Skip to content

भो हाल नेपालको

TikaMilan-03


शिन्धूको शिर उच्चमा अजङको, पैरो झरो बेगले ।
सुन्कोशी सब जाम भो जल भरी, बर्षा भयो तेजले ।।
बस्तीको सब गाँस बास सहितै, मान्छे हराए कहाँ ?
खोजी गर्न भनेर नै पुलिस औ, आर्मी पुगेछन् त्यहाँ ।। १

मान्छेको सब गाउँ नै पुरिगयो, सारा उठिबास भो ।
कोही घायल भै मरें अब भनी, रुँदै गरेका अहो !!
बाँकी छैन कतै न पुत्र न बधू, छैनन् कुनै सन्तती ।
एक्लो जीवन भो कठै अधमरो, बग्यो सबै सम्पती ।। २

कोहीका परिवार नै सब गए, चीहान यौटै भयो ।
आँशूको दह हो कि हो जलधिको, यत्रो मुहानै भयो ।।
पैराले कतिसम्म यो समयमा, कोशी थुनिदै गयो ।
पानीको त निकास छैन अब त्यो, दुर्भाग्यकै खेल हो ।। ३

जम्यो त्यो जल पोखरी सरि भयो, बस्ती डुबे तिरका ।
जम्मै त्यो अझ खोलियो यदि भने, को बच्न सक्लान् बरा ।।
मान्छे छन् सब दु;खमा विरहमा क्वै छन् त्यसै त्राशमा ।
खाने के अब लाउने नत कुनै, बस्छन् सबै आशमा ।। ४

मान्छे धेर मरे कयौं घर ढले, भैंसी मरो गोठको ।
खेती छैन कतै न बास छ दरो, छाप्रो विना ओतको ।।
थुन्यो त्यो जलको विशाल अति नै भो ताल ऐले जहाँ ।
बाटो छैन कतै न जान सकिने, मान्छे फसेछन् त्यहाँ ।।५

माटो कम्सल हो कि त्यो जमिन हो ? भक्त्यो जसै तेजले ।
सारा मानिसको भयो नि उठिबास्, गावैं लागो भेलले ।।
नामै छैन निशान के भानु अझै, बस्ती कहाँ गो अब ।
खेती छैन त्यहाँ न खेत न गरा, सृष्टी कहाँ गो सब ।। ६

काहाली अति लाग्दथ्यो मुटुचिरी, भक्कानिदै देह यो ।
रुन्थ्यो आज त्यहाँ समस्त धरती, देख्ने र सुन्ने रुयो ।।
छैनन् बाबु र भाइ आज कतिका, बैनी र आमाहरू ।
छैनन् पाल्तु कुनै जनावर त्यहाँ, गाई र बाच्छा अरु ।। ७

ऐर्यो पर्वतनै झरो अब सबै, खुल्थ्यो नदी केगरी ।
हाहाकार भयो सबै तटमहा, कोशी थुनो रे भनी ।।
छोडी गै घरबार अन्य तिरनै, छाप्रो बानो पालको ।
यस्तै दुर्दिनले सधैं जकडिने, भो हाल नेपालको ।। ८

२०७१/५/५
इटहरी -५ सुनसरी
छन्द:- शार्दूलबीक्रिडीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *