र गजलकार

गजलकारले जीवनजगतको अवधारणा पनि बुझेका छन् भन्ने महसुस हुन्छ । मानव जीवन क्षणिक छ, यो क्षणिक जीवनलाई उपयोग र उपभोगमा लगाउन आवश्यक ठान्दछन् गजलकार –

जिन्दगी भनेको आइसक्रिम जस्तै हो
मजा लेऊ साथी त्यो पग्लिनु अघि
(गजल २ पृष्ठ २)

जीवन ढिकीजाँतोसरि पनि चल्छ । पानी गरम किन नहोस् तर पनि आगोलाई निभाउन सक्ने क्षमता हुन्छ मानव जीवन के हो ? त्यसमा सर्ब प्रथम मान्छेले मान्छे के हो त्यसका बारेमा आफैले पढ्नु पर्दछ मान्ेछलाई मान्छेको बारेमा पढाउनु पर्दछ । जन्मदा कुनै पनि मानिस नाङ्गै आउछ तर उसले आफ्नो पहिचान आफैले गराउनु पर्छ जीवनको ओराली उकालीलाई आत्मसाथ गरेर केही गर्न सके मात्र रातको अँध्यारोलाई चिरेर विहानीको दर्शन पाउन सकिने धारणा छ गजलकारको ।

गजलले समाएको सामाजिक परिवेश

गजलका शेरहरूद्वारा समाजका हरेक कृयाकलापलाई निकै नजिक बाट हेर्ने प्रयास गरिएको छ । समता मूलक समाजलाई देख्ने चाहाना छ गजलकारको । गजलकारले जातभात, उच्च, निच समाजमा कुनै किसिमिको विभेद देख्न चाहादैनन् । गजलकारले सबैको रगत रातै देख्छन् तर मान्छे फरक कसरी भन्ने प्रश्न राख्छन् । समाजमा हामीले धेरै चिजहरू देख्न पाउँछौ । कसैलाई आफ्नै मतिले विगारेको छ भने कसैलाई बाऊको सम्पत्तिले, कोही भूतमै विग्रेको, कोही वर्तमानमा, कोही भविष्यमा विग्रने वाला छन् भने कसैलाई दुर्गतिले पनि विगारेको छैन भने कसैलाई प्रगतिले पनि विगारेको छ । सज्जनको निमार्ण गर्ने समाजले हो तर समाज सुकृतितिर नलम्के पछि, टोलले, गाउँले नै विगार्ने काम गर्छ भने समाजलाई कसरी सपार्न सकिन्छ भन्ने प्रश्न राख्छन् गजलकारले ? गजलकाारले गरिबको पेट भरिनु पर्छ, मानिसको कोखबाट जनावर जन्मनु हुँदैन, मानिसलाई अभिभाराले थिच्न हुँदैन ,यदि थिचियो भने ऊ अभिमान बेच्न वाध्य हुन्छ, सर्बहारको बिरुद्ध सर्बहाराले कति दिन नारा लगाउने , विधवालाई अपनाउन के को आपत्ति ? समाजलाई सुधार्नको लागि वेश्यालाईनै स्वीकार्न सकिने, समाजमा आदरताको, नैतिकताको खोजी, विग्रेका जतिलाई सपार्ने कर्ममा सबै लाग्नु पर्ने आदि समाज निमार्णको बाटो पछ्याएका छन् गजलकारले । एउटा गजलको शेरलाई यहाँ हेरौं–

मैले खुनको मदिरा पिएको छैन एक्लो जीवन जिएको छैन
म गरिबको गास, निमुखाको बास, कपास र नवाव हुँ म

गजलमा विविधता

यस गजलसङ्ग्रहका गजलका शेरहरू विविधताले भरिएका छन् । गजलकारले धर्मका नाम विकृति चाहदैनन् , शरीरभरी मटितेल खनाएर आगोसँग जोरी खोज्न नहुने, हक र अधिकारको खोजी, कोमल मनमा पनि हिटलरको जन्म हुन सक्ने, कठोरतामा पनि बुद्धत्व पाइने, मिहिनेतलाई भाग्यले कहिल्यै नछेक्ने , आफू दोषी भएर भाग्यलाई दोष दिंदा निर्दोष निधार पनि दोषी हुने, जूनको अधि तारा अपमानित हुने तर ताराको अधि जून कहिल्यै अपमानित नहुने, आजको महगाइको व्यङ्ग, मिहिनेतले भाग्य पनि बदल्न सकिने, विचार बदल्ने, जिउने आधार बदल्ने, उपहार बदल्ने, सरकार बदल्ने, जन्मनु अघि नै निमुसखाको निधार बदल्ने जस्ता परिवर्तनका धारणाहरू,अभावै अभावले भरिएको आजको परिवेश, आजको सहरीकरण र बाँझिदै गरेका जमिनहरू, आज देशमा राजनीति र साहित्य नसप्रनुको कारणमा नेतालाई साहित्य र अरूलाई भाषण बकबक हुनु ,कसैलाई अगुल्टाले घोच्नुपर्ने, कसैलाई अगुल्टो सवक हुनु आदि विविध शिक्षाप्रद गजलका शेरले हमीलाई घचघच्याइ रहेको छ ।

अन्त्यमा गजलसङ्ग्रहले विविधतालाई समाएको, मानवतालाई सम्झाएको, परिवर्तनलाई चाहेको , जुगजानी पिरतीलाई लगाएको, विविधखाले मार्गदर्शनलाई प्रष्टयाएको, ईश्वर सर्बव्यापी छन् भनेको, आस्तिक या नास्तिकताको दर्शन भने दुविधामा रमाएका,े सानो भए पनि बहुआयमिक ( सामाजिक, राजनीतिक, धार्मिक आदि सबै क्षेत्र समेटेको) भएको हुँदा, यो पठनीय, अनुकरणीय, यथार्थवादी गजलसङ्ग्रह भएको मैले ठानेको छु । अत गजलकारलाई मुरी मुरी धन्यवाद दिंदै विदा चाहान्छु ।

धन्यवाद !

सदानन्द अभागी
कावासोती–१, शान्तिचोक, नवलपरासी
मिति २०७१ साल वैशाख १६ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *