Skip to content

आषाढस्य प्रथम दिवसे


वेलै नआई किन गर्मी आयो वैशाखभित्र्रै किन जेठ आयो ।
वैशाखको अन्त हुनै नपाई नकच्चरो जेठ घुसेर आयो ।।

वसन्त लाग्यो जब अन्त अन्त उस्कै थियो राज्य यहाँ अनन्त
गर्मीसँगै यस्तरी जेठ आयो मानौ यहाँ जिन्दगी नै हरायो ।

उराठ लाग्दो पृथिवी भएछ अँगेटी झैं जेठ हुँदो रहेछ
चिसो सबे माथितिरै गएछ यो जेठ मानौं ननिको रहेछ ।

यो जेठको गर्मी प्रचण्ड कस्तो पगाल्छ यो जिन्दगी भन्नु जस्तो
मान्छे बबुराहरुलाई यस्ले नौनी पगाल्दैछ कि भन्नु जस्तो ।

लामो थियो गर्मी कतै हरायो त्यो गर्मीले यो शरीरै सुकायो
कसै गरी पर्खनु थ्यो परेको पर्खेपछिको शुभ याम आयो ।।

त्यो गर्मीले ज्यान सबै सुकायो आषाढ लागेपछि मेघ आयो
गथ्र्याे कडा भक्त कुनै तपस्या मानौ तपस्यापछि भोग पायो ।

ओर्लेछ त्यो बादल माथिबाट गर्मी मुलेको अब छैन छाँट
पर्दैन धन्दा अब मान्नु भन्ने सन्देश आएछ कि स्वर्गबाट ।।

हिमालमा मात्र कती बसूँ म खरानी मात्रै कति दिन् घसूँ म
यो सोची गर्देछ बढाइँ हर्क ओल्र्याे कि त्यो मेघ तराई तर्फ ।।
हावा चल्यो शीलत मन्द मन्द फैलिएरहेको छ मिठो सुगन्ध
आषाढको एक गते हुँदैछ सन्देश यो मेघ पठाउँदैछ ।।

लौ मेघ आयो अब पानी आयो खोल्सा रसायो खहरे सुसायो
लामो प्रतीक्षा पछि प्रेमिकाको मानौ कुनै प्रेमी दुरुस्त आयो ।।

मुना पलाए पृथिवी रसायो माटो भिजेको छ सुवास आयो
कहाँ थिए ती कसरी उदाए रमाउँदै मन्डुक टर्टराए ।।

वर्षादको यो ऋतुराज आयो सुकिसकेको खहरे सुसायो
लामो प्रतीक्षातुर भ्यागुताको फर्केर फेरि मधुमास आयो ।।

पहाडको खाेंच र भेग भेग फैलेर आयो घनघोर मेघ
असारमा पर्दछ पानी यस्तो त्यै पानीले दिन्छ कि ज्यान जस्तो ।।

असारमा पर्दछ पानी पानी त्यै पानीले दिन्छ कि जिन्दगानी
डराउने काम नगर्नु होला बिधानको हुन्छ अनन्त खेला ।।

छन्दमा कतै गल्ती भए खकुरेलजीले मात्र सही कुरा पत्ता लगाउनु हुन्छ । अनि मलाई आशा छ उहाँले यसमा पक्कै पनि टिप्पणी गर्नुहुनेछ ।

First published : 2014-06-10 20:33:25 +0545

5 thoughts on “आषाढस्य प्रथम दिवसे”

  1. इन्द्रमणि

    यस्तै कविता लेख्छु भन्ने
    यस्तै कविता लेख्छु भन्ने ठान्यो अनि कम्प्युटरको अगाडी बसेपछि दिमागले काम नै गर्दैन……

    1. के यस्तो कविता तपाइँलाइ मन
      के यस्तो कविता तपाइँलाइ मन पर्छ र ।

  2. यस्ता कविता ता एकै पटक कहाँ
    यस्ता कविता ता एकै पटक कहाँ लेखिन्छन् र मित्र । परिष्कार गरेर पो तयार गरिन्छन् त ।

  3. इन्द्रमणिजी, कम्प्टुरअगाडि
    इन्द्रमणिजी, कम्प्टुरअगाडि बसेर लेख्न सुरु गर्ने हैन, दिमागमा सोचिभ्याएर लेख्न जाने हो । कम्प्युटरले त ध्यान तान्छ, लेख्नै सकिन्न हो ! 🙂

  4. my view
    कालिदासको मेघदूत गुगलमा खोज्दा यो कविता पो भेटियो । यस्तो झुक्याउने शीर्षक किन राख्नु भो । कालिदास र देवकोटालाई त छोड्नु न हौ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *