Skip to content

झर्यो आँसु सम्झेँ


झर्यो आँसु सम्झेँ, पखेरा पखेरी
उतै डुल्छ आँखा, लगाएर फेरी

सधैँ देश देखेँ, यहाँ स्वप्न देख्दा
मनै भित्र नाच्यो, पियारो मझेरी

विरानो छ हावा, भयौँ वाल्ल ट्वाल्ल
छुट्यो पास आफ्ना, बचेरा बचेरी

डस्यो शून्यताले, कतै छैन आभा
झनै निल्न खोज्दै, छ कालो अँधेरी

दिए चोट मात्रै, मिठा कल्पनाले
सुक्यो भावना नै, परे झैं खडेरी

सुनेनन् पुकारा, दिए कष्ट धेरै
अहो ! यी विधाता, रहेछन् अटेरी

भयो छिन्न भिन्नै, कथा जिन्दगीको
गुम्यो साख सारा, हरायो मितेरी

(भुजङ्गप्रयात छन्द )
कोमल भट्ट
पुरानो नैकाप, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

2 thoughts on “झर्यो आँसु सम्झेँ”

  1. भट्टजी तपाइँको कविता ता निकै
    भट्टजी तपाइँको कविता ता निकै गहकिलो पो पाएँ । यसरी छन्दमा निकै मेहनत गरेर कविता लेख्ने मान्छेमा तपाइँ पनि एक हुनुहुँदाे रहेछ । खुसी लाग्यो । अनि अब उतै खैरेकै मुलुकमा बस्ने हो कि यता हाम्रो मुलुकमा पनि अाउने हो त । चिनाजानी भएदेखि रमेश खकुरेलजी पनि त्यतै हुनु हुन्छ । उहाँ पनि छन्दमा कविता लेख्नमा माहिर नै हुनुहुन्छ । अनि मेरा कविता पनि कहिलेकाही‌ पढ्नुहुन्छ ?

  2. हजुर ! यो सद्भावनापूर्ण
    हजुर ! यो सद्भावनापूर्ण प्रतिक्रियाको लागि हार्दिक धन्यवाद !
    आदरणीय रमेश खकुरेल सर सँग फेसबुकको मित्रता चाँहि छ अरू चिनजान छैन तर वहाँका रचनाहरू भेटेसम्म पढ्ने गरेको छु l
    कुइरेको देशमा केही समय मात्रै हो, आफ्नै देश फर्कन्छु l

    “अपि स्वर्णमयी लंका न मे लक्ष्मण रोचते .
    जननी जन्मभूमिः च स्वर्गात् अपि गरीयसी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *