पार्टीका तल्लो तहका नेताहरुले जनसमुदाय माझ भाषण गर्ने अवसर नपाए पनि रहर भने औधी लाग्दो रहेछ । त्यस्तै कुनै पार्टीका एक साना नेतालाई पनि भाषण गर्ने तलतल लागेछ ।
दिनको उज्यालोमा त उनलाई आँट थिएन । साँझपख रक्सी टन्न पिएर एकलै सडकमा लरवरिएर हिडदै भाषण गर्दै थिए । अलि पर एउटा ठाउँमा फोहरको डङगुर, पहाड जतिकै अग्लो थियो । टाढाबाट आएको बत्तीको उज्यालो त्यसमा पर्दा विभिन्न मानव आकृतिको छाया जस्तो देखिन्थ्यो ।
ती नेता टक्क अडिए, हो न हो ती आकृति मानव समुदायको हो भन्ने भ्रममा परे कि ? आफू जनसमुदायमाझ भएको महसुस पो गरे कि ! हौसिदै जोड जोडले हात हल्लाई हल्लाई भाषण गर्न थाले ।
वरपरका कुकुरहरूले खै के बुझे कुन्नी जम्मा भएका ती सबैले उनलाई टुलुटुलु हेर्दै थिए ।
सुशीला देउजा
पुनर्जागरण २०६४ चैत्र १९