Skip to content


प्रभाः
खोलेर आँखा, हेर्नू न स्वामी, यी छोरा हेर्नू न
कसरी बाँच्न, सकुँला स्वामी, बालक हेर्नू न
आकाशतिर, नहेरे हुन्न?, विन्ती छ हजुर
पुछिँदा स्युँदो, खुशी के हुन्थेँ, विन्ती छ हजुर

वैल्याई झरे, दिलको फूल, पापीले छोएछ
सम्हाल्न गाह्रो, हुनेछ अब, यो दिल रोएछ
मुठ्ठीमा च्यापी, राख्न के सक्थेँ, भाग्यको विधाता
लुट्दछ किन, पापीले मेरो, यो भाग्य विधाता

दिन र रात, हुनेछ उस्तै, दैवले खेदि’गो
नगरी गल्ती, पापीको छुरा, मुटुमा घोपियो
बनेर चरा, डुल्नु है अब, यो प्रभा हेरेर
बाँचूँला दुःख, सहेर एक्लै, यी छोरा पालेर

सुरले हान्यो, रचेर बाण, नभन्दै ढल्नु भो
न्यायको लागि, सन्तान त्यागी, युद्धमा रम्नु भो
खोल्नू न आँखा, हे मेरा प्यारा, म छु नि साथमा
तपाईविना, म हुन्छु एक्लो, दिन र रातमा

कसरी पाउनु, श्रीमान मेरो, मरेर जानुभो
माटोको माया, लागेर उहाँ, मरेर जानुभो
हे सासू आमा, श्रीमानविना, म अब बाँच्दिन
मुटुमा ढुङ्गा, राखेर पनि, म हाँस्न सक्दिन

हे मेरा प्यारा, साथमा लानू, म जान चाहन्छु
कहाँ छ बिष, पानीमा घोली, प्युँन म चाहन्छु
नपाए विष, कटारी धसी, मर्नु छ मलाई
श्रीमान ढले, जसरी छिट्टै, ढल्नु छ मलाई

बादल आई, ढाकेर गयो, वैँशालु जवानी
बाँच्दिन अब, नबाँचोस् मेरो, अधुरो जिन्दगी
बाँचेर अब, शान्ति के मिल्थ्यो, व्यथा छ मन्भरि
दैवले पिट्यो, नदिई थाहा, निल छ तन्भरि

लक्ष्मीः
बुहारी तिमी, नरुनु अब, रोएर बाँच्दैन
मरेको छोरो, सम्झे नि अब, फर्केर आउँदैन
रोएर शान्ति, पाइन्न प्रभा, यो हाम्रो आत्माले
के गर्नु प्रभा, पिट्दैमा छाती, बाँच्दैन मायाले

छोराको लास, देखेर आँसु, मेरो के रोकिन्थ्यो ?
भाग्यले साथ, दिएको भए, बाटो के छेकिन्थ्यो ?
म बुढी आमा, छोडेर गयो, देशको मायाले
त्यो सिंगो देह, अर्पेर गयो, देशको मायाले

कपाल सेतै, फुलेको हेर, हीराझैँ टल्केको
पाइँदो रैछ, सुख या दुःख, भाग्यमा लेखेको
तिमीले आँसु, झारेको देख्दा, म बुढी मर्नेछु
डाँडाको घाम, म बुढी आमा, अवश्य डुब्नेछु

प्रभाः
के गर्नु आमा, कसरी हाँसुँ, अधर खोलेर
श्रीमानविना, कसरी बसुँ, हृदय खोलेर
सिन्दुर मेरो, पुछियो आज, विधवा भै गएँ
मरेर बाबा, ती साना छोरा, टुहुरा भै गए

ढुङ्गाले हानी, फुटाए चुरा, भाग्यले लुटेर
हृदय भित्र, धेरै छन् चोट, आँसुले चुटेर
छुँदा नि दुख्छ, यो दिल मेरो, नछुनू कसैले
यो एक्लो घर, उज्यालो अब, होला र कहिले?

अमरनाथः
नगर्नू चिन्ता, बुहारी तिमी, छोरीझैँ पाल्नेछु
तिमी नै रोए, म बुढो बाबा, कसरी बाँच्नेछु?
म पनि अब, कति नै बाँच्छु, रोगले च्याप्दैछ
क्यै वर्षपछि, म पनि मर्छु, रोग झन् बढ्दैछ

छोरालाई जति दिनेछु माया, छोरी नै सम्झेर
बस्नु छ अब, टुहुरो नाति, काखमा राखेर
हे ! मेरी सानी, बुहारी तिमी, नरुनू बेसरी
चाउरी गाला, नदेख्ने आँखा, भिज्दछ परेली

गुनासो कति, गर्दछ्यौ छोरी, तस्वीर हेरेर
जन्मदै ल्याको, भाग्यको खेल, रोकिन्न रोकेर
भुलेर कैल्यै, नरुनू प्रभा, टुहुरा रुनेछन्
दिएर माया, पाल्नेछन् तब, यी ठूला हुनेछन्

देशको लागि, मर्यो त के भो, जन्ताले सम्झेलान्
यी साना नाति, हुर्केर भोलि, ताराझैँ चम्केलान्
मेरो नि मन, ढुङ्गाको हैन, ढुङ्गाझैँ पारेको
लुकाई आँसु, कसैको लागि, मुसुक्क हाँसेको

छोराले पाल्ने, समय थियो, त्यै पनि मरी गो
यो बुढो देह, नमर्दै उही, चिट्टामा जली गो
मक्किँदै गा’छ, यो बुढो देह, कता गै ढल्ने हो
म पनि धेरै, रहन्न ज्यूँदो, छोराझैँ जल्ने हो

त्यसैले प्रभा, नमान्नू दुःख, कर्मको खेल यो
दुःखमा पनि, पर्दछ रम्न, जिन्दगी जेल हो
भन्दैन रै’छ, कालले कान्छो, बल्ल पो थहा भो
नसोध्नु अब, कसैले पनि, प्रद्युम्न कता गो

प्रभाः
कुरा त ठिकै, गर्नु भो बाबा, यो मन बुझ्दैन
रुन त मन, थिएन बाबा, यो आँखा मान्दैन
रुदैनन् कोही, सैँभाग्य त्यही, सिन्दुर नपुछे
एकल हुने, थिएन बाबा, श्रीमान नमरे

बल्ल त मेरो, फूल्दैछ वैँश, त्यै पनि देखेन
गोलीले पनि, मलाई नै ताक्यो, अरू क्वै भेटेन
छोराले जस्तै, दिन्छु म साथ, भन्नु भो आमाले
तर के गर्नु, छोड्दैन आमा, स्वामीको छायाँले

सबैले रातै, लाएका हुन्छन्, सिन्दुर शिरमा
कसरी ज्युँनु, विधवा बनी, टुहुरो घरमा
जूनले हेर्ला, नहेर्ला राती, यो खाली सिउँदो
मरेर उहाँ, सपना सबै, भै दियो अधुरो

कलिलो छाती, फुट्ला कि आमा,बुहारी घरको
मैँ मरी गए, पाल्नू है बाबा, टुहुरो नाति यो
यो आँखा अघि, नाच्दैछ अँझैँ, बिहेको दिन त्यो
विधवा भएँ, आजको दिन, सिँन्दुर पुछियो

लक्ष्मीः
एक्चोटि सबै, मर्दछन् मान्छे, बाँच्दछ सदा को ?
बनाउनु पर्छ, बाँचेर तिमी, भविष्य नातिको
बुहारी तिमी, छ्यौ हाम्रो साथ, नरुनू कहिल्यै
झारेर आँसु, कलिला गाला, नधुनू कहिल्यै

तिमी नै रोए, रुने छन् नाति, काखका बालक
सम्हाल्नु घर, छोराले जस्तै, बटुली साहस
टोलाई बस्नु, हुँदैन तिमी, बालक अगाडि
सानै छन् छोरा, हुर्केर भोलि, हुनेछन् सारथी

तिमी नै रोए, म बुढी सासू, कसरी हाँसुला
तिम्रो नै साथ, पाइन भने, म किन बाँचुला
माया त कस्लाई, लाग्दैन होला, छोरा र छोरीको
तिमी नै बुझ्न, सक्दिनौ भने, बुझ्दछ अरू को ?

नौ मैनासम्म, पेटमा राखी, मैले नै जन्माएँ
दिएर माया, बालक छोरो, जवान बनाएँ
सुरले किन, सकेन बुझ्न, कहानी आमाको
तिमी नै मर्छु, भन्दछ्यौ भने, गर्ने छ माया को ?

बुहारी तिमी, छोरा हौ मेरो, नछोड्नू यो घर
खरानी बनी, उडेर गयो, मेरो निरहर
काट्नेले काट्लान्, काट्न द्यौ कुरा, भाग्य नै यस्तै छ
यो बुढो ज्यान, सम्झेर छोरो, फर्केला जस्तो छ

प्रभाः
घरको ढोका, खोलेर सुते, छायाँ नि आउँछ कि
हे सासू आमा, हिजोको जस्तो, पियारी भन्छन् कि
बाबाको खोज, छोराले गर्दा, जवाफ के दिनु
नफुट्दै बोली, पिएर आँसु, जिन्दगी के ज्युँनु ?

तस्वीर देख्दा, रोकिन्न आँसु, यो मेरो आँखामा
रुन त दिनू, हे सासू आमा, आँसु छ साथमा
हुनेछ बुच्चो, हातको नारी, चुरा भो विरानो
रहन्छ ताजै, घटना मेरो, बन्दैन पुरानो

बाँच्न त कसै, बाँचूँला आमा, म सधैँ रोएर
बाबाको माया, कसरी दिनु, आँसुमा पौडेर
निधार मेरो, खाली भो अब, उहाँले छाडेर
यात्रा थ्यो यौटै, दैवले लग्यो, जिन्दगी मोडेर

दशैँमा टीका, लगाउन खोज्लान्, छोराले घरमा
के गर्नु छोरा, टुहुरो भयौ, नरुनू घरमा
नरुनू बाबु, सम्झेर बाबा, म छु नि साथमा
छोडेर कतै, नजानू बाबु, विधवा यो आमा

प्रज्ज्वलः
के गर्नु आमा, टुहुरा भयौँ, बाबाले छोडेर
बुझाउँला आमा कलिलो मन, तस्वीर हेरेर
के गल्ती थियो, बाबाको आमा, बाँचेर देशमा
देशको लागि, थाप्नुभो गोली, उहाँले छातीमा

न्यायको लागि, लड्नु भो बाबा, बोकेर साहस
गुन्जँदै होला, सडकविच, बाबाको आवाज
म हुर्केपछि, पर्दैन रुन, आमाले कहिल्यै
शैतान सामु, भुलेर पनि, नझुक्नू कहिल्यै

साहस जस्ले, गर्दछ यहाँ, हार्दैन कहिल्यै
देशको माया, बोकेर हिँडे, झुक्दैन कहिल्यै
सहिद कोही, हुँदैन आमा, घरमा मर्दैमा
सालिक पनि, बन्दैन आमा, आगोमा जल्दैमा

देशको लागि, मरेर बाबा, सहिद बन्नु भो
हिजोको ज्युँदो, रहेन देह, शालिक बन्नु भो
हे आमा अब, म छु नि साथ, यो घर धान्ने छु
बाबाले जस्तै, देशको माया, छातीमा राख्ने छु

प्रभाः
भन्दछौ तिमी, बाबाले जस्तै, देशको माया छ
नभुल्नू छोरा, देशको माटो, वीरको गाथा छ
भएछौ बुझ्ने, सानैमा तिमी, टुहुरो भए नि
के गर्नु बाबु, मरेर बाबा, भएँ म टुहुरी

विधवा आमा, पर्ने भो पाल्नु, हे छोरा तिमीले
यी लुला हात्ले, दाहक दिनु, पर्ने भो तिमीले
यो कस्तो कर्म, सानैमा बाबा, मरेर जानुभो
सन्तान हेर्दै, अन्तिमचोटि, मुसुक्क हाँस्नुभो

भाग्य नै हाम्रो, रहेछ यस्तै, दैवले खेदेको
सक्दिन सुन्न, विरही गीत, सारङ्गी रेटेको
के गर्नु छोरा, सानै छौ तिमी, बुझ्दैनौ कहानी
नझरे तारा, नढले रात, हुँदैन, बिहानी

ग्रहण लाग्यो, यौवनमाथि, सेतै भो जिन्दगी
अधुरो भयो, सपना हाम्रो, रोएर धरती
ईश्वर तैँले, के गरिस् यस्तो, फुलेको वैँशमा
छरेर गयो, भाग्यले आज, खरानी घरमा

ऐनाझैँ फुट्यो, यो भाग्य रेखा, दैवको खेलले
उडाई लग्यो, वैँशको फूल, बैशाख हुरीले
यी दुई छोरा, हुर्किए पछि, पाल्नेछन् मलाई
बाँचेर तिमी, पर्दछ गर्नु, देशको भलाई

बाबाले हेर्नु, हुनेछ बाबु, बनेर चन्द्रमा
देख्नेछौ तिमी, त्यो मध्यरात, बाबाको सपना
नरुनू छोरा, म छु नि साथ, मायाले पालुँला
रोकेर आँसु, अधर खोली, मुसुक्क हाँसुला

विधवा बनी, हिँड्नु छ अब, बोकेर जिन्दगी
कतिञ्जेल् बाँच्ला, मुटुमा किला, ठोकेर जिन्दगी
मनको घाउ, मनैमा थाक्ने, औषधी के छ र ?
उहाँको जस्तो, अपार माया, अरूको काँ छ र ?

विधवा आमा, बाजे र बज्यै, पालेर बस है
नमान्नू पीर, आमाको साथ, खुशी भै बाँच है
सक्दिन छोरा, आँखामा आँसु, थामेर हाँस्न म
के गर्नु अब, सक्दिन छोरा, अतित विर्सन

आत्तिनु हुन्न, प्रज्ज्वल तिमी, प्रचण्ड राप छ
बिस्तारै हिँड्नु, बोकेर आँट, कलिलो काँध छ
यो सृष्टिकर्ता, अचम्म लाग्छ, सोचेर हेर त
लोचन खोली, नियाली हेर, यो नीलो आकाश

प्रज्ज्वलः
नगर्नू आमा, गुनासो अब, जे हुनु भै सक्यो
रोएको मात्र, देख्छु म आमा, हाँसो चैँ कता गो
बालक छोरो, हुर्केर आमा, सहारा दिनेछु
छोडेर कतै, जान्नँ म आमा, साथमा हुनेछु

बाबाको माया, पाइन पूरा, भाग्यले लखेट्यो
बाबाको देह, शालिक बन्ला, सहिद देशको
यी मेरा हात, लुला छन् आमा, काम्दछ बेसरी
सानै छ भाइ, दाग्बत्ती अब, दिने छ कसरी ?

कलिलो मुटु, फुट्ला कि मेरो, जलेको देखेर
बेहोस हुँला, आर्यघाटमा, बलेको देखेर
पोल्छ कि मेरो, बाबाको देह, आगोले नछुनू
नेपालीजन, म जस्तो कोही, टुहुरो नहुनू

रहेछ कस्तो, यो पापी कर्म, बाँचेछ किन खै ?
नगरी गल्ती, बाबाको सास, टुटेछ किन खै ?
गोलीले छाती, छेडिनु पर्ने, आधार के थियो ?
मर्ने त मरे, बाँच्नेको लागि, न्याय चैँ के दियो ?

प्रभाः
नवैली झर्यो, बेलको फूल, चलेर बतास
जिन्दगी भयो, विधवा हिजै, बनेछ उजाड
हिजोको रूप, कुरूप भयो, जिन्दगी रुँदैछ
खोलाको रित्तो, बगर जस्तो, जिन्दगी हुँदैछ

राम्ररी पढ्नू, तिमीले छोरा, ज्ञानी भै बाँच्नु छ
देशको सच्चा, बनेर भक्त, यो देश हाँक्नु छ
पैसामा बिक्नु, हुँदैन तिमी, भुलेर कहिल्यै
बिन्ती छ बाबु, नहिड्नू कतै, झुकेर कहिल्यै

हजुरआमा बुढी छिन् तिम्रो, मायाको खाँचो छ
जोत्ने नै मरे, हेर न छोरा, यो बारी बाँझो छ
उदासी देख्छ, करेसा बारी, विधवा आँखाले
हेरे कि मेरो, शरीर सेतो, जून र ताराले

हे छोरा तिमी, नरुनू कैल्यै, रोएर जितिन्न
धर्तीमा छँदा, नौलाखे तारा, कहिल्यै भेटिन्न
शरीर पूरै, सेताम्मे भयो, विधवा आमाको
थामिन्न अब, आँखामा आँसु, यो तिम्री आमाको

हे सासू आमा, अब के गरुँ, यी छोरा सानै छन्
विधवा भएँ, बाँचु कि मरुँ, यी छोरा सानै छन्
बल्झेको घाउ, थाक्दैन आमा, यो दिल दुःखी छ
पुछिँदा स्युँदो, चुडिदा पोते, ईश्वर खुशी छ

देशको लागि, क्यै गर्ने मान्छे, रहेनन् साथमा
डुल्दै पो होलान्, बनेर सुगा, बन र पाखामा
बाटोमा हिँड्दा, सबैले पापी, दृष्टिले हेर्छन् कि
म रहेसम्म, एक्लै छे भनी, कसैले हेप्छन् कि

के गर्नु अब, जिएर मैले, यो एक्लो घरमा
हेर्नुभयो कि, टुहुरा छोरा, बसेर बनमा
धूमिका जस्तो, जिन्दगी भयो, मरेर श्रीमान
बनेर धुँवा, उडेर गयो, जलेर जीवन

बज्रियो दुःख, मैमाथि आमा, कलिलो वैँशमा
सधवा वैँश, विधवा भा’छे, बुहारी घरमा
बेहोसी बनी, ढलें म कति, सिन्दुर पुछिँदा
यो सेतो वैँश, कसरी पालूँ, हे मेरी सासू माँ

सेतै छ सारी, सेतै छ चोलो, सेतै छ चप्पल
उडेर गयो, बादलु जस्तै, सुनको जलप
सम्झना गर्लान्, नगर्लान् तर, मरेर जानुभो
बनेर धुँवा, आकाशतिर, उडेर जानुभो

सन्त्रस्त हुनु, हुँदैन छोरा, नेपाली छाती यो
गर्नु छ तिम्ले, बाबाले जस्तै, सत्कर्म माटोको
कसरी गर्छौ, सत्गत बाबु, तिमीले बाबाको
खेल्नेछौ अब, काखमा सधैँ, विधवा आमाको

राज्यले मोक्ष, सकेन दिन, यो धर्ती माटोमा
धेरैको बगे, रगत हिजो, नेपाली माटोमा
ईश्वर तैँले, सकिनस् दिन, न्यायको कोसेली
खेल्नेछन् अब, आँखामा आँसु, बुँदझैँ बहेली

के गर्छौ छोरा, भाग्य नै हाम्रो, फुटेको रहेछ
सौभाग्य लुट्न, देवता सबै, जुटेको रहेछ
नरुनू तिमी, नमान्नू दुःख, म छु नि साथमा
बज्दैनन् अब, माटाका चुरा, यी मेरा हातमा

हिड्नु है बाबु, सत्मार्ग बाटो, यो देश हाम्रै हो
नगर्नु घृणा, नथुक्नु थुक यो, माटो हाम्रै हो
सन्नाटा लाग्छ, दिन र रात, अचेल मलाई
आएर काल, लैजान छिट्टै, जवानी जलाई

मबाट मेरो, छुटायो पति, छोरा छन् बालक
कसरी दिन्छौ, यी साना तिम्रा, हातले दाहक
बाबाको फोटो, हेरेर रुन्छौ, रुँदैनौ प्रज्ज्वल
रोएको देख्दा, दुनियाँ भन्ला, भइछे पागल

प्रज्ज्वलः
बोक्दिन डर, बाँचुनजेल, वीरको छोरो हुँ
टुहुरो भएँ, मरेर बाबा, कसरी म हाँसुँ ?
बाटोमा हिँड्दा, साथीले सोध्लान्, बाबा ख्वै भनेर
जवाफ मैले, के दिनु आमा, पुर्पुरो छामेर

सानो छ भाइ, मभन्दा पनि, बुझ्दैन उसले
स्कुल जाँदा, नरोई जानू, हेप्दैनन् कसैले
सकेन देख्न, पवित्र हाम्रो, जिन्दगी गोलीले
धर्तीको माटो, धेरै नै भिजे, आँसुको खोलीले

बाबाको हात, समाती हिड्नू, मन् थियो मलाई
सुरले हाम्रो, सन्तानमाथि, गरेन भलाई
हे आमा अब, जे हुनु भयो, रोएर हुँदैन
देखेर आँसु, द्यौताको आत्मा, कहिले रुँदैन

मान्छेको जुनी, रहेछ कस्तो, सासले अडेको
सक्दिन हेर्न, बाबाको देह, आगोले जलेको
कठोर आत्मा, पारेर आज, दाहक दिनु छ
आमाको लागि, सन्तान हामी, हाँसेर ज्युँनु छ

बाहिर हिँड्दा, हाँसेको देख्लान्, भित्र म रो’को छु
यो छाती चिरे, देखिन्छ आँसु, हृदय धोको छु
हेर्नू है बाबा, बनेर तारा, सम्झेर सन्तान
छिट्टै नै बन्ला, देशमा अब, जनको विधान

नरुनू बज्यै, सम्झेर बाबा, नाति छु साथमा
हिँडुँला आमा, सम्झेर बाबा, असल पथमा
जन्मेछु किन, फुटेको भाग्य, लिएर साथमा
दुःख र पीडा, जन्मदै बोक्नु, पर्ने भो साथमा

के थियो गल्ती, ईश्वर मेरो, यो बाल रुवायौ
तिमीले बोक्न, नसक्ने भारी, मलाई बोकायौ
कसरी बाँच्नु, सहेर पीडा, के गर्यौ तिमीले
पिएर आँसु, गाएछु गाथा, सुन्यौ कि तिमीले

देशले न्याय, पाएछ भने, हुर्कन सकुँला
पाएमा साथ, त्यो हिमगंगा, तर्न म सकुँला
तक्दीर मेरो, रहेछ यस्तै, दैवले खेदेको
बेपत्ता भा’का, वीरको लास, छ कस्ले भेटेको

हेरेर फोटो, नचुट्नू छाती, यो मुटु दुख्दछ
देखेर पीडा, सम्झेर वीर, यहाँ को रुँदछ ?
जनको लागि, मरेको वीर, कसैले सम्झेन
गरिब्को आँसु, झरेको पनि, सुरले देखेन

मभन्दा पनि, सानो छ भाइ, आमाको काखमा
नपर्ने भयो, बाबाको हात, यो मेरो शिरमा
हे आमा सधैँ, हुनेछु साथ, यो सानो बालक
चम्केला कैले, ताराझैँ गरी, नेपाली जगत

फूलझैँ फुल्नु, पर्दथ्यो मेरो, कलिलो जिन्दगी
आग्रह मेरो, यही छ आमा, नबनँू बन्दकी
के गरुँ आमा, एक्लो छ घर, म हाँसुँ कसरी
दुनियाँ हाँस्ला, टुहुरोदेखि, म बाँचुँ कसरी

जवाफ मैले, के दिनु आमा, भाइले सोधेमा
बाबाको फोटो, हेरेर रोला, राखेर छातीमा
शालिक बन्ला, बोल्दैन होला, देखेर सन्तान
यो कस्तो कर्म, द्यौताले पनि, गरेन कल्यान

अम्मरनाथः
बन्नु छ तिमी, पहरेदार, गर्नु छ सुरक्ष्ाँ
चाहेर कहाँ, भइन्छ वीर, नगरे प्रतीक्षा
सन्तान सबै, टुहुरा भए, तिमी नि सानी छ्यौ
हरेस खानु, हुँदैन प्रभा, तिमी त ज्ञानी छ्यौ

जीवनभर, खुशीले बाँच, यी छोरा तिम्रै हुन्
पाल्नु छ तिम्ले, दिएर माया, सन्तति तिम्रै हुन्
म पनि कति, बाँच्छु र छोरी, डाँडाको घाम हुँ
नरुनू कोही, सम्झेर भोलि, म मर्न सक्दछु

नगर्नू गालि, सानै छन् नाति, मायाको खाँचो छ
राम्ररी पाल्नू, दिएर खुशी, वीरको नासो छ
वीरको नासो, हुर्किए पछि, चम्केलान् जूनझैँ
साहसी बनी, हिड्नेछन् तिनै, नेपाली वीरझैँ

बुहारी तिम्रो, म छु नि साथ, दिनेछु साहस
शिखर चुम्न, सकिन्छ प्रभा, नगर्नू हतार
मान्छेको जुनी, यस्तै हो छोरी, जे लेख्यो त्यै हुन्छ
धर्तीमा बसी, उफ्रेर मान्छे, आकाश को पुग्छ ?

दुःख त लाग्छ, लागेर पनि, सहारा पाइन्न
नगर्नू ढिपी, जलेर गा’को, जिन्दगी पाइन्न
कालले सँगै, लादैन कोही, खुशी त उसको
विधवा त्यही, मानिस हुन्छ, मरेछ जसको

गोली त यौटा, निर्जीव वस्तु, यसले देख्दैन
बन्द छ आँखा, त्यसले छोरी, आफन्त चिन्दैन
फन्फनी घुमी, उडेर आयो, गोलीको बुलेट
संघर्ष गर्दा, पेटमा हिजो, रोपियो बुलेट

यो बुढो मन, दिएर पीडा, रुवायो गोलीले
म मर्ने बेला, छोराको मृत्यु, गरायो गोलीले
बुहारी तिमी, साहसी हुनु, आशिष छ मेरो
कायर बन्नु, हुँदैन अब, सन्तान वीरको

प्रभाः
घरको छानो, छाउने मान्छे, गोलीले मार्दियो
देशमा शान्ति, चाहने मान्छे, द्यौताले फाल्दियो
रहर लाग्दो, यो वैँश मेरो, आँसुले बगायो
मारेर मान्छे, राज्यले आङ्खनो, औकात देखायो

नपरे पिर, पिटेर छाती, किन पो राइन्थ्यो
जनले मुक्ति, पाएको भए, युद्ध के चर्किन्थ्यो ?
भो अब छोरा, नगर्नू चिन्ता, देखेर रगत
फक्रला कैले, गुलाब जस्तै, नेपालीे जगत

के गर्नु छोरा, नियति यस्तो, पैसाले किनिन्न
नखेली खेल, विपक्षीसँग, रोएर जितिन्न
यी बुढी सासू, ससुरा आङ्खना, पाल्न के सकुँला
अधर खोली, चुल्होमा आगो, बाल्न के सकुँला

कसौँडी रित्तो, रित्तो छ आमा, यसमा पाक्छ के ?
भोको छ पेट, रुपैयाँ विना, यसमा पाक्छ के ?
भ्याकुर गिठ्ठा, खाएर बाँच्लान्, खोजेर वनमा
टिल्पिल गर्लान्, भोकले आँसु, कलिला आँखामा

खाएर आधा, भरिन्न पेट, बालक छोराको
छोडेर एक्लै, जानुभो उहाँ, छ अहिले साथ को?
भरिन्न पेट, जति नै खाउँ, अभाव उहाँको
म जता जाउँ, दुःख के कहुँ, अतित उहाँको

खौरेर केश, मुडुलो शिर, पार्ने भो छोराले
यी साना छोरा, हुँदैन बस्नु, भन्दैन कोराले
कोरामा बस्दा, नरुनू बाबु, सम्झेर त्यो दिन
तिमीले तिर्नु, पर्दछ अब, साहुको यो ऋण

खेद्छन् कि अब, साहुले पनि, गरिब जिन्दगी
बन्नु छ तिमी, भिमसेन थापा, कायर नबनी
सानै छन् छोरा, तिर्ने छन् भोलि, साहुको सम्पत्ति
हे ! धर्ती माता, कहिले हट्ला, देशको गरिबी

म पनि मरे, हुनेछन् फेरि, सन्तान अनीस
लैजानु छोरा, घाटमा लास, छरेर अवीर
स्वभाव धेरै, अभिक थियो, नेपाली छोराको
जानुभो उहाँ, बोकेर माया, नेपाली जनको

कसरी बस्नु, थामेर आँसु, छ स्युँदो टुहुरो
भन्दा हुन् मेरो, सन्तान भेट्दा, कसैले बबुरो
कलंकी बाटो, कसरी हिँड्नु, आलै छ रगत
कसले हेर्ला, खोलेर आँखा, रोएको सडक

हावाले फूल, झार्दियो हिजै, फक्रन पाएन
केही छिन् अघि, हाँसेको त्यही, मुहार हाँसेन
हातका चुरा, फुटेर झरे, धर्तीमा बिहानै
सुख भो टाढा प्यारो भो आज, विधवा पीडा नै

पिएर आँसु, बाँचिन्न क्यारे, हे सासू ससुरा
गर्नुथ्यो पूरा, सपना मेरा, भै दियो अधुरा
काखका छोरा, कसरी पालूँ, स्वामी नै नरहे
कसरी दिन, काटौँला यहाँ, माया नै नभए

सौभाग्य किन, खोसेर लग्यौ, ईश्वर तिमीले
गरेनौ तिम्ले, गरिबमाथि, धर्म नै कहिले
नबोल्ने फोटो, हुने भो साथ, हाँसेर के गर्नु
धर्तीको बोझ, भएँ कि अब, बाँचेर के गर्नु

सबैको रातो, देखेर स्युँदो, बेहोसी हुन्छु कि
म मरें भने, श्रीमानसँगै, साथमा हुन्छु कि
हे सासू आमा, बुहारी अब, बाँच्दिन जस्तो छ
बाटोमा हिँड्दा, सबैले भन्लान्, बालक जस्तो छ

हाँस्नुको सट्टा, रुनु छ अब, त्यो मध्ये रातमा
कसरी ज्युँनु, सहेर पीडा, एकान्त बस्तीमा
जिन्दगी मेरो, सेतै छ हेर, हे धर्ती आकाश
उडाई लग्यो, ती रातो बस्त्र, आएर बतास

संघर्ष गर्दा, आएर गोली, छेडियो छातीमा
जानुभो किन, चढेर एक्लै, बाँसको डोलीमा
सडक रोर्ला, टुहुरा हेर्दै, सम्झेर विगत
को दुःखी होलान्, यी गरिबको, देखेर रगत

लक्ष्मीः
बुहारी तिमी, भृकुटी जस्तै, आँटिली बन्नु छ
बोकेर लक्ष्य, अधुरा यात्रा, तिमीले चाल्नु छ
गर्दछ्यौ कति, मनमा बह, जे हुनु भै सक्यो
सन्तान सबै, छोडेर एक्लै, बिदा भै’ गै सक्यो

बोल्दैन अब, हे आमा भनी, खोलेर अधर
के गर्नु प्रभा, जिन्दगी मेरो, हुँदैछ बगर
तुवाँलो आई, ढपक्क ढाक्यो, कलंकी शहर
नमर्नू कोही, कायर बनी, पिएर जहर

नफाल्नू खेर, सम्हाली राख, वैँशको महक
सहनू पीडा, नरुनू अब, हेरेर सडक
प्रद्युम्न भन्थ्यो, म मरे पनि, बाँच्नेछ नेपाल
मभन्दा पनि, पहिले छोड्यो, यो धर्ती आकाश

प्रभाः
कतिले थुक्लान्, विधुवा भन्दै, हे आमा मलाई
मारिदे हुन्थ्यो, सुतेकै बेला, रेटेर मलाई
दयितविना यो, धर्ती हेर्दै, म किन रहनु
भन्नु न आमा, गडेको पीडा, कसरी सहनु

उहाँ नै रोज्नु, पर्ने के थियो, ईश्वर तिमीले
यो मुटु किन, चुँडेर, लग्यौ, ईश्वर तिमीले
शरीर मेरो, हुने छ सेतो, बन्ने छ विधवा
रुनेछन् कोही, हेरेर अब, यो प्रभा विधवा

ईश्वर मैले, के देख्नु पर्यो, यो पापी आँखाले
विधवा देख्दा, सराप देलान्, दुनियाँ साराले
ईश्वर मेरा, सानै छन् छोरा, बढ्ने हुन् कहिले
सानैमा पाए, दुःखको भारी, रम्ने हुन् कहिले

स्वयम्भुनाथ, आँखाले हेर, टुहुरा सन्तान
नदिनू दुःख, चाँडै नै बनोस्, जनको विधान
रोप्दैमा फूल, फुल्दैन त्यसै, नगरे स्याहार
झरेको वैँश, सकिन्न किन्न, तिरेर हजार

प्रज्ज्वलः
नरुनू आमा, मनमा बह, साँचेर के गर्नु ?
टुहुरो हेरी, पर्दछ बाँच्नु, मरेर के गर्नु ?
बाबाले जस्तै, छोडेर कतै, नजानू हे आमा
घरमा हामी, नभा’को बेला, नरुनू हे आमा

रोकिन्न आँसु, तस्वीर हेर्दा, सम्झना बाबाको
गर्नु छ ख्याल, घरमा अब, हजुर आमाको
हजुर बाबा, टेकेर लौरी, हिंड्दछन् विस्तार
सडकभरि, रगत होलान्, नजानू बजार

दिन र रात, उस्तै छ आमा, यो दुःखी जिन्दगी
धर्तीमा झरे, चलेर हावा, वैँशको पल्लवी
हामी नि मर्नु, पर्दछ आमा, भोलिको दिनमा
रोएका होलान्, आफन्तहरू, बसेर घरमा

अवश्य खोज्छ, भाइले भोलि, बाबाको मुहार
झ्यालमा बसी, रोएर गर्ला, बाबाको पुकार
जवाफ मैले, के दिनु आमा, भाइले सोध्नेछ
घरमा बाबा, कहिले आउँछन्, भाइले भन्नेछ

ज्युँनु छ धेरै, रोएर मात्र, हुँदैन कहिल्यै
वन र पाखा, देखेर हामी, रुँदैनौं कहिल्यै
को रुन्छ यहाँ, विरही गीत, गाएको सुनेर
पट्केलान् ताली, हामीले दुःख, पाएको देखेर

म हुर्केपछि, चौबन्दी चोली, किनेर दिनेछु
भो अँश्रुधारा, नझार्नू आमा, म दुःखी हुनेछु
पार्दिन कमी, मायाको खाँचो, जब म हुर्किन्छु
बन्नेछ योद्धा, वीरको नासो, जब म हुर्किन्छु

प्रभाः
अकेला छोडी, जानु भो उहाँ, वसन्त ऋतुमा
डुब्दछ अब, जिन्दगी मेरो, सदैव आँसुमा
यो रूप थियो, पल्लव जस्तो, सन्तान साथमा
भौंतारी बस्नु, पर्दछ अब, दिन र रातमा

फूलेको थे’न, कपाल पनि, मरेर जानेको
आत्माले शान्ति, पाई नै रहोस्, जलेर जानेको
नगरी गल्ती, जिन्दगी लियो, गोलीले बाबाको
स्याहार गर्नू, तिमीले बाबु, हजुर आमाको

सेतै फूलेकी, यी बुढी आमा, छोडेर जानुभो
सयल हामी, गर्दै पो थियौँ, बिर्सेर जानुभो
बाँकी यो यात्रा, तिमीले छोरा, पूरा चैँ गर्नू है
हानेछन् भने, छातीमा गोली, हाँसेर थाप्नू है

के देख्नु पर्यो, आफैले आज, सिन्दुर पुछेको
कसरी मैले, सहनु अब, यो छाती फुटेको
आठै वर्षको, काखको छोरो, टुहुरो बनायो
आकांक्षा मेरो, लगाई आगो, दन्दनी जलायो

धेरै नि पढ्न, सकिन मैले, जागिर खाने के ?
गोलीको आँखा, फुटेछ क्यारे, यो मन रुवाए
ढुङ्गाको जस्तो, रहेछ मन, हानेथ्यो जसले
टुहुरी आज, रोएको देख्दा, सोध्ने छ कसले

नरोई बस्न, सक्दिन आमा, अभागी बुहारी
विधवा धेरै, भएका होलान्, म जस्तै बुहारी
को खुशी हुन्छ, श्रीमान मर्दा, यो पोते चुडिँदा
घाउको पीडा, सक्तीन भुल्न, मुटुमा रोपिँदा

पानीले स्युँदो, पखाली दिए, नरुनू भनेर
जाँदैन भन्छन्, उहाँको आत्मा, कहिल्यै मरेर
त्यो आत्मा बोल्न, सक्दैन होला, हेरेर मलाई
दिन्छ कि दिन्न, मायाको भिक्षा, आत्माले मलाई

लक्ष्मीः
नमान्नू पीर, तिमीले प्रभा, प्रद्युम्न आउदैन
चाहेर पनि, प्रद्युम्न अब, मुसुक्क हाँस्दैन
नहाँस्ने बाटो, रोजेर गयो, सन्तान त्यागेर
फर्कन्न छोरो, ईश्वर सामु, प्रार्थना गरेर

के गर्नु प्रभा, दैवको लीला, मरे’सी फिर्दैन
विश्वास गर, यो राज्य सत्ता, अब चैँ टिक्दैन
यो राज्य सत्ता, गल्र्याम्म ढल्छ, किटेर भन्दछु
नरुनू प्रभा, तिमी नै रोए, म किन बाँच्दछु

आँसुले गाला, नचुट्नू अब, म छु नि साथमा
हेर्नेछ उस्ले, बनेर जून, अँधेरी रातमा
जे नसोचेको, त्यही नै भयो, पीडा झन् थपियो
म रोएँ कति, रोएरै आज, आँसु नै रित्तियो

साहस अब, बटुलीकन, बाँच्नु छ देशमा
मेहेन्दी अब, चाहिन्न प्रभा, फुलेको केशमा
तिमी नै रोए, यो देश खुशी, हुन नै सक्दैन
थाहा छ प्रभा, ती विरहरू, माटोले भुल्दैन

बनेर तारा, संसार हेर्नू, हे छोरा तिमीले
देशको लागि मरेर गल्ती गरेनौ तिमीले
म धेरै बुढी, भैसकें बाबु, हिँड्न नि सक्दिनँ
अन्धोझैँ भएँ, राम्ररी आँखा, देख्न नि सक्दिनँ

६ वर्ष भयो, बुहारी सँगै, म पनि रोएको
देख्न नि अब, पाउदिनँ क्यारे, संविधान् बनेको
बोल्दा बोल्दै म, मर्न नि सक्छ, मक्केको जिन्दगी
जुरुक्क अब, उठ्दैन छोरी, ढलेको जिन्दगी

विक्रम नेपाली पवन

Leave a Reply

Your email address will not be published. Required fields are marked *