पण्डित कृष्णका नाति, बाउ तिम्रा धनञ्जय
रम्घाको त्यो ठुलो गाऊँ, चुदी बेंशी छ सुन्दर l १
शिक्षित कुलमा जन्म्यौ, पढ्यौ बाजे सँगै बसी
घाँसीको प्रेरणा पाई, नाम राख्ने कुरा सिकी l २
तिमी भक्त थियौ भानु ! नेपाली मात्रको त्यहाँ
सारा नेपालको निम्ती, लाग्यौ भाषा प्रचारमा l ३
लेख्यौ नेपालकै भाषा, दियौ सारा समाजमा
बोल्दैछन् राष्ट्रको बोली, नेपाली बस्तछन् जहाँ l ४
चुँदी बेंशी रमाउँदै, रम्घाको ग्रममा तिमी
घाँसीको साथमा डुल्दै, बटुल्दै प्रेरणा त्यहीँ l ५
अर्ती दिन्थ्यो अहो ! घाँसी, थियो है गुरु देशको
पायौँ भाषा यही राम्रो, कृपाले भानुभक्तको l ६
राज्यका चुसुवा सारा, कर्मचारी सबै चिनी
रातमा उपियाँ गन्थ्यौ, झेलखाना बसी तिमी l ७
बिन्तीपत्र दियौ लेखी, बिचारी र डिठा कन
तिनैले मानको साटो, भुक्तमान दिए किन ? ८
लागेछौ देशको निम्ती, भाषा लेखी बुझाउन
नेपाली मात्रको लागि, रामायण सुनाउन l ९
भक्तमाला दियौ लेखी, कविता छन् अझै कति
लाग्यौ नेपालको निम्ती, नाम राख्न सधैँ तिमी l १०
पूर्व पश्चिम् सबै जाड्यौ, भाषाले यो स्वदेशमा
एकिकरण् भयो बोली, नेपाली यो समाजमा l ११
धन्य छौ है ! तिमी भानु !! यो देशका सुपुत्र हौ,
बिभुती राष्ट्रका प्यारा, चिरञ्जिबी बनिदियौ l १२
अनुष्टुप छन्द
२०७१ ।०२ ।२०
इटहरी —५
पचरुखी, सुनसरी
सूचना
यो कविता आदिकवि भानुभक्त आचार्यको २०० औँ जन्मजयन्तीको लागि लेखेको हुँ l
छन्द कविताहरू बढ्न थाले ।
छन्द कविताहरू बढ्न थाले । धेरै खुसीको कुरा हो ।
अँ मलाई पनि खुसी लागेको छ ।
अँ मलाई पनि खुसी लागेको छ । कवितामा यता छन्दको पुनरागमन हुन खाेजिरहेको छ ।