Skip to content

आफ्नै बिरोधी भए


पैले जो अघिको धरातल; कहाँ ? टेक्तै थियौ बिर्सियौ ?
एक्कासी किन हो पसेर वनमा, नृसिंह झैं गर्जियौ,
मान्छे क्वै कुटिए र काटी गिँडिए, तिम्रो थियो चाल त्यो
लुक्तै हिड्द थियौ; सधैं वनवनै, बेहाल यस्तै थियो

भागी स्याल कतै गएर वनमा, त्यो सिंह भै फर्कियो
आफ्नो सम्पति नै थिएन घरमा, थुप्रै कमाई लियो
आयो जोस अझै चुनाव लडने, भन्दै अझै गर्जियो
धम्की औ डर त्रासले समयको नाफा सबै नै लियो

मागी भोट कतै कुटेर र कतै, गै राज्य संचालन
पैलेका अपराध दण्डहिन भै माफी गरायो झन
पार्दै देश उजाड भ्रष्टहरुको, गर्दै सदा रक्षण
खाल्डो भो अब देश पुर्न कसले, सक्ला नि उक्लिकन

ब्वाँसाको बटुली जमात उसका, दर्बार भित्रै छिरे
जस्तै बाँदरले बिगार नगरी, छोड्दैन कस्तै भरे
टाढाबाट कराउँदै कुकुरले, भुक्तै गरे ता पनि
ऐले नै किन यो दियौ सुजन हो, धिक्कार तिम्रो पनि

मेरै सम्पति हो भनेर तिनले, जम्मै झिकेछन् अरे
सिंहैको मुखमा छ मिर्ग; उसको, रक्षा कहाँ हुन्छ रे
तर्दै नेत्र ठुला ठुला नजरले, ती खाउँला झैं गरी
भन्दाछन् अब हेर्नु पर्छ सबले, खान्छौं सधैं मोज गरी

तिन्को सम्पति हो कि देश जनता, साझा यो नेपाल हो
आमाको नत बाउको कि कसको बिर्ता न हो दाइजो
धोती एकधरो थिएन हरमा, भोटो कछाडी लुगा ।
पैरेको परिधान हेर कसरी, बिर्सेर बस्छौ उता

तिम्रो आँट अहो ! धनाढ्य कसको छोरो भई जन्मियौ ?
गाऊँबाट उठी पसेर दरबार, आफ्नै बनाई लियौ
कत्रो आँट हरे ! बिशाल घरमा बस्ने थियो सोख रे
गुल्टिन्छौ कि कतै बिचार गर हे, आफ्नै बिरोधी भए

छन्द :- शर्दुलबिक्रीड़ित
गण :- म स ज स त त गु

Leave a Reply

Your email address will not be published. Required fields are marked *