काफलको बोटमाथि कोइलीले गीत गाउदा
ऐंसेलुको झ्यांगमुनि डाफे चारी नाच्दो रै’छ
बिदेशीको चाकरीमा आफ्नो रगत बगाउदा
स्वदेशको गुन्द्रुक ढिडो सपनीमा आउदो रै’छ
कतै कतै गोर्खालीको कुरा माथि कुरा चल्दा
रोग नै रोगले सुक्या छाती पनि कतै फुल्दो रै’छ
गीतार अनि पियानोको धुन भित्र भुल्न खोज्दा
कता कता सारंगीको याद पनि आउदो रै’छ
जिन्दगीको गोरेटोमा जति टाढा गए पनि
मेरो नेपाल मुटु भित्र सदा सदा बस्दो रै’छ