Skip to content


सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साझ र बिहान

बिहानपख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा

काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली

छुपु र छुपु हिलोमा धान रोपेर छोडौंला
बनाई कुलो लगाई पानी आएर गोडौंला

भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?

गालामा साना पसिना दाना मोती झैं खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी

सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा

सूनौला बाला झुलेर होला भूईंलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?

हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।

7 thoughts on “किसानको रहर”

  1. यो कविताका रचनाकारको नाम
    यो कविताका रचनाकारको नाम कसैलाई थाहा भएमा बताइदिनुभए आभारी हुने थिएँ । दैबज्ञराज न्यौपाने, रामकुमार पाँडे, आदि मध्येका हुन कि जस्तो लाग्छ ।

  2. इन्द्रमणि

    मलाई त लाग्छ
    मलाई त लाग्छ यो कविताका सिर्जनाकार लक्ष्मी प्रसाद देवकोटा हुन् कि……. झ्याउरे छन्दमा लेखिएको यो कविता नेपाली पुस्तक कक्षा ५ को महेन्द्रमाला बाट लिएको हो कि…….

  3. महाकविकै हुन पनि सक्छ, तर
    महाकविकै हुन पनि सक्छ, तर त्यसो हो भनेर किटेको कतै पनि भेटेको छैन । भेटियो भने खबर गर्नुहोला ।

  4. एकदेवजी उसो भए दैवज्ञराजकै
    एकदेवजी उसो भए दैवज्ञराजकै हुनुपर्छ । उनको शब्द भाव लय अादि चयन र घिमिरेको लगभग एकै खालेको हुने गरेको थियो ।

  5. हो रहेछ, विशेष सुत्रअनुसार
    हो रहेछ, विशेष सुत्रअनुसार पनि थाहा भो 🙂 लेखकको नाम सच्याएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *