Skip to content


‘उज्यालो अन्धकार’ निबन्धकार कुमारी लामाद्वारा लिखित निबन्ध संग्रह हो। याम्बुरी बुक प्वाइन्टले भर्खरै बजारमा ल्याएको एक सय ३८ पृष्ठको किताब नाम सुन्दैमा ध्यानाकर्षण गर्नै खालको छ, पढुँपढुँ लाग्नेछ। दुई सय २५ रुपैयाँ मूल्य राखिएको, २५ वटा छोटामीठा निबन्धहरू संगृहीत यो लेखकको पहिलो प्रकाशित कृति हो।

वर्णनात्मक शैलीका यी निबन्धहरू एकै विषयमा केन्द्रित भएर छैनन्। कतै काव्यिकधारा प्रवाह पाइन्छ त कतै कथा पढे जस्तो लाग्दछ। युरोपका प्रसंगहरूले पाठकलाई पनि उतै कतै घुमाउँछ अनि कुनै निबन्धले आत्मवृत्तान्तको झल्कोसमेत दिन्छन्। एक अर्को निबन्धका विषयहरू अन्तरसम्बन्धित भइदिनाले औपन्यासिक झंकार पनि पाइन्छ। भोगाइ र सामयिक विषयको सामञ्जस्य प्रस्तुतिले पाठकको मन छुन्छ।

चिठीको शैलीमा लेखिएको ‘जामोइस्ककी मार्था र माटोको पर्खाइ’ निबन्ध मार्मिक छ। दोस्रो विश्वयुद्धमा जर्मनको दबदबा रहेको समयमा पोल्यान्डको दक्षिणी गाउँ जामोइस्कमा घटेको हृदयविदारक घटना र नेपालको दसवर्षे गृहयुद्धमा तत्कालीन राज्यपक्ष र विद्रोहीपक्षबाट भएका कर्तुतहरूको माझमा बसेर पर्गेलेकी छन्। उनी लेख्छिन् ‘आखिर हामी बेपत्ता भएकै छौं, बेपत्ता पारिएकै छौं। एउटा देश नै बेपत्ता हुन सक्ने संसारमा, एउटा गाउँ नै बेपत्ता हुन सक्ने मुलुकमा, एउटा मान्छे हराउनु कुन ठूलो कुरा भयो, पीडा तिम्रा, पीडा मेरो, पीडा हामीजस्ताको उस्तै हो। तिम्रा पितापुर्खाले यहुदी हुनुको रक्तपातपूर्ण इतिहास बेहोरे जस्तै हामी पनि आफ्नै दाजुभाइ दिदीबहिनीहरू बलि भएको अँध्यारो समयका साक्षी हौं। युद्धका अर्बुद्ध रोगहरू बल्झिन्छन् घरी यता घरी तिम्रोतिर। युद्धको समाप्तिपछि पनि दुवै देशको आर्थिक अवस्था सुध्रन नसकेपछि जनशक्ति विदेश पलायन हुनुको पीडालाई पनि उजागर गरिएको छ।

‘अनि हामी कठपुतली हैनौं त?’ शीर्षकको निबन्ध मन छुने खालको छ। हाम्रो जीवन र मृत्यु आफ्नो नियन्त्रणबाहिर भएको र अन्त कतैबाट सञ्चालित भएको कुरा गर्छिन्। उनका मित्र ओमरका दसवर्षे छोरो मस्कुलर डिस्ट्रोफी ज्यानै लाने रोगबाट ग्रसित रहेछन्। आफ्नो छोरोलाई क्रमश: सास फेर्न गाह्रो हँुदै जाने, हिँड्न नसकी ह्विलचेयरमा थन्कने अनि २० वर्षको छेउछाउ पुगेपछि मृत्यु हुने कुरालाई स्वीकार्न बाध्यबाबु आमा र दुवै मिर्गौलाले काम नगरी उपचार नलागेर काखको छोरो गुमाएकी फुपूको पीडा हाम्रो वशभन्दा टाढा भएको तर्क गर्छिन्। उनी लेख्छिन् ‘चाहेर कहिल्यै केही नपाइने अनि नचाहेका जति सबै आफ्नै पोल्टाभरि थुप्रिन आइपुग्ने। अनि हामी कठपुतली हैनौं त?

‘भुइँकुहिरो र कान्छी तामाङको सपना १ र २’ नारी संवेदनाले भरिएका छन्। सानैमा मातृबात्सल्य गुमाएपछि घर व्यवहार सम्हालेर विवाह नगरी बसेकी कान्छी तामाङका कष्टपूर्ण जीवनभोगाइको सिलसिलेवार चर्चा गरिएको छ। यो पढ्दा लाग्छ, जीवन संघर्षको पाटो हो। भौतिकता पनि जोडिएको छ। केम रिभरको सिरेटो, सम्झनामा स्ट्याटफोर्ड अपन एभनु आदिले नियात्राको झल्को दिन्छन्। पाठकहरू निबन्धकारसँगै घुम्न पुग्छन्। शेक्सपियरको जन्म घर घुम्दाको प्रसंगलाई बढो सुन्दर शैलीमा प्रस्तुत गरिएको छ। सोह्रौं शताब्दीको त्यो घरको संरक्षण देखेर उनी छक्क पर्छिन्। हाम्रा नेपाली साहित्यकारहरूसँग तुलना गर्छिन्। अनि हाम्रो अवस्थाप्रति खिन्न बन्छिन्। म पनि पढ्दा पढ्दै हराएछु, शेक्सपियर सुतेको कोक्रो र उनका भोटाहरूमा अल्मलिएँछु। फोटाहरूमा साक्षात् उभिएका शेक्सपियरसँग डेस्डिमोना र ओथेलोका बारेमा बात मार्न पो थालेछु।

उज्यालो अन्धकार शीर्ष निबन्ध सान्दर्भिक छ। उनी अँध्यारोलाई पनि सकारात्मक तरिकाले हेर्छिन्, सम्भावनाहरू खोज्छिन्। प्रत्येक रात उज्यालोलाई स्वागत गर्न लम्किएको देख्छिन्। अन्धकार आफैंमा सुन्दर हुने र मायाबी हुने उनको तर्क छ। निबन्धकारका यिनै विचारहरूलाई समर्थन गर्दै किताबको अग्रभागमा गीता खत्री लेख्छिन् ‘उज्यालो र अन्धकारको मध्यरेखामा उभिएर दुवैतिर बराबर दृष्टि दिएका निबन्धहरू जीवनदर्शनप्रति गम्भीर हुने पाठकका लागि हुन्।’ निबन्धहरूमा रचनात्मक, विचारात्मक, भावात्मक, काव्यात्मक अनि औपन्यासिक अभिव्यञ्जना पाइन्छ। कतै पूर्वीय साहित्य र दर्शनको प्रभाव त कतै पश्‍चिमा दर्शनको रङ भेटिन्छ। जीवन र जगत्को सम्बन्ध अनि अवश्यम्भावी मृत्युका कुरा, भोगाइ र अनुभूतिबाट मथिएका कुरा, नारी संवेदना अनि मानवीय पक्षहरू विशेषताभित्र पर्दछन्। तुलनात्मक प्रस्तुति, विम्ब र प्रतीकको सम्मिलन यहाँ पाइन्छ।

किताबको भाषा सरल छ। निबन्धकारको आफ्नै समाज र समुदायमा बोलिने भाषासमेतको प्रभावले प्रस्तुतिमा एकरूपता छैन। मात्राहरूमा तल माथि भएको कतैकतै भेटिन्छ भने नाम र क्रियापदको बीचमा तालमेल देखिँदैन। निबन्धहरू धेरै नै आत्मपरक भएका छन्। आफ्नो विचार, दर्शन प्रस्तुत गर्ने कुरामा उनी धेरै ठाउँमा अस्पष्ट छिन्, लट्याङपट्याङ गरेर छाडिएको छ। यसले पाठकलाई के पढ्दैछु भन्ने कुरामा अलमल सिर्जना गर्दछ, बीचैमा छाडेर हिँड्न बेर लाउँदैनन्। प्राय: निबन्धैपिच्छे प्रयोग गरिएका अन्य स्रष्टाका टुक्राटुक्रीहरू भने सान्दर्भिक छन्, सुवासना र स्वाद थपेका छन्। कुमारी लामाको लेख्ने शैली आफ्नै खाल्को छ, सम्भावना बोकेको छ।

मिति : २०७१ जेठ, ३१ शनिबार

3 thoughts on “उज्यालो सम्भावना”

  1. यो अाधुनिक कथा भयो र ? यसलाइ
    यो अाधुनिक कथा भयो र ? यसलाइ त पुस्तक समीक्षा तथा निबन्ध तिर राख्न पाएको भए कस्तो हुन्थ्यो ?

  2. एकदेवजीले भनेजस्तै याे कथा
    एकदेवजीले भनेजस्तै याे कथा हुँदै होइन । यसलाइ समीरबाबु भाइले पुस्तक समीक्षा शीर्षकमा पोस्ट गर्नु पर्नेमा यता पारेको हुनु पर्ने हो । उहाँ सचेत हुनुहुँदाे रहेछ भने यसकाे कारण जनाउ गर्नु हुनेछ । नत्र ता

  3. गल्ती अौंल्याइदिनुभएकोमा
    गल्तीले “मिस्टेक” भएछ 🙂 सच्याएको छु । गल्ती अौंल्याइदिनुभएकोमा धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *