Skip to content


जिन्सको पाइन्टमाथि ज्यानमा टाँसिने गरी टफ लगाएकी थिई पूजाले पहिलो पटक गाउँमा छिरेकी तैपनि नर्सको रुपमा । बेन्चमा पडाडिबाट सानो बच्चाले कट्कटिएको मुखमा मुजा पारेर उस्को मुखमा ट्वाल्ल हेरेर बसिरह्यो । बिस्कुट खान्छस? मिठि खान्छस? भनेर सोधी खान्न भनेर टाउको हल्लायो । अनि के खाने त भनेर सोध्दा उस्ले बुबु खान्छु ममी बुबु खान्छुभन्दा पूजा झन वाल्ल परि कन्ये केटी अप्ठेरो मानी एक छिन अनि घरमा जाऊ, ममीसँग बुबु माग अनिदिनुहुन्छभन्दा ममी त फा फुइइइई!! भन्न मात्र जानेको थियो । अनि सही नसक्नु भएर भित्रबाट त्यही घरकी दिदीलाई बोलाई र बुबु भन्छ दिदी मलाई त पानी पानी पार्यो यस्ले ।

नानी हजुरलाई थाहा नभएर हो, बिचरा यस्की आमा सानैमा स्वर्गे भई, यो त वर्षिको पनि थिएन, एउटी बुढि हजुरआमा छन, यसलाई हेर्ने तैपनि बिहान भए पछि गाउँतिर लगाइदिएर कता हिँड्छिन मेलापात गर्न, यो बिचरा कस्का घर जान्छ कता पस्छ, मनकारीले कहिले खान दिन्छन कहिले भोकै पनि बस्छ तर सन्तकी छ । यस्को घिडघिडो चाहिँ लाम्टो चुस्ने भयो अनि ठूला छाती भका केटी मान्छे देख्यो कि यसै भन्छ बहिनी । यस्लाई हप्काउनभन्दा पनि फकाएर सम्झाउनु पर्छ नत्र रोयो भने फकाउनै सकिन्न । छातीमा दुध आउनेले त एक छिन खुवाएर जान्छन अनि दिनभरिलाई हुन्छ यसलाई ज्ञानी भएर बस्छ ।

धेरै जसो त यस्लाई ऊ पल्तिर आरने कान्छाबा कि बुहारीले दुध खुवाउँछे, लैनो दुध मज्जाले खान्छ उस्लाई देख्यो भने त टाढैबाट दौडिन्छ, नखाई मान्दै मान्दैन भन्या, अनि उल्ले पनि आफ्नै छोराछोरीलाई जस्तो दुध खुवाएर जान्छे अनि उसलाई अरु केही खानै पर्दैन । कहिलेकाहीं त राती राती पनि यतैतिर हिँडिरहन्छ आवोई पनि घरमा नगए पनि कतै सुत्यो होला भनेर बास्ता गर्दिनन् कुन दिन बाघले झम्टेर लाने हो कि भनेर पिर लाउँछ बहिनी मलाई त । यत्रो लामो जिन्दगी कसरी काट्छ खै यस्ले भन्दै फतफताउँदै भित्र पसिन अनि पूजाले पनि उसलाई अहिले बस म भोलि आउँछु है मिठी लिएर मेरो बुबु छैन बाबु आउँदैन भनेर भनी उस्ले पनि पाको मान्छेले झैँ बुझेँ भनेर टाउको हल्लायो अनि पूजा गएको बाटो आँखा नझिम्क्याएर हेरिरह्यो ।

धूलोमा हिलोमा खेल्दा खेल्दै ऊ आफ्नो उमेर पनि थप्दै दियो होश पनि पाउँदै थियो । यति सानो भएर पनि अभावमा भएर पनि कसैको चोरुँ कसैलाई छलुँ भन्ने उस्को व्यवहारमा देखिँदैनथ्यो । गाउँका सम्पन्न परिवारका मान्छेहरू बेला बेलामा लोकल खसि काट्थे अनि त्यहीँ भुटुवा बनाएर खान्थे पनि । एक दिन ऊ पनि खसि काट्ने ठाउँमा पुग्यो अनि सबै तारतम्य हेर्यो, अरु जसरी रमाए पनि ऊ आफ्नै तालमा रमायो । अनि भुटुवा बाँड्ने बेलामा सबैलाई पातको दूनामा बाँडे उसलाई त छ भन्ने पनि बिर्से सबैले । सबैले खाएर भ्याए उसले भएजति मान्छेका आँखामा आँखा जुधाउन खोज्यो, कतै दयामाया भन्ने छ कि भनेर हेर्यो, मान्छेहरू आँखा जुध्यो कि टाउको उता घुमाउथे अनि आँखा भरी आँशु बनाएर गम्डो ओल्र्यो बाल मगजमै उसको मन यति भारी भयो कि उस्को घरमा पालेको बाख्राले बरु उसलाई माया मान्थ्यो । अनि घरमा गएर चिसो सिन्कीको तिहुनमा मकैको आटो खायो आँखा नओभाउँदै ।

गाउँको पल्लो कुइनेटोमा स्कुल थियो त्यस्तै दश पन्ध्र मिनेट लाग्ने पुग्नलाई । उस्लाई एक पटक पाठ पढेर सकेपछि सबै खरर्र हुन्थ्यो अनि सरले जहाँबाट सोधे पनि ऊ भन्न सक्थ्यो । सरले कक्षामा उसलाई सोध्दैनथे खास गरी तै बिसेक कहिलेकाहीं सोधे भने खरर्र भन्थ्यो तैपनि स्यावास पाउँदैनथ्यो उसको क्षमताको कदर गर्न पनि स्कुलका सरहरू हिच्कीचाउँथे अनि केही मेसो नपाएर बहुलाउँछ यो कुन दिन भनेर हतोत्साहित पार्थे । अरु स्कुलको पोशाकमा सफा भएर आउँथे तर ऊ भने कहिले देखि नधोएको कपडामा आउँथ्यो कहिलेकाहीं त लाइन बाटै घरजा भनेर हप्काउँथे तैपनि ऊ कहिले पनि स्कुल छोडेर हिँडेन । उस्का आँखा सफा पोशाक लगाएका आफ्ना सैसाथेहरूमा हुन्थे । उनीहरूले हिँडेको, बोलेको उनीहरूको सफा चट्ट परेको जिऊडाल हेरेर बस्थ्यो, गम्थ्यो आफैलाई पनि म पनि यस्तै सफा हुन पाए तर आफूतिर फर्केर हेर्दा सन्सार अँझै अँध्यारो थियो । अरुले स्कुलमा दिउसो खाजा खाँदा उस्ले नजिकैको पिपलका झरेका गेडा टोकेर नास्ता गर्थ्यो अनि चट्ट परेको पोशाकको साटो उस्को त हाफ पेन्टमा पनि प्वाल परेको हुन्थ्यो ।

कतै मान्छेको माझमा बोल्न मात्र पायो भने कति हो कति गफ लगाउन माहिर थियो तर ऊ सोचेर मात्र कुरा गर्दथ्यो खासमा तार्किक मात्र बोल्ने मौका पायो भने उस्को मुखै रोकिन्नथ्यो । एक दिन सबैको अगाडि कचहरीमा बस्दा उस्को पोष्ट अफिस खुलेको उसलाई थाहै भएनछ । सबै उसलाई हेरेर गिल्याएर हाँसे ऊ पनि हाँस्यो । मेरै कुरामा सही थापेर हाँसेका भनेर ऊ पनि झन गम्किँदै हाँस्न थाल्यो । म पनि मान्छेका माझमा बोल्न जान्ने भएँछु भनेर मन कति ओजिलो भयो उस्को । कचहरीमा पाका मान्छेहरू पनि थिए, उपल्ला थरकी जमुना पनि थिई अनि भुरा भुरीहरू थिए । उठ्ने बेला उसकै कक्षामा पढ्ने चन्द्रीले हेर त कुरी कुरी भनेर जिल्याए पछि सबै पारो जति पानी पानी भएर नाक लुकाएर भाग्नु पर्यो । उसलाई अहिलेसम्म गफ लगाएका मन ठूलो बनाएका सबै चिजहरू सबै मेची खोलाले बगाए जस्तै भयो । आफूले आफै पनि धिक्कार्यो तैपनि एक छिन पछि तुरुन्तै मन साम्य पारिहाल्यो अनि अगाडि भएका सबै कुराहरूलाई बिर्सिन प्रयत्न गर्यो । नियतिले पनि उसलाई यस्तै बनाइदिएको थियो, यस्ता कुराहरू त जीवनमा अनगिन्ती थिए । सँझिएर पिरोलीनुभन्दा बिर्सिनु बेस भन्ने बानी परिसकेको थियो ।

मानिसलाई अभावले अनि तृष्णाले सधैँ प्यासी बनाइरहदो रहेछ यस्को उदाहरण हामीले उस्को जीवनमा खोजिरहेका थियौँ । पेट भर्नु मात्र अघाउनु होइन अघाउनलाई त मन पनि अघाउन पर्दो रहेछ । उस्ले धेरै देख्यो होश सम्हाले देखि आजसम्म कति कति तैपनि देख्नलाई मात्र भयो, एक पटक पनि मन अघाउने गरी मनले चाहेका कुरा खान पाएन र त सधैँ प्यासी देखिइरहन्थ्यो ऊ । एक दिनको कुरा हो एकजना आफन्त पर्नेले दिदीले उसलाई खाना खान आफ्नो घरमा बोलाउनु भयो अनि भान्सामा लगेर बस भनेर आफूचाहिँ करेसाबारीमा साग टिप्न जानुभयो । उस्को आँखा शिसामा राखेको मूलाको अचारमा पर्यो । उस्ले त्यहाँ मूलाको अचार मागेर खान सक्छु भन्ने लागेन अनि सुटुक्क चोरेर खाने निधो गर्यो । जीवनमा पहिलो पटक चोर्न हौसियो अनि कुर्ची माथि चढ्यो र चिप्लो सिसा समात्यो त्यतिबेला कुर्ची पनि हल्लियो अनि शिसा पनि भुइँमा थेचारिएर चकनाचूर भयो । दिदी दौडिँदै आउनु भयो भुइँभरी पँहेलै थियो मुलाका चाना उसलाई हेरेर गिज्याइरहेका थिए, तैपनि उहाँले गाली चाहिँ गर्नु भएन । एक छिन नबोली बस्नुभयो अनि नडरा बाबु म गाली गर्दिन नि तँलाई, मलाई भनेको भए पनि त तलाई खान सके जति दिन्थेँ नि केही छैन त्यस्तो अचार त म भोलि बनाइहाल्छु नि । अर्को भाँडामा पनि छ निकालिदिन्छु खानु है बाबु कुन खान्छस लप्सीको कि अमलाकोभन्दा पनि उस्को जीव्रो रसाएन । भैगो दिदी म केही पनि खान्न आज कुनै दिन खाउँला । मेरो सुद्धि के भयो के दिदी मन थाम्नै सकिन खान मन लाग्यो, यत्रो असरल्ल भयो के गरम दिदी । दिदीले पनि हाँसेर टारिदिनु भयो र पहिलो पटक उसलाई मनमा शान्ति मिल्यो । अनि त्यहीँ खाना खाएर आफ्नो घर फर्क्यो । उहाँ त्यही दिदी हुनुहुन्थ्यो जस्ले सानै देखि राम्रो व्यवहार गर्नु हुन्थ्यो उसलाई । आफ्नो वरिपरि देख्यो भने ल्याएर खानेकुरा खुवाउनु हुन्थ्यो र केटाकेटी देखिनै ऊ दिनमा एक पटक दिदीको घरमा पुगेकै हुन्थ्यो ।

स्कुलको वाताबरणले उस्को पढ्नु पर्छ भन्ने मनको हौसला पनि खडेरीमा खरबारी सुके जस्तै सुक्दै गयो । न उस्लाई पढ्नु पर्छ भनेर सम्झाउने कोही थिएन । ढिलै भए पनि पढ्न शुरु गरेको उस्ले १५ वर्षको हुँदा बल्ल बल्ल सात कक्षा पढ्दा पढ्दै छोड्यो । अब त कापी किताब किन्न पनि पैसाको जोहो गर्न गारो हुन थाल्यो । अँझ त्यसमा सबै परिस्थितिहरूले उसलाई स्कुलसम्म तानेर लान सकेन । उस्का गोडा स्कुल तिरभन्दा पनि बाख्रा चराउनतिर लागे । जमूनाले पनि ५ कक्षा पास गरेर ६ कक्षामा दुई तीन महिना पढेर छोडी त्यही भएर पनि उस्लाई स्कुल जान मन लागेन ।

समय पनि वायुपँखी घोडा जस्तै दौडिए जस्तो लाग्यो किनकि अब त ऊ पनि १९ वर्षको पनि भयो । जवानीका रङ्गहरू पनि देखिन थाले, बोली मोटो भयो, हात पाखुरा अनि पिडुँला पनि गाँठिए, जुँगाका रेखी पनि बसे शरीरको आकृति पनि बदलियो अनि बिस्तारै जवानी भरियो । कति छिटो हर्लक्कै भाको ऊ पनि, अस्ति भर्खरसम्म सानै भए जस्तो लाग्थ्यो । घरमा बाहिरफेर लगाएर हिँड्ने कपडा थिएनन, आफैले किनेर नयाँ जुत्ता अँझै लगाएको थिएन । परार साल साइला लाहुरेले पल्टनबाट ल्याएका आफ्ना जुता जडाउरी दिएकाले दुइटा जाडो फाल्यो तर उसका गोडा पनि बढे जुत्ता पनि फाटे । एक महिना भरी भारी बोकेर आफूलाई गतिला २ जोर कपडा र कपडाका जुत्ता किन्यो मेलामा जाँदा कतै चाडबाडमा लगाउनलाई ।

समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ भने जस्तै ऊ पनि उपल्ला थरकी बाहुनकी छोरी जमुनालाई एकोहोरो मन पराउँथ्यो । हुन त ऊ पनि क्षेत्रिको छोरो थियो बाहुन बाटै खसेको भन्थे । उस्का चालढालमा आफूलाई समाहित गर्न खोज्थ्यो घरी घरी । भर्खर सत्र नाघेकी जवानीले भरिएकी जमुना गोरी राम्री थिई तर ऊ पनि छ क्लास पढ्दा पढ्दै घरमा काम गर्ने कोही नभएर पढाई छोडेकी थिई । घाँसपात गर्न जाँदा ऊ पनि आफ्ना घरका बाख्रा चराउने निहुँमासँगै सँगै जान्थ्यो । जमुनाले आफूलाई अप्ठेरो पर्दा उसलाई गुहार्थी नत्र सजिलो पर्दा मिठो खाँदा भने उसलाई सम्झिन्नथी दयामाया ऊ प्रति एक रती पनि थिएन भनौँ । अँझै भनौ जमुना चाहि आफ्नो काम सकिएपछि उस्को सबै गुन एक निमेषभरमा बिर्सिदिन्थि अनि उल्टै उसलाई उल्याउन जिल्याउन बाँकी राख्दिनथी एक दम मातेकी थिईभन्दा पनि हुन्थ्यो । एकोहोरो रुपमा उसलाई मन पराउँथ्यो ऊ चाहिँ । उसलाई मन पर्ने खानेकुराहरू अँझ रुखमा अप्ठेरोमा फल्ने फलहरू तिँजु, अम्बा, अमला अनि जामुन टिप्न एक निमेषमै हुर्रिन्थ्यो ऊ ज्यान फालेर तैपनि उसमा केही असर हुदैनथ्यो । एक दिन अमलाको बोटको हाँगा भाँचिएर भुइँमा हातका भर पर्दा लछारेको निस्सा अहिले पनि छ दाग ।

एक दिन जमुनाको घरमा उस्लाई पनि काममा बोलाए, किन हो जमूनाका घरमा धेरै मानिस आएको भन्ने उसलाई थाहा थिएन । अरु दिन जस्तै ऊ गयो तर जमुनाको बिहाको टीका टाला गर्न पो रैछ । ऊ छाँगाबाट खसे झैँ भयो तेरपाएँ खरबारी सिधै हामफाल्दै तलतिर हान्नियो मानौ कुनै दैवी बिपत्तिबाट बच्न ऊ भाग्दै थियो । उसलाई बिजुलीको करेण्ट लागे जस्तै भयो झन्झनियो अनि मार हान्न लाग्दा नलाग्ने हतियारले घाऊ लागेको पशु झैँ रन्थनियो । ७ दिन पछि जमुना को विवाहको लगन थियो, उसलाई त्यो दिन पनि बोलाए काम गर्न तर ऊ गएन, घरबाटै बाहिर निस्केन ।

उसको घरै अगाडि आएर पञ्चे बाजा अनि कानैमा जाली फुट्ने गरी उसैको झ्यालमा फर्काएर सनाई बजाउँदा उस्को ब्रम्ह सन्कियो अनि जुरुक्क उठेर बाहिर आयो अनि बजाई राखेको सनाई मुखबाट खोसेर मज्जाले ढुँगामा बजार्यो अनि ३ टुक्रा भयो अनि दिल च्यातेर मज्जाले रोयो आजसम्म नफुटेको भक्कानो फुट्यो उस्को, गावै हल्लाउने गरी रोयो शायद आजसम्म गाउँमा यस्तो गरी कोही पनि रोएको थिएन । ऊ रुँदै गाउँका पाटा पाटा चहार्यो बहुलाएको कुकुर जस्तो गरी तर बिहा घरको बाटो नाघेर हिँड्यो । रुँदा रुँदै घाँटी बसेपछि उस्को स्वर सुनिन छाड्यो । शान्त भयो त्यतिबेला गाउँ त्यसबेलासम्म विवाह पनि सकिएको थियो ।

रातभरि रुँदा रुँदा लखतरान भएर उसकै घरमा पीँढीमा लम्पसार पर्यो । भोलिपल्ट बिहानै घरमा बुढिआमा अनि भेडा बाख्राको हूल छोडेर ऊ आफ्ना कपडाहरू झोलामा कसेर, भएको दाम पैसा लिएर लिस्नोलाई ढोगेर घर छोडेर हिँड्यो । आफ्नी बुढी भएकी आमासँग जान्छु भनेर बिदा माग्न पनिसकेन माया लागेर पनि उसलाई त्यो गाउँमा बस्न मन लागेन । जुन झरेको आकाश झैँ भयो त्यो गाउँ, जता हेरे पनि त्यही जमुना आगो भएर दन्किन्छे अनि शूल भएर बल्झिन्छे । गोजीमा धेरै पैसा नभएकाले ऊ पल्लो गाउँ गयो अनि एउटा घरमा काम माग्यो अनि अलिकति पैसा बनायो अनि बसमा लामो यात्रा गरेर निकै टाढा पुग्ने जहाँसम्म पुगिन्छ भनेर सोच्दै थियो ।

परबाट जमूना हो कि होइन जस्तो देख्यो, नजिकै आए पछि चिन्यो बल्ल, कपाल जिँग्रीँग पारेकी पहिरन पनि भता भूग भएकी त्यति राम्री मान्छे कुरुप भएर आएकी थिई । उस्ले पनि के भयो जमुना भनेर सोध्न सकेन, जमूनाले पनि कहाँ हिडीस तँ भनेर सोध्न सकिन दुवै जना वाल्ल परे, एक आपसमा हेरिरहे । दुवै जना जिन्दगी देखि थाकेर ज्यूँदो लाश जस्तो भएका थिए । सोध्न खोज्थे दुवै जना बोल्न शब्द दुवैको फुट्थेन । उस्ले विवाहकै बेला ऊ रुँदै हिँडेको सुनेकी थिई, बिहामा फन्केर गएपछि फर्केर नआएको पनि थाहा पाएकी थिई । उस्लाई थाहा थियो कमलले उसलाई मन पराउँछ भनेर तर ढिला भइसकेको थियो । जहाँ विवाह भयो त्यो उसको चाहना थिएन, अँझै दाइँजोको निहुँमा विवाहकै रातमा घरमा कोकोहोलो मच्चियो अनि सासूले भित्राउन समेत आनाकानी गरिन अनि ऊ भागेर माइत आई, माइतमा पनि आफ्नै आमा बाले सौतेलो व्यवहार गरेपछि अनि ऊ पनि जिन्दगीदेखि थाकेकी थिई ।

“मैले उताबाट फर्केपछि तिमीलाई कति खोजेँ, तिम्रा घर पनि आएँ तिमी त गाउँ छोडेर हिँडेछौ, तिम्री आमा दैलाको ठेलामा बसेर रुँदै हुनु हुन्थ्यो, मैले एक छिन सम्झाएँ । मलाई थाहा त्यति बेलै थियो कि तिमी हानिएर घरबाट भाग्यौ अनि फर्केर पनि आएनौ । मैले तिमीलाई मन पराउँथेँ या पराउँदिनथेँ त्यो त थाहा छैन तैपनि मैले तिमी मेरो वरिपरि भएको हेर्न चाहन्थेँ । ठिकै छ कमसेकम फेला त पर्यौ ।

तपाईँले पनि एक छिन मात्र ढिला भएको भए मलाई जिन्दगीभर शायद भेटन पाउनु हुने थिएन किनकि म त अब सकेजति टाढा जान लागेको थिएँ, त्यसो भए अब के गरम त नि म फर्किम भन्दै कमलले पनि आफ्नो कुरा तेस्र्यायो । तिमी जहाँ हिडेका हौ हामी अवसँगै जाम, यता फर्केर हामीलाई हेर्ने टेर्ने को छन र । जहाँ पुगिएला त्यहाँ बसम्ला जे पाइएला त्यही खाम्ला बाँचुन्जेल बाचम्ला नत्र मर्दाका भोलिपल्ट दुई दिन हुन्चन भन्न थाली जमुना । अनि त्यही दिन दुई जना सुदूर पश्चिमका लागि बस चढे, जे भए पनि मनको संसार जोडियो सुख दुख भनेको त जीवनको यथार्थ हो ।

http://www.manko-chhaya.blogspot.co.uk/2012/12/blog-post.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *