साधारण किसानको घरमा उसले जन्म लियो । उसले मात्र होईन धेरैले जन्म लिए! अरु ता सब मिहिनती थिए, ऊ भनें अल्छी । गफ ठुला-ठुला जोत्दथ्यो, काम-माटोको यौटा ठेला समेत उठाउने चेष्टा उसले कहिले गरेन । बिस्तारै समयले उसलाई ठुलो बनाउदैं लग्यो । उसका हत्केलाहरु ठुला भए, उदर ठुलो भयो, ललाट ठुलो भयो, शरीरका सबै अङ्ग ठुला भए, सिवाय मगज । उसको मगज सानोको सानो नै रह्यो । बुवा-आमा दिनभरी कुटो-कुदाली गरेर आउँछन्, ऊ भने वनतिर डुल्छ, आवाराहरुसँग गुच्चा खेल्छ, तरुणीहरुलाई जिस्क्याउँछ, बुवाको गोजीबाट दुई-चार पैसा चोरेर चुरुट पिउँछ, बेला-बेला घर्तिनी दिदीकहाँ गएर जाँड्-रक्सी पनि पिउँछ । समाजमा घुलमेल बढाउँदै जाँदा उसले जुवा खेल्न पनि सिक्यो, मुझराहरुमा मन बहलाउने तवरहरु पनि सिक्यो ।
एक दिवस उसलाई बुवाले हपार्नु भयो, “अझै पनि सुङुर बुद्धी लिएर डुलिरहेछस । यत्रो भयीस्! अब के गोरुझै जुरो पलाउने प्रतिक्षामा बसेको छस तँ ? निकम्मालाई म बर्दाश्त गर्न सक्तिन । चार माना खान्छस, चार पैसाको काम गर्दैनस । लाज लाग्छ कि लाग्दैन हँ ?”
बुवाका यस्ता तिक्त लवजहरु सुनेर उसको पनि पारा तात्यो,”ए बुडो! के ठान्यौ तिमीले मलाई ? तिमीले पालेको छौ जस्तो ठान्या छौ मलाई ? भयो! बढी धाक नदेखाऊ । मेरो बुद्धी छैन भन्छौ, देखाउँछु म ।”
“के देखाउँछस हँ ? ल देखा ।”, बुवाले उसलाई धकेल्दै भन्नुभयो ।
“म तिम्रो घर छाडेर जान्छु । खुब रवाफ देखायौ तिमीले मलाई ।”
उसले केही लुगा-लत्ता बोकेर घर छाड्ने बिचार गर्यो ।
“यी लुगा-लत्ता मेरा हुन्”, बुवाले घुर्की दिनुभयो,”हिम्मत छ भनें यिनलाई छाडेर जा ।”
उसलाई आफ्नो पौरुषत्वऊपर ठेस लागेको प्रतित भयो । उसले लुगा-लत्ता आँगनमैं हुत्याएर हिड्यो…. ।
***
चार दिनको हिँडाई पछि ऊ बनेपा आईपुग्यो । उदरले विगतका चारदिन देखी गरिरहेको आन्दोलनलाई उसले चाहेर पनि दमन गर्न सक्तैन थियो । उसको अनुहार पिल्पिले भएको थियो । तर, ऊ घर फर्किन चाहन्न, उसको अभिमानऊपर घरबाट ठेस जो पुगेको थियो । उदर आन्दोलनसामु उसले झुक्नै पर्यो । उसले बनेपामा भीख माग्यो, आमालाई पिलिया भएको छ- सहयोग गरिदिनोस, भनेर । उसले ठगी सिक्यो, सोझा-साझा नेपालीहरुको भावनाऊपर कुठाराघात गर्न पनि उसले सिक्यो । उसलाई लाग्यो, नेपाली जनता भेँडा हुन्, मैंले यिन्लाई चराउन सक्तछु, चाहिएको बेला यिनिहरुको बलि पनि काली देवीलाई चढाउन सक्तछु । उसले बनेपामा डुलेर ठुल्ठुला गफ जोत्न थाल्यो । धेरैले उसको वाह-वाही गरे, धेरैले यो मान्छे फटाहा हो भनें । तर, उसले निडर भएर गफ जोतिनै रह्यो, खेत-खलियान जोत्न सक्ने साहस उसभित्र कहाँ नै थियो र!
हेर्दा-हेर्दै ऊ नेता भएछ, आजकाल ऊ देश-दौडाहामा व्यस्त छ । जहाँ पुग्छ, त्यहाँ गफ दिन्छ । नेपाली जनतालाई भीख माग्न सिकाउँछ अनि भन्छ, “मलाई नेपाली हुनुमा गर्व छ, नेपाली माटोमाथी गर्व छ । तँपाई पनि गौरवान्वित हुनोस, तँपाई कहाँ सगरमाथा छ, पशुपति छन । सगरमाथा र पशुपति रहुन्जेल नेपालीहरु भोको मर्नु पर्दैन । अझ बुद्धत्वको कुरो त मैंले गरेकै छुइँन! ईतिहास पल्टाई हेर्नोस, सँसारमा नेपाल सिवाय काँही-कसैले बुद्धत्व भेट्न सकेको छैन, र नेपाल रहुन्जेल नेपालमै बुद्धत्वको ईतिहास रहिरहने छ । हामीले भाग्य अनुभुति गूगल चलाएर गरेका छैनौं, बुद्धत्वको बीज रोपेर गरेका छौं । जय नेपाल !”
हेर्दा-हेर्दा ऊ मुलुकको ठुलो मान्छे बन्यो,ठुलो नेता बन्यो । संसारले उसलाई पत्याउन थाल्यो । तर, जतिसुकै ठुलो भएपनि बाल्यकालमा बनेपामा बसेर भीख माग्ने जुन बानी उसभित्र थियो त्यो अझै पनि हराएको छैन, अझै पनि ऊ आफ्नी आमाको नाम बेचेर भीख मागिरहेछ, उससँगै मुलुकको कुना-कुनामा छरिएर बसेका उसका चेलाहरुले पनि उसकै बाटोलाई आत्मसात गरिरहेछन……. ।
***