Skip to content

मेरो जिन्दगी, मेरो विश्वास: सकारात्मक सोच

  • by


म यस धर्तीका हरेक चिजबिजमा राम्रो कुरा अवश्य हुन्छ भन्ने विश्वास गर्छु । म भित्री आँखाले त्यस्ता कुरा हेर्ने प्रयास गर्छु । कुनै पनि मानिस राक्षस भएर जन्मिदैन । ऊभित्र राम्रोपन लुकेकै हुन्छ । म त्यो राम्रोपन, मेरा बच्चा र साथीहरूमा हेर्न खोज्छु । म शत्रुभित्र पनि त्यो शक्ति पहिल्याउन चाहन्छु ।

म कुनै चिज आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु । अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु, मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु ।

मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ ।

जीवनमा प्रगति गर्न सकारात्मक र आशावादी सोच नभई हुँदैन । कहिलेकाहीं विषम परिस्थितिमा भविष्यप्रति आशावादी भइरहन गाह्रो हुन्छ । मलाई पनि यस्तो धेरैपल्ट भएको छ । म छोरासँग मिलेर नयाँ होटल खोल्ने तयारीमा थिएँ । द्वन्द्वका कारण देश विषम परिस्थितिमा थियो । होटल खोल्ने उपयुक्त समय होइन कि जस्तो पनि लाग्दै थियो । तर त्यसबेला मैले मेरा पुराना दिन सम्झेँ- जुन बेला एउटामात्र होटल थियो र दुई रुपैयाँ डलरमा विदेशी पर्यटकलाई कोठा दिइन्थ्यो । यो सम्झेपछि लाग्यो, “जे भए पनि विगतभन्दा त धेरै कमाएको छु नि !” त्यसपछि मलाई राहत महसुस भयो । अनि आँट पनि आयो ।

मेरो इतिहासले विषम परिस्थितिमा पनि अझ आशावादी भएर अगाडि बढ्न मलाई हरेकपटक आत्मबल दिएको छ । अझै पनि मेरो पुरानो होटलमा एउटा कोठा दुई डलर भाडामा राखेको छु, इतिहास सम्भिmराख्नका लागि ।

म चाहन्छु, म सधैं आशावादी रहुँ । यदि मसँग आशा हुँदैनथ्यो भने सायद म कहिल्यै खुसी हुन सक्दैनथेँ । मेरी श्रीमती र छोरी क्यान्सरले बिते । मेरो आशावादी सोचले नै मलाई क्यान्सरविरुद्ध उभ्यायो । एक पैसामा क्यान्सर अस्पतालको अवधारणा सरकारलाई बुझाएँ । हुन त एक पैसा आफैंमा केही होइन, तर एक-एक पैसा धेरै भए भने भक्तपुर र भरतपुर क्यान्सर अस्पताल बन्न सक्दारहेछन् । आशावादी नभएको भए ती क्यान्सर अस्पताल त के, आफैं पनि प्रोस्टेट ग्रन्थिमा लागेको क्यान्सरले मरिसकेको हुन्थेँ । तर मसँग बाँच्ने आशा धेरै थियो, अनि आत्मबल पनि । त्यही आत्मबलले आफूलाई लागेको क्यान्सरलाई पनि हराएँ ।

आशावादी भइयो भने सकारात्मक सोच पलाउँछ । राम्रो सोचाइको परिणाम पनि राम्रै हुन्छ भन्ने मलाई विश्वास छ । सकारात्मक सोचले कर्तव्यबोध गराउँछ । त्यही कर्तव्यबोध नै समस्या समाधानका लागि अचुक ओखती हुँदोरहेछ । कर्तव्यले सधैं उद्यम गरिरहन सिकाउँछ, कुनै लोभलालचविना, एउटा कविले निरन्तर कविता लेखेझैं वा चित्रकारले चित्र बनाइरहेझैं ।

म जीवनमा पीडा नहोस् भनेर भगवानसँग प्रार्थना गर्छु । तर जीवनमा आइसकेको पीडाबाट निराश हुन्न । त्यही पीडाका आशाको नयाँ बाटो हेर्छु । त्यही आशाको सहायतालेे पीडालाई शक्तिमा परिवर्तन गर्छु । म पनि अरूजस्तै साधारण मानिस हुँ । मैले पनि धेरै भूल गरेको हुँला ।

आफूलाई अत्यन्त नैतिकवान् वा आदर्श व्यक्ति भन्दिन । काम गर्ने क्रममा जीवन चलोस् भन्छु । तर जीवन चलाउन राम्रो कुरा खोज्नु पर्दोरहेछ । जीवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् । त्यस्तोबेला म आँखा चिम्लन्छु, अनि समस्यामा छोपिएका राम्रा कुराहरू देख्छु । मैले राम्रो कुरा खोज्नसकेँ भनेमात्रै म राम्रो मान्छे हुन सक्छु । यही नै मेरो जिन्दगी हो, मेरो विश्वास हो ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम ‘मेरो जिन्दगी मेरो विश्वास’ बाट साभार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *