Skip to content

नारीपीडाको वास्तविक चित्रण


युवा पत्रकार बच्चु विकको उपन्यास फकिर गाउँ, सहर, महानगरका भिन्नभिन्न भूगोलमा उनको मनमा उठेका भावको विम्ब हो । महानगर र सहरमा डेराको सास्ती होस् या गाउँको गरिबी, प्रवासन, महिला र पुरुषको मनोविज्ञान या महिला भएकै कारण खेप्नुपर्ने सास्ती । जीवनका विविध रूपहरू उपन्यासमा छन् । उपन्यासको मुख्य पात्र फकिर पुरुष हो तर कथानक महिला पात्रहरूको कथानकसँगै अघि बढ्छ । यी महिला नभएको भए उपन्यासले जन्म लिँदैनथ्यो । ती महिला कतै आमा छिन्, कतै माया गर्ने साथी, कतै श्रीमान्को मृत्यु र एचआइभीको संक्रमण सहेर बेसहारा बनेकी महिला त कतै भर्चुअल संसारकी मायालु । तर, उनले सबै भूमिकाका महिलामाथि न्याय गरेका छन् । चलनचल्तीको सम्बन्धको नाटकीयता र पूर्वाग्रह देखिँदैन पात्रहरूप्रति ।

उमेरसँगै नारी पात्र जोडिन्छन्, उमेरको वयसँगै भेटिने सिँगाने साथीहरू पछि आँखा जुधाएर हेर्न नसकिने हुन्छन्, लडिबुडी गर्ने जिउहरू एकफेरा स्पर्श हुँदा पनि तरंगित हुन पुग्छन् । अँझ वयष्क हुँदै जाँदा भनौँ हाइस्कुलपछि झन् फराकिलो संसारमा पाइला टेकिन्छ, पुराना हराउँछन्, नयाँसँग साक्षात्कार हुन्छ । अहिलेको संवादको वायुरूपी जालोले झन् संसारका नामै नसुनेका स्थानका साथीसँग भेटै नभई, स्पर्श नै नभई मान्छे सम्मोहित हुन पुग्छ, जोडिन्छ भर्चुअल संसारमा । तर, के ती साँच्चै हराउँछन् त ?

अर्कोतर्फ आफूभन्दा पर एउटा समाज छ, त्यहाँ छोरीहरू छन्, आमाहरू छन्, बुहारीहरू छन्, आफ्नो परिवेशमा । सुखमा, दु:खमा, कामको सिलसिलामा उनीहरूसँग पनि अन्तक्र्रिया हुन्छ । केही सिकिन्छ, केही अनुभूति सँगालिन्छ । कतै श्रीमान्ले छाडेका, कतै माया गरेका, कतै आत्मनिर्भर, कतै पराधिन बेचिएका, कतै मस्तीमा कतै सास्तीमा, फकिर उपन्यासमा यस्तै रूप र परिवेशमा महिलाहरू चित्रित छन् । मुख्यत: आमा, साथी र कार्यक्षेत्रका तीनथरी महिला पात्रहरूको वरिपरि उपन्यास घुमेको छ ।

माया र प्रेम, बिछोड, मिलन आदि वर्णन गरिएका उपन्यासमा प्राय: आक्षेप, अपेक्षाको क्लाइमेक्स निर्माण गरिएको हुन्छ । कतिपय कृतिमा प्रेमी–प्रेमिकाबीचको संवेदनालाई नाटकीय रूप दिएर पाठकको सहानुभूति बटुल्ने गरिएको हुन्छ । तर, बच्चुको उपन्यासमा प्रेम निकै सरल रूपमा वर्णित छ । त्यहाँ स्वेरकल्पनात्मक अपेक्षा देखिँदैन, नाटकीय आशक्तिको चरमता छैन । आमापछि उनको स्कुलको एकदमै मिल्ने साथी सदीक्षा, अर्को अर्थमा नौ, दश वर्षको उमेरमा आमापछि सबैभन्दा बढी माया दिने केटी साथी । तर, त्यही सदीक्षासँगको बिछोड नाटकीय छ्रैन । हेडसरकी छोरी सदीक्षा र उनी हाइस्कुल पास भएपछि भविष्यको निधो गर्न अलग हुन्छन् । दुवैले औधी माया गर्छन्, तर जीवनको यथार्थ धरातलमा प्रेमलाई विपरित लिंगबीचको विवाह या शारीरिक सम्बन्धभन्दा पर एउटा भावनाका रूपमा उनले प्रस्तुत गरेका छन् । उपन्यासको सुरु र अन्तमा यिनै सदीक्षा उपस्थित हुन्छिन् । पात्रको होइन, घटनाको नाटकीयता भने यहाँ अलि देखिन्छ ।

उपन्यासमा सदीक्षाजस्तै अर्की पात्र छिन् क्रिस्टिना । आमापछि सदीक्षा र त्यसपछिको रिक्ततामा क्रिस्टिना । पुरुषले विपरित लिंगको मायाको रिक्तता सहन सक्दैन भन्ने यथार्थ भर्चुअल संसारमा भेटिएकी साथी । महिला मनको सुषुप्त सामाजिक असुरक्षाको मनोविज्ञान क्रिस्टिनाको माध्यमबाट सुन्दर ढंगले प्रस्तुत छ । द्विअर्थी कुरा गर्छे क्रिस्टिना– हो पनि, होइन पनि जस्तो । सामाजिक–सांस्कृतिक सत्ताइतर पक्षको मनोविज्ञानको सामाजिक निर्माण । किनभने सम्बन्धमा संशय या गुमाउने डर र प्राप्तिको चाहना एकैपटक । त्यसैले त महिलाको मनोविज्ञान जटिल भनेका हुन कि ? क्रिस्टिना उनको संसारको सुख दु:ख बिसाउने माध्यम हुन् । तर, यहाँ पनि उनीहरूको माया द्विअर्थी छ, यथार्थ धरातलको सीमाबद्ध माया । दुवै जिस्किन्छन्, दुवैले मन पराउँछन् । ‘तिमी मेरी मायालु, तिमी मेरी हुनैपर्छ’ भन्ने पुरुषवादी स्वामित्व उनले खोजेका छैनन् । प्रेम र सम्बन्धमा पौरुष्य स्वामित्वभन्दा पर प्रस्तुत भएका छन् लेखक क्रिस्टिनासँग ।

बाल्यकालको वर्णनमा आमा उनका लागि मुख्य स्कुल छिन् । बुबाको मृत्युपछि दु:खमा ढाडस दिने र सुखमा स्याबासी दिने चरित्र । स्कुल पढ्दा एकचोटि सदीक्षाले दिएको पत्रको आशय बुझ्दैनन् र पुग्छन् आमाकोमा प्रेमपत्रको भाषा आमाले बुझिछन्, हाँस्छिन् र भन्छिन्, ‘तँ बुद्धुको बुद्धु नै रहने भइस् ।’ चलनचल्तीमा यहाँ आमाको प्रतिक्रिया सामान्यत: उनले उल्लेख गरेभन्दा फरक हुन्थ्यो होला हाम्रो समाजमा । ‘कसले दिएको यो, अहिलेदेखि यस्तोमा लाग्न थालिस्, कुन जात हो ? आफूलाई हेर्‍या छस्’ आदि इत्यादि । साहित्य या चलचित्रमा नाटकीय संवेदनाको डायलग भनौँ । तर, बुद्धु बच्चु यो अवस्थालाई निकै सुन्दर ढंगले वर्णन गर्छन्, बिना कुनै जालझेल ।

एचआइभीको संक्रमणले त्यसपछि परिवारमा एउटा भयावह विकटता सिर्जना हुन्छ । एक त विधवा, अर्को संक्रमित, त्यसमा जीविका चलाउन कुनै साधन नहुनु, पछाडि लालाबाला । झन् पुरुष समाजको चिन्तन । दोष र भारी जति महिलाको थाप्लोमा र हेलामा बाँच्नुपर्ने उनैले । देहरादुन पुगेकी सदीक्षा या पेरिसकी क्रिस्टिनासँग आफ्नो सम्बन्धको वर्णनसँगै उनको मुख्य चित्रण यिनै सामाजिक, सांस्कृतिक रूपमा सीमान्तकृत महिलाको पीडा प्रस्तुतिमा देखिन्छ । महिलाको महिला भएकै कारण, लिंगका आधारमा उसको भूमिका निर्धारण गरिदिएकै कारण एचआइभी संक्रमण र त्यसपछिको असह्य सामाजिक र आर्थिक बोझले थिचिरहेको अवस्थाप्रति उनको रोष छ, साथै आफू पुरुष भएकै कारण परस्त्रीसँग बेलगाम यौन सम्बन्ध कायम गर्नु आफ्नो पौरुष्य अधिकार ठान्नेहरूसँग पनि । यसैले होला, उनको मुख्य पात्रलाई नै सजाय दिएका छन् । के सजाय ? उपन्यास सिद्ध्याउनैपर्छ यसको उत्तर खोज्न ।

औपन्यासिक संरचनाका दृष्टिले भने उपन्यासमा कमजोरी नभएको होइन । पात्रको चरित्र र घटनाको विम्ब जति सुन्दर ढंगले निर्माण गरिएको छ, घटनाहरूको विकास र मूल कथ्यलाई संयोजन गर्ने काममा शिल्पगत त्रुटि उपन्यासमा भेटिन्छन् । केही घटना अनावश्यक जस्ता लाग्छन्, तिनलाई प्रासंगिक बनाउन अन्य घटनासँग तिनको तारतम्य मिलाउन सकिन्थ्यो । फकिरको आफ्नै जीवन रहस्यमयी छ । कतिपय कुरा अकस्मात प्रकट भएका छन्, तिनको सामञ्जस्य र विकासको कडी टुटेको जस्तो लाग्छ । उपन्यास एउटै कथानकको मियोमा बग्न सकेको छैन् । शिल्प संरचनामा तालमेल नहुँदा प्रसंगहरू छरिन पुगेका छन् । कतै बैतडेली लवजका शब्द बेमेल भएर आएका छन् । कतिपय कमजोरी प्रुफ सम्पादन र पेज लेआउटका कारण पनि भएका छन् । भविष्यमा भाषिक सम्पादन राम्रोसँग गर्न सके नयाँ विषयवस्तु, प्रस्तुतिको भिन्न शैली बोकेको यो पहिलो उपन्यास उच्चकोटिको बन्न सक्छ ।

समग्रमा, नेपाली समाजमा महिलाले अहिले झेलिरहेको पीडालाई अन्य महिला पात्रको चित्रणसँगै सरल रूपमा उपन्यासमा प्रस्तुत गरिएको छ । परिस्थितिहरूको बनोटसँगै नारी मनका विविध संवेग, भावना, खुसी, रिस, पीडा, आँसुलाई देखाइएको छ । एउटा यायावरको जीवन, अहिलेको व्यापारीकरण हुँदै गइरहेको समाज, राजधानीमा डेरावालहरूले भोगिरहेको सास्तीजस्ता प्रसंग पनि उपन्यासमा छन् । युवा लेखक बच्चुले माया, प्रेम, महिला र पुरुषबीचको सम्बन्धलाई पाठकको मथिंगल रन्थनाउन, तथाकथित संवेदनामा हाँस्न या रुवाउन दुई लिंगबीचको सम्बन्धलाइरहस्य या नाटकको पर्दा नदिएर न्यायोचित ढंगले प्रस्तुत गरेका छन् । आशा गरौँ उनको पछिल्लो संस्करण र भावी रचना नेपाली साहित्य र सीमान्तीकृत वर्गको आवाज भएर यसैगरी मुखरित हुनेछन् ।

गोकर्ण भट्ट
http://enayapatrika.com/saptaranga/7906.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *