Skip to content

प्रदुषण तथा हिंसा कथा : अन्तिम यात्रा


लामो कठिन यात्रा पछि थाकेका सबै राँगालाई रातको अध्यारोमा छामछाम छुमछुम गर्दै ल्याएर बिष्णुमति नदी किनारमा बाधिदिए । भोको पेट घुमाउरो बाटो दिनभर उभ्भिएर गाडीको घच्चा घुच्च सहेर थाकेको शरीर आरामसँग बस्न नपाउदै सबै भुसुभुसु निदाए । ती मध्ये एक काले भन्ने अलि फरासिलो, जोसँग पनि बोल्न पर्ने खालको थियो । मिरमिरेमा चलेको चिसो हावासँगै मस्त निदाइरहेको कालेको नाकभित्र एउटा अचम्मको गन्ध ह्वास्स छिर्यो । के हो यो भन्दै काले जर्याकजुरुक उठ्यो । उसलाई यस अघि यस्तो अनौठो गन्धको अनुभव कहिल्यै भएको थिएन । यताउता हेर्यो । सँगैमा कालो मैलो अनेक किसिमको फोहोर सुमरेर दुःखी र विक्षिप्त भई बहिरहेकी रहिछिन बिष्णुमति नदी ।

उसले “दिदी नमस्ते मेरो नाम काले हो । हामी हिजो राति यहाँ आएका हौं” भन्यो । दिदीले “नमस्ते नमस्ते सन्चै छौ ”? भनी प्रश्न गरिन । कालेले “सन्चै छ । तपाईलाई नि ?” भनी सोध्यो । दुबली पातली बिरामी जस्ती दिदीले दिक्क हुदै “अलि सन्चो छैन, पछि कुरा गरुला है ” भनिन । कालेलाई दिदीको दयनीय अवस्था देख्दा सार्है माया लाग्यो र भन्यो, “हुन्छ हुन्छ दिदी पछि कुरा गरौला ।”

केही दिनपछि दिदीलाई अलि सन्चो भएछ र कालेसँग कुरा गर्न आइन । दुबैमा आज दुःख सुखका अलि लामै कुरा भयो । “दिदी सन्चो भयो ”? भनी कालेले सोध्यो । “ के सन्चो हुनु र भाइ । अलिअलि सन्चो हुन खोज्छ फेरि टाउकोमा ल्याएर दुनिया भरको फोहर खन्याई दिन्छन । मलाई कति सास्ती हुन्छ । कति निस्सासिन्छु । यो फोहोरले गर्दा म कति बिरामी परि थल्लिन्छु । मेरो यो पीडा कसलाई पोखु । जीवमा सर्बश्रेष्ठ भनिएका दुई खुट्टे मनुवाहरुले त बुझलान भनी ठानेकी थिए । तर ती जस्ता मुर्ख त झन कोही रहेनछन् । म त आजित भै सके यी काठमाडौं बासीको चाला देखेर ।”

लामो नीस्वास छोडदै दिदीले भनिन “भाइ छोड यी मेरा कहिल्यै नसकिने कथा । तिमी भन तिमी कहाँबाट आयौ ?”

कालेले खुईअ गर्दै भन्यो “लामो कथा छ दिदी मेरो । यो संसारमा सबैका आआÏनै कथा ब्यथा हुँदा रहेछन् । बाचुन्जेल अनेक दुःख कष्ट सहनु पर्ने । कहाँ जन्मीयो कहाँ गई मर्नु पर्ने त्यो पनि लेखान्त कै कुरा त होला हैन दिदी ?”

कालेले आफ्नो इति वृतान्त दिदी सामु यसरी पोख्दै गयो । “तराईको खै कुन गाउँमा जन्मिए । जता हेर्यो खुल्ला मैदान, मलाई बुर्लुक्क बुर्लुक्क उफ्रिदै यता उता दौडन असाध्य रमाईलो लाग्थ्यो । निश्चिन्त आमासँग टास्सिन पनि त्यत्तिकै मन लाग्थ्यो । तर किन हो खै आमाको नजिक पर्नै दिदैनथे । आमा पनि छोरालाई माया गरि चाटन कति हतारिन्थिन । मसम्म पुग्न यता घुम्दै उता घुम्दै कति तन्किन्थिन । बिचरी मेरी आमा मसम्म पुग्नै सक्दिन थिन । एक दिन म बिरामी पर्दा आमा मेरो नजिक आउन कति छटपटाएकि थिईन । दूध दुहुने बेला मात्र हो आमाको नजिक हुन पाउने र रमाईलो हुने । त्यस बेला माया गर्दै आमा मलाई चाटि रहन्थिन । हाम्रो क्षणिक सुःख पनि देख्न नसकि टाढा लगेर बाधि दिन्थे अधर्मिहरु । हामीलाई दिउसो तिर चराउदै पानीको आहाल तिर लान्थे । म पनि मौका को ताकमा हुन्थे । गोठालाहरु गफमा मग्न भएको बेला आमाको छेउ सुटुक्क पुग्थे । आमा पनि खुसी हुदै आइज भन्दै दुध खुवाउन थाल्थिन । कति पल्ट त यसरी लुकेर खाए थाहै पाएनन् । एक पल्ट रङगेहात पकडेर नराम्रोसँग चुटे । त्यस पछि त नजिक पर्नै दिएनन् । कस्ता अधमहरु आफ्नो आमासँग पनि निर्धक्क बस्न नपाउनु कत्रो खटन ।”

“बुझ्नुभो दिदी अलि ठूलो भए पछि त आमाले पनि वास्ता गर्न छाडिन । कहिले काही आमाको नजिक पुगेँ भने आमा रिसाउदै जा….अब त बुढो भैसकिस कति बच्चा बनि लाडिन्छस भन्थिन । त्यो वेला मेरो मन कति दुख्थ्यो । एक्लै बसी रुन्थे । अझै पनि आमाको अगाडि बच्चै छु जस्तो लाग्छ । ”

“त्यति वेला मेरो काम खाली खाने उफ्रिने रमाइलो गर्ने मात्र थियो । आहा कति रमाइलो काम पनि केही छैन । दिनभर चर्न गयो घर आयो खायो आरामले सुत्यो । मैले रमाइलो गरेको देखेर आमा माया गर्दै भन्थिन गर..गर जति सक्दो रमाइलो गर यही वेला हो रमाईलो गर्ने । यी मतलबीहरुले के तलाई माया गरेर मीठा मीठा कुरा खान दिएका हुन र । बलियो बनाएर जति सक्दो चाडै जोताउनु छ । उदास हुदै भनिन अब केही दिन पछि त तेरो दुखका दिन पनि सुरु हुन्छ । अनि त जिन्दगी भर टाउको ठाडो पार्न पाउदैनस जोतिएको जोत्यै । खान सुत्नसम्म समय पाउन गार्हो पर्छ । आमाको कुराले मलाई असाध्य डर लाग्यो । सोचे के यसबाट बच्ने कुनै उपाए छैन ? भाग्न पाए पनि हुन्थ्यो, बिद्रोही बन्न खोजे । बन्धनमा परेको बिद्रोहले कहाँ पुगिन्थ्यो र तन्कीदै छटपटिदै बसे ।”

नभन्दै मेरो दुःखका दिन सुरु भयो । बिहान झिसमिस देखि रात अवेरसम्म काममा लगाएका लगाऐ हुन्थे । यसलाई भोक, प्यास, थकाई लाग्यो होला भन्ने कसैले सोच्दैनथे । खानु न पिउनु काममा लागेको लाग्यै हुन्थे । थाम्न नसक्ने गरुङ्गो भारी भई कहि हिडन सकिन भने नाकमा लगाइ दिएका डोरी जोडले तान्दै पुच्छर बेसकन निमोठथे । दुखेको तोडमा उफ्रिदै दौडिन्थे । मलाई कति गार्हो भैरहेछ भन्नेसँग कसैले मतलब राखेनन । पीडा माथि पीडा थपी रहे । मैले सहनु बाहेक उपाएनै के थियो र ।?”

“आमा…..भाइ बहिनी पाएको पाऐ थिईन । म भारी बोक्दै जोतिएको जोत्यै । कति समय बिति सकेछ । अब त आमा पनि बुढि भैसकिन । म पनि कमजोर र पाको भै सके । अब हामी जस्तै काम गर्न नसक्ने कमजोर जति सबैलाई अर्कै ठाउमा लैजाने बन्दोबस्त हुदै छ रे भन्ने चाल पाए । हामी गर्न नै के सक्थ्यौ र ! जता डोर्याउछन उतै घिच्चिनु पर्ने त हो । आफ्नो चाहना अनुरुप कहिले पो गर्न पाईएको छ र । लामो स्वास तान्दै भन्यो “ त्यस पछि एउटा ठुलो ट्रकमा हामीलाई बलजफति लगेर कोचे । अटाइ नअटाइ भयो ट्रकमा । थाकेर कोही बस्न खोज्लान भनेर होला कति पापी नाकमा बाधेर त्यो डोरी माथि तेर्साएको काठमा बाधिदिए । यताउता चल्यो कि नाकको डोरी तान्निदै दुख्छ । अनि त सबै आआफ्नै ठाउँमा नचलि उभ्भि रहनु पर्यो । न खानु न पिउनु न बस्न पाउनु । घुमाउरो बाटो यता उता हल्लिदा हल्लिदा पेट पनि उमेठी सक्यो । त्यत्रो लामो समयसम्म खान पीउन पाएको पनि होइन । दिन रात गरेर बल्ल एउटा ठाउँमा ल्याएर उतारे । थाकेर चुरचुर भएका सबै त्यसै भुसुभुसु निदाए । कहाँ ल्याए भनेको त दिदी तपाईको छेउमा पो राखेका रहेछन । राति त थाहा भएन बिहान उज्यालोमा पो देखियो कस्तो फोहोर मलाई त गन्हाएर वाकवाक लाग्यो । तपाईलाई कस्तो भएको होला ” । अलि वेर रोकिएर कालेले भन्यो “हगी दिदी तपाई पनि हामी जस्तै यी बुद्धि नभाका मानिसबाट सताइएकी अमुक शोषित पिडीत पर्नु भएछ ।”

कमजोर, दुःखी दिदीले आसु चुहाउदै भनिन्, “बिद्रोह गर्न नसक्ने भनेर हैन यी मानिसहरुले मलाई हेपेका । कतिसम्म गर्छन हेर त भाइ यीनीहरु आफ्ना भित्री बाहिरी र सबै तिरका फोहर ल्याएर मेरै टाउकोमा खन्याउछन् । फाल्न हुने कुरा पनि फ्याकेका छन । फाल्न न हुने पनि फ्याकेका छन । कुकुर बिरालो जे मर्छ, सिधै मेरै पोल्टामा । प्रदुषित भई जिर्ण रोगी नै भई सके । फ्याक्ट्रि खोल्छन, त्यसबाट निक्लने रसायनिक पदार्थ मेरै शरीरमा, कति पोल्छ छटपटिन्छु । घर बनाउदा निस्केका शीसाका टुक्रा, कीलाले मेरो जीउ छिया छिया भैसक्यो । कतिसम्म अन्याय गर्न सकेका यी पापीहरुले । आफ्नो दुर्दशा देख्दा डाको छाडी रुन मन लाग्छ । म रोएको कसले पो देख्छ र ?”

उदास दिदीले विगदमा पुग्दै भनिन “कठै कुनै वेला मेरो कत्रो मान थियो भाइ । भक्तहरु मेरोमा आएर डुबुल्कि मार्दै पबित्र जल लगी भगवानको शीरमा चढाउथे । भगवन पनि प्रशन्न भई भक्तहरुको मनोकांक्षा पुर्ण गरी दिन्थे । म पनि खुसी हुदै आफुलाई धन्य सम्झन्थे । तर आज मेरो छेउमा परे थु थु गर्दै नाक थुन्छन । शीरमा छर्कनु त त्यतिकै हो । भन त के यो सबै मेरै कारणले भएको हो त ? के यस्मा मेरो कुनै दोष छ ? के मैले यस्तै अवस्था चाहेकी थिए । आजको यो अवस्था देख्दा पुराना ती रमाइला दिनको यादमा डुब्छु । मन बहलाउछु ।”

यतिसम्म अन्याय गरेर नपुगी आज खुल्ला बधशाला पनि यही बनाएका छन । तिमीहरुलाई यहा किन ल्याएका थाहा छ ? बध गर्न ल्याएको । तिमीहरुलाई डढाएको खरानी, अरु भित्री बाहिरी फोहर सबै फेरि मेरै टाउकोमा । मैले केही गर्न नसक्ने कमजोर देखेर होईन मलाई हेपेका । हिउद भरि यिनीहरुका अत्याचार सहन्छु सहन्छु अति भए पछि वर्षा वेलामा अनि देखाइ दिन्छु । सबै रीस एकै चोटि पोख्दै कहिले यता कहिले उता भत्काउदै यिनीहरुलाई आच्छु–आच्छु पारी दिन्छु । तै पनि चेत्दैनन् ।”

“अहो दिदी तपाई त त्यतिसम्म त गर्न सक्नु हुन्छ । हामी त खै केही गर्न नसक्ने निरह परेछौ । आफ्नै आखा अगाडी आफन्तको बध गरि टुक्रा टुक्रा पारेको पनि विवश टुलुटुलु हेर्दै बस्छौ । बचाबको लागी केही गर्न नसक्ने भई ।

दिक्क हुदै दुबैले एक साथ भने “हैन यी मानिसहरुको बुद्धि कहिले फिर्ला ? खै अरु ठाउँका मानिसका बुद्धि त वेलैमा फिर्छ रे । यहाका को त भन्न सकिदैन ।”

दुबै खिन्न हुदै चिन्तामा डुबे ।

लामो निश्वास छोडदै दिदीले भनिन् “बुझ्यौ भाइ विदेश तिर हाम्रो कत्रो मान छ रे । एक टुक्रा फोहर कसैले फाल्दैनन् । कत्रो इज्जत दिएका छन । साझमा प्रेमी प्रेमीका वा परिवार शीतल हावा खान हाम्रो छेउमा आउछन रे । रमाउदै आनन्द मानी धेरै वेरसम्म त्यही बसिरहन्छन । हामी पनि उनीहरुलाई खुसी दिन पाएकोमा सार्है हर्षित हुन्छौ ।”

कालेले उदास हुदै भन्यो, “हेर्नुस त दिदी तीस चालीस फिटको दुरीमा हाम्रो मृत्यु सैय्या छ । हामीले केही बुझ्दैनौ भन्ने ठान्छन । यहाँबाट आफन्तको बध भएको टुलुटुलु हेर्दै हामी आफ्नो पालोको पर्खाईमा हुन्छौ । डरले थरथर काम्दै खान सुत्न पनि मन लाग्दैन । कुन वेला अन्तिम यात्राको निम्ता आउने हो सोच्दै मुटुको धडकन तेज बन्छ । आफन्तका ती अन्तिम चिच्चाहट, रगतको फोहरा, दर्दले छटपट गर्दै सेलाएका निर्जीव शरीर, जसलाई हेर्न नसकी टाउको अन्तै घुमाउछु । अनि त्यो निर्जीव शरीरलाई परालले डढाउदै फोहर जति तपाईकोमै फाल्छन । त्यस पछि गिद्ध जस्ता मानिस बन्चरोले शरीर टुक्रा टुक्रा पार्दै भाग लगाउछन् । त्यसलाई कोही रिक्सामा राखेर कोही गाडीमा राखेर बिभिन्न पसल पसलमा पुर्याउछन । हामीलाई केही थाहा हुदैन भनी हाम्रै अगाडि हाम्रा आफन्तको बध गरिन्छ । हामी कति आत्तिन्छौ । छटपटिदै बन्धन मुक्त भई मानिसको पहुच भन्दा टाढा पुग्न चाहन्छौ । तर के गर्ने यति बलियो बन्धनमा जकडिएका हुन्छौ कि जति बल गरी डोरी फुकाल्न खोजे पनि सफल हुन सकिदैन । विवश ती निर्दयी मानिसका फन्दामा कसिएका हुन्छौ । हिजो भरखर मेरी आमालाई मेरै सामु सिध्दाए । आमालाई बचाउन कति बल गरे । आमाले पनि बध स्थल तर्फ लादा टीठ लाग्दो गरी मलाई हेर्दै ‘ल बाबु बिदा’ भन्दै आशुले भरिएको नयन अर्काे तर्फ फर्काएकि थिइन । म तन्किदै आमासम्म पुग्न खोजे । असमर्थ भए । आमाको बचाबको लागी आफुले केही गर्न नसकेको सम्झदा मुटुमा गाठो पर्छ । आफैलाई धिक्कार्न मन लाग्छ । यस्तै बन्धनमा जकडिएको, हाम्रो यात्रा कुन दिन समाप्त हुने हो थाहा छैन ।”

“ओहो दुख सुखका कुरा गर्दा गर्दै कति समय बितीसकेछ । लामो सुस्केरा हाल्दै कालेले भन्यो “दिदी प्रत्येक बिहानीले त्रासको सन्देश लिएर आउछ । दिन छिप्पिंदै जादा एक दिन अरु आयु थपियो भन्ने आभाषले मनमा एक किसीमको सन्तोस मिल्छ । यस्तै त्रासै त्रासमा बित्दै छ जिन्दगी । भाग्यमा यस्तै लेखिएको होला । कसलाई दोष लगाउनु । ल त दिदी भोलि बाचिएछ भने फेरि भेट होला यस्तै गरी दुःख सुःखका कुरा गरौला । नत्र भए बिदा !”

दुखी दुबै चुपचाप सोचमा डुबे । वातावरण बोझिलो बन्दै लामो सन्नाटा छायो ।

सुशीला देउजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *