पहिलोपल्ट
मैले यै बाटोमा टिपेको हूँ –
हाँगाबाट खसेको फूलको कविता |
र मैले त्यै बेलादेखि
मेरा वरिपरि खसेका वस्तुहरुलाई
मन पराउन थालेको हूँ |
बाटोमा –
म सल्लाका पातहरुबाट चिप्लन्थें –
र पनि तिनीहरुलाई प्रेम गर्थें |
रोई बस्थें म –
जून खसेका रातहरुमा
र पनि तिनीहरुलाई माया गर्थें |
ताराहरु खस्थे –
मेरो सपनाको अक्कासबाट
र म तिनै ताराहरुलाई भेट्टाउन
दौडिरहन्थें |
मेरा रहरहरु पोखिन्थे –
बाटोमा
अनि अक्सर म निस्प्राण लडिरहन्थें
र पनि
तिनीहरुबाट उठ्थें म – छालहरू झैं |
बाटोमा –
अनगिन्ती साइतहरु बिग्रेर
पार्थिव समय –
सुसाइरहन्थ्यो
र पनि गाउँथे यी वनपातहरुले
जिन्दगीको गीत |
जिन्दगीकै रङहरु घोलेर
खेपै खेप-
उक्लिरहन्थे बेसीबाट
गाउँसम्म यी आवाजहरु |
बाटोमा –
नहराएका आवाजहरु
बटुली बस्थें – म
मौन भएर |
म मेरो आस्थाको प्रयोगशालामा
ईश्वर बनाउँथें
र
त्यै ईश्वरीय सत्ताको रिक्तता
वाँचिरहन्थें |
बाटोमा –
अलिकति जीवनको सिंदुरे बिहानी
र
अलिकति माटोका डल्लाहरू म
खेलाइरहन्थें |
अचानक
हिंड्दा हिंड्दैको बाटो चुँडियो-
काँचो धागो झैं |
हो, मैले चुँडिएकै धागाहरुको कविता
लेखेको हूँ –
पछिल्लोपल्ट … यो जिन्दगीको
निछ्याम बाटोमा |