Skip to content

किन मर्यौ तिमीहरू


तिमीले !
वर्गीय मुक्तिको लडाई भन्यौ
समाजवाद र साम्यवादका
मिठा मिठा कुरा गर्यौ
अनि त,
बारी बाँझै छोडेर
म तिम्रै पछि लागें नि !
हुँदा खाने र हुने खाने बिचको
वर्ग संघर्ष भन्यौ
दलित, जनजाति र छुवाछुत
अन्त्यको कुरा गर्यौ
अनि त,
घरै छोडेर म तिम्रै पछि लागें नि !
बुर्जुवा शिक्षाको अन्त्य भन्यौ
जनवादी शिक्षाको खाका सुनायौ
अनि त,
पढ्नै छोडेर म तिम्रै पछि लागें नि !
सरकारी भवन र स्कूलहरूमा
मिठा मिठा शब्दका नारा लेख्न लगायौ
राँके जुलुस र कोण सभाहरूमा
चर्का नारा र भाषण गर्न लगायौ
अनि त,
आफूलाई महान् क्रान्तिकारी ठान्दै
म तिम्रै पछि लागेंनी !
चिसापानी र दानाबारीको जंगलमा
सेनाको घेरा तोड्न लगायौ
बिराटचोक र बेलबारीको बैंक
फोड्न लगायौ
कति साथी घाइते भए
कतिले सहादत पाए
त्यतिखेर म बिचलित हुँदा
चिनियाँ क्रान्ति र अक्टोबर क्रान्तिको इतिहास सुनायौ
अनि त,
जीवन भन्दा ठुलो क्रान्ति भन्ठान्दै
म तिम्रै पछि लागें नि !
तर आज,
ती दिनलाई म
जिन्दगीको कालो दिन भनी
स्मरण गर्दैछु …
किनकि, हिजो नौ दश पढ्दा पढ्दै
जनबादी र व्यवहारिक शिक्षा ल्याउन भनि
क्रान्तिमा होमिएको म
आज, त्यै नौ दश नपढ्नाले
अयोग्य ठहरिंदै शिविरबाट
घर फर्किएको म
हिजो, गाउँघरको हाट बजारमा बिकृति भन्दै
रक्सिका बोत्तल र जाँडका भाँडा
फुटाउँदै हिड्ने म
आज, तिनै गाउँघरमा लाजले अनुहार
लुकाउँदै हिड्ने म
हिजो न्यौपाने र ढकाल दाइलाई
बहुविवाहमा भाटे कारवाही गर्ने म
आज आफ्नै सहयोद्धाले बहुविवाह गर्दा
टुलुटुलु हेर्ने म
त्यसैले त कहिलेकाहिँ सोध्न मन लाग्छ
सेनाको पिटाई खाएरै मरेका ती
कटक ब. साँङपाँङ, रित ब. खड्का
र सुरेश आले मगरहरूको चिहानमा गइ
किन मर्यौ तिमीहरू ?
किन मर्यौ तिमीहरू ?
पार्टीले कायर भन्ठान्छ भनेर
आत्मसमर्पर्ण गरेनौ निं!
पार्टीले गद्दार भन्ठान्छ भनेर
गोपनीयता र सेल्टरहरू भनेनौ निं !
तर आज,
जुँगाको लडाईमा पार्टी फुटाउनेहरू
गद्दार भएका छैनन् हेर !
सामन्तबाद र बिस्तारबाद सामु
पटक पटक घुँडा टेक्दा कायर भएका छैनन् हेर !
क्रान्ति हाँक्ने ठेकेदारहरू
महल र शहर प्रेमी भएका छन्
समस्याका डिङ्गुरहरू चुलिँदो छ
महंगीले आकाश छुँदो छ
हिजो सर्वसाधारण, गरीब, किसानका
समस्याका बारेमा बोल्नेहरू
आज आफ्नै समस्या र पदको लुछाचुँडी
गरिरहेका छन्
जनताको मनमा पलाउँदै गरेका
आशाका पालुवाहरू
तिनीहरूकै रुखो र खडेरी लाग्दो व्यवहारले
सुकेर त्यसै त्यसै झरिरहेका छन्
खै ? के भनूँ कस्लाई भनूँ
कसले सुन्छ र ? यहाँ गरीबको
त्यसैले त,
घरिघरि भन्न मन लाग्छ
तिनै महान् शहिदहरूलाई
किन मर्यौ तिमीहरू ?
किन मर्यौ तिमीहरू ?

बसन्त दहाल
गोदक -४, ईलाम
हाल :- दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *