Skip to content


गाउँमा एउटा चमत्कारी सन्त आएको कुरा खरको आगो झै दन्दनी सल्कियो।

“साँच्चै नै सिद्ध पुरूष हुन रे। सम्पूर्ण ब्रह्माण्डको ज्ञाता।” बृद्ध दीर्घामा सुनियो।

“जे माग्यो त्यही पुग्छ रे।” अधबैँशेहरू फलाक्न थाले।

“साह्रो ह्याण्डसम छन रे। अनि भविष्य छर्लङ्ग देखाइदिन्छन रे।” ठिटाठिटीहरू दङ्ग भए।

जता गए पनि उही बाबाको भक्तिगान मात्र सुनिन्थ्यो। लाग्थ्यो उनी कुनै दिव्य पुरूष हुन। साक्षात परमेश्वर नै आए जस्तो। गाउँमा कचहरी बस्यो र सन्तको स्वागत को तयारी गरियो। पुरै गाउँ सन्तलाई भेटन आतुर थियो। मानव सागर उर्लियो गाउँको एकमात्र पाठशालाको नजिकैको पिपलको चौतारी तिर। ठूला-ठालु स्वयंसेवक बनेर सेवा गर्न तत्पर भए। सन्त बाबालाई पाठशालाको कुनै एक कोठामा राखियो। बृद्ध, अधबैँशे र केटाकेटी सबै पंक्तिबद्ध सन्तको दर्शनको लागि प्रतिक्षारत रहे। ठूला-ठालु स्वयंसेवकहरू मानव-सागरको व्यवस्थापन गर्दै पालै-पालो बृद्ध अनि अधबैँशे अनि केटाकेटी गर्दै पठाउने क्रम शुरू भयो।

गाउँको ज्येष्ठ पुरूष पहिलो दर्शनार्थी बने। प्रफुल्ल मुद्रामा उनी बाहिरिँदै भन्न थाले। मेरो जीवन सार्थक भयो। यत्तिको सिद्ध पुरूष मैले भेटेकै थिइन। उनको हर्षमा यस्तो लाग्दै थियो उनले साँच्चै नै जीवन दर्शन प्राप्त गरे र बाँकिरहेको छोटो जीवन चरितार्थ हुने भयो।

गाउँको पेशाकर्मी हर्कबहादुर दोश्रो दर्शनार्थीको रूपमा प्रफुल्ल हुँदै बाहिरियो। ऊ भन्दै थियो भोलि देखि नै मेरो पेशाको कायापलट हुनेछ। तपाईँहरू हेर्नुहोला बाबाको दर्शनले मेरो दिन दुना रात चौगुना प्रगति हुने छ।

ठाडा कपालधारी ठिटो तेश्रो दर्शनार्थीको रूपमा बाबाको बढाइँ गर्दै निक्ल्यो। ऊ आफ्ना दौँतरीहरूलाई भन्दै थियो – “मेरो वान साइडेड परेको त ठ्याक्कै पाऱ्यो नि त बाबाले। अर्को महिनाबाट त टु साइडेड नै हुन्छ रे।”

जाने आउने क्रम जारी थियो अचानक शहरबाट एउटा प्रहरी भ्यान आएर चौतारो नजिकै रोकियो आठ-दश जना प्रहरी जवानहरू एक प्रहरी नाईकेको पछि-पछि भ्यानबाट ओर्लिएर बाबा बसेको कोठातिर दाैडे। एकैछिनमा बाबालाई हथकडी लगाएर घोक्रेठ्याक लगाउँदै भ्यानमा हाले। मानिसहरूको जिज्ञासापूर्ण नजरलाई हेर्दै प्रहरी नाइकेले भन्यो – हेर्नुहोस यो मानिस कुनै चमत्कारी सिद्ध व्यक्ति होइन। गत हफ्ता झ्यालखानाबाट भागेको भ्रष्ट नेता हो। यसले साह्रै दुःख दिएको छ। यसलाई हामी लैजान्छौँ।

भीड तितर-बितर भयो। प्रहरी भ्यान केही बेरमै सुन-सान बनेको चौतारोबाट शहरतिर हुइँकियो।

२०७१ भाद्र २५ गते

4 thoughts on “जनता जनार्दन (लघुकथा)”

  1. एकदे्वजी कथा उचित लागे पनि
    एकदे्वजी कथा उचित लागे पनि यसको नेतालाइ बाैलाहा बनाइनु उचि उचित देखिएन । यसलाइ ता कुनै भ्रष्ट नेता जाे जेलमा थुनिएको होस् अनि जेल फाेरेर गागेको होस् जनतालाइ ठगिरहेकाे होस् त अझ सामयिक हुनँ थियो ।

    1. धन्यवाद होम जी। मलाइ पनि
      धन्यवाद होम जी। मलाइ पनि लेख्दा केही खट्किएकै हो। यहाँले भनेजस्तै गरेर सच्याएँ। यहाँको मननीय सुझावको लागि हार्दिक अाभार।

  2. यथार्थवाद मन पराउनेलाई
    यथार्थवाद मन पराउनेलाई क्लाइमेक्स् त्यति सहज नलाग्ला 🙂

  3. धन्यवाद सम्पादक ज्यु
    धन्यवाद सम्पादक ज्यु प्रतिक्रियाको लागि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *