Skip to content


भन्छन् बाटो, ‘जनपथ’ कयौं, ‘राजपन्था’ मलाई।
मान्छन् धेरै, ‘सडक’ सजिलो, हिंड्न वा डुल्नलाई।।
ढुंगा–रोडा, इँट–रट कयौं, कार–होन्डा थुपारी।
बालीनाली, नल पिचभरी, दाइँ भर्दै भकारी।।

सुर्ती–खैनी, चुरोट–बिंडीका, ‘नर्क’ फालेर नाना।
सानासाना, शिखर चुलिई, जम्छ रछ्यान छाना।।
ठस्–ठस् कन्दै, नद–नदी यहाँ, नीच दुर्गन्ध छोड्छन्।।
झाडाबान्त, नरमथलले, ‘मार्ग–अस्तित्व तोड्छन्।।

राँको बाल्दै, तुमुल–ध्वनिमा, आँट पोख्छन् जुलूस।
झाँको झार्दै, विमल सपना, बाँड्न खोज्छन् जुलूस।।
छाती टेक्दै, सडक–गरिमा, अस्मिता भाँचिदिन्छन्।
नांगै बक्कासुर असुरझैं, रौद्रता नाचिदिन्छन्।।

गोली पड्की, मुटु मगज नै, कम्पिंदै धर्मरायो।
होली फड्की, नर–रगतमा, युद्ध नै बर्बरायो।।
चिन्ता पोख्छन्, मजदुर यहीं, छात्र–संघर्ष–कर्ष।
दाम्ला–नाम्ला, फल –पसलले, मार्ग–अस्तित्व मर्छ।

गुड्छन्, चर्का गति यति नभै, मत्त बन्दै सवारी।
हत्या–हिंसा, कलुषित धुँवा, धुलिकाकै भकारी।।
खप्दै चर्का, दमन सहने, धैर्यता ढल्पलायो।
भन्छन् हाम्रा–सडक अहिले सर्वसत्ता उदायो।।

बद्रीप्रसाद दाहाल
धादिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *