Skip to content


अवसरको खोजी होस वा काम र दामको लागि होस नेपालका गाउँ गाउँबाट युवा युवतीहरू विदेशीने क्रम जारी छ । गाउँहरू लगभग युवा युवती बिहीन र केवल बृद्ध बृद्धाको थलो रहेको कुरा अब हाम्रा लागि नौलो रहेन । यो एउटा बिकराल समस्या पनि हो । यो नराम्रो पक्षसँगै यसको राम्रो पक्ष पनि छ । देशमा अर्थ भित्रिनुका साथ साथै कामदारहरू प्रशिक्षित पनि भैरहेछन । विकशित देशमा काम गर्दा नयाँ नयाँ प्रविधिवारे ज्ञान आर्जन गर्दै प्रशिक्षण प्राप्त गर्ने अवसर पाउछन । बिना लगानीमा प्रशिक्षण प्राप्त गरी फर्केर आई ती जानेका कुरा प्रयोगमा ल्याउन सक्छन । जसले गर्दा जीविकोपार्जनको लागि राम्रै सहयोग पुग्छ होला । यसले देश विकाशको लागि ठूलो टेवा मिल्छ । गाउँ गाउँबाट विकाश भए मात्र देश विकाश हुन्छ ।

विदेशबाट फर्किएका कति जनाले त्यहाँबाट सिकेका नयाँ प्रविधि अनुसार खेती गर्दै पशु पालन गरी धेरै पाईदा गरेको समाचार सुन्दै आएका छौ । यो एउटा खुसीको कुरा हो । वीना सरकारी लगानी, नागरिकहरूको आफ्नै अथक प्रयासले देशमा अर्थ भित्रिनुका साथै प्रशिक्षित व्यक्तिहरूको संख्या पनि बढदै छ ।

यी त भए राम्रा पक्ष साथै यसका नराम्रा पक्षहरू पनि प्रशस्त छन । जस्तै कति को अङ्ग भङ्ग भई जीवन बरवाद भएको छ । परिवारको सुखको लागि विदेशिएका कतिको उतै मृत्यु भएको छ । रिन काढेर गएका, अकस्मात उता मृत्यु हुदा रिन तिर्न नसकेर बिचल्लीमा परेका परिवार कति छन कति ।

आज भरखर टिभीमा प्रसारित एउटा दुःखद समाचारले मन खिन्न भयो । “दुखले सुख खोज्यो, सुखले काल” भने झै बेरोजगारी, गरिबी र अभावले आक्रन्त पारेको नेपाली अर्काको ठाउँमा जस्तै दुःख गर्न पनि तत्पर हुन्छ । पेटको आगो र घरको अनेक समस्याले उसलाई कृयाशील बनाउछ । सुखद भविष्यको खोजीमा भौतारिदै विदेशिन्छ । जीउ ज्यान दिएर काम गर्छ । यसरी अलि अलि गर्दै विदेश पलाएन हुने क्रम बढदै गएको छ । साथै त्यही अनुपातमा लाश भएको बक्साहरू भित्रीने क्रम पनि त्यत्तिकै बढदो छ रे । आजभोलि सरदर दिनमा तीनवटा लाश प्लेनबाट आउछन रे ।

यो समाचारले मन चिसो भई नरमाइलो लाग्यो । भविष्यका मीठा मीठा स्वप्निल सपना सजाउदै खुसी भई प्लेन चढेर गएका सग्लो मानिस बरा काठको बक्सामा फिर्ता आउछन् । यस्तो घटनाले कसको मन दुखदैन होला । आफ्नै ठाउँमा काम र मामको सुरक्षा भए को अर्काको ठाउँमा ठक्कर खान जान्थ्यो होला र । मजबुरी र विवशताले मानिसलाई कहाँ कहाँ पुर्याउछ । कयौ परिवारले यो दुख भोग्दैछन ।

कारण के होला ? गहिरिएर सोचे । सरसरती हेर्दा लाग्यो कुन कामको लागि जादै छु, कस्तो कस्तो काम गर्नु पर्छ भन्ने न्यूनतम ज्ञान पनि नभएर हो कि, कल कारखानामा काम गर्नेलाई मेशिनहरू बारे अलि अलि भए पनि ज्ञान, प्रशिक्षण दिएर पठाउनु पर्ने थियो कि, गाउँबाट सिधै विकशित ठाउँमा पुग्दा मुख्य त भाषाको अज्ञानता, त्यहाँको नियम कानून, परिस्थिति, वातावरण केही को पनि पूर्वज्ञान नभएर दुर्घटना पो हुन्छ कि । यी सबै कुराको साधारण जानकारी दिने काम वैदेशिक रोजगारीमा पठाउने संस्थाको हो । जसलाई उनीहरूले कडाईका साथ अवलम्वन गर्नु पर्ने हो । तर त्यो केही पनि भए जस्तो लाग्दैन ।

यी सबै भूमिका बाध्नुको कारण यहाँ म एउटा सानो प्रसङ्ग जोडन चाहन्छु । केही महिना अघिको कुरा हो श्रीमान् र म दिल्ली जादै थियौ । निश्चित समयमा एयरपोर्ट पुग्यौ । दिल्ली जाने यात्रु धेरै रहेछन । लामो लाइन थियो । हामी पनि लाइनमा लाग्यौ । हाम्रो पछाडि एउटी केटी लाइनमा लागिन । हामी टिकट चेकिङ्ग सकेपछि सरासर माथि इमीग्रेसनतिर लाग्यौ । इमिग्रेसन कार्ड भर्दै थियौ ती अघि कि केटी हाम्रो छेउ आइन र कार्ड कसरी भर्ने भनी सोध्न थालिन । पहिला त त्यति याद गरेकी थिइन । तिनलाई गहिरिएर नियाले । त्यस्तै बीस एक्काइस वर्षकी होलिन, सहरभन्दा बाहिर कि जस्ती, साधारण लुगा लगाएकी, एउटा ब्याग भिरेकी, पहिलो चोटी विदेश जान लागेकी, त्यो पनि एक्लै ।

मलाई किन हो खै चिन्ता लाग्यो र सोधेँ, “नानी कहाँ जान लागेकी ?”

“दुबई ।”

“साथमा को छ ?”

“एक्लै ।”

“पहिलो पाला हो ?”

“हो ।”

“दुबई एयरपोर्टमा को लिन आउछ ?”

“खै कम्पनीको मान्छे आउछ भन्थे ।”

“त्यहाँ के काम गर्ने थाहाँ छ ?”

“खै घरमा काम लगाइ दिन्छु भन्थे ।”

मनमनै भनेँ, “अहो ! कामको ठेगान पनि रहेनछ ।”

फेरि सोधेँ, “कहाँ भएर जादैछौ ?”

“दिल्ली, दिल्लीबाट राती छ रे फ्लाइट ।”

“दुबईमा अरु कोही चिनेका मान्छे छन ?”

“छैन ।”

अन्योल आत्तिएकी जस्ती ती केटी इमीग्रेसन लाइनमा बस्दा पनि तपाईहरूसँगै बस्छु भनी हाम्रो पछि बसिन । एउटा बलियो आधार खोजे जस्तो । तर हामी तिनलाई कहाँसम्म साथ दिन सक्थ्यौ र ! त्यही प्लेनसम्म त हो । त्यस पछि त तिनले एक्लै पौडनु छ अनजान विशाल जनसागरमा । बिरानो ठाउँ निस्वार्थ मनले सहयोग गर्दै, डोर्याउदै सुरक्षा कसले देला । के तीनले त्यस्तो व्यक्ति पाउलीन । शंकै लाग्छ । मेरो मनमा नराम्रोसित खलबली मच्चिन थाल्यो । अहो यस्तो केही नजानेकी, कोही नचिनेकी, के काम गर्ने भन्ने पनि पक्का थाहा नपाएकी, यस्ती सीधासाधा केटीले अर्काको ठाउँमा कति दुःख पाउने भइन । कसरी यत्रो आट गरेकी होलिन । यता त्यति कडा मेहनत न गरेकी जस्तो लाग्ने, तीनले उता कति कठिन शाररिक परिश्रम गर्नु पर्ला । शरीरले थेग्छ थेग्दैन । साथै भाषाको अज्ञानताले ठूलो दुर्घटना निम्ताई जीर्ण रोगी पनि बन्न सक्छ । अँझ यस्तो निर्धो कोरली मृग जस्ती केटीलाई बिरानो मुलुकामा सुरक्षा दिने कोही नभएकि एकलो पाई भोका ब्वासाले कसरी लुछने होलान । उनले त्यो दुख कहाँ गई बिसाउने । कसले सुनेर न्याय दिलाउने । हे भगवान यिनको कत्रो दुर्दशा हुने होला सम्झदै हात खुट्टा फत्रक गल्यो, वैराग लाग्यो ।

सोचे विदेश जाने भन्दैमा केटी मान्छेले यसरी आँखा चिम्लेर हाम फाल्न नहुने हो । केटाहरूलेभन्दा केटीहरूले यस विसयमा धेरै नै गम्भिर भई सोचि सम्झि निर्णय लिनु पर्छ । ठग्नै पाए भन्दैमा वैदेशिक रोजगार कम्पनीले पनि यसरी ठग्दै बिचल्लिमा पार्न नहुने हो । आफ्ना चेलीहरूको सुरक्षाको ध्यान पुर्याउनु पर्ने हो । अँझ यस विषयमा सरकारले विशेष निगरानी पुर्याउनु पर्ने हो । यस्तै यस्तै मनमा अनेक कुरा खेली बेचैनी र खलबली भइरह्यो । तिनलाई हेर्दै सोचे भविष्यमा आइ पर्ने सम्भावित दुर्घटनाबाट बच्न यिनी यतैबाट घर फर्किए पनि हुन्थ्यो । सुरक्षित त रहन्थिन । घर कहाँ होला ? कसकी छोरी होलिन । कुन वाध्यता र विवशताले विदेशतिर पाईला डोरिएका हुन । माया लाग्दी ती केटी माउको पछि पछि बाच्छी लागे जस्तै हामी सँगसँगै प्लेन तर्फ लागिन । उनी कता बसिन हामी कता । प्लेनमा पनि उनकै बारेमा सोचिरहे । छटपट भइरह्यो ।

सध्दे गएकी केटी कुन अवस्थामा घर फर्किने हो । कुन दुर्दशा हुने हो । हे भगवान मेरो मनले शंका गरे जस्तो त्यस्ता कुनै अनर्थ नहोस । तिनले आटेको काम पुरा होस भन्दै मनमनै प्राथना गरे ।

सुशीला देउजा

Leave a Reply

Your email address will not be published. Required fields are marked *